मौरीले एकपटक नियममा सहमति गर्यो भने सबैले आफ्नो काम सम्हाल्छन्। कोही बाहिर गएर खोज्ने, कोही खाना ल्याउने, कोही घारभित्र स्याहार गर्ने, कोही सुरक्षा गर्ने गर्छन्। काम नगर्नेलाई बथानले टिक्न दिँदैन।
चुनावमा सबैभन्दा छिटो दौडिने कुरा नीति होइन, कथा हो। बिहान चिया पसलमा भनिएको कुरा दिउँसो सडकमा पनि गुञ्जिन्छ। साँझ फेसबुकमा देखिन्छ। राति भाइबर वा ह्वाट्सएप समूहमा त्यो कुरा साँचो ठहरिन्छ। भोलिपल्ट त्यही कुरा धेरैलाई यति परिचित लाग्छ, मानौँ प्रमाणित भइसकेको हो। हामी कहिलेकाहीँ एउटा दाबी धेरै पटक सुनेपछि त्यसलाई 'सत्य' जस्तै मान्न थाल्छौँ। तर दोहोरिएको कुरा सधैं ठीक हुन्छ भन्ने छैन।
यहीँबाट मेरो ध्यान किरा तिर जान्छ, कमिला, मौरी र धमिरातिर।
यी कीराहरू साना हुन्छन्, तर तिनको समाज ठूलो हुन्छ। तिनले समूहमा निर्णय गर्छन्। तिनको निर्णयको तरिका हेर्दा चुनावी मौसममा हाम्रो व्यवहारसँग धेरै कुरा मिल्छ। खासगरी 'फेरोमोन' भन्ने एउटा कुरामा। फेरोमोन भनेको कीराले छाड्ने गन्ध हो। त्यो गन्धले अरूलाई आफूतिर आकर्षित गर्छ। गन्ध (सिग्नल) बलियो भयो भने भीड त्यतै मोडिन्छ। चुनावमा पनि केही कुरा यस्तै हुन्छ, एउटा सन्देश बलियो भयो भने धेरै मानिस त्यतै तानिन्छन्।
कमिलाको एउटा बानी छ। एउटा कमिलाले खाना भेट्छ। फर्किँदा जमिनमा गन्धको पातलो रेखा छाड्दै आउँछ। त्यो रेखा भाषण होइन। नीति होइन। बहस होइन। त्यो त एउटा छोटो संकेत हो।
खाना राम्रो भयो भने अरू कमिलाहरू पनि त्यही रेखा पछ्याउँछन्। धेरै कमिला हिँड्दै गएपछि गन्ध बढ्छ। गन्ध बढेपछि अझ धेरै कमिला तानिन्छन्। समूह छिटो चल्छ। यो काम लाग्ने तरिका हो। तर यही तरिकाले कहिलेकाहीँ समूहलाई गलत दिशामा पनि लैजान सक्छ। चुनावको बेला हामी पनि यस्तै हुन्छौँ। एउटा नारा, एउटा काटिएको भिडियो, एउटा रिस उठाउने क्याप्सन, एउटा 'भित्रको खबर' भनेर आएको अडियो सुन्छौँ। अनि हामी अघि बढ्छौँ, किनकि त्यो कुरा धेरै ठाउँमा देखिन्छ। धेरै ठाउँमा देखेपछि सत्य जस्तो लाग्छ। सत्य जस्तो लागेपछि अरूलाई सुनाउँछौँ। अरूलाई सुनाएपछि त्यो कुरा अझ बलियो बन्छ। यही नै चुनावको फेरोमोन हो। कुरा बलियो हुन्छ, भीड तानिन्छ।
लोकप्रियताको रेखा
