‘सामाजिक सञ्जालमा आउने कन्टेन्टका कारण मानिस अनावश्यक सतही बहसमा सहभागी हुँदै थकित बनेको छ। जब मानिसमा स्फूर्ति र चुस्तता रहँदैन, तब सोच्ने, बहस गर्ने र सिर्जनशील काम गर्ने क्षमता पनि कमजोर बन्छ।’
विश्वभर निर्वाचनको समयमा एआईको प्रयोग कसरी भइरहेको छ?
निर्वाचनमा एआईको प्रयोग हुँदै आइरहेको छ। यसलाई सामान्यतया वर्गीकरण गरेर बुझ्न सकिन्छ। पहिलो भनेको सोसल मिडिया अल्गोरिदमको प्रयोग वा दुरुपयोग हो। आफ्नो कुरा राख्दा कुन शब्द चयन गर्ने र कुन कुरा कसरी भाइरल हुन्छ भन्नेमा अल्गोरिदमले काम गर्छ। कहिलेकाहीँ नक्कली माहोल सिर्जना गर्न ‘बट्स’, फेक अकाउन्ट र फेक कमेन्टको प्रयोग गरेर कृत्रिम माहोल बनाइन्छ।
त्यस्तै, ‘जेनेरेटिभ एआई’को अहिले खुब चर्चा छ, जसबाट भिडियो, इमेज र मल्टिमिडिया सामग्री बनाइन्छ। सन् २०२४ मा विश्वभर धेरैवटा निर्वाचन भए, त्यतिबेला यसको खुब प्रयोग भएको देखियो। यसको प्रयोगमाथि पर्याप्त अध्ययन र अवलोकन भएका छन्। जेनेरेटिभ एआई प्रत्येक महिना झन्–झन् शक्तिशाली बनिरहेको छ।
अर्को प्रयोग भनेको ‘माइक्रो टार्गेटिङ’ हो। डेटा प्रयोग गरेर मतदाताका रुचि अनुसारका कस्टमाइज्ड सन्देश पठाउनु सधैँ अनैतिक हुँदैन, तर यो निकै प्रभावशाली हुन्छ। हामीले सन् २०१६ को अमेरिकी चुनावमा ‘केम्ब्रिज एनालिटिका डेटा स्क्यान्डल’ देख्यौँ। राष्ट्रपतिका निम्ति हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा थियो। त्यतिबेला फेसबुक प्रयोगकर्ताको डेटा अवैधानिक रूपमा तेस्रो पक्षलाई दिइएको थियो।
रसियाले डोनाल्ड ट्रम्पलाई सहयोग गरेर क्लिन्टनलाई कमजोर तुल्याउन धेरै सोसल मिडिया बट्स वा क्याम्पेन चलाएको कुरा आएको थियो। चुनावको समयमा त्यो प्रमाणित भएको थिएन। अहिले यो प्रमाणित भइसक्यो। रसियन सर्भर, बट्स, संस्थाहरूले त्यसरी काम गरेको रहेछ। सन् २०२४ मा थुप्रै निर्वाचन भए। त्यसमा एआईको प्रयोग अत्यधिक भयो। यद्यपि एआई हस्तक्षेपले नै चुनावी परिणाम फेरिएको हो कि होइन भनेर प्रमाणित गर्न भने निकै गाह्रो हुन्छ।
नेपालमा फागुन २१ का निम्ति निर्वाचन तोकिएको छ। त्यसका निम्ति सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूले आ–आफ्नो ढंगले तयारी गरिरहेका छन्। हामीले निर्वाचनसम्बन्धी एआई निर्मित सामाग्री सोसल मिडियामा पनि देखिरहेका छौँ। यो निर्वाचनमा एआईको दुरुपयोग हुनसक्ने संकेत देख्नुहुन्छ?
