Friday, May 03, 2024

-->

मधेशको भैयादुज: जिअ भइया लाख बरिस

मधेशमा यमपञ्चकको पहिलो दिन काग र दोस्रो दिन कुकुरको पूजा हुँदैन, तर लक्ष्मीपूजाको दिन कमसेकम एक जोर नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यता छ।

मधेशको भैयादुज जिअ भइया लाख बरिस

पाँच दिनसम्म चल्ने सोहरैया पर्वको अन्तिम दिन मधेशमा भैयादुज/भाइदुज (भाइपूजा गर्ने द्वितीया) मनाइन्छ। यसै दिन छठको रौनक शुरू हुने भएकोले दुई ठूला पर्वको मिलनबिन्दु पनि हो भैयादुज। ‘दशहरा’को कोजाग्रत पूर्णिमा टुंगिएपछिको १६औँ दिनदेखि ‘सोहरैया’ शुरू हुन्छ मधेशमा। पहाडमा जस्तो मधेशमा यमपञ्चकको पहिलो दिन काग र दोस्रो दिन कुकुर पूजा भने हुँदैन। 

मधेशी जीवनमा धन, यश र उज्यालोको कामनासहित मनाउने पर्व सोहरैया पाँच दिन चल्छ। खस–नेपाली भाषीसँगको अन्तरघुलनले मधेशमा लक्ष्मीपूजा र दीपावलीजस्ता शब्द पनि चलेका छन्, भारतसँग भौगोलिक तथा सांस्कृतिक सामीप्यका कारण हिन्दीको 'दिवाली' पनि उत्तिकै प्रचलनमा छ। 

दशहरापछिको कोजाग्रत पूर्णिमा र धनतेरसबीचका १६ दिन मधेशमा घरआँगन चिटिक्क बनाउन, घरका कृषि उपकरण, ज्याबल र घरेलु हातहतियारको सरसफाइ गर्न र पशुधन सिँगार्न उपयोग गरिन्छ। सोहरैयाको तयारीमा घरहरूको मर्मत सम्भार र सजाउने काम शुरू हुन्छ। यसबीचमा गाउँको स्वरूप नै फेरिन्छ। 

तयारी
फुस र खपडाको घर मर्मतमा अलि बढी नै समय लाग्छ। माटोको भित्ता बनाउन पियरी माटी (पहेँलो माटो)को प्रबन्ध गरिन्छ। ‘मटखोना’ (माटो खनेर झिक्ने निश्चित ठाउँ)बाट ल्याइएको माटो एकदुई दिन घाममा सुकाइन्छ। त्यसपछि घरनजिक खाडल बनाइ माटोलाई रातभर भिजाइन्छ। राम्रो गुणस्तरको माटो बनाउने अभ्यास हो यो। भोलिपल्ट खुट्टाले मिचेर माटोलाई धानको भुस हाली तयार पारिन्छ। खरको भित्ता अर्थात् ‘टाटी’माथि त्यस माटोको मिश्रण लेपिन्छ। 

आवश्यकताअनुसार भित्तामा दियो राख्ने ससाना ‘दियरख’ (दियो राख्ने ठाउँ) सँगै माटोकै फूल, चरा र जनावरका कलात्मक आकृति बनाउने चलन मधेशमा अझै कतैकतै भेटिन्छ। लिपेको भित्ता सुक्न दुईतीन दिनसम्म लाग्छ। त्यसपछि गोबरमाटोको लेप हालेर भित्तालाई थप सम्म्याइन्छ। सुकिसकेको भित्तामा चहकिलो पहेँलो माटोको घोल पोतेपछि घरको रूप नै बेग्लै हुन्छ। यससँगै फैलने माटोको सुगन्धले सोरहैया आगमनको संकेत दिन्छ।

अहिले पनि मधेशका कतिपय घर खपडा (माटोबाट बनेको घर छाउने सामग्री)ले छाइएका भेटाइन्छन्। फुटेका खपडाका ठाउँमा नयाँ हालेर छाना मर्मत गर्ने अवसर पनि यही हो। पक्की भित्ताहरूमा पनि उसैगरी रङरोगन हुन्छन्। सोहरैयाको स्वागतमा मान्छेले आफ्नो घरआँगन मात्र सफा गर्दैनन्, बाटोघाटाका घाँसपात र फोहोर पनि सफा गर्छन्। 

