Monday, May 06, 2024

-->

इजरायल र प्यालेस्टाइनको पुरानो घाउ किन कचल्टिइरहेछ?

शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टिनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।

इजरायल र प्यालेस्टाइनको पुरानो घाउ किन कचल्टिइरहेछ

इजरायली र प्यालेस्टिनीबीचको झन्डै शताब्दी लामो शक्ति–संघर्षले फेरि एकपटक संसारको ध्यान आकर्षण गरेको छ। यो झगडाको जड के हो र यो पुरानो घाउ किन घरीघरी बल्झी रहन्छ, त्यसलाई एक पटक इतिहासको पाना पल्टाएर हेर्नु उचित होला।

इजरायलीहरू को हुन्?
अहिले जुन ठाउँमा इजरायल भन्ने देश छ, त्यो ठाउँमा प्राचीन कालदेखि नै मानव सभ्यताको विकास हुँदै आएको छ। २००० वर्षअघि रोमन साम्राज्यले त्यो भूमि आफ्नो अधीनमा लिनुभन्दा अघि त्यहाँ तीन वटा स्वतन्त्र देश थिए– इजरायल, जुडिया र फिलिस्तिन। यीमध्ये पहिलो दुईमा यहुदीहरूको बाहुल्य थियो र उनीहरूकै राज्य थियो। इसं ६ मा रोमन साम्राज्यले ती देशहरू कब्जा गरेपछि एउटै प्रान्त बनाएर जुडिया नाम दिए।

इसं ६६ देखि ७३ सम्म, ११५ देखि ११७ सम्म र फेरि १३२ देखि १३६ सम्म यहुदीहरूले रोमविरुद्ध त्यहाँ विशाल विद्रोह गरे। उक्त विद्रोह सिरिया, इजिप्ट, साइप्रस र मेसोपोटामिया (अहिलेको इराक) सम्म फैलिएको थियो। यी सबै देशहरू त्यतिखेर रोमकै अधीनमा थिए। तीन पटक गरी भएको विद्रोहमा २० लाखभन्दा बढी यहुदी मारिए, धेरै विस्थापित भए। रोमनहरूले एक लाख जति यहुदीलाई दास बनाएर बेचे। जेरुसलेम शहर जलेर ध्वस्त भयो। १३६ मा अन्तिम पटक यहुदी विद्रोह दबाइएपछि यहुदीहरूले त्यहाँ फेरि टाउको उठाउन सकेनन्। उक्त तीन वटा असफल विद्रोहको फलस्वरूप यहुदीहरू आफ्नै भूमिमा अल्पसंख्यकमा परिणत भए।

यहुदी विद्रोह दबाउन मुख्य भूमिका निभाउने रोमन सेनाका जनरलहरूमध्ये दुई जना (ई.स. ६९ मा भेस्पासियन् र  इसं ११७ मा हेड्रियन्) रोमन साम्राज्यका सम्राट् बने। सम्राट् हेड्रियनले सिरिया र जुडियालाई जोडेर एउटै प्रान्त बनाए र त्यसको नाम सिरिया प्यालेस्टाइना राखे। सिरिया र प्यालेस्टाइन अलग्गिएपछि प्यालेस्टाइन नै त्यो भूमिको नाम रहन गयो।

इसं ३९५ मा रोमन साम्राज्य दुई भागमा टुक्रियो र त्यसको एक सय वर्ष पनि नपुग्दै ४७६ मा पश्चिमी रोमन साम्राज्यको (जसको राजधानी रोम थियो र जहाँबाट रोमन साम्राज्यको शुरूआत भएको थियो) पतन भयो। पूर्वी रोमन साम्राज्यलाई बैजान्टिन् साम्राज्य भनिन्छ र जसको राजधानी कन्स्ट्यान्टिनोपल् भने कायम रह्यो। यस बेलासम्म इजरायलबाट नै सुरु भएको क्रिश्चियन नामको नयाँ धर्म रोमन साम्राज्यभरि फैलिएर रोमन राज्यले नै उक्त धर्म अँगालिसकेको थियो। 

