Monday, May 13, 2024

-->

तीन घण्टे परीक्षाका १२ फाइदा

फुटबल खेलको समय ९० मिनेट हुन्छ। फुटबल खेलाडीलाई हेर्ने हो भने लामो समयसम्म अभ्यास गरेर ९० मिनेटलाई कसरी सदुपयोग गर्ने भन्नेबारे उनीहरूले योजना र रणनीति बनाउँछन् र नतिजा निकाल्छन्।

तीन घण्टे परीक्षाका १२ फाइदा

तीन घण्टाको परीक्षाले व्यक्तिको ज्ञानको गहिराइ, सीप र क्षमता मापन गर्न सकिँदैन। यो परीक्षा प्रणाली वैज्ञानिक छैन। यसले हाम्रो शिक्षाको गुणस्तर मापन गर्न सक्दैन। यसलाई व्यावहारिक बनाउनु पर्छ र परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने माग बमोजिम अहिले 'निर्माणात्मक मूल्यांकन'का लागि आन्तरिक मूल्यांकन र 'निर्णयात्मक मूल्यांकन'का लागि अन्तिम परीक्षा लिने व्यवस्था शिक्षालयहरूमा छ। एकीकृत पाठ्यक्रम र व्यावहारिक परियोजना कार्यमा आधारित शिक्षण विधिको व्यवस्था सबै विद्यालयमा छ। 

यसअघि १०० पूर्णाङ्कको लागि तीन घण्टाको समय दिइने गरेकोमा अब ७५ पूर्णाङ्ककै लागि तीन घण्टाको समय दिइएको छ। वर्ष दिन पढेको विषयलाई तीन घण्टामा कसरी मापन गर्ने? यो प्रश्न तर्कपूर्ण हो, तर ठूलो जनसंख्याको अध्ययन गर्दा सानो नमुना परीक्षण गरेर निष्कर्ष निकालिन्छ। शरीरमा कुनै रोग लागेको अवस्थामा थोरै रगत निकालेर जाँची पूरै शरीरको रगतको अवस्था पत्ता लगाइन्छ। तीन घण्टे परीक्षाको नकारात्मक पक्षबारे लामो विश्लेषण गर्न सकिएला, तर यही परीक्षा नै विश्वव्यापी मापदण्ड बनेका कारण यसलाई स्वीकार गर्नुको विकल्प छैन। तीन घण्टे परीक्षाका पक्षमा यसरी तर्क गर्न सकिन्छ:

१. समय-व्यवस्थापन सीप विकास 
फुटबल खेलको समय ९० मिनेट हुन्छ। फुटबल खेलाडीलाई हेर्ने हो भने लामो समयसम्म अभ्यास गरेर ९० मिनेटलाई कसरी सदुपयोग गर्ने भन्नेबारे उनीहरूले योजना र रणनीति बनाउँछन् र नतिजा निकाल्छन्। विद्यार्थीले पनि तोकिए बमोजिमका प्रश्नको उत्तर तीन घण्टाभित्र कसरी सहज ढंगबाट लेख्न सकिन्छ भनेर निरन्तर अभ्यास गर्छन्, गर्नुपर्छ। 

त्यसो हुँदा तीन घण्टाले एक वर्षको महत्त्व राख्छ। सिकाइ मूल्यांकनको सक्दो फाइदा उठाउन विद्यार्थीले तीन घण्टाको समयावधि राखेर परीक्षाका नमुना तथा पुराना प्रश्नपत्रको इमानदारीका साथ नियमित अभ्यास गर्न सक्छन्। एकै पटक परीक्षामा मात्र लेख्ने बानी परेका विद्यार्थीलाई तीन घण्टाको परीक्षा चुनौतीपूर्ण हुनसक्छ, तर पहिलेदेखि नै अभ्यास गर्ने हो भने तीन घण्टे परीक्षा सहज बन्छ। 