हो, संकेतहरू अहिले नै देखिन थालिसकेका छन्। पहिले कृत्रिम फोटोहरू औँला वा ब्याकग्राउन्ड हेरेर चिन्न सकिन्थ्यो, तर अहिले भिडियोहरू यति वास्तविक आउन थालिसकेका छन् कि चिन्नै गाह्रो हुन्छ। विभिन्न राजनीतिक दलका महाधिवेशनमा फेक भिडियो वा फेक अडियो संवाद बनाएर भ्रम छर्ने काम शुरू भइसकेको छ। अब, आउने दिनहरूमा यो बढ्दै जान्छ।
प्रविधि थप उन्नत हुँदै गएको छ। यो सस्तो र सुलभ भएको छ, जसलाई चलाउन धेरै ठूलो सीप पनि चाहिँदैन। अर्कोतर्फ, हाम्रो समाज झनै ध्रुवीकृत हुँदैछ। जुनसुकै चुनावमा पनि ध्रुवीकरण त हुन्छ, तर विगतका चुनावभन्दा यो चुनाव विशेष छ। किनभने, यसमा साधारण राजनीतिक आस्था र झुकाव मात्र होइन, जेन–जी आन्दोलन र त्यसपछिको घटनाक्रमले सबैजना थप ध्रुवीकृत भएका छन्। यो राजनीतिमा मात्र सीमित छैन।
मानिसमा गहिरो मनोवैज्ञानिक प्रभाव पनि जोडिएको छ। एउटा पक्षले अर्कोलाई परिवर्तनको विरोधी र युवाको हत्यारा भनेर आरोप लगाएको छ। त्यस्तै, विदेशीको गोटी, सार्वभौमसत्ता सुम्पिएको जस्ता गम्भीर आरोप लगाइरहेका छन्। एआईको विकास र समाजमा रहेको अविश्वासको यो संगम निकै चिन्ताजनक छ। यो असाध्यै महत्त्वपूर्ण र हामीलाई छचल्क्याउने कुरा हो।
एआई निर्मित कतिपय सामाग्री एकदम वास्तविक जस्तो लाग्छन्। सोसल मिडियामा त्यस्ता सामाग्री छ्यापछ्याप्ती भेटिन्छन्, धेरैले शेयर र कमेन्ट गरिरहेका हुन्छन्। एकातिर प्रविधि समृद्ध हुँदैछ, अर्कोतिर शिक्षित मानिस नै फेक स्क्रिनसट वा मिथ्या सूचना फैलाइरहेका छन्। यसले त मानिसमा अन्योलता थप्दैन?
वास्तविक र एआई जेनेरेटेड कुरा छुट्याउन कठिन भइरहेको बेला जानीजानी मिथ्या सूचना फैलाउनु झनै खतरनाक छ। यसले मिथ्या सूचना घट्ने होइन, बरु बढ्दै जान्छ। जिम्मेवार स्थानमा बसेका मानिस (जोसँग समाजको अपेक्षा पनि हुन्छ) ले नै क्षणिक फाइदाका लागि यस्ता काम गर्दा सामूहिक विश्वासको वातावरण खस्कँदै गएको छ। यो एकदम चिन्ताजनक छ। उध्रिएको कुरा मिलाउनुपर्नेमा हामी झनै उधार्नेतिर लागिरहेका छौँ। बलेको कुरा निभाउनतिर लाग्नुपर्नेमा हामी झनै आगो सल्काइरहेका छौँ।

यसले अन्योल बढाउँछ। म आफूलाई प्रविधिको ज्ञान भएको र शिक्षित नै छु भन्ठान्छु। तर के पत्याउने, के नपत्याउने अहिले मलाई नै गाह्रो भइसक्यो। राजनीतिक नेतृत्वले भनेकै कुरा पनि वास्तविक हो कि शंका गर्नुपर्ने हो भनेर सोच्नुपर्छ। हाम्रा नेताहरू पनि भाइरल हुनतर्फ लाग्नु भएको छ। इन्गेजमेन्ट बढाउन हो कि समाजबाट टाढिनु भएको हो, उहाँहरूले भड्किलो र उत्तेजक कुराहरू गरिरहनु भएको छ। यहीबेला एआई पनि समृद्ध भइरहेको छ। कन्टेन्ट हेर्दा कुनै पात्रले भनेको होइन होला जस्तो लाग्छ, तर भनेको पनि हुनसक्छ। त्यसकारण अन्योलता छ।
