टिकट पाउन चुनावपिच्छे दल फेर्नेहरू: पुरानासँगै ‘नयाँ’मा पनि अवसरवादकै रजाइँ

चुनाव जित्न जे पनि गर्ने पार्टी र सांसद बन्न जता पनि गइदिने अवसरवादले पुराना–नयाँ सबै पार्टीमा कसरी रजाइँ गर्दै छ भन्ने उत्कर्ष यसपालिको मनोनयनमा देखिएको छ।

काठमाडौँ– “राजनीतिमा विचार, निष्ठा र सिद्धान्तको जग कति कमजोर हुँदै गएको छ भन्ने फागुन २१ गते हुने निर्वाचनको मनोनयनले छर्लङ्ग पारेको छ।” 

मंगलबार देशभर भएको उम्मेदवारहरूको मनोनयनलाई लिएर त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन शर्मा आचार्यले गरेको टिप्पणी हो यो। हुन पनि मंगलबार बिहानैदेखि दिनभर नै जिल्ला–जिल्लामा वर्षौं काम गरेको पार्टी छाडेर अचानक अर्को पार्टी प्रवेश गर्ने, दिउँसोसम्म एउटा पार्टीमा रहेकाहरू अपराह्न अर्कै पार्टी छिर्ने शृंखला नै देखियो। यो सबैको उद्देश्य एउटै थियो– चुनाव लड्ने टिकट। आफू आबद्ध दलबाट उम्मेदवार बन्ने सम्भावना सकिएपछि एकाध व्यक्ति होइन, ठूलो संख्यामा दल बदल गर्नेको हुल नै देखियो। प्राध्यापक आचार्यले त्यही अवस्थालाई इंगित गरेर राजनीतिमा विचार र निष्ठाको अवसान भइरहेको टिप्पणी गरेका हुन्।
  
टिकटकै लागि दल बदल्नेहरू 
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पूर्वएसएसपी बिक्रमसिंह थापा प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए। २०७९ को प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका उनी यसपालि संघीय संसद् पुग्न लालायित थिए। तर अन्तिम घडीमा कांग्रेसबाट टिकट पाउने सम्भावना नदेखेपछि उनी ‘टिकट पक्का’ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे। रास्वपाबाट उनले मंगलबार कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गराएका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचन भन्दा ६ महिनाअघि खुलेको र आफूलाई नयाँ तथा बैकल्पिक शक्ति दाबी गर्दै आएको दल हो रास्वपा। कांग्रेसको साटो त्यही दलबाट टिकट पाउने निश्चित भएपछि अचानक पार्टी बदलेका थापा भन्छन्, “मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको छ, संविधान नै ट्रयाक बाहिर पुगेको छ। मुलुकको सार्वभौमिकता र अखण्डतामाथि प्रश्न खडा भएका बेला रास्वपाको आवश्यकता देखेर म यस अभियानमा जोडिएको हुँ।”

लुम्बिनी प्रदेशकै अर्को जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का कांग्रेस नेता विक्रम खनाल पनि ४२ वर्ष सक्रिय रहेको कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका छन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका र कांग्रेसको लुम्बिनी प्रदेशको महामन्त्री रहिसकेका खनाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त्यहाँबाट कांग्रेस उम्मेदवार रहेका व्यवसायी विनोद चौधरीलाई असहयोग गरेको भन्दै कारबाहीमा परेका थिए। कारबाही फुकुवा भएपछि यसपालि उनी उम्मेदवार बन्ने दौडधुपमा थिए।

पार्टी सभापति गगन थापासँग टिकटका लागि अन्तिम हारगुहार गरेका उनी चौधरीले नै टिकट पाएपछि रातारात रास्वपा प्रवेश गरेर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) –१ बाट उम्मेदवार बनेका हुन्। चौधरीविरुद्ध चुनावी मैदानमा ओर्लिएका खनालले उकालोसँग भने, “पार्टी नेतृत्व भ्रष्टाचारमा नलागोस् र सुशासन कायम होस् भनेर आवाज उठाउँदा म आफैँ निशानामा परेँ। विकृतिविरुद्ध बोल्दा आफैँमाथि प्रहार हुन थालेपछि सुशासन र रोजगारीलाई प्राथमिकता दिने रास्वपाको नीति पछ्याउँदै यता आएँ।”

सुनसरी–४ का कांग्रेस नेता अबुल हुसेन अन्सारी आइतबारसम्म पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध सडकमै नारा लगाइरहेका थिए। तर एमालेबाट टिकट पाउने सुनिश्चित भएपछि भोलिपल्टै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएर एमाले प्रवेश गरेको तस्बीर सार्वजनिक गरे।

कांग्रेस त्यागेर एमाले प्रवेश गरेका अबुल हुसेन अन्सारी

 

अन्सारीले सुनसरी–४ को टिकट पाउने निधो भए पनि त्यसले एमालेभित्र विद्रोह निम्त्याएपछि एमालेले उनलाई ‘ब्याक’ गर्दै पुरानै नेता जगदीश कुसियैतलाई उम्मेदवारमा अघि सारेको छ। अन्तिम समयमा उम्मेदवारी खोसिएपछि उनले फेसबुकमा लेखे, “अन्तिम घडीमा उम्मेदवार हुनबाट वञ्चित भए पनि राजनीतिक र सामाजिक सेवामार्फत देशको सेवा गर्ने मेरो इमान्दारिता, लगाब र निष्ठामा कुनै कमी आउन दिने छैन।”

रुपन्देही–४ मा कांग्रेसबाट निर्वाचित पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद यादवको फेसबुक प्रोफाइलमा बुधबार बिहानसम्म ‘नेपाली कांग्रेसबाट निर्वाचित सांसद’ को परिचय झुन्डिरहेको छ। तर यादवले मंगलबार नै एमालेको टिकट लिएर ठूलो तामझामसाथ प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा मनोनयन दर्ता गरिसकेका थिए। २०७४ र २०७९ का दुबै निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका यादवले यसपटक पनि कांग्रेसबाटै टिकट लिन खुबै जोडबल गरेका थिए। तर कांग्रेसले आशुतोष मिश्रलाई उम्मेदवार बनाएपछि उनी तत्कालै एमाले प्रवेश गरे।

एमालेले त्यो क्षेत्रमा सुनिता ठठेर वा हजरत अलीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरिसकेको थियो। उनीहरूलाई जिल्ल पार्दै अन्तिममा यादवले बाजी मारे।

सुदूरपश्चिमको जिल्ला अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहेका पुराना कांग्रेस नेता एवं महासमिति सदस्य बलबहादुर कुँवर पनि त्यो सम्भावना नदेखेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेर टिकट लिएका छन्। २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका नेता डा. शेखर कोइरालानिकट कुँवरले नेकपा प्रवेश गरेको भोलिपल्टै टिकट हात पारे।

नेकपाले त्यहाँ आफ्ना केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य शरदसिंह भण्डारीलाई उम्मेदवार तय गरिसकेको थियो। तर कुँवरको प्रवेशले भण्डारीलाई पछि हट्न बाध्य बनायो। कुँवरले सामाजिक सञ्जालमा ‘समयको मागलाई ध्यान दिएर कांग्रेस त्यागेको’ भन्दै मत माग्न शुरू गरिसकेका छन्।

तनहुँ–२ मा सोमबार मात्रै कांग्रेस छाडेर राप्रपा प्रवेश गरेका यामबहादुर खाँडले मंगलबार राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन दर्ता गरेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित खाँडले नेताहरूमा ‘निजी स्वार्थ हाबी भएको’ र ‘राप्रपाको पीडामा साथ दिन आफू आएको’ दाबी गरे। उनले भने, “जनता अब बाठा भइसके, नेताहरूले आफ्नो स्वार्थबाहेक केही हेरेनन्। बिचरा राप्रपाका नेताहरू पीडामा हुनुहुन्थ्यो, उहाँहरूको त्यही पीडामा मलम लगाउन र साथ दिन म यता आएँ।”