सरसफाइको अन्तिम चरणमा घरका काठेढोका, बाकस र लाठी तथा भालाजस्ता परम्परागत हतियारहरू बयलगाडामा हालेर नदी पोखरीमा लगी धोइपखाली गर्ने चलन छ। सोहरैयाको दिन नजिकिँदै गर्दा पुरुषहरू ‘भाजन’ भनिने लोकभाका गाउँछन्। घरको मर्मत, सरसफाइ र अरू तयारीसँगै प्रश्नोत्तर शैलीमा टोलछिमेकका मानिसहरू आपसमा गीति–संवाद गर्दा कामको थकानसमेत मनोरञ्जनमा रूपान्तरित हुन्छ: 

“भैया रे, रे भैया!
केकरा खोनावल हउवे 
सागर पोखरावा, 
भाजन बोल
किया केकरा बन्हावल 
चारु आँट हो? 
भाजन बोल।” 

(हे दाजुभाइ! कसले खनाएको हो सागरसरहको यो पोखरी? कसले बनाएका हुन् यसका चारैतिरका डिल? भजन गाऔँ।) 

लोकभाकामा जलाशय, प्रकृति सम्पदाको चर्चासँगै पौराणिक पात्रहरू पनि आइपुग्छन्। ग्रामीण भेगमा माटोको सुगन्धसँगै 'भाजन'को लय मिसिन थालेपछि सोहरैया दैलामै आइसक्यो भन्ने भान हुन थाल्छ। 

धनतेरस
कार्तिक कृष्णपक्ष औँसी तिथिमा (लक्ष्मीपूजाभन्दा दुई दिनअघि) धनतेरसका दिन चाँदी र सुनका सिक्का, गरगहना, धातुका भाँडा र नयाँ कुचो किनेर घरमा ल्याउँदा आर्थिक सम्पन्नता भित्रिने ‘लोक मान्यता’ छ। धनतेरसदेखि औँसीसम्म बजारमा सोही कारण पनि बजारमा माटोको दियरी (दियो), तेल र अन्य भाँडा, मिठाई, पूजा सामग्री तथा मैनबत्तीको बिक्री बढ्छ। सहरी भेगमा अचेल सोफा, कार्पेट, तन्ना र पर्दाको बिक्री बढेको पाइन्छ। मधेशमा ‘लक्ष्मी पूजाको दिन कमसेकम एक जोर नयाँ लुगा लगाउनु पर्छ’ भन्ने मान्यताका कारण यस पर्वमा लत्ताकपडाको बिक्री पनि बढ्छ। 

यद्यपि, आयुर्वेदका प्रवर्तकमध्ये ऋषि धन्वन्तरिको सम्झनामा मनाइने धन्वन्तरि दिवसलाई नै व्यापारीहरूले भारत-नेपालमा धनतेरसका रूपमा बजार प्रवर्द्धनका लागि प्रयोग गरेको भन्ने तर्क पनि सुन्न पाइन्छ। यो दिन आरोग्य दिवसका रूपमा पनि मनाइन्छ। 

जमदियरी
धनतेसरको भोलिपल्ट गोबरले दैलो लिपेर 'सानो दीपावली' (छोटा दिवाली) गरिन्छ। यस दिन राति ‘यम’ देवताका लागि घरअगाडि एउटा दियो बाल्ने चलन छ। यस दिनलाई ‘यमदियरी’ वा ‘जमदियरी’ भनिन्छ। दियो बालेको रातको अन्तिम प्रहरमा अर्थात् सूर्योदय हुनुभन्दा करिब सवा घण्टाअगाडि, रातको अँध्यारोको ‘दरिदर खेद्ने’ परम्परा मधेशमा छ। यस क्रममा घरको कुनाकाप्चामा परिवारका महिलाहरू नाङ्लो ठटाउँछन्। यतिखेर बोल्न भने मिल्दैन। यसरी नाङ्लोका आवाज घरघरमा गुन्जन्छ। यस चलनलाई ‘दरिदर खेदके’ (दरिद्री खेद्ने) भनिन्छ। घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदा घरबाट दरिद्रता भाग्छ र लक्ष्मी प्रवेश गर्न सहज हुन्छ भन्ने लोक विश्वासले यसो गरिन्छ। 

देवदियरी 
बल्ल आइपुग्छ देव दियरी अर्थात् दीपावली (लक्ष्मीपूजा)। मधेशमा दीपावलीलाई यमपञ्चकका अन्य दिनभन्दा विशेष महत्त्व दिइन्छ। यसै दिन पहिलेदेखि सफा पारिएका चौकठ, ढोका, काठका बाकस र लाठीमा तेल पोतेर टल्काइन्छ। यी वस्तुसँगै गाडा, हलो, घरेलु हतियार तथा ज्याबलमा चामलको पिठो र गेरुवा माटोको पञ्जाछापसमेत लगाइन्छ।