कमिलालाई सबै कुरा बुझ्नु पर्दैन। उसलाई बलियो गन्ध भएको दिशा थाहा भए पुग्छ। त्यसैले कमिलाको समूह छिटो चल्छ। तर यही छिटोपनाले कहिलेकाहीँ समूहलाई अल्झाउँछ। कमिलाको बथानमा कहिलेकाहीँ यस्तो हुन्छ। पहिलो पटक बलियो बनेको रेखा मध्यम खाना भएको ठाउँमा पुगेको हुन्छ। तर रेखा बलियो भएकै कारण धेरै कमिला त्यतै लाग्छन्। अझ राम्रो खाना नजिकै भए पनि नयाँ रेखा बलियो बन्न समय लाग्छ। त्यसैले बथान केही समय गलत ठाउँमै घुमिरहन्छ।
मान्छेमा पनि यस्तै हुन्छ। चुनावमा पहिले फैलिएको कथा धेरै दिन टिक्छ। पहिल्यै अगाडि पुगेको सन्देशलाई पछि पार्न सत्यले मात्र पुग्दैन। सत्यलाई फैलिन पनि समय चाहिन्छ। त्यसैले हामी धेरै पटक 'आधार'भन्दा 'लहर' हेर्छौं। लहरको कुरा हामीलाई सजिलो लाग्छ। सोच्ने झन्झट घट्छ। तर लहर भन्नु कहिलेकाहीँ विचार होइन, भीडको सजिलो बहाना हो।
नेपालमा यसको रूप अझ चर्को देखिन्छ। एउटा पुरानो भिडियो आजको मिति राखेर फेरि चलाइन्छ, अनि मान्छे झस्किन्छन्। धेरैलाई अहिले नै भए जस्तो लाग्छ। एउटा पोस्टको क्याप्सनले भिडियो हेर्नुअघि नै तपाईंलाई कसरी रिसाउने भनेर सिकाइदिन्छ। एउटा अफवाहले तुरुन्तै प्रतिक्रिया माग्छ, हामीले जाँच्ने मौका पनि पाउँदैनौँ। यस्तो बेला लोकप्रियता प्रमाण होइन,गति हुन्छ।
कमिलाको अर्को राम्रो कुरा छ। गन्ध बिस्तारै उड्छ। रेखा मेटिन्छ। हिजोको बाटो आजको बाध्यता बन्दैन। गलत भयो भने पनि फर्कन मिल्छ। प्रणालीमा गल्ती सच्याउने ठाउँ हुन्छ। हाम्रो स्क्रिनमा चाहिँ रेखा मेटिँदैन। पुरानो हल्ला फेरि फर्किन्छ। एउटै कुरालाई फरक शीर्षक दिएर फेरि चलाइन्छ। अल्गोरिदमले पुरानो रिल्स फेरि देखाइदिन्छ। कसैले गलत कुरा लेख्यो भने त्यसको सुधार ढिलो आउँछ, तर गलत कुरा छिटो फैलिन्छ। यसले गल्तीहरू थुप्रिँदै जान्छन्। गल्ती थुप्रिँदा समाज थाक्छ। जसले समाज झन् छिटो नयाँ हल्लाको पछि लाग्छ। त्यसपछि चुनाव समस्याको हलभन्दा ध्यान तान्ने खेल जस्तो देखिन थाल्छ।
यसैले चुनावको बेला हामी एउटा सानो बानी बनाउन सक्छौँ। लोकप्रिय कुरा देख्दा तुरुन्तै विश्वास गर्ने होइन। एकपटक रोक्ने। जाँच गर्ने। धेरैले भने भन्दैमा सही ठान्ने होइन। बलियो रेखा देख्दा त्यहीँ दौडिने होइन। यसको अर्थ सबै कुरा शंका गरेर बस्ने होइन। यसको अर्थ आफ्नै निर्णयलाई बलियो बनाउने हो। कमिलाले गन्ध पछ्याएर छिटो निर्णय गर्छ। तर मान्छेले निर्णय गर्दा गन्ध मात्र होइन,कारण पनि खोज्नुपर्छ।
रिसको संकेत र मौरीको 'क्वोरम'
