नेपाली युवा–सपनाको चिहान बन्दै मेघालयका कोइलाखानी

दुर्घटना हुँदा उद्धार टोली नआउने, घाइतेले उपचार वा मृतकका परिवारले क्षतिपूर्ति र कानूनी संरक्षणसम्म नपाउने मेघालयका ज्यानमारा र्‍याटहोलहरूमा किन छिरिरहेका छन् पूर्वी पहाडका युवा?

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिका–१, सालघारीका पूर्णिराम मगर र उनका भाइ सुरेन्द्रको सपना धेरै ठूलो थिएन। ऋण तिर्ने, पाखो बारीमा बनेको फुसको साँघुरो घर बदल्ने र आमाबाबुलाई दुई छाक मिठो–मसिनो खुवाउने— यत्ति थियो यी दाजुभाइको सपना। यत्ति सपना पूरा गर्न उनीहरूका अगाडि एउटा यस्तो बाटो तेर्सिन पुग्यो, जहाँ पाइलैपिच्छे मृत्युको पासो थापिएको थियो।

२०८२ माघ २२ माघ गतेको कुरा हो। देश प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो। नवयुवा पुस्ताले गरेको जेन–जी आन्दोलनको बलमा हुनलागेको यो निर्वाचनको माहोल गर्माइरहेका बेला पूर्णिराम र सुरेन्द्र भारतको उत्तरपूर्वी राज्य मेघालयको पूर्वी जयन्तीया हिल्समा थिए। त्यहाँ हिउँदे चिसो चरमसीमामा पुगेको थियो। त्यहीँको जमिनमुनि ७० मिटर अँध्यारो सुरुङभित्र असिन–पसिन पूर्णिराम र सुरेन्द्र कोइला कोतरिरहेका थिए। उनीहरूसँगै खटेका थिए, गाउँका छिमेकी नरबहादुर मगर (३५) र खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई। 

त्यो एउटा अवैध कोइलाखानी थियो। त्यहाँ उभिन नमिल्ने सुरुङमा घुँडा टेकेर वा उत्तानो परेर कोइला निकाल्नुपर्छ। अचानक, त्यो अँध्यारोभित्र विस्फोट भयो अनि खानीभित्र धुलो र आगोको लप्का फैलियो। र, निमेषभरमै खोटाङबाट पुगेका यी चार जना श्रमिकको इहलीला समाप्त भयो।

घरमा बेहाल
खोटाङको एक धार्मिकस्थल, बराहपोखरीबाट पूर्वपट्टि डाडाँगाउँ सिरानको राँकुली जंगलबाट तल हेर्दा सालघारी गाउँ देखिन्छ। त्यही गाउँका ६० वर्षीय खड्गबहादुर र टंककुमारी मगर (५५) को पराले झुपडीमा अचेल भयानक रित्तोपन व्याप्त छ। छोराहरू पूर्णिराम र सुरेन्द्र मेघालयको कोइलाखानीमा बितेपछि खड्गबहादुर–टंककुमारी दम्पतीको संसार उजाडिएको छ। घरको आर्थिक अभाव हटाउन पुसमा मेघालयतिर लागेका दुई छोरा माघ अन्तिममा बितेपछि यो दम्पत्तीको चेत उडेको छ।

null

त्यसअघि रोजगारीका लागि तुर्किस्तान गए पनि कमाउन नपाएका पूर्णिराम ऋणले थिचिएका थिए। उनी फेरि वैदेशिक रोजगारीमा जान चाहन्थे। त्यसका लागि पैसाको जोहो गर्न भाइलाई लिएर मेघालय गएका थिए, जसलाई नेपाली पहाडमा सिलाङको ‘कोइलाखाँद’ भन्ने गरिन्छ। आमा टंककुमारी दुई छोरा तीन–चार महिनाका लागि भनेर कोइलाखाँद गएको बताउँछिन्। 
दुर्भाग्यको ठक्कर कति भने, ६० हजार रुपैयाँ गाडी भाडा जुटाउन नसक्दा खड्गबहादुर र टंककुमारीले छोराहरूको शव घर ल्याएर अन्तिम संस्कार गर्न सकेनन्। घटनापछि मेघालय पुगेकी टंककुमारी भन्छिन्, “पैसा नहुँदा बिरानो परदेशमै उनीहरूलाई छाडेर आएँ।”