‌२. अनुशासनमा सहयोगी
अनुशासनमा बस्न पनि यस्तो परीक्षाले सहयोग गर्छ। तीन घण्टाको सीमित समयलाई अधिकतम सदुपयोग गरी कसरी सफलता प्राप्त गर्ने भन्ने योजना र रणनीति बनाएर सोही योजनाअनुसार नियमित रूपमा काम गर्ने बानीको विकास हुन्छ। आफ्नो निश्चित उद्देश्यभन्दा दायाँबायाँ नलागी निरन्तर काम गर्न उत्प्रेरित गर्छ। यसका लागि केवल पढाइ र लेखाइ मात्र होइन कि विद्यार्थीले खानाको समय, सुत्ने समय, उठ्ने समय, पढ्ने समय, खेल्ने समय र डुल्ने समय सबैको नियम बनाएर सो नियमको परिपालन गर्न सिक्छ। यसो गर्दा परीक्षामा सफल हुन झनै सहयोग गर्छ।

३.  स्वमूल्यांकन
अरूसँग प्रतिस्पर्धा गर्नको लागि मात्र परीक्षा आवश्यक पर्ने होइन। प्रथम परीक्षामा कति सफल भएँ र अबको परीक्षामा म यो स्तरको सफलता प्राप्त गर्न सक्छु भन्ने उद्देश्यका साथ स्वमूल्यांकन गर्ने विधिको रूपमा पनि यस परीक्षालाई लिन सकिन्छ। 

मैले कति प्रश्न कति समयमा हल गर्न सकेँ? कस्ता प्रश्न हल गर्न सकेँ र कस्ता सकिनँ? कुन विषयमा सोचेझैँ गर्न सकिएन? कुन विषयमा पढाइ पुग्यो? कुन विषयमा पढाइ पुगेन र किन सोचेझैँ परिणाम प्राप्त गर्न सकिएन भन्नेजस्ता प्रश्नको उत्तर खोजेर स्वमूल्यांकन गर्न यो जाँचले सहयोग गर्छ। परीक्षालाई सदुपयोग गरी सफलता प्राप्त गर्न स्वमूल्यांकन सबैभन्दा महत्त्वपूर्ण विधि हो।

४. सिकाइ व्यवस्थापन र प्रस्तुतीकरण
अध्ययन गरेको विषयवस्तु धेरै हुन्छ, तर तीन घण्टाभित्र प्रश्नपत्रमा भएका सबै प्रश्नको समाधान दिन सक्नुपर्छ। यदि यो परीक्षालाई अवसरको रूपमा लिने हो भने विद्यार्थीले सिकेका कुरालाई परीक्षामा कसरी प्रस्तुत गर्ने? कसरी लेख्ने? प्रश्नहरूको उत्तर कति लेख्ने? कसरी लेख्ने? प्रश्नलाई कसरी पढ्ने भन्नेबारे पोख्त हुनुपर्छ। यस्ता पहेलीहरू त्यही तीन घण्टाको परीक्षाकै अवधिमा पहिल्याउने पक्कै होइन। यो त कक्षामा भर्ना भएको दिनदेखि नै निरन्तर अभ्यास गरेर मात्र सम्भव छ।  

५. निरन्तर अभ्यास
परीक्षालाई सकारात्मक मान्दै विद्यार्थीले पाठ्यपुस्तकको निर्देशनअनुसार निरन्तर अभ्यास गर्नुपर्छ। विषयवस्तुको निरन्तर अभ्यासका कारण जाँचमा प्रश्नपत्र हात पर्ने बित्तिकै कसरी उत्तर लेख्ने भन्ने कुराको बानी परेको हुन्छ। निरन्तर अभ्यासले प्रश्नपत्र नै नौलो लाग्दैनन् र परीक्षामा सफलता प्राप्त गर्न सजिलो हुन्छ। सूत्रहरू घोक्नुका अलावा निरन्तर पाठ अभ्यास गर्ने हो भने त्यसैमा अभ्यस्त भइन्छ। 

