सुनसरी घटनामा शान्तिपूर्ण संवाद गर्न नौ दलको आग्रह

नौ राजनीतिक दलले सुनसरीमा भएको घटनामा संयुक्त अपिल जारी गर्दै नागरिकलाई उत्तेजनामा नआउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

काठमाडौँ– नौ राजनीतिक दलले सुनसरीमा भएको घटनामा संयुक्त अपिल जारी गर्दै नागरिकलाई उत्तेजनामा नआउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिको समीक्षा गर्दै सातबुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको हो। 

राजनीतिक दलहरूले नागरिकको जीउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको भन्दै परिस्थितिलाई सामान्यीकरण गर्न अधिकतम संयमता अपनाउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि उनीहरूको आग्रह छ।

"लोकतन्त्रमा जस्तो सुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ । आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौँ," सर्वदलीय बैठकपछि जारी अपिलमा उल्लेख छ। 

सामाजिक शान्ति र सद्भाव कायम राख्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न पनि उनीहरूले आ–आफ्ना पार्टीका स्थानीय तहका समितिलाई निर्देशित गरेका छन्। 

यस्ता संवेदनशील घटना भविष्यमा देशका कुनै पनि भूभागमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तहबाट आवश्यक पहल, समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत दलहरूले जनाएका छन्।


सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू सहभागी थिए।