सवारी दुर्घटनामा ज्यान गुमाउनेमा महिलाभन्दा पुरुष ४ गुणा बढी

प्रहरीको आँकडाअनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमा महिला भन्दा पुरुषको संख्या करिब चार गुणा बढी हुनु हाम्रो सामाजिक संरचनासँगै पुरुष र महिलाले सडकमा देखाउने शैली र व्यवहार दर्साउने तस्वीर पनि हो।

काठमाडौँ– सुर्खेतबाट कालीकोट गइरहेको माइक्रो बस दैलेखको चामुन्डा बिन्द्रासैनीस्थित सडकबाट कर्णाली नदीमा खसेको एक साता बितिसक्यो। अहिलेसम्म न गाडी फेला परेको छ, न त्यसमा सवार यात्रुको अवस्था पत्ता लागेको छ। सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका थुप्रै जनशक्तिदेखि गोताखोरसम्मले खोजी जारी राख्दा पनि गाडी भेटिएको छैन।

बर्खेयाम शुरू हुँदानहुँदै देशका विभिन्न ठाउँमा भएका यस्ता दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ। नेपालको भू–बनोट र सडकको अवस्था नै यस्तो छ कि बर्खाको समय दुर्घटना पनि असाध्यै धेरै हुन्छन्।

खासमा बर्खा मात्र होइन, नेपालमा सवारी दुर्घटनामा हरेक वर्ष सयौँको ज्यान जान्छ। आर्थिक वर्ष २०८१/८२ को तथ्यांक हेर्ने हो भने पनि दुई हजार पाँचसय भन्दा धेरै व्यक्तिले दुर्घटनामा ज्यान गुमाएका छन्। त्यसमा अझ उल्लेख्य त के भने सडकमा ज्यान गुमाउने पुरुषको संख्या महिलाको तुलनामा निकै बढी अर्थात् झण्डै चार गुणा धेरै छ।

नेपालमा ट्राफिक प्रहरीले राखेको तथ्याङ्क केलाउँदा आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनाबाट एक हजार ९१८ पुरुष र ४३१ महिलाको मृत्यु भएको देखिन्छ। बालबालिकाको हकमा पनि अवस्था उस्तै छ। सोही अवधिमा ११८ जना बालक र ८२ जना बालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

जसरी नेपालका सडकमा हुने सवारी दुर्घटनाका विभिन्न कारण छन्, त्यसैगरी पुरुष र महिलाको संख्यामा देखिने यो अन्तरका पनि कारण छन्। सडक सुरक्षाबारे जानकारी राख्ने विज्ञहरूका अनुसार यसमा महिलाको तुलनामा पुरुषको बढी आवतजावत एउटा प्रमुख कारण हो। त्यस्तै, मोटरसाइकलको उच्च प्रयोग, जोखिमपूर्ण सवारी चलाउने प्रवृत्ति तथा ट्राफिक नियम पालनामा देखिने पुरुष र महिलाबीचको व्यवहारगत भिन्नताले पनि यो अन्तर सिर्जना भएको देखिन्छ।

सडक सुरक्षाविज्ञ पुष्पराज पन्त भन्छन्, “महिलाले सडकमा जोखिमपूर्ण व्यवहार कम देखाउँछन्। उनीहरू बढी सचेत हुन्छन् र ध्यान भंग हुने गतिविधिमा पनि कम संलग्न हुन्छन्।” अर्थात् पुरुषहरूको व्यवहार यसभन्दा फरक हुन्छ।

अन्तर्राष्ट्रिय स्तरमा भएका अध्ययनहरूले पनि न्यून आयस्तरका जनसंख्यामा दुर्घटनाको लैंगिक अनुपात उच्च आय भएका जनसंख्यामा भन्दा दोब्बरले बढी देखाएको पन्तले बताए। उनले भने, “उच्च आय भएका महिलाहरू बढी दुर्घटनामा पर्दछन्।”

दुर्घटनाको सामाजिक कारण
सडकमा हुने सवारी दुर्घटनामा ज्यान गुमाएका पुरुष र महिलाको माथि उल्लिखित तथ्याङ्क विगतको भन्दा नयाँ पनि होइन। किनभने बर्सेनि प्रायः पुरुष तथा बालकहरू दुर्घटनाको बढी जोखिममा रहेको देखिन्छ। जस्तो, आर्थिक वर्ष २०८०/८१ मा दुर्घटनाबाट एक हजार ७९० पुरुष र ४१२ महिलाको मृत्यु भएको थियो। त्यही वर्ष ११० जना बालक र ५७ जना बालिकाले दुर्घटनामा ज्यान गुमाएका थिए।