६. सिकाइको व्यावहारिक प्रयोग
कतिपय सैद्धान्तिक रूपमा अध्ययन गरिएका विषयलाई व्यावहारिक प्रयोग गरेर हेर्न सकिन्छ। अध्ययन गरेका कुनै पनि विषय हाम्रो जीवनमा प्रयोग नहुने भन्ने हुँदैन, तसर्थ त्यस्ता विषय कहाँ प्रयोग गर्न सकिन्छ भनेर निरन्तर खोजी गर्नुपर्छ। सिकाइलाई प्रयोगमा ल्याउँदा सिकाइ मजबुत हुन्छ, जसका कारण परीक्षामा सजिलै सफलता प्राप्त गर्न सकिन्छ। व्यावहारिक प्रयोग भएका विषयबारे परीक्षामा लेख्दा वास्तविक उदाहरणसमेत दिएर लेख्न सकिन्छ।

७.स्रोत व्यवस्थापन सीप विकास
परीक्षामा सफल हुन पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ पुस्तक तथा अध्ययन सामग्री, समय र आर्थिक स्रोतको कसरी सदुपयोग गर्ने भन्ने कुराको समेत सीप विकास हुन्छ। परीक्षालाई लक्षित गर्ने विद्यार्थी आफूले अध्ययन गर्ने विषयको पाठ्यक्रम, परीक्षाको ग्रिडमा उल्लेख परीक्षामा सोधिने विषयबारे जानकार हुनुपर्छ। त्यस्ता प्रश्नहरूको उत्तर कसरी लेख्नुपर्छ? पाठ्यपुस्तकले नसमेटेका विषय कस्ता सन्दर्भ सामग्रीबाट प्राप्त गर्न सकिन्छ? शिक्षकसँग कसरी समन्वय गरेर नजानेका विषयहरू जान्न सकिन्छ? साथीभाइसँग कसरी सिक्न सकिन्छ जस्ता विषयहरू परीक्षा तयारीको क्रममा सिकिन्छ। यसरी स्रोत व्यवस्थापन सीपको विकास हुन्छ।

८.  आर्थिक व्यवस्थापन
सबै खाले परीक्षामा सहभागी हुन र तयारी गर्न आर्थिक स्रोतको जरुरी हुन्छ। जुनसुकै विषय पढेका विद्यार्थीले आर्थिक व्यवस्थापन जान्नुपर्छ। आफैँ कमाएर आफैँ कलेज शुल्कलगायत सबै शुल्क तिर्ने विद्यार्थी होलान्, तीबाहेक स्कुले हुन् या कलेज विद्यार्थी, अभिभावककै खर्चमा पढ्ने हुन्। यस्तो अवस्थामा अभिभावकले दिएको खर्च व्यवस्थापन पनि महत्त्वपूर्ण हुन जान्छ। परीक्षा शुल्क र मासिक शुल्क तिर्नेदेखि, परीक्षा तयारीका लागिसमेत सामग्री जुटाउन आवश्यक हुन्छ। स्वास्थ्य बिग्रने बित्तिकै जाँच दिन नसकिने हुँदा पोषण र स्वास्थ्यका लागि गरिने खर्च व्यवस्थापनबारे सिक्ने अवसर पनि हुन जान्छ तीन घण्टे परीक्षा। 

कतिपय अवस्थामा अतिरिक्त तयारी कक्षा खर्च, यातायात खर्चसमेत आइपर्छन्। प्राप्त रकम र खर्चबीच कसरी सन्तुलन गर्ने भन्ने कुराले पनि हाम्रो जीवनमा महत्त्वपूर्ण अर्थ राख्छ। तसर्थ, तीन घण्टाको परीक्षालाई साँच्चिकै राम्ररी तयारी गर्ने हो भने विद्यार्थीले आर्थिक अनुशासन-व्यवस्थापनको कुरा पनि सिक्छन्।

९. स्वस्थ्य जीवनशैली
परीक्षा दिनका लागि व्यक्ति स्वस्थ हुनुपर्ने हुँदा आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। त्यसका लागि स्वस्थ खानपान तथा पर्याप्त व्यायाम आवश्यक पर्छ। 

१०. विषयवस्तुप्रतिको रुचि र उत्प्रेरणा

थोरैथोरै तर निरन्तर अध्ययन र अभ्यासले बिस्तारै बानी पर्दै जान थाल्छ। यदि यसलाई अझ निरन्तरता दिने हो भने कुनै पनि विषयवस्तु विद्यार्थीको लागि सहज हुन थाल्छ। जुन विषय कठिन थियो, त्यो निरन्तर अभ्यासले स्वतः सहज हुँदै जान्छ र थप अध्ययनको लागि उत्प्रेरणा मिल्छ। 

