Monday, May 06, 2024

-->

जनैले निर्माण गरेको तागाधारी स्वामित्व

१८२५ सालमा पृथ्वीनारायण शाहले नोल्छे दरबारबाट राजकाज शुरू गरेपछिको आधुनिक  नेपालमा 'जनै राजनीति'को हालीमुहाली देखिन्छ।

जनैले निर्माण गरेको तागाधारी स्वामित्व

प्रेमकुमार गैरे 'क्वान्टम'

पहिले आफ्नै कुरा गरौँ। 

आज विक्रम संवत‍्को पात्रो अनुसार २०८० को श्रावण मासको शुक्ल पक्षको पूर्णिमा अर्थात् जनै पूर्णिमा। ५० को दशकमा जनै र रक्षा बन्धनबाट वञ्चित हुँदाका दिन एक दलित बालमस्तिकमा कस्तो मनोवैज्ञानिक असर पर्न गयो भन्नेबारे केही अनुभूतिजन्य प्रसंगमा ध्यानाकृष्ट गराउँदै छु। पृथ्वीनारायण शाहले रोपेको 'असिल हिन्दुस्ताना'को विष-वृक्षलाई पक्षपोषण र मलजल गर्दै पचासी वर्षपछि वि.सं. १९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गर्दा 'अछुतभित्रको छोइछिटो हाल्नुपर्ने जात'मा चालिसको दशकको शुरूवातीको मध्यम वर्गीय परिवारमा जन्मेको हुँ म। 

कुनै लिखित वंशावली नभए पनि ती शासकहरूका वंशावली हेर्दा र पुस्ताको हिसाब गर्दा मभन्दा पहिले सातौँ पुस्ताले जंगबहादुर राणाद्वारा जारी 'मुलुकी ऐन'को हुकुमी र असमान शासनको प्रताडना खप्दै आएको देखिन्छ भने त्योभन्दा पहिलेको उत्पीडनको घनत्वलाई लेखाजोखा गर्न निकै गाह्रो छ। मरिसकेका मेरा छ वटा पुस्ताले जनै बन्चितिकरणमा पर्दा के-कस्ता निमोठिएको र चिमोटिएको अनुभूत गरे होलान्, ०४६ को राजनीतिक परिवर्तन पछाडि बहुदलीय शासन प्रणालीको प्रादुर्भाव कालमा मैले सँगालेका अनुभवहरूको फेहरिस्तले त्यसबारे केही हदसम्म आँकलन गर्न सकिएला। मोटर नपुगिसकेको त्यो कालखण्डमा पाल्पा जिल्लाभित्र पर्ने मेरो गाउँ टोलमा मगर,सार्की, केही नेवार र एक घर बाहुन थिए। 

तीस वर्ष पहिलेको यस्तै जनै पूर्णिमाबाट मेरो स्मरणमा जातीय विभेदका बाछिटा संग्रहित रहेछन्, जति बेला म 'बोर्डिङ स्कुल'को दुई कक्षामा पढ्दै थिए। अहिलेजस्तै त्यो समय पनि जनै पूर्णिमाको दिन सार्वजनिक बिदा हुने गर्थ्यो। गाउँ टोलका मगर र नेवार बाल सखाहरूले पण्डितको हातबाट रंगिविरंगी रक्षाबन्धन हातमा बाँधेर आँगनमा खेल्थे तर हामी भने खाली हात रहन्थ्यौँ। उनीहरू खुसीले फुरुङ्ङ हुन्थे भने हामी निराश र रित्तो। ती साथीहरू भन्ने गर्थे, 'हामी ठूलो जात, तिमीहरू सानो, त्यसैले जनै लगाउन पाउँदैनौ।'

त्यो बेला हाम्रो गाउँमा 'रक्षाबन्धन'को खासै चलन थिएन र हाते डोरोलाई पनि जनै नै भन्ने गरिन्थ्यो। हाम्रै घरछेउ हुँदै अर्को मगर टोलतर्फ झोलीमा काँचो डोरो बोकेर पण्डित जान्थे, तर हाम्रा घरपट्टी उनका आँखा पर्दैनथे। यस्तै अपमान र हीनताबोधमा बित्ने त्यो दिनको भोलिपल्ट जब स्कुल जान्थेँ, अधिकांश विद्यार्थी साथी र शिक्षकको दायाँ हातमा डोरो झल्किन्थ्यो। कक्षा कोठामा एउटा मुसलमान साथी र मबाहेक अन्य सहपाठीहरू हातको डोरो प्रदर्शनको प्रतिस्पर्धामा उत्रन्थे। हामी दुई भने मूकदर्शक ! 