पछिल्ला पाँच वर्षको तथ्याङ्क केलाउँदा अवस्था थप गम्भीर देखिन्छ। यो अवधिमा सवारी दुर्घटनाबाट साढे ९ हजार पुरुष र दुई हजार महिलाको मृत्यु भएको छ। अर्थात् महिलाको तुलनामा पुरुषको मृत्युदर झण्डै पाँच गुणा बढी छ। पाँच वर्षमा ६३३ जना बालक र २४३ जना बालिकाले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।

कतिपय मानिस गम्भीर दुर्घटनाका कारण अंगभंग भएका छन्। गम्भीर घाइते हुनेको तथ्याङ्कमा पनि पुरुष नै धेरै छन्। पछिल्ला पाँच वर्षमा २२ हजार ८६७ पुरुष दुर्घटनामा गम्भीर घाइते भएका छन् भने महिलाको संख्या छ हजार ६२ रहेको छ। यसले सवारी दुर्घटनाको सबैभन्दा ठूलो मानवीय भार पुरुषले नै ब्यहोर्दै आएको देखाउँछ।

यस्तो किन भइरहेको छ? सडक सुरक्षाविज्ञ भगवती सेढाईं भन्छिन्, “पुरुषको तुलनामा महिला घरमा बस्ने, घरभित्रकै काम ज्यादा गर्ने र बाहिरका गतिविधिमा कम संलग्न हुने भएकाले सवारी साधनमा उनीहरूको आवतजावत कम छ। यसकारण तुलनात्मक रूपमा मृत्युदर कम हुने भइहाल्यो। जब उनीहरू घरबाटै कम निस्किन्छन् भने दुर्घटनामा पनि धेरै पर्ने कुरा भएन।”

पुरुषले सडकमा धेरै समय बिताउने भएकाले दुर्घटनाको जोखिम पनि स्वाभाविक रूपमा बढी हुने सेढाईंको विश्लेषण छ। तर दुर्घटनाको जोखिमको कारण बाक्लो आवतजावत मात्र होइन। सेढाईंका अनुसार सवारी चलाउने शैलीमा पनि लैङ्गिक अन्तर देखिन्छ।

“विभिन्न अध्ययनले महिलाले तुलनात्मक रूपमा सुरक्षित ढंगले सवारी चलाउने देखाएका छन्। उनीहरू अत्यधिक गतिमा चलाउँदैनन्। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइल चलाउँदै मोटरसाइकल वा गाडी चलाउने वा जोखिमपूर्ण ओभरटेक गर्ने प्रवृत्ति पनि महिलामा कम हुनेगरेको देखिन्छ,” उनी भन्छिन्, “चालक वा पैदलयात्री दुबै अवस्थामा महिलाहरू बढी सतर्क देखिन्छन्। महिलाको मृत्यु धेरैजसो सार्वजनिक यातायातमा हुने गरेको पाइन्छ।”

दुर्घटना बुझाउने मधेश र कर्णालीको तस्वीर
नेपालमा पछिल्लो समय भएका सवारी दुर्घटनामा प्रदेशगत हिसाबले हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै पुरुषले ज्यान गुमाइरहेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशमा ४३५ पुरुष र ८३ महिलाको मृत्यु भएको भेटिन्छ। अघिल्लो वर्ष पनि त्यहाँ ४०४ पुरुष र ९१ महिलाले दुर्घटनामा ज्यान गुमाएका थिए।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी प्रभुप्रसाद ढकाल मधेशमा सवारी दुर्घटनाको दर उच्च रहेको र मृत्यु हुनेमा पुरुषको संख्या बढी रहेको स्वीकार्छन्। उनको बुझाईमा यसको प्रमुख कारण पुरुषको सडकमा बढी आवतजावत हुनु हो। ढकाल भन्छन्, “उनीहरूले सडकमा धेरै समय बिताउँछन्। सडक प्रयोग गर्ने संख्या नै बढी भएकाले दुर्घटनामा पनि उनीहरू बढी पर्छन्।”

ढकालका अनुसार मधेशमा सवारी दुर्घटना बढ्नुका पछाडि एउटा मात्र कारण छैन। “धेरै सडक अझै निर्माणाधीन छन्, कतिपय सडकको अवस्था सुरक्षित छैन। चालकको लापरबाही पनि उत्तिकै जिम्मेवार छ। दुईपांग्रे सवारीमा तीन–चार जना चढ्ने, ट्राफिक नियम थाहा हुँदाहुँदै पनि उल्लंघन गर्ने र व्यक्तिगत सुरक्षामा बेवास्ता गर्ने प्रवृत्ति अझै देखिन्छ,” उनी भन्छन्।

स्थानीय बासिन्दाको व्यवहारले पनि दुर्घटनाको जोखिम बढाएको ढकालको निचोड छ। “कतिपय ठाउँमा सडकमै अन्न वा विस्कुन सुकाउने, सडकछेउमा चौपाया बाँध्ने जस्ता गतिविधि हुन्छन्। धेरै स्थानमा सडकको साइडबार नहुँदा सडकछेउमै चियापसल र अस्थायी टहरा बनेका छन्,” उनले भने।