कांग्रेसका पुराना नेता, पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडियाले पनि टिकटका लागि कांग्रेस छाडेर एमाले रोजेका छन्। २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री भएका तर २०७९ मा पराजित भएका उनले एमाले प्रवेशसँगै कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, कांग्रेसनिकट नेपाल शिक्षक संघमा लामो समय सक्रिय रहेका राजेश सिंह सामन्तले दुई महिनाअघि नै ‘टिकट पक्का गर्दै’ रास्वपा प्रवेश गरेर दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

जताततै यही दृश्य
दल बदल्ने यो शृङ्खला सबैतिर उस्तै देखिन्छ। जस्तो, नेकपाका नेता एवं पूर्वसांसद शिवपुजन यादव छोरा अमनिशकुमार यादवले टिकट नपाएको झोकमा नेकपा छाडेर एमाले प्रवेश गरेका छन्। उनीसँगै सर्लाहीको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहसहितका कार्यकर्ता पनि एमालेमा गएका छन्। नेकपाले सर्लाही–४ मा डा. रजनिश रायलाई उम्मेदवार बनाएपछि यादवले एमालेबाट आफ्ना २६ वर्षीय छोराका लागि सोही क्षेत्रको टिकट सुरक्षित गराएका छन्।

शिवपुजन यादव र उनका छोरा अमनिशकुमार (गोलो घेराभित्र)

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य बनेका यादव, पछि माओवादी केन्द्र (हालको नेकपा) प्रवेश गरेका थिए। २०७४ मा राहदानी दुरुपयोग कसुरमा सर्वोच्च अदालतबाट उम्मेदवारी बदर भएपछि २०७९ मा उनले श्रीमती मिना यादवलाई समानुपातिक सांसद बनाएका र छोरी मधुमालालाई प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार उठाएका थिए। यसपटक छोराको टिकटका लागि पुनः दल बदलेको स्वीकार्दै उनले उकालोसँग भने, “प्रचण्डले अन्तिमसम्म छोरालाई टिकट दिन्छु भन्नुभयो, तर चलखेल गरेर अर्कैलाई दिनुभयो। एमालेले टिकट दिएपछि हामी यता आयौँ।” उनले थपे, “छोराले टिकट पाएको भए म नेकपा त्याग्ने थिइनँ।”

एमालेका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री वृजेशकुमार गुप्ता गत पुस २२ गते एमाले छाडेर नेकपा प्रवेश गरे। कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहेका गुप्ता एमालेले टिकट दिने सम्भावना नदेखेपछि ‘टिकट पक्का’ गर्दै नेकपा प्रवेश गरेका थिए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित भएका उनी २०७४ मा भने एमाले प्रवेश गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने एमालेबाटै उम्मेदवार बने पनि उनी पराजित भए।

यसपटक एमालेबाट टिकटको सम्भावना नदेखेपछि उनले अरु दलसँग पनि संवाद गरेका थिए। मनोनयन दर्ता गरेपछि उनले आफ्नो दल परिवर्तनलाई वैचारिक भएको तर्क गर्दै भने, “परिवर्तनका लागि म शुरूदेखि नै लागेको छु। अहिलेको समयमा भ्रष्टाचार अन्त्य गर्नु नै परिवर्तन हो। यो विचार हरेक पार्टीमा हुनुपर्छ, त्यसैले मैले एमाले त्यागेको हुँ।”