जब कक्षा ६ मा पुगियो, तब पसलमा गएर सिलाउने रंगिविरंगी धागो आफैँ किनेर हातमा बाँध्न थालियो। यो क्रम कक्षा आठ पुग्दासम्म चल्यो भने ०५८ सालबाट जिल्ला सदरमुकाम तानसेनमा कक्षा नौ र दशमा पढ्दाको बखत नारायणस्थान मन्दिरमा सहज रूपले 'रक्षाबन्धन' बाँध्ने अवसर मिल्यो। मन्दिरको सहज अवसरले कमसेकम मेरो बालमस्तिस्कमा परेको अपमान र उपेक्षाको भावले लगाएको चोटलाई केही मलहम लगाउने काम गर्‍यो।

काठमाडौँ बसाइ र जनै विद्रोह
०६० सालमा क्याम्पस पढ्न नयाँ ठाउँ काठमाडौँ आएपछि रक्षाबन्धनबाट वञ्चित हुने सवाल नै भएन। स्नातक तहमा पढ्दै गर्दा वेदको अध्ययन गरेपछि थाहा पाइयो, जात जन्मले होइन, कर्मले निर्धारण गर्दछ। सोहीअनुरूप विद्या हासिल गर्ने, कर्म गर्ने र कुनै 'अभक्ष' चिजको सेवन नगर्ने म यज्ञोपवीत अर्थात् जनै धारण गर्ने ल्याकतको रहेछु भन्ने बोध भयो र ०६२ सालको जनै पूर्णिमाको दिनमा पशुपतिनाथको मन्दिरमा गाउँबाट आएका काकासँगै पुगियो र काभ्रेका गुरुको हातबाट जनै अभिमन्त्रित गरिँदै थियो।  

संयोगले सोही समयमा काकाका दुई जना बाहुन जातका गाउँकै साथीहरू त्यहाँ टुप्लुक्क आइपुग्नुभयो। कुनै सामाजिक सञ्जाल नभएको उक्त कालमा पशुपतिमा जुन सानो घटना भयो, त्यसलाई काकाका साथीहरूले गाउँमा प्रचार प्रसार गर्ने काम गरिदिनु भयो। उहाँहरूलाई साधुवाद दिनै पर्ने हुन्छ। भएको के थियो भने पैँतिस वर्षे मेरा काकालाई मैले जनै लगाउन गरेँ तर उहाँले अस्वीकार गर्नुभयो। अछुतहरूले जनै लगायो भने अनिष्ट हुन्छ र जनै खटिरा आउँछ भन्ने गाउँघरको अन्धविश्वासमा हुर्किनु भएका काकाले जनै विद्रोह नै त गर्ने आँट त गर्नु भएन, तर पहिलो पटक डोरो बाँध्नु भयो।

त्यसपछिका हरेक जनैपूर्णिमाको दिनमा दलित समुदायका मेरा धेरै मित्रहरूले जनै लगाउँदै परम्परागत र विभेदी समाजविरुद्ध 'जनै विद्रोह' गर्नुभयो र सामाजिक सञ्जालले त्यो कर्मको प्रचार प्रसार गर्न थाल्यो। बिपी कोइरालाले जनै त्याग्नु र उत्पीडित समुदायले जनै लगाउनु उस्तै विद्रोह हो भन्ने भाष्य प्रयोग गर्दै एक दशकसम्म जनै विद्रोह गरियो।

धर्मग्रन्थमा जनैको इतिहास
सनातनी (हिन्दु) हरूका कुल १६ संस्कारमध्ये 'व्रतबन्ध' ('व्रत'- संस्कारगत नियमले र 'बन्ध' अथवा बाँधिने अभ्यास) बाह्रौँ संस्कारमा पर्छ, जसलाई 'उपनयन' वा 'यज्ञोपवीत' संस्कार पनि भनिन्छ। करिब पैँतिस सय वर्ष पहिले लिपिबद्ध गरिएको भनिएको वेदमध्ये सबैभन्दा पुरानो ऋग्वेदलाई मानिन्छ र यसको दशौं मण्डलको 'पुरुषसुक्त' मा चार वर्णहरू ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रको उत्पत्ति भएको उल्लेख छ।ती चार वर्णमध्ये तिन वर्णहरू 'द्विज' (दोस्रो जन्म लिनेवाला) लाई वेद पढ्ने र जनै धारण गर्ने प्राधिकार दिएको पाइन्छ। 