अर्कोतर्फ कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या सबैभन्दा कम छ। जनसंख्या, सवारी साधनको घनत्व, सडक सञ्जालको विस्तार र सवारी चापमा रहेको भिन्नताले प्रदेशगत तथ्याङ्कमा पनि प्रभाव पारेको छ। २०८१/८२ मा कर्णालीमा ९४ पुरुष र २६ महिलाको मृत्यु भएको थियो भने २०८०/८१ मा ८३ पुरुष र १६ महिलाले ज्यान गुमाएका थिए।

दुर्घटना बढाउने यी कारण
नेपालको यो अवस्था विश्वव्यापी प्रवृत्तिसँग पनि मेल खान्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वभर महिलाको तुलनामा पुरुषहरू सवारी दुर्घटनामा परी ज्यान गुमाउने सम्भावना करिब तीन गुणा बढी हुन्छ।

डब्लूएचओका अनुसार दुर्घटनाको सबैभन्दा महत्वपूर्ण कारणमध्ये एक अत्यधिक गति हो। डब्लूएचओको वेबसाइटमा उल्लेख छ, "औसतमा सवारी गति बढ्दै जाँदा दुर्घटना हुने सम्भावना र यसको गम्भीरता पनि बढ्छ। उदाहरणका लागि, औसत गतिमा प्रत्येक एक प्रतिशत वृद्धि हुँदा घातक दुर्घटनाको जोखिम चार प्रतिशत र गम्भीर दुर्घटनाको जोखिम तीन प्रतिशतले बढ्छ।"

त्यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट वा सिटबेल्ट प्रयोग नगर्ने, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने, कमजोर सडक पूर्वाधार, असुरक्षित सवारी साधन तथा प्रभावकारी कानून कार्यान्वयनको अभावले दुर्घटनाको जोखिम थप बढाएको डब्लूएचओको विश्लेषण छ।

मोटरसाइकल चालकका लागि हेल्मेटको सही प्रयोग महत्वपूर्ण रहेको डब्लूएचओले उल्लेख गरेको छ। सही तरिकाले हेल्मेट प्रयोग गर्दा दुर्घटनामा ज्यान गुमाउने जोखिम ६ गुणा भन्दा बढीले घट्ने र मस्तिष्कमा गम्भीर चोट लाग्ने जोखिम ७४ प्रतिशतसम्म कम हुने उसको अध्ययनले देखाएको छ।

त्यस्तै, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने चालक मोबाइल प्रयोग नगर्ने चालकको तुलनामा करिब चार गुणा बढी दुर्घटनामा पर्ने सम्भावना रहने डब्लूएचओको निष्कर्ष छ। उसले भनेको छ, “मोबाइल प्रयोग गर्दा चालकले ढिलो रेस्पोन्स गर्छ, ट्राफिक संकेतमा ध्यान कम जान्छ, साथै लेन अनुशासन बिग्रन्छ र अगाडिको सवारीसँग सुरक्षित दूरी कायम गर्न कठिन हुन्छ।”

सरकारले यतिबेला सडक सुरक्षासम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार गरिरहेको छ। प्रस्तावित व्यवस्थाअनुसार मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने, जोखिमपूर्ण ओभरटेक गर्ने, ट्राफिक संकेत उल्लंघन गर्ने, राति बत्ती नबाली सवारी चलाउने तथा प्राविधिक रूपमा अयोग्य सवारी सञ्चालन गर्नेलाई हालको भन्दा कडा जरिवाना र सजायको व्यवस्था गर्ने तयारी छ।

सरकारले तयार गरिरहेको विधेयक मस्यौदा अनुसार सवारी साधनको चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा दुई पांग्रे वा तीन पांग्रे सवारी साधनको हकमा पच्चिस हजार रूपैयाँ जरिबाना हुने प्रस्ताव गरिएको छ।

ओभरटेक गर्न नहुने वा असुरक्षित स्थानमा ओभरटेक गरेमा वा रातको समयमा बत्ती नबाली सवारी साधन चलाएमा दुई हजार जरिबाना हुने उल्लेख छ। अवस्था ठिक नभएको सवारी साधन चलाएमा पाँच हजार रूपैयाँ जरिबाना लाग्ने छ। ट्राफिक संकेत पालना नगरेमा तीन देखि पाँच हजार रूपैयाँ जरिबाना तिर्ने प्रस्ताव गरिएको छ। सेढाईं भन्छिन्, “मानिसको ज्यानभन्दा ठूलो पैसा होइन। जुनसुकै हालतमा पनि मानिसको ज्यान जोगिनुपर्‍यो।”