नेकपाका नेता एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादव माघ ४ गते तामझामका साथ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरे। सर्लाही–३ बाट टिकटका आकांक्षी रहेका उनले सो क्षेत्रमा नेकपाले राष्ट्रियसभा सदस्यबाट राजीनामा गराएर नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि जसपा पुगेर सर्लाही–४ को टिकट पक्का गरेका छन्। नेपाल सद्भावना पार्टीबाट राजनीति शुरू गरेका यादव मधेशी जनअधिकार फोरम हुँदै विजय गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) को सहअध्यक्ष समेत बनेका थिए।

रामेश्वर राय यादव पँहेलो कुर्तामा

२०७४ मा माओवादीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर श्रममन्त्रीसमेत बनेका उनी २०७९ मा भने उम्मेदवार बन्न पाएनन्। यसपटक नेतृत्वले धोका दिएको दाबी गर्दै उनले उकालोसँग भने, “भूगोल बुझेको व्यक्तिले नै प्रतिनिधित्व गर्नुपर्छ भन्दाभन्दै भूगोल बाहिरका नारायणकाजीलाई टिकट दिइयो। आफूलाई विकासवादी भन्नेले गोरखाबाट लड्ने आँट किन गरेनन्? मलाई सर्लाही–३ नदिने भए गोरखा वा रोल्पाबाट दिनुस् भन्दा पनि प्रचण्डले सुन्नुभएन।”

टिकटको विषयमा प्रचण्डसँगै नोकझोक भएको सुनाउँदै उनले थपे, “मधेशका नेतालाई पहाडमा लगेर जिताउने हिम्मत नेताहरूसँग छ? पहाडका मान्छेलाई मात्रै मधेशले जिताउनुपर्छ भन्ने के छ? त्यसैले पार्टी त्यागेर आफ्नै पुरानो घरबाट उम्मेदवार बनेको हुँ।”

मधेश राजनीतिमा परिचित नाम अनिल झाको दल बदल्ने खुबी यसपालि अन्तिम घडीमै देखियो। मंगलबार बिहानसम्म पनि उनी नेपाल सद्भावना पार्टीको अध्यक्षका रूपमा आफ्नै पार्टीबाट चुनाव लड्ने तयारीमा थिए। तर एकाएक उनी नेपाली कांग्रेस प्रवेश गरे र रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यको टिकट पक्का गरे।

२०५६ सालमा सद्भावना पार्टीको सहमहासचिवबाट राजनीतिक उचाइ बनाएका झा यसबीचमा राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पुगेका थिए। २०७० मा समानुपातिक सूचीबाट संविधानसभा सदस्य र २०७४ मा रौतहट–१ बाट प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेका उनी यसबीचमा उद्योगमन्त्रीसमेत बनेका थिए। २०७९ मा भने उनी रौतहट–१ बाट पराजित भएका थिए। पछिल्लो समय आफ्नै नेतृत्वमा सद्भावना पार्टी ब्युँताएका झाले यसपटक पार्टी बदल्नुको कारण सोध्दा भने, “अहिले म नेताहरूकै बीचमा छु, यसबारे पछि कुरा गरौँला।”

बाँके क्षेत्र नम्बर २ मा २०६४ यता एउटै पार्टीबाट उम्मेदवार बन्दै आएका (पहिले मधेशी जनअधिकार फोरम र पछि त्यसकै परिवर्तित रूप जसपा नेपाल) मोहम्मद इस्तियाक राई यसपटक एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा जसपा गठन गर्न निर्णायक भूमिका खेलेका उनी मनोनयनको मुखैमा जसपा छाडेर एमाले प्रवेश गरेका थिए। उनलाई तत्कालै टिकट दिएपछि एमालेका नेता–कार्यकर्ता भने रुष्ट छन्।