घरमा अब सुस्त मनस्थितिका कान्छा छोरा छन्। मरेर गएका जेठा र माहिला छोराको नाममा गाउँपालिकाले जनही ५० हजार रुपैयाँ दिएको छ। भारत सरकारबाट राहत पाइने आशामा परराष्ट्र मन्त्रालयमार्फत कागजपत्र बुझाउने प्रक्रिया अगाडि बढेको छ। यो प्रक्रिया असाध्यै झन्झटिलो छ। 

सालघारी गाउँमा हामी पुग्दा अर्का मृतक नरबहादुर मगरको घरमा भने ताल्चा लगाइएको थियो। कोइलाखाँद जानुभन्दा छ महिनाअघि नरबहादुरले विवाह गरेका रहेछन्। दुर्घटनामा उनको ज्यान गएपछि श्रीमती घर छाडेर हिँडेको वडा सदस्य रविन राना मगरले बताए। गत माघ २२ गते भएको कोइलाखाँद विस्फोटमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–५, जोरकाफलका रत्न राईको परिवार अहिले दोहोरो पीडामा छ। सिलाङमा उनी बितेको एक महिनामै २८ वर्षका जेठा छोरा कुमारको पनि मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। 

घरपरिवार धान्न कठिन हुँदा बेला–बेला सिलाङ गएर केही महिना काम गर्ने गरेका रत्नको घरमा अहिले श्रीमती, कान्छा छोरा र दुई छोरी छन्। माइला छोरा विदेशमा रहेको आफन्त भोगिन्द्र राईले बताए।

गरिबको गन्तव्य
खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर ४, फाक्टाङका ६९ वर्षिय प्रेममणि राईका अनुसार कोइलाखाँद जानु पहाडको पुरानै चलन हो। उनी ज्यानको बाजी राखेर कोइलाखानीभित्र पस्नुलाई ‘गरिबको भाग्य’ भन्न रुचाउँछन्। 

आफै पनि २०४१ सालमा कोइलाखाँद गएको र त्यसबेला खोटाङबाहेक सोलुखुम्बु, भोजपुर, धनकुटा, रामेछापलगायत जिल्लाका सबै जातका नेपाली भेटेको उनले सम्झिए। “त्यसबेला बराहपोखरी क्षेत्रबाट गएका हामी २८ जनामध्ये एक जना खानीमा पुरिएर मरे, दुईजना अहिलेसम्म पनि बेपत्ता छन्”, राईले भने, “हाम्रोतिरका सबैजसो गाउँका मानिस कोइलाखाँद गएका छन्। उतै मृत्यु वा बेपत्ता भएका पनि थुप्रै छन्। कतिपयले घरजम गरेर बसेको सुनेको छु।”

बराहपोखरी–४, फाक्टाङका राजकुमार राईले २०५० को दशकपछि कोइलाखाँद जाने चलन घट्दै गएको बताए। त्यसअघिको गरिबी र बेरोजगारीमा अनेकखाले काम खोज्दै सिलाङभन्दा निकै पर–परसम्म पनि जानेगरेको आफूले सुन्दै–देख्दै आएको उनले सुनाए। “अझ, खडेरी परेको साल त गाउँका सक्नेजति सबै पूर्व लाग्थे”, उनले भने, “सरकारले नागरिकता, पासपोर्ट दिँदैनथ्यो, दुई पैसा कमाउन जाने भनेको ठाउँ नै इन्डिया थियो।”

null

आर्थिक स्रोत जुटाउन बराहपोखरी क्षेत्रका बासिन्दा दशकौँदेखि हुल कसेर कोइलाखाँद जाने गरेकामा अहिले त्यो क्रम घटेको वडा नम्बर १ का अध्यक्ष ढकबहादुर कार्कीले बताए। उनका अनुसार हिजोआज एक–डेढ लाखको जोहो गरेर अरब–मलेसिया उड्न नसक्नेहरूको रोजाईमा मेघालय पर्छ। “५–७ हजार रुपैयाँ जुटाएर ४–५ महिना कोइलाखानीमा काम गर्दा एक–डेढ लाख कमाउन सकिने आशामा उता जाने चलन अझै छ”, वडाध्यक्ष कार्कीले भने, “कतिपय श्रमिक उतै मारिने, कुटपिटमा पर्ने, बेपत्ता हुने जस्ता अवस्था पनि कायमै छ।”