जिजस (येशु) यहुदी नै भए तापनि र रोमनहरूले नै उनलाई मृत्युदण्ड दिएको भए तापनि उनको मृत्युको करिब एक सय वर्षपछि मात्रै लेखिएको बाइबलमा यहुदीहरूलाई दोषी देखाइएको हुनाले यहुदीहरू क्रिश्चियनहरूको कोपभाजनमा परे। प्यालेस्टाइन करिब ५०० वर्ष बैजान्टिन् साम्राज्यको अधीनमा रह्यो। 

अब सातौँ शताब्दीमा जाऔँ। बैजान्टिन् साम्राज्य कमजोर भइसकेको थियो भने पूर्व–पश्चिम रोमन साम्राज्यको ठाउँमा विभिन्न साना राज्यहरू अस्तित्वमा आएका थिए। रोममा क्रिस्तानहरूका सर्वोच्च धर्मगुरु पोप शासन गर्थे। यही बेला अरबको मरुभूमिमा एउटा नयाँ धर्मको उदय भयो। इस्लाम धर्मका अनुयायीहरू बाढी आएझैँ उर्लेर आए र एक सय वर्षभित्रै सम्पूर्ण मध्यपूर्व आजको साउदी अरब, इरान, इराक, इजिप्ट, आदि देशहरूमा द्रुत गतिमा आफ्नो साम्राज्य बिस्तार गरे। उनीहरूले ६३८ मा जेरुसलेम कब्जा गरेपछि इस्लामी उम्मायद साम्राज्यको अधीनमा प्यालेस्टाइन गयो।

अब ११औँ शताब्दीतिर लागौँ। इस्लामको दिनानुदिनको बढ्दो शक्ति देखेर डराएका पोप अर्बन् २ ले १०९५ मा जेरुसलेमलाई फेरि क्रिश्चियनको अधीनमा ल्याउने उद्देश्यले क्रुसेड (धर्म युद्ध) को आव्हान गरे। उक्त आव्हानलाई स्विकार्दै युरोपभरका क्रिश्चियनहरू हजारौँको संख्यामा युद्धमा होमिए। दोस्रो क्रुसेडमा क्रिश्चियनहरूले जेरुसलेम कब्जा गर्न सफल भए। 

तर त्यसको ८८ वर्षपछि ११८८ मा सुल्तान सालादिनको नेतृत्वमा इस्लामीहरूले फेरि जेरुसलेम कब्जा गरे। सालादिनलाई इस्लामी संसारको सबैभन्दा महान् विजेतामध्ये एक मानिन्छ। उनले हालको सिरिया, इजिप्ट, जोर्डन, इजरायल र साउदी अरेबिया जितेर ठूलो साम्राज्य खडा गरेका थिए। त्यसपछि १२औँ शताब्दीको अन्त्यसम्म क्रिश्चियनहरूले आठ वटा क्रुसेड गरे, तर कुनैमा पनि जेरुसलेम कब्जा गर्न सफल भएनन्।

अब सिधै लागौँ, १५औँ शताब्दीमा। यो शताब्दीमा एउटा नयाँ इस्लामी साम्राज्य अत्तोमनको उदय भयो र एक हजार वर्ष पुरानो क्रिश्चियन साम्राज्य बैजान्टिन् सदाका लागि अस्तायो। इ.स. १४५३ मा अत्तोमन सुल्तान मेहमेद २ ले बैजान्टिन‍्को राजधानी कन्ट्यान्टिनोपल कब्जा गरेपछि बैजान्टिन् साम्राज्यको अस्तित्व समाप्त भयो। उनले कन्स्ट्यन्टिनोपल शहरको नाम परिवर्तन गरेर इस्तान्बुल राखे, जुन आजसम्म कायमै छ। त्यस बेला प्यालेस्टाइन इजिप्टको अधीन थियो। अत्तोमनहरूले १५१५ मा प्यालेस्टाइन कब्जा गरे र बिस्तारै इजिप्टलगायत सम्पूर्ण मध्यपूर्व र दक्षिणपूवी युरोपमा आफ्नो साम्राज्य बिस्तार गरे। अब त्यहाँ बाँकी रहेका यहुदीहरू अत्तोमन साम्राज्यका अल्पसंख्यक प्रजा बने।

