Friday, April 19, 2024

-->

अन्तर्वार्ता
प्रधानमन्त्री भइसक्नु भएका माधव नेपाल राष्ट्रपति बन्न मिल्दैनः सुवास नेम्वाङ

प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुँदैन। माधव कमरेडको कुरा सुन्दा पनि उहाँ राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएजस्तो मलाई लाग्दैन।

प्रधानमन्त्री भइसक्नु भएका माधव नेपाल राष्ट्रपति बन्न मिल्दैनः सुवास नेम्वाङ

सत्ता गठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरू राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा छन्। तर एमाले भने पुस १० गते बालकोटामा सत्ता गठबन्धन गर्दा सहमति भएअनुसार आफ्नो पार्टीका उम्मेदवारलाई सघाउनुपर्ने बताइरहेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेससँग पनि सहमति कायम गर्नुपर्ने अडान राखेपछि एमाले अध्यक्ष केपी शर्माओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ। 

पार्टी एकताको शर्तसहित ओलीले राष्ट्रपतिका लागि नेपाललाई प्रस्ताव गरेको एक नेताले बताए। तर एमाले नेताहरू ओलीले यस्तो प्रस्ताव राखेको औपचारिक रूपमा बताइरहेका छैनन्। राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर पार्टीभित्र र बाहिर भइरहेका छलफलबारे एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानी।

एमालेले माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेको हो? 
हामीले राष्ट्रपतिको निर्वाचनका लागि एमालेबाट उम्मेदवार छान्ने र जितका लागि अन्य दलसँग सहकार्य गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छौँ। अध्यक्षले त्यसबारे आवश्यक गृहकार्य गरिरहनु भएको छ। आवश्यक पर्दा हामीसँग पनि छलफल गरिरहनु भएको छ। तर अध्यक्षले राष्ट्रपति बन्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेको जस्तो पटक्कै लाग्दैन। किनभने प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति नै हुँदैन। माधव कमरेडको कुरा सुन्दा पनि उहाँ राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएको जस्तो मलाई लाग्दैन। मैले फेरि दोहोर्याएँ–प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्नुहुुन्न। 

त्यसो भए ओली र नेपाल किन भेटिरहनु भएको छ त? 
उहाँहरू (ओली र नेपाल)बीच भेट भइरहेको साँचो हो। दलका नेताहरूबीच भेटघाट भइरहनुपर्छ। तर यी भेटहरूमा अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेको भन्दै बाहिर आएको सूचना साँचो हो भन्ने मलाई लाग्दैन। अन्य विषयमा कुरा भएका हुन सक्छ। पार्टी एकताको विषयमा कुरा भएको हुन सक्छ।

राष्ट्रपतिमा नेपाललाई मनाउन अध्यक्षले सभामुखलाई खटाएको भन्ने छ नि?
माधव नेपाल र सभामुखबीच भेट हुँदैमा आश्चर्य मान्नु पर्ने कारण छैन। उहाँहरूबीच राष्ट्रपतिको उम्मेदवारबारे नभइ अरू विषयमा कुराकानी भएको हुनसक्छ। किनभने सभामुखले कुनै पनि दलका नेताको प्रस्ताव अर्को दलको नेतालाई मान्न आग्रह गर्दै हिँड्नुहुन्छ जस्तो लाग्दैन। त्यसो गर्न पनि मिल्दैन। 

तपाईंको आफ्नो ‘पोजिसन’ के हो? 
अहिले यसबारे केही कुरा भएको छैन। पार्टीले कस्तो निर्णय गर्छ त्यो महत्वपूर्ण हो। त्यो निर्णयअनुसार चल्नुपर्छ। 

तपाईं आफै राष्ट्रपतिको दौडमा हुनुहुन्छ भन्ने कुरा साँचो हो?
व्यक्तिगतरूपमा कुनै पनि आग्रह छैन। म एउटा मूल्यमान्यतामा विश्वास गर्ने मान्छे हुँ। म अब सरकारमा जाने कुनै इच्छा छैन। सभामुख पनि दोहोर्याएर हुने इच्छा छैन। पार्टीले विश्वास गरेछ र मलाई छानेछ भने राष्ट्रपति अथवा प्रधानमन्त्री हुन तयार छु। म अहिलेसम्म प्रधानमन्त्री भइनँ। हाम्रो तर्फबाट कमरेड केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ भनिरहेका छौँ। बाँकी रहेको राष्ट्रपति हो। 

राष्ट्रपतिमा माओवादीसँग एमालेको कुरा किन मिल्न नसकेको हो? 
अहिले नै राष्ट्रपतिको विषयमा एमाले र माओवादीको कुरा मिलेन भन्न मिल्दैन। प्रधानमन्त्रीसँग हाम्रा अध्यक्ष निरन्तर छलफलमा हुनुहुन्छ। उहाँहरूको छलफलले एउटा निष्कर्ष निकाल्छ भन्नेमा हामी विश्वस्त छौँ।

माओवादीले राष्ट्रपतिमा एमालेलाई समर्थन नगरे तपाईंहरू के गर्नुहुन्छ? 
यो विषयमा प्रतिक्रिया दिनु अलि हतारो होला। प्रधामन्त्री र अध्यक्ष ओलीबीच माओवादीले राष्ट्रपतिमा एमालेलाई सघाउने सहमति भएको हो। त्यो सहमति कार्यान्वयमा माओवादी इमान्दार हुनैपर्छ। त्यही सहमतिअनुसार राष्ट्रपतिको निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छौँ। 

तर माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिइसकेको बताइन्छ नि? 
प्रधानमन्त्री र कांग्रेसका साथीहरूबीच छलफल भएको पक्कै पनि होला। मुख्य दलका नेताहरूले भेटघाट गर्नु या छलफल गर्नुलाई आश्चर्य मान्न सकिन्न। तर प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन दिइसकेको होला भन्ने हामीलाई विश्वास नै छैन। 

कांग्रेसले सभापतिलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको सार्वजनिक भएको छ। यसलाई कसरी हेर्नुभएको छ?
यो गलत हो। मैले अघि पनि भनेको थिएँ कि प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति बन्न मिल्दैन। राष्ट्रपति बनाउन लबिइङ गर्नु पनि राम्रो मानिन्न। कांग्रेसका साथीहरू पनि एकपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई राष्ट्रपति बनाउनु हुन्न भन्नेमा सहमत हुनुहुन्छ। 

राष्ट्रपतिको निर्वाचन किन यति जटिल बन्यो?
म पनि छक्क परिरहेको छु। राष्ट्रपतिको निर्वाचन यति जटिल यसअघि भएको थिएन। अलि बढी हल्ला भएर पनि जटिल बनेको हो। तर हामीलाई यो हल्लामा विश्वास छैन। हामी आफ्नो समझदारी र सहमतिमा इमान्दार हुनुपर्छ भन्ने थाहा छ। हामीसँग भएको सहमति कार्यान्वयनको विकल्प छैन। छलफल गर्दै जाँदा आखिरमा एमालेले अघि सारेको मान्छे राष्ट्रपति बन्छ भन्ने मलाई विश्वास छ।


सम्बन्धित सामग्री