कोइलाखाँदको जोखिमपूर्ण काममा जानेहरूलाई निरुत्साहित गर्न पालिकाले सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको वडाध्यक्ष कार्कीले बताए। उनका अनुसार, बराहपोखरी गाउँपालिकाले कोइलाखानीको सुरुङमा जोखिमपूर्ण काम होइन, सुरक्षित वैदेशिक रोजगारीमा प्रेरित गर्ने योजना बनाएको छ। 

गएपछि नफर्किने सुरुङ
पूर्वी पहाडका नेपाली कहिलेदेखि मेघालयको कोइलाखानीमा काम गर्न जान थाले भन्ने यकिन छैन। ‘कोइलाखाद’ उपन्यासका लेखक श्याम सिंघक यो सिलसिला सन् १९५७ अघिदेखि नै रहेको बताउँछन्। 

ओखलढुङ्गाको सुनकोशी–१, आम्बोटका ७० वर्षीय रणबहादुर राईका अनुसार पैसा कमाउन ‘पूर्व जाने’ पहाडका गाउँघरको धेरै पुरानो चलन हो। भारतको सिलाङ, नागाहेल (नागाल्यान्ड), आसामतिर रोडमा कुल्ली काम गर्न, भारी बोक्न, लट्ठा (काठ) काट्न/चिर्न, उखु काट्न, सुन्तला टिप्न जाने चलन उहिलेदेखि रहेको उनले बताए। “२०३०–३१ सालमा जस्तो लाग्छ, म आफै पनि काइँला दाजुसँग पूर्व गएको थिएँ,” उनले भने, “दाजुहरू कोइलाखानीमा पस्नुभयो, मलाई चाहिँ डर लागेर सुन्तला बोक्ने काम गरेँ।”

खोटाङ, नेर्पाका व्यावसायी तथा अध्येता भोगेन राई पुस्तौँपुस्तादेखि पहाडबाट ठूलो संख्यामा पुरुषहरू रोजगारीका लागि ‘पूर्व जाने’ गरेको बताउँछन्। उनका अनुसार पहिले हिउँदमा पैसा कमाउन कोइलाखानी गए बर्खामा धान रोप्न गाउँ फर्किने एउटा स्थापित चलन नै थियो। पासपोर्ट/nullभिसा नचाहिने, कम खर्चमा आउ–जाउ हुने, पहिले गएका छिमेकी र आफन्तका पछि नयाँ पुस्ता लाग्ने हुँदा यो चक्रले निरन्तरता पाएको उनी बताउँछन्। 

 

“गाउँका धेरै काकाबाउ, दाजुभाइ कोइलाखानी गए, कोही फर्किए, कोही उतै घरजम गरेर बसे। कतिपयको अवस्था दशकौँदेखि अज्ञात छ”, अध्येता राई भन्छन्, “कोइलाखानी धेरैका लागि कहिल्यै नफर्किने सुरुङ साबित भएको छ। ४० वर्षअघि किशोर अवस्थामै कोइलाखाँद गएका मेरा आफ्नै बडाबाउका छोरा अझै फर्किएका छैनन्। उनको काजकिरिया पनि गरिएको छैन। ९८ वर्षकी बडीआमा छोरा पर्खिरहनुभएकै छ।”

उनको बडीआमाजस्तै अवस्थामा छिन् ओखलढुंगाको सुनकोशी–१, आम्बोटेकी ७६ वर्षीया पदमसरी राई। उनी खरको छानो भएको निकै पुरानो घरमा २५ वर्षदेखि छोराको प्रतीक्षामा छिन्। २०५८ सालको हिउँदमा आफन्तहरूसँग कोइलाखाँद गएका उनका एक्ला सन्तान कमल त्यसबेला २२ वर्षका लक्का थिए। कमलसँगै गएकाहरू सबै फर्केर आए। तीमध्ये कोही त आउजाउ पनि गरिरहन्छन्। उनीहरूले कोइलाखाँद पुगेको केही दिनमा नै कमल छुट्टिएको बताएका थिए। “उता जाने जसलाई पनि मेरो कमललाई खोजेर ल्याइदेऊ भन्छु, कसैले भेटेँ भन्दैन”, पदमसरी भन्छिन्, “बाटो हेर्दाहेर्दै उसको बाउ पनि तीन वर्षअघि घर छोडेर कता गए, गए।”

