वैशाखमै किन भइरहेछ मनसुनजस्तो वर्षा?

यस वर्षको प्रि–मनसुन अघिल्लो वर्षभन्दा फरक देखिएको छ। यसपालि औसतभन्दा बढी पानी परेको छ। अब मनसुनमा के होला?

काठमाडौँ– प्रि–मनसुनकै समयमा देशभर मनसुनमा जस्तै लगातार वर्षा भइरहेको छ। वैशाख ११ गतेयता अधिकांश दिन २०० वटाभन्दा बढी वर्षा मापन केन्द्रमा वर्षा भएको अभिलेख छ। कतिपय जिल्लामा त भारी वर्षा मापन गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

null

कहाँ–कहाँ धेरै वर्षा भयो?
वैशाख ११ गतेदेखि २३ गतेसम्मको तथ्यांक हेर्दा देशका सबै भागमा एकैसाथ नभए पनि विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, वैशाख ११ देखि १२ गते बिहान ८ः४५ बजेसम्मको २४ घण्टामा ६५ केन्द्रमा वर्षा मापन भएको थियो। सबैभन्दा बढी संखुवासभाको नुममा ४१.२ मिलिमिटर पानी परेको थियो। त्यसपछि वैशाख १२ देखि १३ गतेसम्म वर्षा हुने केन्द्रको संख्या बढेर १९९ पुगेको थियो। यो अवधिमा सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा ९७.६ मिलिमिटर मापन गरिएको विभागले जनाएको छ।

वैशाख १३ देखि १४ गते बिहानसम्म २१९ केन्द्रमा वर्षा भयो। यो अवधिमा गुल्मीको तम्घासमा ८१.६ मिलिमिटर पानी परेको थियो। वैशाख १५ देखि १६ गतेसम्म म्याग्दीको तातोपानीमा सबैभन्दा बढी ८२.४ मिलिमिटर वर्षा मापन भएको थियो। यो अवधिमा देशभर २०१ वटा केन्द्रमा पानी परेको थियो।

वैशाख १६ देखि १७ गतेसम्म वर्षा अझ सक्रिय बनेको देखिन्छ। यो अवधिमा २७८ केन्द्रमा वर्षा भएको र प्युठानको हंसपुरमा सबैभन्दा धेरै १०४.६ मिलिमिटर पानी परेको विभागले जनाएको छ। वैशाख १७ देखि १८ गतेसम्म सुर्खेतको खानीखोलामा ९२.९ मिलिमिटर वर्षा मापन गरिएको थियो। उक्त अवधिमा २३१ केन्द्रमा पानी परेको थियो। 

null

वैशाख १८ देखि १९ गतेसम्म सप्तरीको रूपनी बजारमा सबैभन्दा धेरै ११५.४ मिलिमिटर वर्षा भएको थियो, जुन यो अवधिको उच्च वर्षामध्ये एक हो। त्यस दिन २१३ केन्द्रमा वर्षा मापन गरिएको थियो।

वैशाख १९ देखि २० गतेसम्म २५१ केन्द्रमा वर्षा भएकोमा नवलपरासी पूर्वको देउरालीमा ६२.८ मिलिमिटर पानी परेको थियो। त्यसैगरी, वैशाख २० देखि २१ गतेसम्म कास्कीको घलेखर्कमा ६२.२ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। वैशाख २१ देखि २२ गतेसम्म सबैभन्दा धेरै ३२१ वटा केन्द्रमा वर्षा भएको थियो। यस अवधिमा संखुवासभाको चैनपुरमा ५१.२ मिलिमिटर पानी परेको थियो।

यस्तै, वैशाख २२ देखि २३ गते बिहानसम्म १४९ वटा केन्द्रमा वर्षा भएको थियो। यो अवधिमा सुनसरीको चतरामा सबैभन्दा बढी ६६.६ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। 

किन सक्रिय भयो प्रि–मनसुन?
मौसमविद् डेविड ढकालका अनुसार, मनसुनमा बाहेक अन्य बेला पश्चिमी वायुले वर्षा गराउँछ। अहिले त्यसको असर परेको देखिएको छ। ढकाल भन्छन्, “त्यसबाहेक पूर्वीय वायु अर्थात्, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आसपास भित्रिएको देखिन्छ, जसले वर्षाको गतिविधि बढाइरहेको छ। मंगलबार र बुधबारका लागि वर्षाको गतिविधि अलिकति कम भएको हो, तर यो रोकिने होइन।”

माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको र तल्लो वायुमण्डलमा पूर्वीय वायुको असरले यो अवधिमा वर्षा भएको देखिएको ढकाल बताउँछन्। सामान्यतया प्रि–मनसुनमा बिहानबेलुका घाम लाग्ने र दिउँसो बादल लाग्ने तथा वर्षा हुने सम्भावना रहिरहन्छ। स्थानीय वायुको असरले पनि यस्तो हुन्छ।

null

तर यस वर्षको प्रि–मनसुन अघिल्लो वर्षभन्दा फरक देखिएको छ। “यसपालि अघिल्लो वर्षभन्दा बढी पानी परेको देखिन्छ। हामीले सामन्य औसत गर्दा २० वटा मौसमी केन्द्रहरूको तथ्यांक हेर्दा औसतभन्दा बढी वर्षा भएको देखिन्छ,” मौसमविद् ढकाल भन्छन्।