यसरी विभिन्न चरणमा भएका राजनीतिक र धार्मिक परिवर्तनसँगै यहुदीहरू आफ्नो प्राचीन भूमिबाट पलायन भए। लखेटिएका र स्वेच्छाले बसाइसराइ गरेर गएका यहुदीहरू युरोपभरि छरिए। तीक्ष्ण बुद्धि र मेहनतीसमेत भएका कारणले जहाँ जहाँ गए, त्यहाँ त्यहाँ चाँडै प्रगति गरे। कतिपय ठाउँमा त्यहाँको अर्थतन्त्र नै कब्जा गर्न सफल भए। उनीहरूको यो सफलता नै फेरि उनीहरूको दुःखको कारण बन्यो। उनीहरूको बढ्दो सम्पत्ति र शक्ति देखेर डराएका र ईर्ष्यालु भएका युरोपेलीहरूले उनीहरूलाई दुःख दिने, लखेट्ने, उनीहरूविरुद्ध अनेक नियम कानून बनाउने गरे। तर पनि उनीहरूको प्रगतिमा ब्रेक लागेन। व्यापारमा मात्रै होइन, विज्ञान र साहित्यमा पनि उनीहरू उत्तिकै अब्बल भएर निस्के। अल्बर्ट आइन्स्टाइन, निल्स बोहर, जोन वन नेउम्यान, रोबर्ट ओपन्हाइमरजस्ता दर्जनौँ विश्व प्रख्यात वैज्ञानिकहरू उत्पादन गरे।

अब भने लागौँ २०औँ शताब्दीतर्फ। बाह्य र आन्तरिक लडाइँझगडा र युरोपेलीहरूको बढ्दो शक्तिले कमजोर बनिसकेको अत्तोमन साम्राज्य पहिलो विश्वयुद्ध हार्ने पक्ष (जर्मनी) लाई साथ दिएपछि छिन्नभिन्न भयो। टर्कीले गणतन्त्र घोषणा गरेर आफूलाई अत्तोमन साम्राज्यको उत्तराधिकारी बनायो भने बाँकी भागहरू विश्वयुद्धका विजेता ब्रिटेन र फ्रान्सले बाँडेर लिए। त्यसमध्ये इजिप्ट, इराक, जोर्डनसहित प्यालेस्टाइन ब्रिटेनको भागमा पर्‍यो। त्यसपछि यहुदीहरूको इतिहासमा नयाँ अध्याय शुरू भयो। १९औँ शताब्दीको अन्तिम दशकदेखि नै यहुदीहरूले आफ्नै स्वतन्त्र राज्यका लागि आवाज उठाउन थालेका थिए र ठूलो संख्यामा प्यालेस्टाइन फर्किन थालेका थिए। प्यालेस्टाइन बेलायतीको हातमा परेपछि त्यो क्रमले झन् तीव्रता पायो।

शुरू–शुरूमा यहुदीहरूले प्यालेस्टिनीहरूबाट घरजग्गा खरिद गरे। आफ्नो बहुमत भएपछि बलपूर्वक खोसेर लिए। हजारौँ प्यालेस्टिनी आफ्नो घर र जमिनबाट लखेटिए। यसरी छोटो समयमा नै स्थिति उल्टियो। प्यालेस्टाइनमा यहुदीहरू फेरि बहुसंख्यक बने भने प्यालेस्टिनीहरू अल्पसंख्यक।

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीले ६० लाख यहुदीको संहार गरेपछि ब्रिटेन र संयुक्त राज्य अमेरिकालगायत पश्चिमी राष्ट्रहरूले यहुदीहरूलाई उनीहरूको आफ्नै राज्य दिन सहमत भए। त्यस बेला यहुदी र अरब (प्यालेस्टिनी) हरूलाई बेग्लाबेग्लै राज्य दिने प्रस्ताव गरेका थिए। तर त्यो निर्णयबाट क्रुद्ध भएका प्यालेस्टाइन र अरबहरूले उक्त प्रस्ताव स्वीकार गरेनन्। फलस्वरूप १९४८ मा यहुदीहरूको इजरायल नामको राष्ट्रको जन्म भयो। त्यसलगत्तै इजिप्ट, सिरिया, ट्रान्स-जोर्डन (अहिलेको जोर्डन), इराक, लेबनान, यमन र साउदी अरेबिया मिलेर इजरायलमाथि आक्रमण गरे। तर उक्त युद्धमा इजरायल विजयी भयो र सिरियाको गोलान हाइट्, इजिप्टको साइनाइ र प्यालेस्टिनीका लागि छुट्याइएको वेस्ट ब्यांक र गाजा क्षेत्र पनि कब्जा गर्‍यो।

