नयाँ स्वादको पुलिन्दा पस्किन तम्तयार ‘महानगर’

शुरूमै कथाकी मुख्य पात्र ‘खुशी’को गहिरो चिन्ताले सोचमग्न अनुहार पर्दामा उघ्रिन्छ। उनी कुन चाहिँ सोचमा डुबेकी होलिन्? यसैको जवाफ पाउन चलचित्रले दर्शकलाई सिर्जनात्मक रूपमा पर्खाएको छ। 

आगामी भदौ ८ गते देशभर प्रदर्शन गर्ने घोषणा गरिएको कथानक चलचित्र ‘महानगर’ (वन नाइट इन काठमाडौँ) ले दर्शकहरूको अनुमोदन कत्तिको पाउँछ भन्ने हेर्न बाँकी रहेको बेला यसका निर्माणकर्ता भने प्रारम्भिक प्रतिक्रियाले हौसिएका छन्। चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा साउन १९ गते शुक्रबार स्क्रिनिङ भएको चलचित्र यसअघि विभिन्न महोत्सवमा भाग लिएर बेग्लाबेग्लै विधामा विजेतासमेत बनिसकेको छ। 

एउटा सांयोगिक घटनापछि बाध्यात्मक रूपमा रातभरि एकसाथ समय व्यतित गरेका दुई पात्रको कथा हो यो। मुख्य भूमिकामा रहेकी अभिनेत्री मेनुका प्रधान अर्थात् कथाकी पात्र ‘खुशी’को कुनै गहिरो चिन्ताले सोचमग्न भएको अनुहार पहिलो पटक पर्दामा उघ्रिन्छ। टेम्पोमा सवार उनी कुन चाहिँ सोचमा डुबेकी छन् भन्ने सवालको जवाफ पाउन चलचित्रले दर्शकलाई सिर्जनात्मक रूपमा पर्खाएको छ। 

अर्को शब्दमा यही सवालले नै चलचित्रको समग्र कथालाई अन्तिमसम्म डोर्‍याएको पनि भन्न सकिन्छ। खुशीको मनोदशाबारे कैयौँ फुटकर जवाफहरू अभिव्यक्त गरेको कथा ठोस उत्तर दिनुअगाडि अझ अनेकौँ सवालहरू छोड्दै सकिन्छ। च्लचित्रका लेखक तथा निर्देशक मोहन राईले यसलाई ‘ओपन एन्डिङ’ भनेका छन्।

अभिनेता कर्माद्वारा मुख्य पुरुष पात्रको चरित्र अभिनित छ यसमा। चलचित्रमा प्रयुक्त संवादले कहिलेकाहीँ कुनै विश्व साहित्यको उपन्यासका पात्रहरूको वार्तालापको छनक दिन्छ भने कहिले कुनै रंगमञ्चको नाटकका पात्रहरूको संवादजस्तै मौनता र भावलाई भरपुर प्रयोग गरेको हुन्छ। यस्ता कुराले धेरैजसो दर्शकलाई रोमाञ्चित बनाउन सक्छ भने कसै कसैलाई नबनाउन पनि सक्छ। कथा सरल र समान्य विषयवस्तुबाट उठान भएको छ। दुई अपरिचित व्यक्ति अर्थात् नायक–नायिकाको एक साँझ संयोगले भएको भेट र त्यसपछिका घटनाक्रम चलचित्रको कथावस्तु बनिरहँदा नेपाली चलचित्र बजारमा बिक्ने खालको गीतसंगीत सहितको नाचगान भने यसमा भेटिँदैन। 

‘आर्ट’ विधाको चलचित्रको कथा अस्पताल, सुनसान सडक, चौतारो, बसपार्क, धरहरा आसपास र एकान्त डाँडा हुँदै बाटो लिन्छ। मुख्य दुई पात्रहरू भने फेरिँदैनन। पात्रहरूको अन्तरसंवाद र उनीहरू आफैँभित्रको अन्तरद्वन्द्वको शृंखलावद्ध अभिव्यक्ति यसको पटकथा हो। जीवनको जटिलताका निरूपण जोख्दै शहर पस्ने मानिसहरूको सपनाको ‘ब्ल्याक एन्ड ह्वाइट’ क्यानभास जस्तै छ यो सिनेमा। अनेक खाले रङहरूको प्रयोग नगरीकन एउटा जीवन्त चित्र तयार गर्न खोजेको जस्तो। 

एकखाले सपना बोकेर शहर पस्नेको यथार्थसँगको साक्षात्कार छ यसमा। आफूभित्रको यथार्थलाई बिसाउन ठाउँ पाउन कति कठिन छ जसलाई अभिव्यक्त गर्न एउटा अर्को विश्वासयोग्य पात्र भेटिनु चमत्कारभन्दा कम होइन भन्छ कथाले। समाजका पारिवारिक संगठनहरूमा आएको विचलनले अर्को पुस्तालाई असर पारिरहेको हुन्छ। त्यसका पात्रहरूको भोगाइलाई एउटा लुकेको सन्देशको रूपमा यसले व्यक्त गर्छ। बाहिरी संघर्षसँगै व्यक्तिको आफैँभित्रको अन्तरसंघर्ष पनि ‘महानगर’ ले देखाउन चाहेको छ। 