अहिलेको ‘अटेन्सन इकोनोमी’मा हाम्रो बौद्धिक क्षमता, नीति निर्माण, लोकतन्त्र, सुशासन वा पर्यावरण जस्ता गम्भीर मुद्दामा खर्च हुनुपर्नेमा सञ्जालमा आएका सूचना ‘साँचो हो कि झुटो?’ भन्नेमै अल्झिरहेको छ। जसले गर्दा नागरिक अलमलिने र गहिरो विमर्श हुन नसक्ने स्थिति छ। यसलाई ‘एआई स्लप’ पनि भनिन्छ, जहाँ नचाहिँदो कुरामा हाम्रो सामूहिक चेतना खर्च भइरहेको छ। तर, यसले कतिपयलाई फाइदै पनि पुर्याएको होला। किनभने गहिरो कुरा गर्न परेन, सोच्न परेन, जनताका सुविधाका निम्ति योजना बनाउनु परेन। बस्, सतही कुरा गर्दा पुग्यो।
नेपालमा डिजिटल साक्षरता कम देखिन्छ। एआई भ्वाइस क्लोनिङ गरियो भने नागरिकले सहजै पत्याउने अवस्था छ। कुन सही हो र कुन एआई जेनेरेटेड हो भनेर छुट्याउन सक्ने जमात कम छ। सर्वसाधारणलाई सचेत बनाउन सबैभन्दा प्रभावकारी उपाय के हुन सक्छ?
आदर्श रूपमा त यसलाई शिक्षा प्रणाली र विद्यालयको पाठ्यक्रममै राख्नुपर्छ। पाठ्यक्रममा यस्ता चुनौतीलाई सम्बोधन गर्दै जानुपर्ने हो तर हाम्रोमा त्यस्ता सामग्री छैनन्। तत्कालका लागि सरकार, सञ्चारमाध्यम र नागरिक समाजको ठूलो भूमिका हुन्छ। शिक्षामाथि काम गरिरहेका संस्था वा समुदायले पनि भूमिका खेल्नुपर्छ।
हामीले स्वास्थ्यको बारेमा जसरी अनौपचारिक रूपमा कुरा गर्छौं, सूचनाको शुद्धताबारे पनि त्यसरी नै परिवार र साथीभाइमा छलफल गर्नुपर्छ। सूचना हाम्रो दिमागको लागि खाना जस्तै हो, यो हाम्रो सिस्टममा जाने हो। यसलाई व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्वास्थ्यकै रूपमा प्राथमिकता दिनुपर्छ। यसबारेमा अब सबैतिर छलफल शुरू गर्नुपर्छ। हामीले एआई निर्मित मिस/डिसइन्फरमेसन अत्यधिक ‘कन्जुम’ गरिरहेका छौँ। त्यस्ता सामाग्रीहरू सबै क्षेत्रसँग सम्बन्धित छन्।
त्यसमा राजनीतिक कन्टेन्ट असाध्यै छ। त्यसबाहेक टिकटक, फेसबुक, ट्विटरतिर जाने हो भने वास्तविकभन्दा धेरै एआई जेनेरेटेड मनोरञ्जनात्मक सामाग्री पाउछौँ। यसलाई ‘एआई स्लप’ भनेर नाम नै दिइएको छ। यसमा के हुन्छ भने तपाईं कन्टेन्ट हेर्दै जानु हुन्छ, त्यसले तपाईलाई तानिरहन्छ, तर गुदीचाहिँ केही पनि हुँदैन। मात्रा ठूलो तर पौष्टिक तत्त्वचाहिँ केही नभएजस्तो खाना हो यो।
डिजिटल साक्षरता कम हुनु र राजनीतिक ध्रुवीकरण बढी हुनुले पनि हाम्रोमा मिथ्या सूचना फैलिन मद्दत पुर्याएको हो?