प्यालेस्टिनीहरू को हुन्?
प्यालेस्टिनीहरू यहुदीहरूजस्तै इजरायलका प्राचीन कालदेखिकै बासिन्दा हुन्। रोमन साम्राज्यको समयमा त्यस क्षेत्रमा बसोबास गर्ने गैरयहुदीका साथै विभिन्न चरणमा त्यस स्थानमा विजयप्राप्त गर्दै आएका इस्लाम धर्मावलम्बी-अरबीहरूका सन्तान नै अहिलेका प्यालेस्टिनीहरू हुन्। सांस्कृतिक र भाषिक रूपमा उनीहरू अरबी हुन्। उनीहरू प्रायःजसो इस्लाम धर्म मान्छन् र अरबी भाषा बोल्छन्।

सातौँ शताब्दीसम्म बैजान्टिन् साम्राज्यको अधीनमा रहेको प्यालेस्टाइनलाई इस्लाम धर्मावलम्बीहरूले कब्जा गरेको समयदेखि आजको दिनसम्म निरन्तर रूपमा (११औँ शताब्दीमा दोस्रो क्रुसेड पछिको ८८ वर्षबाहेक) उनीहरू यस क्षेत्रमा बसोबास गर्दै आएका छन्। इस्लामले विजय गर्नुभन्दा अघि र त्यसपछिको केही शताब्दीसम्म सिरिया र प्यालेस्टाइनका अधिकांश बासिन्दा क्रिश्चियन धर्मावलम्बी थिए। अत्तोमन कालसम्म आइपुग्दा तिनीहरू प्रायःजसो सबैले इस्लाम अँगालिसकेका थिए। अहिले पनि थोरै प्यालेस्टिनीहरू क्रिश्चियन छन्।

इसं १९४८ मा यहुदी राष्ट्र इजरायलको गठन भएदेखि नै प्यालेस्टिनीहरू निरन्तर आफ्नो भूमिको लागि संघर्ष गरिरहेका छन्। आज उनीहरू इजरायलको अधीनमा रहेको वेस्ट ब्यांक र गाजा क्षेत्रमा सीमित छन्। छिमेकी देश जोर्डन, सिरिया र लेबनानमा पनि प्यालेस्टिनीहरू ठूलो संख्यामा बस्छन्।

त्यस भूमिमा कसको बढी अधिकार?
जुन भूमिमा आज इजरायल भनिने देश छ, त्यसलाई इसं १९४८ सम्म प्यालेस्टाइन भनिन्थ्यो। रोमन साम्राज्यले आफ्नो अधीनमा ल्याउनुभन्दा अघि इजरायल, जुडिया र फिलिस्तिन नाम गरेका राज्यहरूमा सो भूमि विभाजित थियो। त्यो प्राचीन भूमिमा यहुदी र प्यालेस्टिनी दुवैको बराबर अधिकार लाग्छ। दुवै समुदायले आफ्नो भूमिका लागि प्रशस्त संघर्ष गरेका छन्, प्रशस्त रगत बगाएका छन्। 

तर शायद इसं २००० वर्षसम्म राज्यविहीन भएर र अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदीहरू अनुदार र लोभी देखिएका छन्। उनीहरू त्यो भूमि प्यालेस्टिनीहरूसँग बाँड्न चाहँदैनन्। उल्टो झनै बढी प्यालेस्टिनीहरूको भूमि कब्जा गर्न चाहन्छन्। अहिले त्यहाँ जे भइरहेको छ, त्यसको दोष इजरायलका दक्षिणपन्थी प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको उग्र दक्षिणपन्थी नीतिलाई सिधै जान्छ। यो समस्याको एउटै मात्रा समाधान छ: इजरायललाई विभाजित गरेर प्यालेस्टिनीहरूलाई उनीहरूको आफ्नै स्वाधीन र सार्वभौम राज्य दिने। ढिलो चाँडो इजरायलले प्यालेस्टाइनको स्वाधीनताको सम्मान गरी सुखै छैन।


सम्बन्धित सामग्री