साँझ केराको बोट, पात तथा रंगीबिरंगी फूलले घरको दैलो सजाइन्छ। अहिले 'शुभ दीपावली' लेखिएको आधुनिक र तयारी सजावटका सामग्रीले महिलाका हस्तकलाका सजावटलाई विस्थापितजस्तै गरिसकेको छ। भारतबाट भित्रिएको 'रंगोली'ले समेत सजावटको स्थान जमाउन थालेको छ। लक्ष्मीपूजाकै दिन व्यापारिक प्रतिष्ठानहरूले आफ्ना कामदारलाई नयाँ कपडा र मिठाईसमेत उपहार दिने अभ्यास मधेशमा छ। 

माटोको दियो मधेशको मौलिक परम्परा हो। मैनबत्ती र बिजुलीबत्तिको आगमनसँगै केही पहिले घट्दै गएको दियोको प्रयोग मधेशमा फर्कन थालेको छ। पाँच दिवसीय त्यौहारको मध्यमा पर्ने यस पर्वको मधेशमा प्रचलित नाम देवदियरी हो: देवताहरूका लागि दियो बाल्ने पर्व। 

दीपावलीलाई दियाबाति पनि भनिन्छ। साँझ घरआँगनमा दियो बालेपछि लक्ष्मीको पूजा गरिन्छ। त्यसपछि मिठाई, फलफूल, पकौडा, पुरी र खिरजस्ता शाकाहारी परिकार खाने-खुवाउने चलन छ। मध्यरातमा घरका गरगहना र सुनचाँदीका पैसाको पूजा हुन्छ, यो धनपूजा परिवारका सदस्यबाहेक अरूले नदेख्ने गरी गर्ने चलन छ। 

दीपावली कहिले शुरू भयो भन्ने सन्दर्भमा अनेक मत छन्। सबैभन्दा बढी प्रचलित मत रावणमाथि रामले विजय प्राप्त गरेर अवध फर्केको उपलक्ष्यमा दीपावली मनाइएको भन्ने हो। अर्को मतअनुसार सम्राट् अशोकले आफ्नो राज्यमा ८४ हजार स्तूप निर्माण गरेपछि त्यसकै खुसियालीमा 'दिपोत्सव' मनाए भन्ने पनि छ। 

परुवा
लक्ष्मीपूजाको भोलिपल्ट विश्रामको दिन हो। यस दिन कामको दबाब नलिई आराम गर्ने चलन छ। ढल्किएर आरामको मुद्रामा रहनुलाई मधेशको भोजपुरीलगायत भाषामा ‘परल’ भनिन्छ। आरामको दिनलाई लोकबोलीमा ‘परुवा’ भनिन्छ। 

यस दिन महिलाहरूले घरअगाडि गोबरले ‘गोधन’ बनाउँछन्। गो भनेको गाई र धन भनेको सम्पत्ति। गाई र गोरुलाई गृहस्थ जीवनको अभिन्न अंगको रूपमा देखाउने गरी घरअगाडि गोबरद्वारा सानो नमूना बस्ती नै बनाइन्छ। नमूना आकृतिमा घरहरूसँगै गाईगोरुका बथान, तिनले घाँसपराल खाने भाडो-नाद, पोखरी र भकारीजस्ता प्रतीकहरू हुन्छन्। यसैलाई ‘गोधन’ भनिएको हो। खासगरी घरका महिलाले अघिल्लो पुस्ताबाट सिकेर ‘गोधन’ बनाउँदै आएका छन्। 

पौराणिक मान्यताअनुसार द्वापर युगमा इन्द्रले पारेको मौसमी प्रकोपबाट गोकुलवासीलाई जोगाउन श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर समस्त नगरलाई ओत लाग्न दिए। उक्त प्रसंगको सम्झनामा बनाइने गोकुल गाउँ नै ‘गोधन’ भएको मान्यता छ। यस दिनलाई हिन्दु पञ्चाङ्गमा गोवर्द्धन पूजा भनिएको छ। 