अथर्ववेद (११-७-३) का अनुसार वैदिक कालमा आचार्य (गुरु) ले ब्रह्मचारी बटुक (शिष्य) लाई उपनयन संस्कार गराउँदै आफ्नो ज्ञानरूपी शरीरभित्र गर्भधारण गर्थे। तीन रातसम्म शिष्यलाई गर्भमै राखेर आफ्नै संस्काररूपी दोस्रो जन्म दिन्थे र उसलाई अभिनन्दन गर्न देवताहरू पनि एकत्रित हुन्थे। 

मनुस्मृति (२-१७१) मा उल्लेख भए बमोजिम व्रतबन्ध संस्कार गर्नुभन्दा पहिला ती तीन वर्णलाई कुनै पनि श्रौत (सुन्न) र स्मार्त (स्मरण) कर्म गर्ने अधिकार रहँदैन किनभने व्रतबन्ध नगरीकन द्विजत्व प्राप्त हुँदैन।

नेपालमा तागाधारी स्वामित्व (स्वत्व) निर्माण
विशेष गरी काठमाडौँ खाल्डोमा भारत वैशालीका लिच्छवि शासकहरू, पश्चिम कर्णालीको खस राज्यमा मल्ल शासकहरू र दक्षिणी मधेस भूभागमा गंगा मैदानीका वैदिक आर्यहरूको आगमनले तागाधारी (जनै धारण गर्ने) र गैर तागाधारी (जनै धारण नगर्ने) झुन्ड निर्माण भई स्पष्ट रूपमा विभाजित भएको देखिन्छ। वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले नोल्छे दरबारबाट राजकाज शुरू गरेपछिको आधुनिक  नेपालको कुरा गर्ने हो भने 'जनै राजनीति'को हालीमुहाली भएको स्थिति देखिन्छ। सामन्तवादी युगको मुख्य उत्पादक शक्ति जमिन भएको उक्त समयमा जात व्यवस्था अन्तर्गतका उच्च जातका जनै लगाउने तागाधारीहरूले मात्रै बिर्ता पाउने अधिकार पाएपछि स्वाभाविक रूपमा वर्ग निर्माणको प्रक्रिया शुरू भयो। अझै १९०३ सालदेखि वीरनरसिंह कुँवर (जंगबहाहुर राणा) ले शासनसत्ता हत्याएपछिको जहानियाँ राणा शासनको अभ्युदयसँगै १९१० सालमा जारी गरिएको मुलुकी ऐनले त लिखित रूपमै तागाधारी स्वत्वलाई जीवित बनाएको देखिन्छ।

क) पितृसत्तात्मक तागाधारी स्वत्व निर्माण
जनैको पौराणिक इतिहासलाई दृष्टिगत गर्दा यो पितृसत्तात्मक अवधारणालाई स्थापित गर्ने अस्त्र हो भन्ने तथ्य सहजै भेट्टाउन सकिन्छ। कहीँ कतै श्लोकमा स्त्रीले पनि यज्ञोपवीत धारण गर्न मिल्ने भन्ने लेखिएता पनि इतिहासको कालखण्डमा स्त्रीहरूले जनै लगाएको यथेष्ट प्रमाण र तथ्य भेटिँदैन। करिब पाँच हजार वर्षयता प्रारम्भ भएको पितृ सत्तालाई त्यसको पन्ध्र सय वर्ष पछाडि अर्थात् उत्तर वैदिक कालदेखि लिपिबद्ध र दस्तावेजिकरण गर्दै स्थापित गर्न खोजिएको देखिन्छ। 

