Friday, May 10, 2024

-->

सुरुङ–यात्रामा कसरी गर्ने जोखिम नियन्त्रण?

सुरुङमार्गले यात्रा दक्षतामा वृद्धि र यात्रा समय बचत गर्छ, तर खुला सडकको तुलनामा दुर्घटनाका जोखिम थपिएका हुन्छन्। सुरुङमा दुर्घटनाको दर कम देखिए पनि, दुर्घटनाको परिणाम भने गम्भीर हुन्छ।

सुरुङ–यात्रामा कसरी गर्ने जोखिम नियन्त्रण

सार्वजनिक यातायातमा सुरुङको प्रयोग बाह्य मुलुकका लागि नौलो होइन। नेपालमा भने सुरुङमार्ग अहिलेसम्म सञ्चालनमा आएको छैन। हाल निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ सर्वसाधारणका लागि खुला गरिने पहिलो सडक सुरुङ हुनेछ। यसबाहेक काठमाडौँ–तराई द्रुतमार्गमा पनि सुरुङको खण्ड रहेको छ भने सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ‘डिजाइन’को काम भइरहेको छ।

नेपालमा सडक विकासको इतिहास धेरै लामो छैन। काठमाडौँमा सन् १९२४ मा पहिलो मोटर गुड्ने सडक निर्माण भएको थियो। त्यसपछि सडक सञ्जालको विस्तारसँगै सडक दुर्घटनाको संख्या पनि बढ्दै छ। वर्ल्डलाइफ एक्स्पेक्टेन्सी डट्कमले विश्व स्वास्थ्य संघलाई उद्धृत गर्दै प्रकाशित गरेको तथ्यांकअनुसार, प्रतिलाख जनसंख्यामा सडक दुर्घटनामा ज्यान गुमाउनेमा अफ्रिकन मुलुकका नागरिक सबैभन्दा अगाडि छन् भने नेपाल ७२औँ स्थानमा छ। हाम्रा छिमेकी मुलुकहरू बंगलादेश र भारत हामीभन्दा सुरक्षित छन्। क्रमशः ८८ र ९० औँ स्थानमा रहेका छन् भने सिंगापुर र स्विजरल्यान्ड सबैभन्दा सुरक्षित १८०औँ  स्थानभन्दा माथि छन्।

विश्व बैंकले प्रकाशित गरेको 'डेलिभरिङ रोड सेफ्टी इन् नेपाल' प्रतिवेदनअनुसार नेपालमा ६० प्रतिशतभन्दा बढी घातक सडक दुर्घटनाको कारण चालकले गर्ने त्रुटिहरू (ट्राफिक कानून उल्लंघन, मादक पदार्थ सेवन, ओभरलोडिङ, तीव्र गति) हुन्। प्रतिवेदनले सडक प्रयोगकर्ताको असुरक्षित व्यवहारको नियन्त्रण सडक सुरक्षाको ठूलो चुनौती रहेको उल्लेख गरेको छ।

सुरुङको सुरक्षा
दुर्घटना कम गर्न इन्जिनियरिङ डिजाइनदेखि नै सजगता अपनाइएको हुन्छ। यसबाहेक सुरुङ सञ्चालनको अवस्थामा भइपरी आउने दुर्घटना र आपत‍्कालीन अवस्थासँग जुझ्न विभिन्न सुरक्षा उपकरण जडान गरिएको हुन्छ। तर सैद्धान्तिक रूपमा जति सजगता अपनाइए तापनि सवारी चलाउँदा सतर्कता अपनाइएन भने दुर्घटनाको सम्भावना घट्दैन। यस लेखले नेपालको सन्दर्भमा चालकको व्यवहार र मनोविज्ञानबाट हुनसक्ने दुर्घटना र न्यूनीकरणका उपाय तथा सुरुङ सञ्चालकले ध्यान दिनुपर्ने विषयबारे छलफल गर्न खोजेको छ।

