पश्चिम एशिया युद्धका कारण रासायनिक मल आपूर्ति प्रभावित हुँदा धान उत्पादन घट्ने आकलनकै बीच यो वर्ष मनसुनमा पानी कम पर्ने अनुमान हुँदैछ। यी दुई कारणले कसरी निम्त्याउन सक्छ भान्सामा संकट?
काठमाडौँ— नेपालमा यो वर्ष मनसुन नलाग्दै परेको पानीले किसान उत्साही भए। तर कृषि विज्ञ र अर्थशास्त्रीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। समय अगावै परेको पानीले केही हदसम्म धानको बीउ उमार्न सघाए पनि रोपाइँ र बाली हुर्किने बेला पानी नपर्ने जोखिम छ। त्यसमाथि पश्चिम एशियामा भइरहेको द्वन्द्वले विश्वव्यापी रूपमै रासायनिक मलको आपूर्तिमा समस्या हुँदा खाद्यान्न उत्पादनमा असर पर्ने भएको छ।
यिनै कारण संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले यो वर्ष कृषि उत्पादन प्रभावित हुने जनाएको छ। उसले भनेको छ, “रासायनिक मलको अभाव र प्रतिकूल मौसमका कारण विश्वभर नै यो वर्ष कृषि उत्पादन प्रभावित हुने आकलन गरिएको छ। यसले गर्दा प्रमुख खाद्यान्न उत्पादक राष्ट्रहरूले आफ्नै आन्तरिक माग धान्न निर्यातमा प्रतिबन्ध लगाउन सक्छन्।”
नेपाललाई चाहिने रासायनिक मल आपूर्तिको लागि सरकारले बेलैमा र धेरै वटा विकल्पमा ध्यान दिनु पर्ने विज्ञहरूको भनाइ छ। तर यसै बेला बदलिएको वर्षाचक्रको प्रभाव थपिएको छ।
मनसुनको स्वरूप बदलिएपछि
यो वर्ष मनसुनको स्वरूप बदलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सामान्य समयभन्दा अगाडि नै देशभर वर्षा शुरू भएको छ। यो ‘प्रि मनसुन’ गतिविधि हो। प्रि मनसुनमा पश्चिमबाट पूर्वतर्फ बहने बादलले वर्षा गराउँछ। मनसुनमा भने बंगालको खाडीबाट आउने बादलले वर्षा गराउँछ।
अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान संस्थाहरूका रिपोर्ट अनुसार समयअघि नै धेरै वर्षा हुनु सुखद् संकेत होइन। यसले नेपालको प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा ह्रास ल्याउने जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनी पनि यो वर्ष धानबालीको सिजनमा कम वर्षा हुने देखिएको बताउँछन्।
पुडासैनी मनसुन जुन १३ (जेठ ३०) आसपास आउन सक्ने अनुमान गर्छन्। “हावापानी विश्लेषण महाशाखाको पूर्वानुमान अनुसार असारमा कम वर्षा हुने देखिन्छ। यसलाई आधार मान्दा कम वर्षा हुँदाखेरी, सिँचाइ सेवा नपुगेको र मनसुनमा नै निर्भर रहेका ठाउँमा धान बालीमा प्रभाव पन सक्ने देखिन्छ,” उनले भने, “शुरूआती चरणमै पानी देशभरि परेको खण्डमा छिटै रोपाइँ सकिन्छ, सिजनल पूर्वानुमान हेर्दा कम वर्षाका कारण प्रतिकूल प्रभाव पनि पर्छ।”
नेपालसँगै एउटै वर्षा प्रणालीबाट जोडिएको भारतमा क्रिष्टफर बवडेनसहित तीन जना मौसम वैज्ञानिकहरूले २०२३ मै गरेको एउटा अध्ययनमा मनसुन र धान उत्पादनको सम्बन्धलाई सूक्ष्म विश्लेषण गरेका थिए। उक्त अध्ययनलाई ‘भारतमा मनसुनको परिवर्तनशीलता र धान उत्पादनबीचको सम्बन्धलाई मेसिन लर्निङमार्फत पहिचान’ नाम दिइएको छ।
