काठमाडौँका विभिन्न क्षेत्रमा उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुँदा पुरानाप्रति मतदाता रुष्ट देखिएका छन् भने नयाँ उम्मेदवारप्रति आशा देखाइरहेका छन्।
काठमाडौँ– कांग्रेस नेता प्रकाशमान सिंह शनिबार काठमाडौँ क्षेत्र नं. १ मा पर्ने शान्तिनगरस्थित प्रयागमार्ग पुग्दा मिना भण्डारीले प्रश्न गरिन्, “धारामा पानी कहिले आउँछ? मेलम्चीको पानी ल्याउने कुरा आश्वासन मात्र हो?” उनले सडक कालोपत्रे नभएकोमा पनि आक्रोस पोखिन्।
यही क्षेत्रबाट यसअघिका तीन निर्वाचनमा विजयी भइसकेका प्रकाशमानले सडक पिच गर्ने निकाय स्थानीय तह भएको बताए। सिंहका चुनाव प्रचार सहयोगीले खानेपानी व्यवस्थित गर्ने काम पनि महानगरपालिकाको नै भएको बताए। उनको जवाफले भण्डारी आक्रोसित भइन्। “तपाईंहरूको काम देख्दै आएका हौँ। तपाईंहरूले केही गर्न सक्नुभएन। जनताले अब नयाँ विकल्प खोजेका छन्”, उनले भनिन्।

भण्डारीको कुरा सकिँदा नसकिँदै सिंहको टोली अगाडि बढिसकेको थियो। तर, सवाल–जवाफ सुनिरहेका स्थानीय व्यापारी रोहित खनालको गुनासो पनि फरक थिएन। कांग्रेस टोली हिँडिसकेपछि उनले भने, “उहाँ पाँच वर्षअघि को चुनावमा पनि यसरी नै आउनुभएको थियो। हामी उहाँकै पक्षमा हो, तर जितेर गएपछि आउनु नै हुन्न। अब यसरी हुँदैन।” चुनावपछि पनि आफ्ना मतदातासँग भेट्न र गुनासो सुन्न आउनुपर्ने उनको भनाइ थियो।
कालोपत्रे गर्ने काम स्थानीय तहको भएको बताएर सिंह हिँडेपछि खनालले वडाबाट कामै नहुने गुनासो गरे। “बाटो पिच गर्न वडाले बजेट अभाव देखाउँछ। स्तरीय काम नहुँदा दुई वर्षमै बाटो खराब हुन्छ”, उनले गुनासो गरे।
सिंहसँग शान्तिनगरकै सुभद्रा मगरको गुनासो पनि उस्तै थियो। पानी नआएर आफूहरूले नुहाउन र लुगा धुन नै नपाएको उनले बताइन्। “नुहाउनै नपाएपछि वडामा गएर धर्ना पनि दियौँ। अन्त आउने पानी हाम्रो टोलमा भने आउनै सकेको छैन”, उनले भनिन्। उनले समस्या सुनाउँदै गर्दा सिंहलाई हतार थियो। उनका सहयोगीले पानीको समस्या समाधान हुन अझै केही महिना लाग्ने भन्दै बिदा भए।
अघिल्लो निर्वाचनमा सिंहले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पराजित गरेका थिए। मिश्रले पार्टी परिवर्तन गरेका छन्। उनी राप्रपाबाट उम्मेदवार बनेका छन्।

मिश्र काठमाडौँ–१ मा घरदैलो गर्दा यसपटक आफूलाई विश्वास गर्न आग्रह गरिरहेका छन्। उनी गएको शनिबार काठमाडौँ–३१ को सुकुम्बासी बस्तीमा भेटिएका थिए। त्यहाँ बासिन्दा कोही पनि उम्मेदवारीले जितेर गएपछि आफूहरूलाई बिर्सिएको गुनासो गरिरहेका थिए।
सो बस्तीमा किराना व्यवसाय गर्दै आएकी धनमाया मगरले मिश्रसँग भनिन्, “हाम्रो बस्ती भत्काउन र हामीलाई तितरबितर बनाउन भएन। बस्ती उठाउन भएन। बस्ती र हाम्रो जसले सुरक्षा गर्छ उसलाई नै भोट दिन्छौँ।” उनले पनि विगतमा जितेर जानेहरू फर्किएर नआएको गुनासो गरिन्।
जवाफमा मिश्रले ‘आफ्ना छोराछोरीको लागि भए पनि यो देश बस्न योग्य बनाउन लागि परेको’ बताए। “हाम्रो कुनै स्वार्थ छैन, अरु नेता जस्तो फटाहा बोलेर हिँड्या छैन। फटाहा काम गर्या पनि छैन”, मिश्रले आश्वस्त बनाउन खोजे।