रेल, बस वा सार्वजनिक सवारीसाधन चलाउन सुरुङमार्ग प्रयोग हुन्छ। सडक थप्न वा विस्तार गर्न सतही ठाउँको अभाव भएको शहरी छेत्रमा सुरुङमार्ग एक आकर्षक विकल्प बन्दै गएको छ। नेपालजस्तो भौगोलिक कठिनाइ भएको देशमा लामो, घुमाउरो र लगातार पहिरो जाने पहाडी सडक बाटोलाई अन्त्य गरी सुरुङमार्गले सरल र छोटो बाटो बनाउन मद्दत गर्छ। नागढुंगा–नौबिसे र सिद्धबाबा सुरुङमार्ग यसरी लाभान्वित हुने दुई आयोजनाका उदाहरण हुन्। सुरुङको मुख्य बेफाइदा निर्माणको उच्च लागत हो।

सुरुङमार्गले यात्रा दक्षतामा वृद्धि र यात्रा समय बचत गर्छ, तर खुला सडकको तुलनामा सुरुङमार्गमा दुर्घटनाका जोखिम थपिएका हुन्छन्। ऐतिहासिक रूपमा हेर्दा खुला सडकको तुलनामा सुरुङमा दुर्घटनाको दर कम देखिए पनि, दुर्घटनाको परिणाम भने गम्भीर रहने गरेको पाइएको छ। त्यस्तै, सडकको तुलनामा सुरुङमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दोब्बर रहेको विभिन्न तथ्यांकले देखाएको छ।

सुरुङभित्र हुने आगलागी सबैभन्दा ठूलो जोखिम हो। आगलागी भएमा बन्द वातावरणमा धुवाँ, ताप र विषाक्त ग्याँस जम्मा भई मानिसको ज्यान जाने गरेको छ। सन् २००० ताका फ्रान्स र इटालीलाई जोड्ने मोन्ट ब्लांक सुरुङ र स्विजरल्यान्डको गोथर्ड सुरुङमा भएको आगलागीका घटनामा क्रमशः ३८ र ११ जनाको मृत्यु र सयौँ घाइते भए। त्यस्तै, कोरियाको ताइगु र अजरबैजानको बाकु मेट्रो (रेल चल्ने) सुरुङमा भएको आगलागीमा परी १९७ र २८९ जनाको ज्यान गएको थियो।

सुरुङको भित्री क्षेत्रको तुलनामा पोर्टल (सुरुङ छिर्ने र निस्कने मुख) क्षेत्र नजिक बढी दुर्घटना हुने तथ्यांकले देखाउँछ। यसको एउटा कारण खुल्ला वातावरणबाट सुरुङभित्र छिर्दा श्रव्य तथा दृश्य वातावरणमा अचानक आएको  परिवर्तन र यसबाट चालकमा परेको मनोवैज्ञानिक असर मानिएको छ।

विकसित देशहरूमा खुला सडकको तुलनामा सुरुङमा दुर्घटनाको जोखिम झन्डै आधा कम रहेको तथ्यांकले देखाउँछ। यसको एउटा कारण चालकले अतिरिक्त सावधानी अपनाउनु र ट्राफिक नियमको पालना गर्नु हो। नेपालको सन्दर्भमा अधिकांश मानिसले सुरुङमा सवारी चलाएको अनुभव गरेका छैनन्। त्यसबाहेक, जुन अनुशासनले हामीले खुला सडकमा सवारी हाँकी रहेका छौँ, त्यो सुरुङभित्र सुरक्षित यात्राको लागि पर्याप्त छैन।

दुर्घटनाको सैद्धान्तिक गम्भीरता मूल्यांकन गर्न इन्जिनियरिङमा दुई कुरालाई आधार मानिन्छ, दुर्घटना हुने सम्भावना कति छ र सो दुर्घटनाले कति धनजनको क्षति गर्न सक्छ। यी दुई कुराको मान जति बढ्यो, दुर्घटनाको असर/प्रभाव/दर त्यति नै बढ्छ। यी दुई कुरा इन्जिनियरिङ डिजाइनदेखि चालकको व्यवहार अनि मनोविज्ञानसम्म निर्भर हुन्छन्। देशको वस्तुस्थिति सुहाउँदो इन्जिनियरिङ डिजाइन गरेर, उपयुक्त सुरक्षा उपकरणको व्यवस्था गरेर  र अनुशासित तरिकाले  सवारी चलाउँदा दुर्घटनाको असर/प्रभाव/दरलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