एमालेले त्यो क्षेत्रबाट कृष्णप्रसाद श्रेष्ठको नाम एक नम्बरमा सिफारिस गरेको थियो। राप्रपाबाट राजनीति शुरू गरेका राई २०६२ सालमा मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकै उम्मेदवारलाई पराजित गरेका उनी २०७९ मा भने राप्रपाका धबलशमशेर राणासँग पराजित भएका थिए। आफ्नो नयाँ यात्राबारे राईले भने, “पार्टीभित्र अन्याय हुन थालेपछि मैले अर्को पार्टी रोज्नुपरेको हो।”

राईसँगै जसपामा रहेका नेता, पूर्वमन्त्री प्रदीप यादव पनि चुनावी लाभकै निम्ति अन्तिम घडीमा पार्टी त्यागेर एमाले प्रवेश गरेका छन्। एमाले प्रवेशसँगै यादव पर्सा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

सेतो गम्छामा प्रदीप यादव

यादवले २०६४ मा मधेशी जनअधिकार फोरमबाट राजनीति शुरू गरेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७४ मा संघीय समाजवादी फोरम र २०७९ मा जसपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यसबीच खानेपानी तथा सरसफाईमन्त्री बनेका उनी २०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन हुँदा अशोक राई नेतृत्वको जसपामा लागेर दोस्रोपटक मन्त्री बनेका थिए। अनौठो त के भने गत पुस २७ गते मात्र उनी उपेन्द्र यादव नेतृत्वकै जसपा फर्किएर केन्द्रीय समन्वय समिति सदस्य बनेका थिए। त्यसको एक सातामै पार्टी बदलेर उनी एमालेबाट उम्मेदवार बनेका हुन्।

माओवादी केन्द्रबाट मधेश प्रदेशसभा सदस्य रहेका पर्साकै रहबर अन्सारी रास्वपा प्रवेश गरेर बारा–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा आफ्नो निर्णयको बचाउ गर्दै उनले भने, “म मधेशमा विकासका मूल फुटाउन र नयाँ अजेन्डाका साथ अघि बढ्न रास्वपा प्रवेश गरेको हुँ।”

रहबर अन्सारी

ओखलढुङ्गाका एमाले नेता अम्बिरबाबु गुरुङले पनि मनोनयनकै दिन एमाले त्यागेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपा रोजेका छन्। एमालेले ओखलढुङ्गाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले नेकपा प्रवेश गरेलगत्तै सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको टिकट हात पारेका छन्। उनले थापा टिकटका आकांक्षी नै नहुँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी जोडबलमा उनलाई उम्मेदवार बनाइएको आरोप लगाउँदै भने, “पार्टीभित्र मेरो योगदानको अवमूल्यन भएको महसुस गरेर यो निर्णय लिएँ।”

काठमाडौँ–२ मा रास्वपाले राप्रपाबाट भित्र्याएका सुनिल केसीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। केसी राप्रपाबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य हुन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग निकट सम्बन्ध रहेका केसीलाई टिकट दिलाउन रास्वपाले गरेको निर्णय थप नाटकीय छ। २०७९ को निर्वाचनमा त्यो क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित भएकी थिइन्। यसपटक पनि उनी सोही क्षेत्रमा उम्मेदवार बन्न चाहे पनि रास्वपाले उनलाई चितवन–३ मा पठायो। र अन्तिम समयमा काठमाडौँ–२ मा राप्रपाबाट आएका केसीलाई टिकट दिइयो।

नागरिक उन्मुक्ति पार्टीबाट कैलालीको टीकापुर नगरपालिकामा निर्वाचित मेयर रामलाल डगौरा थारू मेयरबाट राजीनामा दिएर नेकपा प्रवेश गर्दै कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। यसअघि २०८४ को निर्वाचनमा प्रदेशसभा सदस्य उठ्ने योजनामा रहेका थारुले परिस्थितिले कोल्टे फेरेको सुनाउँदै भने, “प्रतिनिधिसभाको चुनाव आयो, नेकपाले टिकट दियो र मैले जिम्मेवारी लिएँ।”उनी प्रतिनिधिसभाको निर्वाचनमा होमिएसँगै टीकापुर नगरपालिका नेतृत्वबिहीन बनेको छ। नगरपालिकाका उपप्रमुख खड्बहादुर शाहविरुद्ध जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा छन्। टिकटको दौडमा जनप्रतिनिधिले पद नै त्याग्दा टीकापुर नगरपालिका नेतृत्वविहीन बन्न पुगेको छ।