कीराको संसारमा खतरा आयो भने 'अलार्म' अर्थात् गन्ध निस्कन्छ। सबै सतर्क हुन्छन्। सबै दौडिन्छन्। यो उपयोगी हुन्छ, किनकि खतराको बेला ढिला भयो भने बथानै सकिन सक्छ। तर अलार्मको काम खतरा देखाउनु हो। दिशा देखाउनु होइन। चुनावमा रिस पनि अलार्म जस्तै हो। भ्रष्टाचार, बेरोजगारी, महँगी, अवसरको अभाव, सेवामा ढिलाइ, यी कुराले रिस उठ्छ। त्यो रिस गलत होइन। तर रिसले मात्र दिशा बताउँदैन। रिसले समस्या देखाउँछ। तर समाधान समस्याको जाँच र सोचबाट आउँछ।
अहिलेको चुनावी मौसममा रिस उठाउने कुरा छिटो फैलिन्छ। किनकि रिसले मानिसलाई तुरुन्त प्रतिक्रिया दिन लगाउँछ। फर्वार्ड गर्न लगाउँछ। टिप्पणी गर्न लगाउँछ। कहिलेकाहीँ रिसको भाषा यति कडा हुन्छ कि प्रश्न गर्ने मान्छे पनि डराउँछ। प्रश्न सोध्दा उल्टै आरोप लाग्ने जस्तो वातावरण बन्यो भने सत्य भेट्न गाह्रो हुन्छ। अनि फेरोमोन झन् बलियो हुन्छ। प्रश्न मरेपछि लोकतन्त्र मर्छ, मानवीयता पनि मर्छ।
यहाँ मौरीको तरिका काम लाग्छ। मौरीले नयाँ घार खोज्दा केही मौरी स्काउट बन्छन्। बाहिर जान्छन्। ठाउँ हेर्छन्। फर्केर अरूलाई संकेत दिन्छन्। अनि अरू स्काउट पनि त्यही ठाउँ जाँच्न जान्छन्। धेरैले जाँचेर ठीक छ कि छैन भनेर प्रश्न गर्छन् अनि मात्र निर्णय हुन्छ। पर्याप्त संख्या पुगेपछि मात्र सहमति हुन्छ। यही नै 'क्वोरम' हो। सरल भाषामा,पर्याप्त जाँच र पर्याप्त सहमतिपछि मात्र कदम चाल्ने।
मौरीले नयाँ घार खोज्दा एउटा मौरी फर्केर आएपछि अरू मौरीलाई 'त्यो ठाउँ राम्रो छ' भनेर एक किसिमको संकेत गर्छ। उसले शरीर हल्लाएर, घुमेर, हामीले हेर्दा नाचेजस्तो गरेर संकेत दिन्छ। त्यसको अर्थ हुन्छ, 'म त्यहाँ गएँ, ठाउँ ठीक लाग्यो, तिमीहरू पनि गएर हेर।' त्यो संकेत सुनेपछि अरू मौरी पनि त्यो ठाउँ जाँच्न जान्छन्। धेरैले जाँच गरेर ठीक भनेपछि मात्र बथानले निर्णय गर्छ। त्यसैले मौरीको नाच अन्तिम निर्णय होइन। नाच भनेको अरूलाई प्रश्न गर्न बोलाउने शुरूवात हो।
मौरीको अर्को पाठ अझ उपयोगी छ। मौरीले एकपटक नियममा सहमति गर्यो भने सबैले आफ्नो काम सम्हाल्छन्। कोही बाहिर गएर खोज्ने, कोही खाना ल्याउने, कोही घारभित्र स्याहार गर्ने, कोही सुरक्षा गर्ने गर्छन्। काम नगर्नेलाई बथानले टिक्न दिँदैन। त्यसैले बथान चल्छ, घार चल्छ।