नेपालमा मुख्यतः सडक प्रयोगकर्ता र सडक सञ्चालकले सुरक्षाको सन्दर्भमा तीन वटा पक्षमा ध्यान दिनुपर्ने देखिन्छ। पहिलो, सुरुङको सवारी सुरक्षाका बारेमा सम्बन्धित निकायले सडक प्रयोगकर्ताहरूलाई शिक्षित गर्नु। दोस्रो, सवारी  चालकले  ट्राफिक अनुशासनमा  सुधार गर्नु र तेस्रो, सडक सञ्चालकले प्रशासनिक र वैधानिक नीति नियमको कडा कार्यान्वयन गर्नु हो। यस लेखको बाँकी अंशले यी तीन कुराको  व्याख्या गरेको छ।

१. सवारी सुरक्षासम्बन्धी शिक्षा
नेपालमा हालसम्म कुनै पनि सडक सुरुङ सञ्चालनमा नआइसकेको हुनाले सर्वसाधारणका लागि पहिलोचोटि सुरुङ खोल्नुअघि त्यहाँ हुनसक्ने सम्भावित जोखिम र न्यूनीकरणका उपायहरूबारे जनतालाई जानकारी गराउनु जरुरी छ।

सुरुङमा एउटा प्रवेश गर्ने र अर्को निस्कने पोर्टल(द्वार) हुन्छ। लामो सुरुङमा सुरुङको मध्य भागबाट पनि प्रवेश गर्ने र निस्कने व्यवस्था हुनसक्छ।

सुरुङमा खुला राजमार्ग, जस्तै: कंक्रिट सतह (पेभमेन्ट) र लेन मार्किङ हुन्छ। विपरीत दिशामा सवारी चलाउनका लागि सामान्यतः दुई वटा समानान्तर र एकतर्फी सवारी चल्ने सुरुङ निर्माण गरिएको हुन्छ। यदि एउटै सुरुङ दुईतर्फी सवारी चल्ने गरी बनाएको खण्डमा अर्को समानान्तर तर सानो 'एस्केप टनेल' पनि बनाइएको हुन्छ। 'क्रस प्यासेज' दुई मुख्य सुरुङहरू वा मुख्य सुरुङ र 'एस्केप टनेल' जोड्ने साना सुरुङ हुन्।

यिनीहरू नियमित अन्तरालमा बनाइएका हुन्छन् र आपत‍्कालीन अवस्थामा सुरक्षित रूपमा सुरुङबाट भाग्नको लागि प्रयोग गरिन्छ। नागढुंगा–नौबिसे दुईतर्फी सुरुङको उदाहरण हो। दुईतर्फी सुरुङमा विपरीत दिशाबाट हुने सवारी दुर्घटनाको (हेड अन कोलाइजन) को जोखिम बढ्छ। यस प्रकारको दुर्घटना पछाडिको सवारीले ठक्कर दिएर हुने दुर्घटनाभन्दा घातक हुन्छ। नौबिसे–नागढुंगाभित्र सवारी चलाउँदा चालकले यसतर्फ सचेत हुनु पर्ने देखिन्छ।

सीसीटीभी क्यामेराको प्रयोग गरी सुरुङ निगरानी  गर्न, धुवाँ र हानिकारक ग्यास पत्ता लगाउन र सुरुङभित्र स्थापित आपत‍्कालीन 'कल पोइन्ट'हरूमार्फत यात्रुहरूसँग सञ्चार कायम गर्न सुरुङबाहिर नियन्त्रण कक्ष (टनेल कन्ट्रोल रूम) स्थापना गरिएको हुन्छ।