मंगलबारसम्मको तथ्यांक हेर्दा प्रि–मनसुनमै १७८.७० मिलिमिटर वर्षा भइसकेको छ। ढकालका अनुसार, वैशाख २० सम्ममा सरदर हुनुपर्ने वर्षा ११७.१८  मिलिमिटर हो, तर त्योभन्दा बढी भइसकेको छ। अन्य समयमा वार्षिक वर्षाको ५० प्रतिशत जति पानी यतिबेला पथ्र्यो, तर अहिले ७८.१ प्रतिशत पानी परिसकेको छ। 

“जुम्लाबाहेक अन्य सबै स्टेसनमा सरदरभन्दा बढी नै वर्षा भएको देखिन्छ। किन यस्तो भइरहेको छ भन्ने अध्ययनको विषय हो,” ढकाल भन्छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद पोखरेलका अनुसार, अहिलेको वर्षा पश्चिमी वायुकै कारण भइरहेको छ। “मुख्यत: पश्चिमी वायुकै प्रभाव छ। एउटा प्रणाली जाने फेरि अर्को आउने भइरहेको छ,” उनी भन्छन्।

डा. पोखरलेका अनुसार, अझै दुई हप्ता मौसम निरन्तर यस्तै हुने सम्भावना देखिएको छ। बीचमा वर्षा केही कमोजर भए पनि सुख्खा हुने अवस्था छैन।

प्रि–मनुसनको वर्षाले कस्तो असर हुन्छ?
हाल भइरहेको निरन्तर वर्षाले कृषि र यातायात क्षेत्रमा मुख्य असर गरेको छ। प्रि–मनसुनको वर्षासँगै हावाहुरी र असिना पनि पर्छ। पछिल्लो एक हप्तामा बाढी पहिरोका कारण देशभरका राजमार्ग र अन्य सडक अवरुद्ध भए।

कान्ति लोकपथ, मध्यपहाडी लोकमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, बेनी जोमसोम सडकखण्डलगायत अवरुद्ध भए। कतिपय सडक एकतर्फी सुचारु भए पनि पूर्णरूपले सञ्चालन हुन सकेका छैनन्। अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि अस्थायी ‘डाइभर्सन’ बनाएर बिहीबार बिहानबाट खुलाइएको छ। 

null

हावाहुरीसहितको वर्षाले कृषि क्षेत्रमा पनि ठूलो असर गरेको छ। कृषिविज्ञ प्रदीप शाहका अनुसार, कतिपय ठाउँमा यो मकै छर्ने समय हो। तर वर्षाले त्यसका लागि असर गरेको छ।

यो गहुँ बाली भित्र्याउने बेला पनि हो। गहुँ भित्र्याउने बेलामा निरन्तर वर्षा भएका कारण कतिपय ठाउँमा क्षति गरेको शाह बताउँछन्। “हावाहुरीले मकै चाँडै रोपेको ठाउँमा असर गरेको हुनसक्छ। मकै छर्ने बेला भएका ठाउँमा वर्षाले केही असर गरेको छ। यसबाहेक हावाहुरीले तराईको फलफूल खेती मुख्यतः आँपमा असर गरेको छ। हावाहुरीले लाग्दै गरेको फलफूल झारिदिँदा उत्पादन कम हुन्छ।”

अब मनसुनमा कम वर्षा भएमा धानबालीमा ठूलो असर गर्ने उनी बताउँछन्। केही वर्ष यता प्रि–मनसुनमा पानी धेरै पर्ने, तर मनसुनमा कम पर्ने हुँदा कृषकलाई धान उत्पादनमा समस्या भइरहेको कृषिविज्ञ शाहको भनाइ छ।

यसपालिको मनसुन कस्तो होला?
सामान्यतः औसतमा जुन १३ मा पूर्वी नेपालबाट मनसुन प्रवेश गर्छ। तर वर्षअनुसार फरक–फरक समयमा मनसुन भित्रिन्छ। अघिल्लो वर्ष मे २९ मा मनसुन प्रवेश गरेको थियो, तर देशभर प्रभाव पार्न समय लागेको थियो।

यस वर्ष मनसुन कहिले भित्रिन्छ र के कस्तो प्रभाव पर्छ भनेर जल तथा मौसम विभागले अहिलेसम्म आकलन गरेको छ्रैन। “प्रि–मनसुनको वर्षाले मनसुनमा के असर गर्छ भन्ने हाम्रो प्रक्षेपण केही आएको छैन। यसलाई अध्ययन गरेर मात्रै भन्न सकिन्छ,” मौसमविद् ढकाल भन्छन्।

प्रि–मनसुन याम भनेको सामान्यतया मार्च १ देखि मनसुन नभित्रिएसम्मको अवधि हो। अहिले वर्षा अलिकति कम हुने सम्भावना रहेको तर पूरै रोकिने अवस्था छैन। जसले गर्दा आगामी मनसुनमा वर्षा कम हुने हो कि भन्ने अन्योल छ। 

null

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. पोखरेल यसपालिको मनसुनमा औसतभन्दा कम पानी पर्ने सम्भावना देखिएको बताउँछन्। उनी भन्छन्, “यसपालिको मनसुनमा औसतभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ। एल निनोको प्रभावका कारण मध्य तथा पूर्वी प्रशान्त महासागरको सतह तापक्रम औसतभन्दा बढी हुने भएकाले नेपालमा कम वर्षा हुने हो।”

एल निनो भनेको प्रशान्त महासागरको मध्य र पूर्वी भागको सतह असामान्य रूपमा तातिने जलवायु अवस्था हो। एल निनोको प्रभावले नेपालमा कम वर्षा हुने मौसमविद्को भनाइ छ।