आयोगले समानुपातिकको बन्दसूचीबाट कुन-कुन दलका क-कसलाई हटायो?

समानुपातिक सूचीमा रहेका विभिन्न दलका ५५० जना उम्मेदवारलाई निर्वाचन आयोगले सूचीबाट हटाएको छ। आयोगले जरिवाना नतिरेका, लाभको पदमा रहेका, कालोसूचीमा रहेका व्यक्तिको नाम सूचीबाट हटाइ सार्वजनिक गरेको हो।

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएकामध्ये ५५० जनाको नाम खारेज गरेको छ। आयोगले बन्दसूचीमा रहेका ६ हजार ४५७ जना उम्मेदवारमध्ये ५५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाएको हो।

यही कात्तिक ८ गतेको आयोग र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ। आयोगले दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेको भन्दै उनीहरूको नाम सूचीबाट हटाएको हो।

आयोगले कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका दिएको थियो। सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ।

त्यस्तै, असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ र प्रदेशसभा सदस्यतर्फ २९ गरी ५२, दोहोरो उम्मेदवारी परेका ६६, महिला पुरूषको विवरण फरक परेका ३७ जनाको नाम हटाइएको छ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ र आवश्यक कागज प्रमाण पेस नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइको छ।

आयोगले नेकपा एकीकृत समाजवादीका ६ उम्मेदवारको नाम हटाएको छ। आयोगले एकीकृत समाजवादीका पाँच उम्मेदवारले जरिवानावापतको रकम नतिरेको र अर्को एक जनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेकोले उनीहरूको नाम हटाइएको जनाएको छ। त्यस्तै, नेपाली कांग्रेसका एक उम्मेदवारलाई लाभको पदमा रहेको भन्दै सूचीबाट हटाइएको छ।

प्रतिनिधिसभा

प्रदेशसभा