सुरुङभित्र ताजा हावा प्रदान गर्न सुरुङको छत वा पोर्टलमा पंखाहरू जडान गरिएको हुन्छ। एकतर्फी सुरुङको हकमा, गाडीहरू आफैँले पनि 'पिस्टन इफेक्ट' भनिने प्राकृतिक पद्धतिद्वारा सुरुङभित्र ताजा हावा तान्न मद्दत गरिरहेका हुन्छन्। आगलागीको अवस्थामा धुवाँलाई पोर्टल वा सुरुङको बीच भागबाट जमिनसम्म जोडेर बनाइएका चिम्नीमार्फत फ्याँक्नका लागि पंखाहरू समेत प्रयोग गरिन्छ।

आगलागी तथा धूवाँ पत्ता लगाउने यन्त्र, अग्नि नियन्त्रक उपकरण, भेन्टिलेसन र भूमिगत सञ्चार प्रणालीहरू सुरुङभित्र जडान गरिएको हुन्छ, जुन सामान्यतया खुला सडकहरूमा पाइँदैन। यात्रीलाई नजिकको क्रस प्यासेजसम्म पुर्‍याउने दिशानिर्देशक साइनबोर्ड र आपत्कालीन अवस्थामा सूचना प्रवाह गर्ने स्पिकर जडान गरिएको हुन्छ। त्यस्तै, यात्रुको रेडियोमा आकस्मिक सन्देश प्रसारण गर्न रेडियो ब्रेक–इन प्रणाली पनि जडान गरेको हुन सक्छ। निश्चित अन्तरालमा जडान गरिएका इलेक्ट्रोनिक साइनबोर्डले चालकहरूलाई आफूभन्दा अगाडिको सडकको अवस्थाबारे सूचित समेत गर्छ।

यसो हुँदा सुरुङ सञ्चालन शुरू गर्नुअघि सम्बन्धित निकायले रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन मिडियामार्फत जनमानसलाई यस्ता सुरक्षा प्रणालीबारे जानकारी गराउनु जरुरी छ। सम्भव भएसम्म सुरुङ र 'क्रस प्यासेज'को वास्तविक आकारमा नमुना बनाइ प्रदर्शन गर्नुपर्छ।

२. सवारी चालकको व्यवहार 
नेपालमा सवारी चालकहरूले ट्राफिक अनुशासनमा उल्लेख्य सुधार गर्नुपर्ने देखिन्छ। हाल खुला सडकमा जुन तरिकाले सवारी सञ्चालन भइरहेको छ, सोही स्तरमा सुरुङभित्र सवारी चलाएमा दुर्घटनाको परिमाण र परिणाम बढ्ने निश्चित छ। लेन मार्किङमाथि वा धेरै नजिक लगातार डाइभिङ गर्ने, अनियमित रूपमा लेन परिवर्तन गर्ने, सवारीसाधनबीच थोरै अन्तर राख्ने र तीव्र गतिमा सवारी हाँक्ने जस्ता व्यवहारहरूमा हामीले परिवर्तन ल्याउनै पर्छ। दुईतर्फी नौबिसे–नागढुंगाजस्ता सुरुङमार्गमा ट्राफिक नियम पालना नगर्ने र जथाभाबी 'ओभरटेक' गर्ने गरियो भने विपरीत दिशाका सवारी ठोक्किएर हुने 'हेड–अन–कोलाइजन'जस्ता घातक दुर्घटनाको जोखिम निकै बढ्छ।