हामीकहाँ चाहिँ धेरै पटक उल्टो हुन्छ। नेता बन्छन्। नारा पनि बन्छ। योजना पनि सुनिन्छ। तर काम बाँड्ने बेला जिम्मेवारी अस्पष्ट हुन्छ। काम कसले गर्ने थाहा हुँदैन वा थाहा भएर पनि साथ कम हुन्छ। सबैले आफ्नो भागको काम नगर्दा दोषारोपण मात्रै बढ्छ, डेलिभरी घट्छ। चुनाव जित्नु त शुरूवात हो, तर शासन चल्नु भनेको काम बाँडेर, जिम्मेवारी मिलाएर, सबैले आफ्नो भागको काम गर्ने हो।
नेपालमा पनि यस्तै स्काउट बन्न सक्ने ठाउँहरू छन्। चिया पसल, यात्रा गर्दा, टोलका कुरा, वडा बैठक, घरभित्रको छलफल, कार्यालयको लाइनमा हुने कुराकानी। यी ठाउँहरू राम्रो चले भने समाजले आफैँ धेरै कुरा जाँच गर्छ। धेरै झूट आफैँ फुस्किन्छ। धेरै बढाइचढाइ आफैँ घट्छ। तर चुनावमा यी ठाउँ पनि कहिलेकाहीँ हल्ला फैलाउने ठाउँ मात्र बन्छन्। हामीले जाँच नगरी फर्वार्ड गर्ने बानी बढ्छ।
त्यसैले एउटा सानो अभ्यास उपयोगी हुन्छ। यसको नाम राखौँ-स्काउट जाँच। स्काउट जाँच ठूलो कुरा होइन। तर यो बानी बस्यो भने चुनावी फेरोमोन कमजोर हुन्छ। किनकि फेरोमोन उही कुरा बारम्बार दोहोरिँदा बलियो हुन्छ। प्रश्नले एउटै कुरा दोहोरिने क्रम घटाउँछ। त्यसैले यसरी सोचौँ, यसरी प्रश्न सोधौँ।
१ यो दाबी पक्का हो? अरू भरपर्दो स्रोतले पनि पुष्टि गर्छ?
२ यो दाबी गरेर देखाउन मिल्छ? समय, तरिका र जवाफदेहीता स्पष्ट छ?
यति दुई प्रश्नले धेरै कुरा छानेर अलग पारिदिन्छ। जाँचिन नसक्ने दाबीहरू आफैँ कमजोर हुन थाल्छन्। केवल रिस र भावनामा टिकेका सन्देशहरू आफैँ कमजोर बन्न थाल्छन्। अनि चुनावको बहस 'कथा'बाट 'काम' तिर फर्किन्छ।
धमिराको पाठ, डेलिभरीको पाठ
अब धमिरातिर जाऔँ। धमिराले ठूलो घर बनाउँछ। भित्र सुरुङहरू बनाउँछ। हावा चल्ने बाटो बनाउँछ। तर त्यहाँ कुनै एक जना ठूलो इन्जिनियर वा नायक हुँदैन । एउटा धमिराले सबै योजना बनाएको हुँदैन। धमिराले सानो सानो काम निरन्तर गर्छ। बिग्रियो भने तुरुन्त मर्मत गर्छ। एक ठाउँ कमजोर भयो भने फेरि थप्छ। धमिराले भाषण गर्दैन। धमिराले बनाउँछ। अनि बनाएको कुरा जोगाउन दिनदिनै मिहिनेत गर्छ।