पक्कै पनि। हाम्रो डिजिटल स्पेस वास्तविक समाजकै प्रतिविम्ब हो। हामीमा ओभरअल डिजिटल लिट्रेसी र त्यसमा पनि ‘क्रिटिकल डिजिटल लिट्रेसी’को कमी छ। त्यसमाथि नेतृत्व वर्गले कमजोरी सुधार गर्नुको साटो त्यसैलाई ‘एक्सप्लोइट’ गरेर क्षणिक लोकप्रियता खोजिरहेका छन्। कमजोरीलाई त समाधान गर्ने हो नि, तर हिलोमा गिजोलिएको जस्तो भइरहेको छ। आफ्नो ‘पपुलारिटी’ र राजनीतिक स्वार्थका निम्ति उनीहरूले आत्मघाती काम गरिरहेका छन्। यो आफ्नै खुट्टामा बन्चरो प्रहार गरे जस्तै हो। लोकतन्त्र र चेतना खुम्चिएको स्पेसमा विजेता पनि एक प्रकारले हरुवा नै हुन्।
एआईका सकारात्मक पक्ष पनि छन्। यसलाई चुनावका समयमा निर्वाचन आयोग वा दलहरूले यसलाई कसरी सही रूपमा प्रयोग गर्न सक्छन्?
एआई एउटा प्राविधिक औजार हो। मेरो अनुसन्धान पनि एआईलाई कसरी शिक्षामा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा हो। यसलाई शिक्षा र सूचना प्रवाहमा राम्ररी प्रयोग गर्न सकिन्छ। राजनीतिक दलहरूले आफ्नो घोषणापत्र बुझाउन, इन्फोग्राफिक्स बनाउन, एक्सप्लेनर बनाउन वा जटिल कुराहरूलाई मल्टिमिडियामार्फत सरल रूपमा प्रस्तुत गर्न सक्छन्।
निर्वाचन आयोगले पनि आचारसंहिता वा मतदान प्रक्रियालाई विभिन्न भाषामा अनुवाद गरी रोचक सामग्री बनाएर जनतामा पुर्याउन सक्छ। ‘ह्युमन ट्रान्सलेटर’को सहयोगमा एआई प्रयोग गर्दा यो ‘कस्ट–इफेक्टिभ’ पनि हुन्छ। केही युवा राजनीतिज्ञ, राजनीतिक दल वा स्वतन्त्र पत्रकारहरूले यसको राम्रो प्रयोग गर्न थालेको पनि देखिएको छ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको छ। त्यहाँ एआई सिर्जित मिथ्या सूचनालाई नियमनमा ल्याउने भनिएको छ। तर, आयोगको वर्तमान संरचना र जनशक्तिले यो काम गर्न सम्भव छ?
आयोगको आन्तरिक कुरा मलाई थाहा भएन। सरकारी संयन्त्र भएपछि त्यसका आफ्नै प्रक्रिया र मापदण्ड होलान्। उहाँहरूलाई पनि गाह्रै छ, दुई वर्षपछिको चुनाव अहिले नै आयो। धेरै कुरा मिलाउनु पर्नेछ। एआई मात्र होइन, अरू पनि धेरै मुद्दा छन्। उहाँहरूलाई जनशक्तिको अभाव भयो भने के गर्ने? यो सोच्नुपर्छ। क्षमतावान् र विश्वासयोग्य मानिस लैजानुपर्यो। तत्काल र सावधानीपूर्वक काम गर्नुपर्ने चुनौती उहाँहरूलाई छ।
मिस/डिसइन्फरमेसनका बारेमा कुरा गर्दा को बढी ‘भल्नरेवल’ छ भन्नेमा पनि ध्यान दिनुपर्छ। एआईको दुरुपयोगबाट महिला, सीमान्तकृत समुदाय र नवयुवा बढी जोखिममा हुन्छन्। स्थापित नेताहरूसँग त आफ्नो बचाउ गर्ने ठूलो सपोर्टर, पुँजी, साइबर सेना वा मिडिया शक्ति हुन्छ, तर नयाँ सीमान्तकृत उम्मेदवारविरुद्ध मिथ्या सूचना फैलियो भने उनीहरूले आफ्नो बचाउ गर्न पनि पाउँदैनन्। यसले चुनावी नतिजामै असर पार्न सक्छ। निर्वाचन आयोग वा अरू कुनै निकायले यस्ता कमजोर समुदायलाई ध्यान दिनुपर्छ।
एआईले समाजमा भइरहेको असमानतालाई थप बढवा दिने भयो, हैन?