पुरुषलाई अनेक संस्कार र विद्याको माध्यमबाट बलशाली र विद्वान करार गर्ने तर महिलालाई यी अवसरहरूबाट वञ्चित गर्दै  'सती जाँदा पुण्य' हुने भाष्य निर्माण गरी राजीखुशी वा बाध्यकारी ढंगले अग्निदाह गराउने धर्माधिकारीहरूले जोडबल गरेको भेटिन्छ। जस्तै: हिन्दू 'उच्च वर्णीय' पुरुषलाई जनै धारण गराउने र सोही वर्णका महिलालाई भने विवाहपश्चात् व्रतको बन्धनमा बाँधिने भएकाले उनीहरूले विवाहलाई नै आफ्नो दोस्रो जन्म हुने संस्कारका रूपमा ग्रहण गर्नुपर्छ भन्ने भाष्य निमार्ण गर्नुले पुरुष र महिलाबीच स्पष्ट खाडल देखिन्छ। पुरुष अधीनस्थ महिला रहेको बुझ्न सकिन्छ। यसले स्वाभाविक रूपमा पुरुष प्रजातिमा 'हामी महिलाभन्दा अब्बल, शक्तिशाली र विद्वान हौं, त्यसैले यिनीहरूको शासक बन्नु हाम्रो नैसर्गिक अधिकार हो' भन्ने पितृसत्तात्मक दम्भी स्वत्व निमार्ण गरेको छ। यही जकडिएर पत्थरझैँ कडा र जब्बर बनेर बसेको पितृ सत्ताको फणा महिलाविरुद्ध सदैव उठ्ने गरेको पाइन्छ। यसकै जगमा निरन्तर हिजोदेखि आजसम्म प्रत्येक क्षेत्रमा नेपाली समाजमा महिलाको स्तर र स्थान कहाँ छ भन्ने दृष्टान्त हामीले यत्र तत्र सर्वत्र भेटाउन सक्छौँ।

ख) जात व्यवस्थात्मक तागाधारी स्वत्व निर्माण
उत्तर वैदिक काल यता नै तागाबाट वञ्चित शूद्र वर्णलाई पौने दुई शताब्दी पहिले नेपाली समाजमा लिखित रूपमै कानुनी प्रक्रियामार्फत जातको श्रेणीको सबैभन्दा तल राखियो। यसरी जात व्यवस्था लागु गरेपछि हिन्दू उच्च जातीय अहंकारबादी तागाधारी स्वत्वको निर्माण औपचारिक रूपमा हुन पुग्यो। तागाधारी, नमासिन्या मतवाली, मासिन्या मतवाली, छुत-पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने र अछुत-पानी नचल्ने छोइछिटो हाल्नु पर्ने गरी नेपाली समाजलाई स्पष्ट रूपमा विभेदकारी पाँच तहगत संरचनामा १९१० को मुलुकी ऎनले विभाजित गरिदियो। यसपछि नै तागाधारी र गैरतागाधारी जातको असमान सामाजिक व्यवस्था बन्न पुग्यो भने यही विभाजित र राजनीतिक रूपमा अचेत समाजलाई एक शताब्दीभन्दा लामो समय राणा परिवारले शासन गरे। जात व्यवस्थाका आर्थिक, सांस्कृतिक र राजनीतिक तीन क्षेत्रमा तागाधारी स्वत्वले के प्रभाव पार्छ भन्ने बारे चर्चा गरौँ।

आर्थिक क्षेत्र
राणा शासन पूर्व कुनै पनि क्षेत्रका राजा रजौटाले उक्त समयको आर्थिक महत्त्व बोकेको ठाउँको जमिनलाई बिर्ताका रूपमा वितरण गर्दथे। तर राणा शासनकाल अझ मुलुकी ऐन जारी भएपछि बिर्ता बाँड्ने अधिकार राणाहरूले आफूभित्र निहित गरे भने आफ्ना निकटतम मुठ्ठीभरका  भाइ भारदार, पुरोहित, जर्नेल-कर्नेल,गुठी (विभिन्न देवीदेवताका नाममा गुठी ठड्याउँने) र विभिन्न 'दर्जा'का आफ्ना श्रीमतीबाट जन्मेका सन्तानका नाममा बेपरवाह बिर्ता वितरण गरिदिए। सो युगको मुख्य सम्पत्ति र शक्ति नै जमिन थियो तर निश्चित तागाधारी जातका केही खलकलाई मात्रै जमिनको मालिक बनाउँदा स्वतः मालिक र दासको वर्ग निर्माण हुन पुग्यो। नेपालमा आजसम्म हेर्दा पनि त्यही बिर्ता परम्पराको संरचनागत लाभांश पाउनेका खलक नै आर्थिक क्षेत्रमा अगाडी देखिन्छ भने उक्त जमिनको दासका नवपुस्ताहरू समेत अहिले पनि उही मालिकको कारखानाको श्रमिकमा परिणत हुन बाध्य छ।