चलचित्रका लेखक तथा निर्देशक राईले यो कुनै एउटा वर्गका दर्शकलाई लक्षित गरी नबनाइएको प्रष्ट्याए। नेपाली दर्शकहरूमाझ एउटा फरक खालको चलचित्र बनाएको र अहिलेसम्मका प्रतिक्रियाले आफूलाई हौस्याएको उनले बताए। तथापि चलचित्र निर्माणपछि मात्र देखा पर्ने खालका कमजोर पक्षहरूबाट ‘महानगर’ अछुतो भने छैन।

‘महानगर’ चलचित्रको कमजोर पक्षको कुरा गर्दा बीचबीचमा कथाको बहाव सुस्त भएको जस्तो देखिएकोलाई निर्देशकीय कमजोरी भन्न सकिन्छ। रातको समयलाई नै विषयवस्तु बनाएर निर्माण गरिएकाले छायांकनका हिसाबले अँध्यारोमा शुरू भएर अँध्यारोमै चलचित्र सकिन्छ। दर्शकले एकछिन पनि आँखालाई उज्यालोको सुविधा दिन पाउँदैनन्। 

काठमाडौँसँग परिचित नभएका वा अरू देशका दर्शकहरूका लागि ठिकै ठहरिने लोकेशन भने काठमाडौँकै दर्शकलाई बिझ्न सक्छ। पर्दामा देखिएका पात्रहरू कथासँगै एकपछि अर्को ठाउँमा अघि बढिरहेको बेला तारतम्य मिलेको छैन।  काठमाडौँका ‘ल्यान्डमार्क’ र ठाउँहरू चिनेका दर्शकहरूले स्वाभाविक रूपमा खोज्न सक्ने तारतम्य लोकेशनहरूमा भेटाउँदैनन्। 

सामाजिक मुद्दाहरू राम्ररी बुझेका र तीमाथिका वृत्तचित्रमा पोख्त भनेर चिनिएका निर्देशक राईसँग अपेक्षा नगरिएको विषयवस्तु कथाको हिस्सा भएर आउनु गह्रुँङ्गो बनेको देखिन्छ। डान्स बारमा काम गर्ने युवतीहरूलाई देह व्यापारमा संलग्न भनेर कथित सभ्य समाजले उपेक्षा र हेयभाव राख्दै आएको छ। यस चलचित्रको एउटा भागमा थोरै भए पनि यही भाष्यलाई पुनः प्रस्तुत गरिएको छ। 

मानवीय विषयहरूलाई पोख्त रूपमा आफ्नो कवितामा व्यक्त गर्न सक्ने महिला पात्र डान्स बारमा काम गर्ने आफ्नो साथीलाई यस्तो काममा संलग्न देखेर आत्तिनु र उसबाट अलग्गिनुलाई बरु मानवीय स्वभावको रूपमा लिन सकिन्छ वा कसैले नलिन पनि सक्छ। तर फरक खालको चलचित्र निर्माणको दाबी गरिरहँदा यो संवेदनशीलतालाई यत्तिकै छोडिनु बेमनासिब लाग्छ।

अरू सानातिना निर्देशकीय कमजोरी यसमा भए पनि अरू चलचित्रहरूसँगको तुलनामा कमै छ। रातको विषयवस्तु भएकाले पर्दामा देखिने पात्रहरू पनि स्वाभाविक रूपमा थोरै छन्। यसले गर्दा धेरै पात्रहरूको उपस्थितिलाई न्यायसंगत प्रस्तुत गर्नुपर्ने झन्झटबाट सिनेमा चलाखीपूर्ण तरिकाले मुक्त छ। मुख्य दुई पात्र बाहेकका अरू पात्रहरूको उपस्थिति पनि थोरै छ। केही कमजोरीका बावजुद पनि सिर्जनशीलता, प्रस्तुति र नयाँपनको हिसाबले चलचित्र आफैँमा सफल देखिन्छ। 

चलचित्रमा अनोज पाण्डे, जीवन बराल, सोविता अधिकारी, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारको समेत अभिनय छ। यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन र पुष्पा संगमको संगीत छ। यसको कार्यकारी निर्माता गोविन्द पराजुली र क्रिएटिभ प्रड्युसर नवनिधि दाहाल हुन्। 

माउन्टेन रिभर फिल्मस् तथा गो–विन प्रोडक्सन्ससँगको सहकार्यमा ‘मिडल वे फिल्मस’ले निर्माण गरेको ‘महानगर’ को कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो। देशभित्र प्रदर्शन हुनुअघि नै यो चलचित्र विभिन्न चलचित्र महोत्सवको हिस्सा बन्न सफल भइसकेको छ। यसले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (निफ) मा राष्ट्रिय चलचित्रको विधामा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो। 

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली पानोरमाअन्तर्गत ‘अनरेबल मेन्सन’ प्राप्त गरेको यो चलचित्र अमेरिकाकै ब्रुकलिन फिल्म फेस्टिवल, वासिङ्टन डीसी साउथ एसियन फिल्म फेस्टिवल, स्पेनको एसियन फिल्म फेस्टिवल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा सहभागी भइसकेको छ। अन्तर्राष्ट्रिय प्रिमियर भएको झण्डै दुई वर्षपछि नेपालको सिनेमा हलमा ‘महानगर’ (वन नाइट इन काठमाडौँ) भदौ ८ मा प्रदर्शनमा आउन लागेको हो।