रातो माटोको रङ खुइलिएको घरमा बृद्धा पदमसरी अहिले बिल्कुलै एक्लो छिन्। बेलाबेला एक्लै बेस्सरी रोएर, कराएर मन हलुका पार्ने गरेको उनले बताइन्। शरीर शिथिल हुँदै, मानसिक स्वास्थ कमजोर बन्दै र आँखाको ज्योति धमिँलिदै गए पनि उनले गाउँको ओरालो बाटो हेर्न छाडेकी छैनन्। “मेरो कमल मरेको सुनेकी छैन,” उनी भन्छिन्, “छोरा हो, एक न एक दिन टुप्लुक्क आइपुग्छ जस्तो लाग्छ। उसलाई हेरेपछि त म पनि सजिलोसँग मरिजान्छु होला।”

null

मेघालयका कोइलाखानीहरू नेपाली श्रमिकका लागि बधशालाजस्तै छन्। मेघालयमा रहेका सुनकोशी–१, बलखुका बिमल राईले टेलिफोनमा बताएअनुसार पहाडको थुम्कोबाट ६०–७० मिटर सिधा खाडल बनाएर पत्थर कोइलाको नसा पहिल्याउँदै ३–४ फिट व्यासको सुरुङभित्र कोइला निकाल्नुपर्छ। त्यहाँ कुनै प्रकारको मेसिन छिर्दैन। मान्छेले मुसा जस्तो कोइला कोट्याउँदै टोकरीमा राखेर निकाल्नुपर्छ। यसलाई स्थानीय बोलचालमा ‘र्‍याटहोल’ (मुसा छिर्ने प्वाल) पनि भन्ने गरिन्छ। 

वर्षा हुँदा वा भूमिगत मुहान फुट्दा सुरुङहरूमा क्षणभरमै पानी भरिन्छ। सुरुङमा भेन्टिलेसन र आकस्मिक उद्धारको कुनै व्यवस्था हुँदैन। भारत सरकारले वातावरण र मानव जीवनमा गम्भीर असर गरेको भन्दै राष्ट्रिय हरित न्यायाधिकरणको कानूनमार्फत् यस्ता ‘र्‍याटहोल’ खानीहरूलाई प्रतिबन्धित गर्‍यो। तर न्यायाधिकरणको कानून भने कागजमै सीमित छ। अहिले पनि स्थानीय प्रभावशाली–पहुँचवाला व्यक्ति, राजनीतिक संरक्षण पाएका माफिया र सरकारी अधिकारीहरूको मिलेमतोमा अनेकौँ कोइलाखानी सञ्चालनमा छन्। अवैध भएकाले खानीहरूमा दुर्घटना हुँदा न उद्धार टोली आउँछ, न घाइते वा मृतकका परिवारले क्षतिपूर्ति वा कानूनी संरक्षण पाउँछन्।

दुर्घटना हुँदा खानी सञ्चालकहरू उद्दारको साटो प्रमाण लुकाउनतिर लाग्छन्। गत माघ २२ को दुर्घटनामा गम्भीर घाइते भएका कर्णबहादुर मगरका अनुसार घटनापछि खानी सञ्चालकहरूले पुरिएका मानिस ननिकाली उल्टै खानी पुर्न खोजेका थिए। 

खानीभित्र मृत्यु, बाहिर हिंसा
नेपाली श्रमिकहरू खानीको अँध्यारो सुरुङभित्र त असुरक्षित छन् नै, खानीभन्दा बाहिर पनि आर्थिक शोषण, रंगभेद र आक्रमणमा पर्ने गरेका छन्। मेघालयका आदिवासी र नेपाली श्रमिक समूहबीच समय–समयमा द्वन्द्व हुँदा निर्दोष मजदुरहरू हिंसामा पर्ने गरेका छन्। दुई वर्षपहिले मेघालयको जयन्तीया हिल्समा त्यस्तै घटना भयो। २०८१ असार २३ मा पूर्वी जयन्तीया हिल्स जिल्लाको उमप्लु बजारनजिकै खानी क्षेत्रमा भएको उक्त घटनामा तीन नेपालीसहित चारजना श्रमिकको घाँटी रेटेर हत्या गरिएको थियो।

खानी क्षेत्रको एउटा निजी पोल्ट्री फार्ममा इलामका रवि राई (२३), सन्तकुमार राई (३०), राजेश राई (२६) र त्रिपुरा (भारत) का नजार क्यान्डिट (३३) हातखुट्टा बाँधेर घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेका थिए। ती श्रमिकहरू अवैध कोइलाखानी सञ्चालक र लागूऔषध माफियाको द्वन्द्व र प्रतिशोधको शिकार बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए।