तपाईंसँग पुँजी छ भने ‘बट्स’ सिर्जना गरेर, ट्रेन्ड बनाएर, पैसा खन्याएर माहोल सिर्जना गर्न सक्नुहुन्छ। आफूमाथि भएको आक्रमणको बचाउ पनि गर्न सक्नुहुन्छ। तर, सीमान्तकृतहरूसँग डिफेन्स गर्ने वा आक्रमण गर्ने पुँजी हुँदैन। कहिलेकाहीँ अर्ग्यानिक तरिकाले पनि माहोल सिर्जना गर्न सकिन्छ। यदि उहाँहरूसँग राम्रो र जनतालाई छुनसक्ने सन्देश छ भने त्यसैले पनि माहोल बनाउँछ। तर, ‘आर्टिफिसियल बबल’मा चुनौतीचाहिँ छ।
मेटा र टिकटक जस्ता प्लेटफर्महरूसँग निर्वाचन आयोगले सहकार्य गर्ने कुरा छ। नेपाल जस्तो सानो देशका लागि उनीहरूले कत्तिको प्राथमिकता देलान्?
विगतका चुनावमा मेटा र टिकटकले हानिकारक कन्टेन्ट हटाउन केही सहयोग गरेका उदाहरण छन्। जेन–जी आन्दोलनका समयमा पनि टिकटकले हिंसात्मक सामाग्रीलाई रोकेको रहेछ। यसले विगतमा काम गरेको रहेछ भन्ने देखियो। नेपालले आफ्नो कूटनीतिक च्यानलबाट उनीहरूलाई अपिल गर्नुपर्छ। डिजिटल प्लेटफर्महरूलाई पनि यतिबेला सबैतिरबाट प्रश्न छ।
ती प्लेटफर्मलाई पनि आफ्नो विश्वसनीयता जोगाउनु छ, त्यसैले उनीहरूका लागि यो एउटा अवसर पनि हो। ‘हामीले नेपालको चुनावमा यति धेरै हानिकारक, हिंस्रक वा लैंगिक हिंसा फैलाउने सामाग्री हटायौँ’ भनेर डेटा देखाउन पाउनु उनीहरूको गुडविलको लागि पनि राम्रो हुन्छ। नेपाल सार्वभौम देश हो। यहाँको निर्वाचनको पनि ठूलो अर्थ छ।
नेपाल सानो देश भए पनि ग्लोबल सिटिजनको रूपमा उत्तिकै हक अधिकार छ। यहाँका नागरिकले चाहिँ मिस/डिसइन्फरमेसनबाट पिल्सिनुपर्छ भन्ने छैन। ठूला कम्पनीको आफ्नै धुन छ। उनीहरूका निम्ति नेपाल प्राथमिकतामा नपर्न पनि सक्छ। तर, हामीले कूटनीतिक तवरबाट अपिल गर्यौँ भने विन–विन अवस्थामा पुग्न सक्छौँ। नेपालको प्रजातन्त्र पनि जोगिने, सोसल मिडिया प्लेटफर्मको पनि साख जोगिने अवसर छ।
मतदानअघि अन्तिम ४८–७२ घण्टामा ठूलो नेताको डिपफेक भिडियो भाइरल भयो भने, त्यसलाई नियन्त्रण गर्न हामी सक्षम छौँ?
अर्जेन्सी र सावधानी दुबैमा ध्यान दिनुपर्छ। यसमा नेपालको आफ्नै स्रोतसाधन नपुग्न सक्छ। हामीले सहयोगका निम्ति अपिल गर्नुपर्छ। अहिले हाम्रो समाजमा धार्मिक, जातीय, लैंगिक र वर्गीय रूपमा ठूलो ध्रुवीकरण छ। विश्वासको खाडल यति गहिरो छ कि हाम्रो ‘सत्यको बेसलाइन’ नै खस्किएको छ। मान्छेले जे पनि पत्याइदिन सक्ने स्थिति छ। भोलि जात वा धर्मका नाममा हिंसा भड्कियो वा सामूहिक हत्या भयो भन्ने अफवाह फैलाइयो भने, मान्छेले त्यसलाई तुरुन्त विश्वास गर्न सक्छन्।
हाम्रो समाजमा विविधता त छ, तर माइग्रेसनका कारण हाम्रो रेजिलियन्स क्षयीकरण भएको छ। हामी आफ्नो थातथलोबाट बसाइँ सरेका छौँ, छिमेकीसँग पहिलेको जस्तो आत्मीय सम्बन्ध छैन। यस्तो तरल र अस्थिर स्थितिमा हिंसात्मक र विखण्डनकारी सामग्री डढेलो सरी फैलिने सम्भावना रहन्छ। जेन–जी आन्दोलन पछि समाज झन्–झन् फुट्दै गइरहेको छ। यो चुनौतीलाई सरकार एक्लैले सामना गर्न सक्दैन। यसमा सरकारलाई सबैले सहयोग गर्नुपर्छ। राजनीतिक दलहरू आफै जिम्मेवार हुनुपर्छ। मिडिया, नागरिक समाज र अन्तर्राष्ट्रिय निकाय मिलेर काम गर्नु आवश्यक छ।
समाज तरल भएको अवस्थामा एआई सिर्जित मिथ्या सूचनाले समाजलाई झनै विभाजित गर्ने र कुनै खास समूहले बढी फाइदा लिने भयो, होइन?
हो। मानिस डराएको, आत्तिएको, रिसाएको वा क्रोधित अवस्थामा पुगेपछि संयमता गुमाउँछ। समाजमा सिर्जनात्मक काम गर्न अरूको कुरा सुन्नुपर्छ, समाधानका लागि पहल गर्नुपर्छ र आफ्नो ‘कम्फर्ट जोन’भन्दा बाहिर गएर आफूभन्दा फरक विचारसँग संवाद गर्नुपर्छ। तर जब मानिस डरको अवस्थामा हुन्छ, ऊ मनोवैज्ञानिक रूपमा सिथिल बन्छ।
त्यस्तो बेला गहिरिएर सोच्ने क्षमता कमजोर हुन्छ, बरु संयमता गुमाउँछ। मानिस क्रमशः युद्धको मनोविज्ञानतर्फ धकेलिन्छ। यस्तै अवस्थामा एआईले भय मिसिएको विखण्डनको बाटोतर्फ लैजान सक्छ।
पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गरेर कुनै निश्चित धार्मिक समुदायलाई लक्षित गरेर घृणास्पद अभिव्यक्ति फैलाउने काम भइरहेको छ, यस्तो खाले प्रवृत्तिले चुनावलाई कस्तो असर पार्ला?
कहिलेकाहीँ म आफू अत्यन्तै डराएको जस्तो महसुस गर्छु। समग्र गतिविधि हेर्दा म त्रसित छु। मैले सबैलाई तर्साउन खोजेको भने होइन, तर अहिले संयमित हुनुपर्ने अवस्था आएको छ। धर्मको नाममा, जात वा समुदायको नाममा विभिन्न गतिविधि भइरहेका छन्। यस्ता गतिविधिलाई छिमेकी मुलुकबाट थप मलजल गरिएको भन्ने समाचार पनि आइरहेका छन्। अहिले हामी डढेलो लाग्नुअघिको पतिंगरजस्तो अवस्थामा छौँ।

अब आउने नेतृत्वले यदि सामाजिक सद्भाव भड्काउने, कुनै निश्चित जात, धर्म, समुदाय वा लिंगलाई ठेस पुग्ने अभिव्यक्ति दियो भने जे पनि हुनसक्छ। किनकि समाज मिथ्या सूचनाको जालोमा परेर प्रदूषित भइसकेको छ। यस्तो बेलामा मानिसले संयम गुमाएर आफ्ना गतिविधि नियन्त्रण गर्न नसक्ने अवस्था पनि आउन सक्छ। जेन–जी आन्दोलनले सुशासन, समावेशिता र जवाफदेहिताको माग गरेको थियो। अहिलेको अवस्थामा मानिसले त्यस्तै खालको नेतृत्व खोजिरहेका छन्।
एआई सिर्जित सामाग्रीले मतदाताको स्वतन्त्र निर्णय क्षमतालाई कमजोर बनाउने हो?