११. स्वनियन्त्रणको अभ्यास
अध्ययन र परीक्षालाई केन्द्रबिन्दुमा राखेर अध्ययन गर्ने व्यक्तिले आफूलाई नियन्त्रण गरेर अघि बढ्न सिक्छ। लक्ष्य निर्धारण गर्ने, लक्ष्य प्राप्तिका लागि काम गर्ने र लक्ष्य प्राप्त भए-नभएको परीक्षण गर्ने र आवश्यकताअनुसार सुधारात्मक कदम चाल्नु स्वनियन्त्रणको साधारण सूत्र हो। लक्ष्य निर्धारण गरेपछि दैनिक रूपमा निरन्तर अध्ययनरत रहन अभिप्रेरित गर्छ। परीक्षाले लक्ष्य प्राप्त भए नभएको मापन गर्छ। परीक्षामा सोचेजस्तो परिणाम आयो भने थप उत्साह थपिन्छ। त्यसो हुन सकेन भने आफ्नो प्रयास पर्याप्त भएन भनेर बुझ्न सकिन्छ र आगामी परीक्षामा अझ कसिएर लाग्ने प्रेरणा मिल्छ। यसरी परीक्षाकै कारण हामीलाई स्वनियन्त्रण गर्ने बानीको विकास हुन्छ। यसले एकाग्रता र ध्यानको विकास समेत हुन्छ। 

१२. निर्णय क्षमताको विकास 
तीन घण्टा आफैँमा अत्यन्त सीमित समय हो। शतप्रतिशत सफलता प्राप्त गर्न सेकेन्ड-सेकेन्डको याद गरेर प्रश्न र उत्तरबीचको तालमेल मिलाएर लेख्नुपर्छ। त्यसो हुँदा तीन घण्टाको परीक्षा लामो समय हो। जीवनका कतिपय क्षणमा तीन सेकेन्डले नै सफल या असफल हुने कुराको निर्धारण गर्छ। यदि हामीले तीन घण्टे परीक्षालाई लक्षित गरेर अभ्यास गरिरहने हो भने शीघ्र तर सही निर्णय लिने क्षमताको विकास हुन्छ।

अन्त्यमा, यी माथि उल्लेख गरिएका कुराहरू परीक्षाका कारण हामीमा प्राप्त हुने केही महत्त्वपूर्ण लाभहरू मात्र हुन। शुरूमा नै भनिएको छ कि परीक्षाका कारण हुने बेफाइदाहरूका पनि यो भन्दा लामो लिस्ट बनाउन सकिन्छ तर विद्यमान प्रणालीलाई दोष दिनुको साटो त्यसबाट कसरी फाइदा लिन सकिन्छ भनेर हेर्ने हो भने परीक्षाका नाममा हामीले हाम्रो जीवन नै सुधार गर्न सक्छौँ। जीवनको लक्ष्य निर्धारण गरेर अघि बढ्न सकिन्छ। तसर्थ परीक्षा प्रणालीलाई आर्जन गरेको ज्ञान र सीप तथा व्यवहारमा भएको सकारात्मक परिवर्तनलाई मापन गर्ने एउटा नमुना परीक्षा मात्र हो भन्ने बुझेर ज्ञान आर्जन र सीप विकास तथा सकारात्मक व्यवहार परिवर्तनमा लागिरहने हो भने परीक्षालाई जीवन रूपान्तरणको माध्यम बनाउन सकिन्छ। तीन घण्टाको परीक्षालाई लक्षित गरेर निरन्तर निर्माणात्मक परीक्षा र सोसँग सम्बन्धित गतिविधिलाई सिकाइको माध्यम बनाउन सकिन्छ।


थापा ललितपुरको वज्रवाराहीस्थित वज्र एकेडेमीका कार्यकारी निर्देशक हुन्। यो निजी माध्यमिक विद्यालयले आफूलाई नेपालको पहिलो हरित विद्यालय भएको दाबी गर्छ।


सम्बन्धित सामग्री