“हामीले पत्ता लगाएका छौँ कि मनसुन सिजनको अवधि क्षेत्रफल र उत्पादकत्व दुवैको असमानता निर्धारण गर्ने एउटा महत्त्वपूर्ण तत्व हो र यसका प्रभावहरू सिजनको अवधिका दुई वटा फरक सीमाहरू (७५ र ११५ दिन) द्वारा बाँधिएका छन्,” उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ, “यद्यपि, मनसुन सिजनको अवधिको प्रतिक्रिया मौसमबाहेकका अन्य कारकहरू र आपसी अन्तरक्रियाहरूका कारण जटिल हुन सक्छ। उदाहरणका लागि, लामो समयको बढ्दो सिजन लामो अवधिमा पाक्ने धानका प्रजातिहरूका लागि फाइदाजनक हुन सक्छ, तर यसले बाली काट्ने समयमा अनियमित वा अत्यधिक वर्षाका कारण बाली प्रभावित हुने जोखिमलाई पनि बढाउन सक्छ।”
मनसुनअघि नै वर्षा र ‘एल निनो’को प्रभाव
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, दक्षिण एशियाली क्षेत्रमा जलवायु परिवर्तन र ‘एल निनो’को बदलिँदो चक्रका कारण मनसुनी वर्षाको ढाँचा अनपेक्षित बनेको छ। शुरूआती महिनामा अत्यधिक वर्षा हुने र धानको बाला लाग्ने वा पाक्ने बेलामा खडेरी पर्ने वा बेमौसमी भारी वर्षा हुने क्रम बढेको छ। धानलाई पछि चाहिने बेलामा पानी नहुँदा उत्पादकत्वमा १० देखि १५ प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान कृषि मन्त्रालयका अधिकारीहरूको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल जल तथा मौसम विज्ञान अनुसन्धान केन्द्रका जलविद् तथा हिमनदी अनुसन्धानकर्ता नवराज खनालका अनुसार, वर्षाचक्रमा आएको परिवर्तनले विश्वव्यापी रूपमा चिन्ता बढाएको मानिएको छ। वैश्विक स्तरमा हेर्दा पनि पानी कम हुने अवस्था देखिएको उनी बताउँछन्। “एल निनोका कारण आउने परिवर्तनले पानी कम पर्ने कुरा आइरहेको छ। केही अगाडि दक्षिण एशियाली स्तरको एउटा कार्यक्रममा यो विषय उठान गरिएको थियो,” उनले भने।
पश्चिम एशियाको युद्धका कारण मलको हाहाकार
यता पश्चिम एशियामा चुलिँदो सैन्य तनाव र युद्धका कारण रासायनिक मलको विश्वव्यापी आपूर्ति श्रृंखला ध्वस्त हुँदा नेपाली भान्सा महँगो हुने र खाद्य संकट गहिरिने खतरा बढेको छ। रासायनिक मलको जोहो नेपाली कृषिको ठूलो चुनौती बनेको रासायनिक मलको आपूर्ति सम्बन्धी जानकार राजेन्द्र कार्की बताउँछन्।
कृषि सामग्री कम्पनीका खरिद प्रमुख र निमित्त प्रबन्ध सञ्चालक रहिसकेका कार्कीका अनुसार, यसपटक अन्तर्राष्ट्रिय संकटका कारण सरकारलाई समयमै मल आयात गर्न सकस पर्ने देखिन्छ, जसको प्रत्यक्ष असर धानको उत्पादकत्वमा पर्नेछ। “नेपालले समस्या परेको बेला भारतबाट जीटुजी (गर्भनमेन्ट टु गर्भनमेन्ट) खरिद गरेर राहत पाउने गरेको थियो, मेरो पालोमा जीटुजीलाई भारतसँग एमओयू (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) हस्ताक्षर गरेर व्यवस्थित बनाउने काम पनि गरेका थियौँ,” उनले भने, “यस पटक भारत आफैलाई कुल घरेलु माग धान्ने रासायनिक मल जुटाउन आपत छ।”