यस दिन मधेशमा गाईगोरु र बाच्छाबाच्छी मात्र नभई भैँसी र पाडापाडीसमेत सिँगार्ने चलन छ। साँझ पशुधनलाई नजिकको चउरमा लगेर त्यहाँ ल्याइएको एउटा सुँगुरलाई हिर्काउन प्रेरित गर्ने ‘डाढमार’ नामको चलन दुई दशक अघिसम्म सघन थियो। ऐतिहासिक कारणसँग जोडिएको ठानिने सो प्रचलन गाउँघरमा बिस्तारै मनोरञ्जनात्मक खेलका रूपमा परिणत भयो। अहिले भने सो चलन छिटपुट ठाउँमा मात्र भेटिन्छ।

भैया दुज अर्थात् बजडी
गोवर्द्धन पूजाको भोलिपल्ट भैया दुज (भाइटिका) मनाइन्छ। ‘गोधन’मा प्रयोग भएको गोबरका आकृति यसै दिन टोलैपिच्छे जम्मा गरेर त्यसमा लोक विधिहरू पूरा गरिन्छ। यसलाई गोधन कुटाई भनिन्छ। कुट्नका लागि गोधन राखिएको ठाउँमा महिलाहरूले घेरा हाली समूहमा गीत गाउँछन्। हलो जोत्दा गोरु/राँगोको काँधमा राख्न प्रयोग हुने काठको जुवा (बलि)लाई यहाँ भाइको प्रतीकको रूपमा राखिन्छ। 

यस दिन गाइने भाकालाई ‘श्रापे के’ भन्ने चलन छ। सहभागी महिलाले दाजुभाइको मृत्यु भएको र भाउजू विधवा भएको प्रसंगका गीतसमेत यहाँ गाउँछन्। यस्तो भाका गाउँदा उनीहरूको स्वर मलिन हुन्छ। दाजुभाइलाई श्राप दिएपछि सहभागीहरूले रेंगनीको काँडा आफ्नो जिब्रोमा घोच्दै त्यस्तो अनिष्टको गीत गाउने जिभ्रोलाई प्रतिकात्मक रूपमा दण्डित दिएको अभिनय गर्छन् र सो काँडालाई माटोको हाँडीमा जम्मा गरिन्छ। 

गीतको अर्को चरणमा उनीहरू आशिष् दिएर दाजुभाइ जीवित भएको र भाउजू अखण्ड सौभाग्यवत भएको चर्चा गर्छन्। दाजुभाइको दीर्घायुको कामना गर्दै यो क्रम सकिन्छ। दाजुभाइउपर आइपर्न सक्ने संकटको कल्पना गर्दै, लगत्तै बहिनीको आशिषले संकट टरेको सन्देश यसमार्फत दिन खोजिन्छ: 

होइहे अजर अमर 
मोर भइया
जिअ भइया लाख बरिस
(मेरा दाजुभाइ अजर र अमर हुनु, लाख वर्षको आयु होस्!”)

फलफूल र केराउलगायत सामग्री चढाएर दियो बाल्दै सामूहिक पूजा हुन्छ। काँडा जम्मा भएको माटोको हाँडीलाई शुरूमै त्यहाँ थुपारिएको ‘गोधन’का ढिस्कोमाथि राखेर सबै जना मिलेर कुटेर नष्ट गर्ने चलनलाई नै गोधन कुटाई भनिन्छ। 

साइतअनुसार गोधन चुटाइपछि सामूहिक पूजा हुन्छ। अन्तमा गोधनमाथि सबैले आफ्नो आफ्नो दियो बाल्छन्। यस दियोको शिखामा सेकेर गाजल बनाइन्छ। गाजलमा गोवर्द्धन देवको आशीर्वाद समाहित रहेको लोक मान्यता छ। पूजास्थल (प्राय: टोलका चोक) बाट फर्किसकेपछि दिदीबहिनीले दाजुभाइलाई टिका र माला लगाई गोधनको पूजा गर्न उपयोग गरिएका सुकेका केराउ मुखमै लगेर खुवाइदिने चलन छ। पहाडमा जस्तो भाइटिकामा सप्तरंगी टिकाको प्रचलन भने मधेशमा छैन। मालामा यही फूल चाहिन्छ भन्ने अनिवार्य छैन।  

दिदीबहिनीले खुवाउने कुरालाई नै ‘बजडि’ भनिएको हो। ‘बजडि’पछि मिठाइ खुवाउँदै दाजुभाइलाई पिठ्युँमा धाप दिएर दिदीबहिनीले आशीर्वाद दिन्छन्। यसपछि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिएर आशीर्वाद लिन्छन्। यसरी पाँच दिनको पर्व सकिएसँगै कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने छठको तयारी शुरू हुन्छ। र, छठका भाकाहरू गुन्जिन थाल्छन्।


सम्बन्धित सामग्री