काठमाडौँ–१ बाटै ‘स्वतन्त्र राष्ट्रिय शक्ति’का नाममा उम्मेदवारी दिएका सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल मिलनचोकमा भेटिए। घरदैलोकै क्रममा स्थानीय आशा मुडवरीले खरेललाई इमान्दार हुन र देश बनाउन आग्रह गरिन्। उनले खरेललाई भनिन्, “धेरै गाह्रो भएको छ, खाली घुसमा मात्रै गयो देश। दल भ्रष्ट भए। हामीलाई देश बनाउने मान्छे चाहियो।”
जवाफमा खरेलले भने, “हजुरहरूलाई धोका दिन्नँ। हिजो पनि दिइनँ, अब पनि दिन्नँ।” त्यसपछि उनी मुडवरीसँग जितको शुभकामना लिएर बिदा भए।
काठमाडौँ–७ मा सत्ता गठबन्धनकी उम्मेदवार बनेकी मानुषी यमि भट्टराई शनिबार नै स्वयम्भु क्षेत्रको घरदैलो कार्यक्रममा भेटिइन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईकी छोरी मानुषि मतदातालाई मतदान प्रक्रिया बताउनमै बढी समय लगाइरहेकी थिइन्। कतिपय मतदाता उनलाई जितको शुभकामना दिइरहेका थिए। ७२ वर्षीय तीर्थराज दाहालले भने, “हाम्रो यस क्षेत्रको लागि हामीले चिताएको युवा नेतृत्व आउनुभएको छ, जय होस्।”

दाहालको पुर्ख्यौली घर गोरखा हो। उनले यसअघिका निर्वाचनमा गोरखाबाटै मतदान गरेका थिए। “परिवर्तन होस्, विकास होस् भनेर पहिला पनि भोट हालेका हौँ। तर, हाम्रो आवाजको सुनुवाइ नै भएन। पुरानो सोच र शैलीले नहुने रहेछ, अब युवालाई मतदान गर्नुपर्छ” उनले उकालोसँग भने।
काठमाडौँ–७ मा २०७४ सालको निर्वाचनमा एमालेका रामवीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत पाएका थिए। मानन्धरलाई माओवादी केन्द्र र थापालाई कांग्रेसको साथ थियो।
यसपटक काठमाडौँ–७ मा १३ राजनितिक दलका र १६ स्वतन्त्रसहित २९ उम्मेदवार छन्। मानुषीबाहेक एमालेबाट श्याम घिमिरे, राप्रपाबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, नेमकिपाबाट किरण महर्जन लगायत उम्मेदवार छन्। निवर्तमान सांसद मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौँ क्षेत्र नं. २ मा कागेश्वरी मनोहरा–८ गोठाटार पुग्दा राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेल घरदैलो अभियानमा भेटिइन्। उनी अब युवापुस्तालाई नेतृत्व दिनुपर्ने अनुरोधसहित मत मागिरहेकी थिइन्। अभियानकै क्रममा स्थानीय सन्तोष खड्कासँग उनले आफूलाई युवाको साथ चाहिएको बताइन्। खड्काले पनि युवालाई अघि सार्नुपर्ने आफ्नो मत जाहेर गरे।
काठमाडौँमा विभिन्न पार्टीका उम्मेदवारले गरिरहेको घरदैलोमा पुग्दा मतदाता पुराना उम्मेदवारसँग खुसी देखिएनन्। तर, नयाँ उम्मेदवारसँग उनीहरू ‘नबिग्रन’ आग्रह गरिरहेका थिए। धेरैजसो मतदाताको चिन्ता भने खानेपानी, कालोपत्रे सडकजस्ता विषयमा थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किसन पाण्डे