यो उदाहरण चुनावपछिको जीवनसँग धेरै मिल्छ। चुनाव जित्नु भनेको ढोका जस्तै हो। ढोकाबाट भित्र पसेपछि काम सुरु हुन्छ। सेवा दिनु। कार्यालयको काम छिटो बनाउनु। बजेट मिलाउनु। नियम स्पष्ट बनाउनु। अनुगमन गर्नु। पारदर्शी हुनु। गल्ती भेटियो भने सच्याउनु। चुनाव जित्नु शुरूवात हो, डेलिभरी भनेको परीक्षा हो। नेपालमा धेरैले सोध्ने प्रश्न हो- काम हुन्छ कि हुँदैन? यसको उत्तर भाषणले होइन, डेलिभरीले दिन्छ। रोजगारी कसरी सिर्जना गर्ने? शिक्षा र स्वास्थ्य कसरी सुधार्ने? कार्यालयका लाइनहरू कसरी घटाउने? स्थानीय तहमा सेवा कसरी सहज बनाउने? भ्रष्टाचार कसरी कम गर्ने? यी सबै कुरा ठूलो नाराले होइन, सानो तर लगातार काम र इमानदार प्रयासबाट हुने हो। धमिराको काम त्यस्तै हुन्छ। हरेक दिन अलिकति काम हुन्छ, तर निरन्तर।
धमिराबाट सिक्नु पर्ने अर्को पाठ पनि छ। धमिरा सफल किन हुन्छ? सधैं सही भएर होइन। बिग्रियो भने तुरुन्त सच्याउने भएर। यही कुरा लोकतन्त्रमा पनि चाहिन्छ। कमिलाले कहिलेकाहीँ गलत रेखा पछ्याउँछ, तर काम लागेन भने त्यो रेखा बिस्तारै छोड्छ। मौरीले छानेको घार ठीक भएन भने फेरि अर्को ठाउँ खोज्छ। धमिराले बिग्रियो भने मर्मत गर्छ। यिनको शक्ति नै गल्ती सच्याउने बानी हो।
हामी मान्छेमा चाहिँ चुनावपछि गल्ती सच्याउन गाह्रो हुन्छ। किनकि हामी भोटलाई आफ्नो 'मान'बनाइदिन्छौँ। मैले रोजेको हो, अब आलोचना गर्दिन भन्छौँ। गल्तीलाई ढाकछोप गर्छौं। तर यस्तो बानीले समाज अघि बढ्दैन। देश अघि बढ्ने भनेको राम्रो कामलाई समर्थन गर्ने, खराब कामलाई प्रश्न गर्ने र आवश्यक परे सहि मतमा बदल्ने बानीबाट हो।
गलत कुरा शेयर भयो भने सच्याउन लाज मान्नु हुँदैन। त्यो कमजोरी होइन, जिम्मेवारी हो। राम्रो काम भयो भने स्वीकार गर्नुपर्छ। त्यो पक्षपात होइन, इमानदार नजर हो। खराब काम भयो भने प्रश्न गर्नुपर्छ। त्यो दुश्मनी होइन,नागरिक कर्तव्य हो। यहीँबाट गल्ती सच्याउने बाटो खुल्छ। यहीँबाट प्रणाली बलियो बन्छ, लोकतन्त्र बलियो बन्छ।
त्यसैले यो चुनावको हल्ला, लहर र रिसबीच एकपटक रोकिऔँ, प्रश्न सोधौँ। प्रश्न सोध्ने बानी बसालौँ। दाबी सुनेपछि हतारमा ताली नबजाऔँ। नेतालाई देवता नबनाऔँ। भगवान बनाएर होइन, जिम्मेवार बनाएर हेरौँ। गलतलाई गलत, सहीलाई सही भनौँ। हाम्रो समस्या नेताको कमी होइन, प्रश्नको कमी हो। तालीले नेता बनाउँछ, प्रश्नले राज्य बनाउँछ। हामीले बहसलाई झगडा बनायौँ भने चुनाव जित्छ, लोकतन्त्र हार्छ। अनि हाम्रा हातमा भोट हुन्छ, तर अधिकार हुँदैन।
(लेखक १० वर्षभन्दा बढी समयदेखि कीरामा अनुसन्धानमा संलग्न छन्। उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