सधैँ एआई–एआई भनिरहँदा प्रविधिलाई नै दोष दिइरहेको जस्तो लाग्न सक्छ। यसले हामीसँग केही छैन, हामी ‘पपेट’ मात्र हौँ भन्ने भाष्य पनि बनाउन सक्छ। तर यो आत्मसमर्पण होइन। विगतका निर्वाचनमा धेरै मिसइन्फरमेसन फैलिए पनि त्यसले चुनावी परिणाममा खासै फरक पारेन भन्ने कुरा अनुसन्धानले देखाएका छन्। विभिन्न अध्ययनले के भन्छन् भने मानिस एआई कन्टेन्ट हेरेर केही समयका लागि बहकिए पनि अन्त्यमा आफ्नो विवेक प्रयोग गर्छ। सन् २०२४ मा भएका थुप्रै अनुसन्धानले पनि यही निष्कर्ष देखाएका छन्।
यद्यपि यसको जोखिम भने अवश्य छ। यदि तपाईं कुनै विषयमा पहिल्यै पूर्वाग्रही हुनुहुन्छ भने एआईले त्यसलाई अझै मलजल गर्छ। उदाहरणका लागि, तपाईंलाई कुनै पार्टी वा पात्र मन पर्दैन भने एआईले झन् बढी मन नपराउने अवस्थामा पुर्याउन सक्छ। अथवा, कुनै राजनीतिक पात्रप्रति अलिकति आशा देख्नुहुन्छ भने एआईले त्यसैलाई अतिरञ्जित गर्दै त्यो पात्रले नै देश बनाउने वा बचाउने हो भन्ने विश्वाससम्म पुर्याउन सक्छ। त्यसका लागि एआई–सिर्जित सामग्री प्रयोग हुन सक्छन्।
म बहकिँदिनँ भनेर सोच्दा–सोच्दै पनि सामाजिक सञ्जालमा यति धेरै त्यस्ता सामग्री आउँछन् कि कुनै नेताले साँच्चिकै पोस्ट गरेको हो कि होइन भन्ने कुरामा नै ध्यान जान थाल्छ। घाम लागेको छ कि छैन भनेर आकाश हेर्दा थाहा हुनुपर्ने हो, तर यति धेरै कृत्रिम बत्ती जडान गरिएको छ कि घाम लागेको छ कि छैन भनेरसमेत जाँच्नुपर्ने अवस्था छ। सामाजिक सञ्जालमा आउने कन्टेन्टको अवस्था पनि यस्तै छ।
सतही कुरामा ध्यान दिँदा–दिँदा मानिस थाकिसकेको छ। यस्ता कन्टेन्टले मानसिक र सामाजिक थकान बढाउँछन्। यसले मुद्दा–केन्द्रित गहिरो बहस हुन दिँदैन। वास्तवमा अहिले शिक्षा, स्वास्थ्य, रोजगार, समावेशिता, पर्यावरण, प्रविधि र भू–राजनीतिजस्ता विषयमा गहिरो बहस हुनुपर्ने हो। तर भइरहेको छ, व्यक्तिकेन्द्रित सतही बहस। यस्तो बहसले हाम्रो समग्र प्रणालीलाई नै घाटा पुर्याइरहेको छ। सामाजिक सञ्जालमा आउने कन्टेन्टका कारण आम मानिस अनावश्यक सतही बहसमा सहभागी हुँदै थकित बनेको छ। जब मानिसमा स्फूर्ति र चुस्तता रहँदैन, तब सोच्ने, बहस गर्ने र सिर्जनशील काम गर्ने क्षमता पनि कमजोर बन्छ।
विभिन्न अध्ययनले एआई सिर्जित कन्टेन्टले लोकतन्त्र खतरामा पारिरहेको निष्कर्ष निकालेको छ, के त्यो सम्भव छ?