नेपालले भारत र अन्य अन्तर्राष्ट्रिय बजारबाट मल आयात गर्दै आएको छ। तर हाल पश्चिम एशियामा जारी युद्ध र लाल सागरको आपूर्ति मार्गमा उत्पन्न अवरोधका कारण विश्वभर नै मल र यसको कच्चा पदार्थको भाउ अकासिएको अन्तर्राष्ट्रिय संचारसंस्थाहरूले उल्लेख गरेका छन्।
अमेरिकी समाचार संस्था ब्लुमबर्गको एक रिपोर्टमा भनिएको छ, “पश्चिम एशियाको तनावले प्राकृतिक ग्याँसको मूल्य बढाएको छ, जुन युरिया मल उत्पादनको मुख्य घटक हो। यसका साथै ढुवानी भाडा तेब्बरले वृद्धि हुँदा विकासोन्मुख देशहरूमा रासायनिक मलको आपूर्ति ठप्प प्रायः भएको छ।”
नेपालमा हरेक वर्ष धानको लागि मलको अभाव हुने गरेको छ। यसपटक समस्या झन् बढ्ने आकलन आइरहे पनि हाहाकारकै अवस्था नआउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयको मलसम्बन्धी विषय हेर्ने कृषि विकास महाशाखा प्रमुख डा. रामकृष्ण श्रेष्ठले कृषि सामग्री कम्पनी र आयातका लागि सम्झौता गरिसकेको मलको परिमाण हेर्दा अहिले चिन्ताजनक अवस्थामा नरहेको दाबी गरे।
भान्सामा महँगी
धान उत्पादनमा आउने ह्रास र मलको अभावले नेपालीहरूको भान्सा प्रत्यक्ष प्रभावित हुने विज्ञहरूको चिन्ता छ। नेपाल चामलमा आत्मनिर्भर छैन। बर्सेनि अर्बौँ रुपैयाँको चामल भारत र अन्य मुलुकबाट आयात हुन्छ।
भन्सार विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा नेपालले ४३.४२ अर्ब रूपैयाँको धान र चामल आयात गरेको थियो। यसमा २०.३५ अर्ब रूपैयाँ बराबरको पाँच लाख ३१ हजार १०० मेट्रिक टन धान र १०.८३ अर्ब रूपैयाँ बराबरको एक लाख ६५ हजार ४०० मेट्रिक टन चामल थियो।
नेपालले चामल पैठारी गर्ने भारत वा अरू देशले पहिले आफ्नो घरेलु आवश्यकतालाई प्राथमिकता दिन्छन्। यो वर्ष वर्षाचक्रमा आएको परिवर्तनसँगै पश्चिम एशियामा बढेको तनावका बीच विश्वभर बढेको रासायनिक मलको समस्याले चामल निर्यातमा ती देशहरूले प्रतिबन्ध लगाए नेपालमा खाद्यान्न संकट निम्तिन सक्ने अनुसन्धानकर्ता डा. अन्जय मिश्र बताउँछन्।
यसअघि २०२३ जुलाई २० मा भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको मूल्य बढेको थियो। त्यही अवस्था दोहोरिएमा यो वर्ष पनि विश्वव्यापी आपूर्तिमा आउने गिरावटले नेपालमा ‘खाद्य मुद्रास्फीति’ उच्च बिन्दुमा पुग्ने देखिन्छ। चामल, दाल र अन्य खाद्यान्नको मूल्य बढ्दा निम्न तथा मध्यम वर्गीय नेपालीहरूको भान्सा नराम्ररी प्रभावित हुने कृषि अर्थतन्त्रका जानकार डा. मिश्रको आकलन छ।
सरकारले यस अवस्थालाई खाद्य संकटसँगै खाद्य सम्प्रभुताको रूपमा अगावै मूल्यांकन गरी समयमै वैकल्पिक मार्गबाट मल आपूर्तिको व्यवस्था र सम्भावित खडेरी वा बेमौसमी वर्षासँग जुध्न आकस्मिक योजना ल्याउनु पर्ने उनको राय छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
