आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

सुनसरीको देवानगञ्जमा भएको झडप र त्यसपछि उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन्।

राष्ट्रपति पौडेलले आज एक अपिल जारी गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव र सहिष्णुता नै नेपालको पहिचान र परम्परा भएको बताएका छन्। उनले भनेका छन्, “यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु।”

राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरेका छन्। अपिलमा राष्ट्रपति पौडेलले भनेका छन्, “यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु।”

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

गृहमन्त्री गुरुङ आज सुनसरी जाने
गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन्।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाने भएकी छन्। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो।