तल्लो क्षेत्रका मात्र उम्मेदवार हुने मुस्ताङमा यसपटक उपल्लो क्षेत्रबाट एमालेका इन्द्रधारा विष्ट खडा भएका छन्। कांग्रेस उम्मेदवार योगेश गौचनसहित बाँकी उम्मेदवार तल्लो मुस्ताङका छन्।
म्याग्दी– मुस्ताङको चिसो हिमाली हावामा अहिले चुनावको तातो राप छ। हिउँ पग्लन शुरू हुँदा मुस्ताङका मतदाता धमाधम कालीगण्डकी नदी किनारै किनार घर उक्लिदै छन्। यसरी घर उक्लिनेहरू फागुन २१ गतेको निर्वाचनका मतदाता हुन्।
उम्मेदवारहरू भने मुस्ताङ प्रवेश विन्दु थासाङदेखी उपल्लो मुस्ताङको लोमन्थाङसम्मै मत माग्न व्यस्त छन्। प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसबाट योगेश गौचन र एमालेबाट इन्द्रधारा विष्ट प्रतिस्पर्धामा छन्।
त्यसैगरी, रास्वपाबाट अधितीयचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र शेरचन र राप्रपाबाट कमला लालचन उम्मेदवार छन्। कमला एक मात्र महिला उम्मेदवार हुन्। यहाँ नेपाली कम्युनिस्ट पार्टीले नुडुक गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनले यमबहादुर गुरुङलाई उम्मेदवार बनाएका छन्।
मुस्ताङमा यसअघिका निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा थियो। निवर्तमान सांसद रहेका योगेश गौचन यसपटक पनि कांग्रेसका उम्मेदवार छन्। उनी पूर्वसांसद रोमी गौचनका छोरा हुन्।
गौचन परिवारको पुर्ख्यौली थलो तल्लो मुस्ताङको थासाङ हो। उपल्लो मुस्ताङका मतदाताले कांग्रेसले हरेकपटक तल्लो मुस्ताङबाट उम्मेदवार बनाउने गरेको भन्दै प्रश्न उठाउन थालेका छन्। किनभने, माथिल्लो मुस्ताङबाट प्रतिनिधिसभामा अहिलेसम्म प्रतिनिधित्व हुन सकेको छैन।
तर यसपटक माथिल्लो मुस्ताङबाट पनि उम्मेदवार छन्। एमाले उम्मेदवार इन्द्रधारा विष्ट उपल्लो मुस्ताङको लोमन्थाङका बासिन्दा हुन्। आफूले पहिलोपटक संसद्मा उपल्लो मुस्ताङको आवाज उठाउने भन्दै विष्टले ‘पहिचान र न्याय’को नारा दिइरहेका छन्।
गण्डकी प्रदेशसभाका पूर्वसदस्य रहेका विष्टको उमेदवारीलाई लिएर उपल्लो मुस्ताङका मतदाता उत्साही छन्। “इन्द्रधारा एउटा पार्टीको उम्मेदवार मात्र हैनन्, उपल्लो मुस्ताङको पनि लोवा जातिको मान्छे सिंहदरबारको ढोकामा पुग्ने अवसर पनि हो,” पोखरामा रहेकी मुस्ताङकी पेमा गुरुङले भनिन्, “सधैँ हामीले सहयोग गर्यौँ, अहिले उपल्लो मुस्ताङले बल्ल अवसर पाएको छ।”
तर मुस्ताङको राजनीतिमा तल्लो भेग र थकाली समुदायको वर्चस्व रहँदै आएको छ। मतदाता पनि तल्लो क्षेत्रबाट धेरै छन्। यसपटक विष्टबाहेक अन्य सबै सात उम्मेदवार तल्लो मुस्ताङकै छन्।
यसअघि, २०७९ सालको आमनिर्वाचनमा कांग्रेसका योगेश गौचन तीन हजार ९९२ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रेम तुलाचनले तीन हजार ७८ मत ल्याएका थिए। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार, मुस्ताङमा यसपटक ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता छन्।
तल्लो मुस्ताङ थकाली बहुल क्षेत्र हो। यहाँ दलित र अन्य समुदायको मत पनि उल्लेख्य छ। तल्लो क्षेत्रमा बाँडिने मत कांग्रेस र एमाले दुवै उम्मेदवारका लागि निर्णायक बन्न सक्ने घरपझोङ गाउँपालिका–२ स्याङ्गका राहुल थकाली बताउँछन्।
अहिले कांग्रेस र एमालेले आफूलाई बलियो बनाउन विभिन्न मुद्दा अगाडि सारेका छन्। एमालेले मुस्ताङमा सडक पुर्याएको जस लिने प्रयास गरिरहेको छ। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘आप्mनो गाउँ आफै बनाऊँ’ कार्यक्रमअन्तर्गत सोझै साविकका गाविसमा आएको रकमले उपल्लो मुस्ताङवासीले लोमन्थाङबाट सडक खन्न थालेका थिए। यही बाटो अहिले चुनावी नारा बनेको हो।
मुस्ताङमा मात्र हैन छिमेकी म्याग्दी र गण्डकी प्रदेशको राजधानी कास्कीमा समेत अहिले कोरला नाका चुनावी अजेन्डा बनेको छ। कोरला नाकालाई विशेष भू–बन्दरगाहको रूपमा विकास गर्ने, कोरला नाकाबाट मानसरोवरसम्म जाने गरी धार्मिक पर्यटन भित्र्याउने विषय सबै उम्मेदवारले चुनावी मुद्दा बनाएका छन्।
त्यस्तै, गुम्बा शिक्षालाई प्रविधिमैत्री बनाउने, अर्धनिषेधित उपल्लो मुस्ताङलाई खुला गर्न कूटनीतिक पहल गर्ने, कालीगण्डकी करिडोरको सडक पक्की गरी १२ महिना नै चल्ने बनाउने मुद्दा पनि चुनावी नारा बनेका छन्। कालीगण्डकीमा बाढी नियन्त्रण, कृषि र जलवायु अनुकूलनजस्ता विषयसमेत उम्मेदवारका अजेन्डा बनेका छन्।
हरेक जाडो सिजनमा मुस्ताङका ८० प्रतिशत मानिस न्यानो खोज्दै बेसी झर्छन् र मध्य फागुनदेखि चैतसम्ममा घर फर्किन्छन्। यस वर्ष फागुन २१ गते चुनाव रहेकाले स्थानीय चाँडो घर फर्कंदै छन्।
शहर झरेका मतदातालाई उम्मेदवारहरूले पोखरा, काठमाडौँलगायत शहर नै झरेर मत मागेका छन्। तर फागुनमा आकस्मिक हिमपात भए शहरका मतदातालाई मुस्ताङ फर्काउन चुनौती हुनेछ।
विगतको चुनावमा उम्मेदवारहरूले शहरका मतदाता ल्याउन यातायातको व्यवस्था गर्थे। उनीहरूले पोखरा, काठमाडौँलगायत शहरबाट बस, जीप र पोखरा–जोमसोम हवाई टिकटसम्मको व्यवस्था गर्ने गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