आपत‍्कालीन अवस्थालाई कुशलतापूर्वक सामना र व्यवस्थापन गर्न प्रत्येक यात्रुको व्यवहार उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसो हुँदा आकस्मिक परिस्थितिमा तुरुन्तै प्रतिक्रियात्मक हुने बानीसमेत परिवर्तन गर्नुपर्छ। यात्रुहरू शान्त रहनुपर्छ र सुरुङ नियन्त्रण कक्षले दिएको निर्देशन पालना गर्नुपर्छ। चिन्तित हुनु र अनियन्त्रित रूपमा जथाभाबी दौडनुले सुरुङभित्र झनै खराब स्थिति बनाउँछ। आगलागीको अवस्थामा आगोको कारणले भन्दा धुवाँले  निसासिएर  मानवीय क्षति बढी  हुन्छ। यस्तो अवस्थामा नियन्त्रण कक्षले धुवाँ कम भएको दिशा निर्धारण गरी सो दिशाबाट भाग्न निर्देशन दिन्छ। यस्तो निर्देशन बेवास्ता गर्दाको परिणाम घातक हुन सक्छ।

नियन्त्रण कक्षले दुर्घटनाको नजिक रहेका यात्रुहरूलाई बाहिर निकाल्न प्राथमिकता दिन सक्छन्। घटनास्थलबाट टाढा रहेका यात्रुहरू गाडीभित्रै सुरक्षित रहेका हुन सक्छन्। ती यात्रुहरूले निर्देशन नपाएसम्म भाग्न हुँदैन। नियमको अवज्ञा गर्नु र सवारीसाधन लिएर वा नलिईकनै अनियमित रूपमा भाग्ने प्रयास गर्दा एम्बुलेन्स र दमकलजस्ता आकस्मिक सवारीसाधन रोकिएर अन्य यात्रुहरूको जीवन खतरामा पर्न जान्छ।

सुरुङ यात्राको सुरक्षालाई असर गर्ने अर्को कारक चालकको मनोविज्ञान हो। सुरुङभित्रको साँघुरो वातावरणमा चालकलाई चिन्ता, अनिश्चितता र दुर्घटनाको कल्पनाले मानसिक तनाव हुन सक्छ। सुरुङको भित्तामा सवारी ठोक्किने डरले चालकहरूले सुरुङको पर्खालको छेउमा गाडी चलाउन असहज महसुस गरी भित्ताबाट दूरी बढाउँछन्, जसले सँगैको लेनमा गुडिरहेको सवारी साधनसँग ठोक्किने जोखिम थप्छ।

अगाडि जोखिम देखिँदा चालकको दिमागलाई सो जोखिमबारे प्रतिक्रिया लिन अनि खुट्टालाई ब्रेक थिच्न केही सेकेन्ड समय लाग्छ। ब्रेक थिचेपछि पनि गाडी स्थिर अवस्थामा आउन केही समय लाग्छ। सो कुरा सवारीको गतिमा भर पर्छ। 

घुम्ती भएको ठाउँमा आफूभन्दा अगाडि 'देखिने दुरी' (साइट डिस्ट्यान्स)  सुरुङको भित्ताले सीमित गरिदिन्छ, जसले गर्दा  चालकको दिमागसँग  प्रतिक्रिया गर्न सीमित समय हुन्छ। हामी 'देखिने दुरी' लामो भएको खुल्ला बाटोमा अत्यधिक गतिमा सवारी चलाउन अभ्यस्त भएका हुन सक्छौँ। सुरुङभित्र सोही अभ्यासमा तीव्र गतिमा सवारी हाँक्नाले अप्रत्याशित दुर्घटना निम्त्याउँछ। दुईतर्फी सुरुङमा यस प्रकारले हुने दुर्घटना घातक हुनसक्छ। यस अवस्थाबाट बच्ने उत्तम उपाय भनेको तोकिएको गतिमा सवारी हाँक्नु र अगाडिको गाडीसँग न्यूनतम दूरी कायम गर्नु हो।