सांस्कृतिक क्षेत्र 
आर्थिक क्षेत्रमा पहुँच र पहिचान भएपछि तागाधारीहरू अन्य निहत्था जनतामाथि सांस्कृतिक रूपमा हमला गर्न सक्ने हैसियतमा पुगे। धर्मान्धको पगरी आम जनतालाई गुथाइदिएर तहगत संरचनामा समाजलाई टुक्र्याउनु र एक तहका मान्छेलाई अछुतसम्म बनाउनु नै 'उच्च जातीय अहंकारबादी तागाधारीय स्वत्व' निर्माण गर्नु हो। प्रत्येक जात अर्को जातभन्दा माथि कि तल हुनु पर्ने उक्त ऐनको व्यवस्थाले शासक वर्गले 'फुटाऊ र राज गर' भन्ने रणनीतिक हतियारमार्फत आफ्नो शासकीय रजगज चलाइरह्यो।

तर उत्पीडित र शासित वर्गलाई भने सांस्कृतिक रूपमै यति धेरै फ्याकहरूमा चिरिदियो कि अहिलेसम्म पनि ती फ्याकहरू विभाजित र असरल्ल अवस्थामा भेटिन्छन्। तर तागाधारी गरिब र शोषित बाहुन जातको मानिस मासिन्या मतुवाली अन्तर्गतको तामाङ जातिको मानिस सँगसँगै मिलेर शासक वर्गविरुद्ध संघर्षमा उत्रिनु पर्ने अहिलेको अवस्थामा दुवै उत्पीडितहरू सांस्कृतिक विभ्रममा छन्। एक आपसबिच गाइका बारेमा पक्ष-प्रतिपक्ष भएर जुधिरहेछन्। बिर्सनु हुन्न, धार्मिक लठैतहरूको जन्म पनि तागाधारीय स्वत्वले निर्माण गरेको हो।

राजनीतिक क्षेत्र
सामान्य भाषामा भन्दा 'निर्णय गर्न पाउने अधिकार' नै राजनीति हो। अहिले नेपालको सन्दर्भमा निर्णायक तहमा को छ भनेर सरसर्ती हेर्‍यो भने अधिकांश स्थानमा तागाधारी जातकै मानिस भेटिन्छन्। अपवाद बाहेक नेपालको इतिहासदेखि हालसम्मका सबै प्रधानमन्त्री, मुख्यसचिव-सचिव, प्रधानन्यायाधीश, प्रधानसेनापतिहरू बिर्तावाल तागाधारीका सन्तान-दर-सन्तान नै बन्न पुगेका छन्। यो उनीहरूको व्यक्तिगत दोष वा इच्छाशक्तिले नभई विकृत स्वत्वले निर्माण गरेको असमान व्यवस्थाको कारणले हो।

तर सँगसँगै, सबै तागाधारीहरूले बिर्ता पाए र शासक वर्ग भए भन्ने एकांकी बुझाइको विभ्रमबाट पनि हामी मुक्त हुन जरुरी छ। केबल मुठ्ठीभरका केही खलकले मात्रै यसो गर्ने मौका पाएका थिए। जनैको धागोले मानिसहरूको विभाजन र उपेक्षा गरेको होइन। न त निर्जीव वस्तुले गर्न सक्ने नै हो। त्यसैले यसको विरोध वा समर्थनमा उत्रिनुको अर्थ पनि छैन।

धारण गर्ने संस्कृति र आस्था हुने पुराना वा नयाँ समुदायले धारण गरिरहुन्। तर जनैको आडमा शासक वर्ग र धर्माधिकारीले गरेको सांस्कृतिक फट्याइँमा बास गरेको पितृ सत्ताको विषाक्त फणा र जात व्यवस्थाको उच्च जातीय अहंकारबादी स्वत्वको भने बेलैमा पहिचान गर्नु आवश्यक देखिन्छ। विज्ञान 'एआई' को चमत्कारिक युगमा पुगेको यस युगमा त्यस्तो स्वत्वलाई ध्वंस नगर्ने नवयुवा पुस्ता डाइनोसरको अवस्थामा पुग्ने निश्चित प्राय: छ।

कुनै समय बीपी कोइरालाले जनै त्याग्नु र उत्पीडित समुदायले जनै लगाउनु उस्तै विद्रोह हो भन्ने भाष्य प्रयोग गर्दै एक दशकसम्म 'जनै विद्रोह' गरियो।


सम्बन्धित सामग्री