संसारभर अहिले उग्र दक्षिणपन्थी अजेन्डा फैलिरहेको छ। लोकतन्त्र, समावेशिता र मानवताको विपक्षमा रहेका विचारहरू सामाजिक सञ्जाल र एआई बट्समार्फत तीव्र रूपमा फैलाइँदै छन्। यस्ता अजेन्डा प्रवर्द्धन गर्न शक्ति केन्द्रहरूले जानाजान ठूलो मात्रामा लगानी गरेका छन्। पहिले हामी सामाजिक सञ्जाललाई प्रगतिशील प्लेटफर्मका रूपमा बुझ्थ्यौँ, तर अहिले त्यसलाई दक्षिणपन्थी शक्तिहरूले संगठित रूपमा प्रयोग गरिरहेका छन्। यो नियोजित देखिन्छ।
आज सामाजिक सञ्जाल प्लेटफर्महरू धेरै हदसम्म ‘राइट–विङ’को प्रभावमा परेका छन्। यहाँ प्रवाह हुने छोटा भिडियोहरूले समावेशिता, दिगोपन र मानवताजस्ता जटिल विषयलाई गहिराइमा बुझाउन सक्दैनन्। यी विषयमा गम्भीर मन्थन र विवेकपूर्ण बहस आवश्यक हुन्छ। तर सामाजिक सञ्जाल प्लेटफर्महरूले गहिरो सोच माग्ने विषयभन्दा सतही र तत्काल प्रतिक्रिया उत्पन्न गर्ने सामग्रीलाई बढी प्रवर्द्धन गर्छन्। मानिसको मनोविज्ञान र सामाजिक सञ्जाल प्लेटफर्मको ‘फिडब्याक लुप’ का कारण लोकतन्त्रविरोधी सामग्रीहरू यस्ता प्लेटफर्ममा सजिलै भाइरल हुने गरेका छन्।
सामाजिक सञ्जालको दुरुपयोगले सूचनाको पर्यावरणमै समस्या आएको हो?
यो एकदमै जेलिएको समस्या हो। यसमा सरकार, राजनीतिक दल, नेता, मिडिया, सामाजिक सञ्जाल प्लेटफर्मको मुख्य भूमिका छ। यो प्रदूषण कम गर्न सबै लाग्नुपर्छ।
यो अवस्था सुधार गर्न मिडियाको भूमिका के हुन्छ?
अहिले कसलाई मिडिया भन्ने र कसलाई नभन्ने भन्नेमा नै अन्योल छ। यस्तो अवस्थामा जवाफदेही मिडियाका लागि अहिलेको परिस्थिति चुनौती र अवसर दुवै हो। किनकि ‘लिगेसी’ भनिने मिडियामाथि पनि प्रशस्त प्रश्न उठिरहेका छन्। अब लिगेसी मिडियाले आफ्ना व्यक्तिगत पूर्वाग्रह त्यागेर लोकतन्त्रलाई केन्द्रमा राखी काम गर्नुपर्ने अवस्था आएको छ।
यसका लागि संयम अनिवार्य छ। यदि मिडियाले यस्तो भूमिका निर्वाह गर्न सक्यो भने गुम्दै गएको विश्वास पुनः प्राप्त गर्न सकिन्छ। प्रदूषित सूचना–माहोल चिर्न र लोकतन्त्रको रक्षा गर्न मिडियाले आफ्ना व्यक्तिगत पूर्वाग्रहलाई थाती राखेर जिम्मेवार रूपमा काम गर्नुपर्छ।
निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत मिथ्या सूचना फैलिरहेको छ, त्यो हुनुमा सामाजिक सञ्जाल प्लेटफर्म वा यहाँका राजनीतिक नेता तथा कार्यकर्ताको मात्र भूमिका छ कि अन्य देशी विदेशी शक्ति पनि लागिरहेका छन्?
यसमा अलिकति ‘डिस्क्लेमर’ आवश्यक छ। अहिले ‘भूराजनीति’ भन्ने शब्द धेरैजसो आफ्नै राजनीतिक गैरजिम्मेवारी लुकाउन वा प्रतिस्पर्धीलाई बदनाम गर्न प्रयोग भइरहेको छ। तर, भूराजनीतिक वास्तविकतालाई पूर्ण रूपमा नकार्न सकिँदैन। डिजिटल मिडियाको कुनै स्पष्ट सीमा छैन। अन्तरदेशीय सम्बन्धहरू कमजोर बनेका छन्। सम्बन्धको प्रोटोकल भत्किँदै गएका छन्। यस्तो अवस्थामा जे पनि हुनसक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
