ढोरपाटन जोड्ने सडक जीर्ण बन्दा आवतजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको काम र निरन्तरको पहिरोका कारण ढोरपाटन जोड्ने सडक अस्तव्यस्त बन्दा स्थानीय बासिन्दा र पर्यटकले सास्ती व्यहोर्नुपरेको छ।

गण्डकी– यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवतजावतमा सास्ती भोग्नुपरेको छ।

फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवतजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए। निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम शुरू गरेपछि समस्या निम्तिएको हो।

“पानी पर्नासाथ पहिरो खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ”, वडाध्यक्ष घर्तीले भने, “यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो।”

बुर्तिबाङदेखि फल्लेघरसम्म २८ किमी सडक ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने बाँकी तीन किमी खण्ड जीर्ण र अस्तव्यस्त छ। विसं २०६६ देखि निर्माण शुरू भएको सालझण्डी–ढोरपाटनअन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ। समयमा सडक नबन्दा हरेक बर्खायाममा ढोरपाटनको यातायात सेवा प्रभावित हुने गरेको छ।

ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्य याममै सडक बिग्रँदा व्यवसायीहरू चिन्तित रहेको बताए। “सडकले धेरै समस्या पारेको छ, यही कारणले गत वर्षभन्दा अहिले कम पर्यटक आइरहेका छन्”, उनले भने, “सडक, सञ्चारलगायतको असुविधाका कारण ढोरपाटनको पर्यटनमा असर पुगिरहेको छ, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।”

पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन्। यहाँको उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन, वर्षात्मा हरियै देखिने डाँडापाखा आदि नियाल्न पर्यटकहरू यो याममा ढोरपाटन पुग्ने गर्छन्।