नियमित रूपमा सवारी चलाउनाले चालकको मनोवैज्ञानिक व्यवहारमा स्थिरता आउँछ, तर त्यसका लागि केही समय लाग्छ। त्यस कारण, मनोवैज्ञानिक कारणले हुने दुर्घटनालाई न्यूनीकरण गर्न सुरुङ सञ्चालनका प्रारम्भिक दिनहरूमा, सम्बन्धित निकायले तोकिएको  गति कम गरी क्रमिक रूपमा बढाउँदै  लैजानुपर्छ। 'रियल टाइम स्पिड डिस्प्ले' निश्चित दुरीमा जडान गरी चालकलाई मापदण्डभन्दा बढीमा सवारी हाँक्न दुरुत्साहित गर्न सकिन्छ। चालकको मनोविज्ञान विचलित नपार्न सुरुङ सञ्चालकले सुरुङभित्र विज्ञापन, ब्यानर, सूचना आदि टाँस्न, चहकिलो  रङ वा ढाँचाले सुरुङको भित्तामा रंग लगाउन दिनुहुँदैन।

३. प्रशासनिक नियन्त्रण
दुर्घटना र तिनको गम्भीरतालाई कम गर्न सुरुङ सञ्चालकले प्रशासनिक र ट्राफिक निकायले ट्राफिक नियममा कडाइ गर्नुपर्छ। नियन्त्रण कक्षका कामदारहरूले सुरुङ संचालनसम्बन्धी विशेष तालिम लिनुपर्छ। तालिमको व्यावहारिक ज्ञान लिन विदेशमा हाल सञ्चालनमा रहेका नियन्त्रण कक्षको स्थलगत भ्रमण र निरीक्षण जरुरी छ।

दमकल र  एम्बुलेन्सजस्ता आपत‍्कालीन टोलीसँग नियन्त्रण कक्षको राम्रो समन्वय भएको हुनुपर्छ। आगलागीजस्तो आपत‍्कालीन अवस्थामा प्रत्येक सेकेन्ड धेरै महत्त्वपूर्ण हुनाले आपत‍्कालीन टोली जतिसक्दो चाँडो घटनास्थलमा पुग्नुपर्ने हुन्छ। नियमित रूपमा  सुरुङ बन्द गरी आपत‍्कालीन अवस्थाको पूर्वाभ्यास गर्नुपर्छ। 

ट्राफिकको खुल्ला प्रवाहलाई असर पर्ने मोपेड, ट्याक्टर र स्कुटरजस्ता ढिलो चल्ने सवारीसाधनलाई सुरुङ मार्गमा बन्देज गर्नुपर्छ। चालक र सवार सबै यात्रुले सिट बेल्ट बाँध्न अनिवार्य गर्नुपर्छ। गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध गर्नु पर्छ। मादक पदार्थ सेवन गरी वा लापरबाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई भारी जरिबाना र सवारी चालक अनुमति–पत्र अस्थायी रूपमा निलम्बन गर्नेजस्ता व्यवस्था गर्नुपर्छ।

यान्त्रिक समस्याका कारण गाडी अनियन्त्रित भएर, चुहिएको तेलमा चिप्लिएर वा चुहिएको इन्धनमा आगो लागेर पनि दुर्घटना निम्तिन सक्छ। त्यस कारण सुरुङमा प्रवेश गर्ने गाडीलाई निर्माताको सिफारिसअनुसार नियमित सेवा/सम्भार गर्न अनिवार्य गरिनुपर्छ। ग्यास, पेट्रोलजस्ता सम्भावित ठूला जोखिम बोकेका सवारीसाधनको आवतजावतमा विशेष ध्यान दिनुपर्ने हुन्छ र यस्ता ढुवानी साधनको हकमा निश्चित मापदण्ड तोकी छुट्टै नीति नियम बनाउनु पर्छ। 

अन्त्यमा, सवारी चालकको व्यवहार, सडक सञ्चालकको कुशलता र ट्राफिक व्यवस्थापनको त्रिकोणीय सन्तुलनले सडक सुरक्षाको मापदण्ड कायम गरेको हुन्छ। नेपालको सन्दर्भमा सुरुङ दुर्घटना नियन्त्रण गर्न यी तिनै पक्षले आ–आफ्नो तर्फबाट सकारात्मक प्रयास गर्नु अत्यन्त जरुरी देखिन्छ।


विष्ट सुरुङसम्बन्धी सिभिल इन्जिनियर हुन्।


सम्बन्धित सामग्री