कर्मचारी कुटपिट आरोपमा वडाध्यक्ष पटेल पक्राउ

कालिकामाई गाउँपालिकाका कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट र दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा– पर्सास्थित कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा उनलाई सोमबार नियन्त्रणमा लिएको हो।

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको थियो। सोही घटनाको विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।

कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत वडाध्यक्ष पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ताबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता चक्र मल्लले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका वडाध्यक्ष पटेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी भइरहेको छ भने घटनामा संलग्न अन्य आरोपितहरूको खोजी जारी छ।