अछाम–१ मा पनि एमालेले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य दीपक साउदलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ। एमालेले पहिले आफ्नै जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरे पनि अन्तिम समयमा उक्त निर्णयबाट पछि हट्दै साउदलाई टिकटदिएको हो। 
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह यादवले पनि टिकट सुनिश्चित गर्न पार्टी परित्याग गरेका छन्। २०७९ को निर्वाचनमा जनमत पार्टीबाट प्रदेशसभा सदस्य जितेर मुख्यमन्त्री बनेका उनले यसपटक जनमत छाडेर स्वाभिमान पार्टीबाट सप्तरी–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट वीरगञ्ज–१० को वडाध्यक्ष बनेका सुशील साह कानु रास्वपा प्रवेश गरेर पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। त्यस्तै, जसपा नेपालबाट वीरगञ्ज–२० को वडाध्यक्ष निर्वाचित रामकिशोर सिंह (पराग) उज्यालो नेपाल प्रवेश गरेर पर्सा–१ बाट चुनावी मैदानमा उत्रिएका छन्।

टिकटको खोजीमा दल बदल्नेक्रममा जसपाका नेता आत्मराम साहले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) रोजेका छन्। उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। पूर्वकृषिराज्यमन्त्री एवं २०६४ का संविधानसभा सदस्य ओमप्रकाश यादव पनि जसपा छाडेर सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गर्दै रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। २०६४ को संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका उनी पछि एमाले प्रवेश गरेका थिए। र केही समयपछि एमाले छाडेर जसपा नेपाल पुगेका थिए।

अशोक राई नेतृत्वको जसपाका नेता डा. वीरेन्द्र महतो पनि टिकट सुनिश्चित गर्नकै लागि जनमत पार्टीमा पुगेका छन्। उनले जनमतबाट सिराहा–४ को टिकट पाएका छन्।

पहिलेका निर्वाचनमा पनि देखिने, तर यसपालि असाध्यै बढेको देखिएको टिकटकै लागि दल बदल्ने यो होडबाजीप्रति पार्टीहरूभित्र चर्को असन्तुष्टि पनि देखिन्छ। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन्। उनले पार्टीको चुनावी रणनीति, उम्मेदवार छनोटको अपारदर्शी प्रक्रिया र नेतृत्वको भूमिकामाथि नै प्रश्न उठाएका छन्।

संघीयता र राजनीतिक विषयका अध्येता सोमत घिमिरे टिकटका लागि रातारात दल बदल्ने प्रवृत्तिमा लिने र दिने दुवै पक्ष उत्तिकै दोषी रहेको बताउँछन्। उनी भन्छन्, “टिकटका लागि आफ्नो दल त्याग्नेले निष्ठा, विचार र प्रक्रिया सबै मिचिरहेका छन्। तर हिजोसम्म अर्को दलमा रहेको नेता आज आउनेबित्तिकै टिकट दिने नेतृत्व झनै दोषी हो।”

घिमिरेले यस्तो प्रवृत्तिले इमानदार कार्यकर्ताको मनोबल गिराउने उल्लेख गर्दै प्रश्न गरे, “यसरी पार्टी वा संगठन निर्माण गर्ने कार्यकर्तालाई उपेक्षा गरेर कसरी नेतृत्व अघि बढ्न सक्छ? आफ्नो दल त्यागेर, अर्को दलबाट टिकट लिएर जितेर जानेहरूले संसदमा कस्तो भूमिका निर्वाह गर्लान् र संसद् कस्तो बनाउलान्?”