एक टोकरी कोइलाभन्दा सस्तो जीवन
राष्ट्रिय जनगणना २०७८ को अन्तर्राष्ट्रिय बसाइँसराइ तथ्याङ्कले खोटाङ जिल्लाबाट विदेश गएका नागरिकको संख्या ११ हजार २०७ देखाएको छ। यसमध्ये ६ हजार ४४० जना मध्यपूर्व (खाडी मुलुक) मा छन्। खोटाङेको दोस्रो प्रमुख गन्तव्य बनेको भारतमा एकहजार २० जना पुगेको तथ्याङ्क छ। खुला सीमाना, भाषिक–सांस्कृतिक समानता र पुरानो रोजगार गन्तव्यको रूपमा रहेको भारत नेपालीका लागि अझै पनि सहज श्रम बजारको रूपमा कायम छ। यस्ता सहजताकै कारण हुनसक्छ, भारत जाने नेपालीको यकिन तथ्याङ्क पाइँदैन।

खोटाङबाट भारत गएका एकहजार जनामध्ये आधा कोइलाखाँदमा रहेको हुनसक्ने व्यवसायी तथा अध्येता भोगेन राईको अनुमान छ। श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’का अनुसार नेपाली युवा मेघालयको अँध्यारा सुरुङमा बिलाउन विवश भएको यथार्थ नेपाली राज्य व्यवस्थाको लाचारीको प्रतिविम्ब हो, जहाँ नागरिकको जीवन एक टोकरी कोइलाभन्दा सस्तो बनिदिन्छ। 

null

अर्थराजनीतिका विश्लेषक हरि रोका वैदेशिक रोजगारीका लागि अन्य देश जान लगानी गर्न नसक्ने युवालाई बाध्यताले कोइलाखाँदतर्फ धकेलिरहेको बताउँछन्। “तीनवटै तहका सरकारका साथै सरोकारवाला निकायहरूले युवालाई गाउँठाउँमै व्यस्त बनाउने रोजगारी या इलम–धन्दाको अवस्था सिर्जनामा ध्यान दिनुपर्छ”, उनी भन्छन्, “नयाँ काम वा इलम थाल्न चाहिने आर्थिक स्रोत बैंकिङ तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने हो भने अहिलेको कहालीलाग्दो अवस्था रहँदैनथ्यो।” त्यसो गर्न सके पहाडबाट भइरहेको तीब्र बसाई–सराई समेत धेरै हदसम्म रोकिने बताउँदै रोका भन्छन्, “त्यसका लागि ठोस नीति, योजना र कार्यक्रमहरू चाहिन्छ।”

हलेशी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई आफ्नो क्षेत्रका अधिकांश गाउँका कुनै न कुनै परिवारमा कोइलाखाँदले दिएको मृत्यु वा बेपत्ताको घाउ रहेको बताउँछिन्। “त्यसैले, अति जोखिमपूर्ण वैदेशिक रोजगारीमा जानबाट रोक्न गाउँमै स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरेका छौँ”, उनी भन्छिन्, “अपेक्षित सफलता मिल्न भने समय लाग्ने देखिएको छ।”

मृत्युको मुखबाट फर्केकाको साबिती
गत माघ २२ गते मेघालयको कोइलाखानीमा भएको दुर्घटनामा बराहपोखरी–१, सालघारीका बमबहादुर मगर र कर्णबहादुर मगर भाग्यमानी साबित भए। दुर्घटनापछि उनीहरूलाई  दुर्घटनास्थलमै पुर्न खोजिए पनि खानी बाहिरका श्रमिक साथीहरूले उद्दार गरेका दुवैजनाको होस भने अस्पतालमा मात्र खुलेको थियो।

छाती, पेट र हातभरि जलनका गहिरा घाउ बोकेर फर्केका कर्णबहादुर मगरका अनुसार, र्‍याटहोलमा एकदमै कडा कोइला भएको भाग भेटिँदा त्यसलाई फुटाउन ‘ब्लास्टिङ’ गरिन्छ। स–साना प्वाल पारेर त्यसमा तार जोडिएको विस्पोटक पदार्थ राखेर ब्लास्टिङ गर्नुअघि र्‍याटहोलमा पसेकाहरूलाई सूचना दिएर पहिल्यै बाहिर निकाल्नुपर्ने थियो। तर माघ २२ को बिहान करिब ९ बजेतिर आफूहरू खानीभित्रै काम गरिरहेका बेला कुनै सूचना वा चेतावनी नदिइ अचानक विस्फोट गराएको कर्णबहादुरले बताए। “ड्याङ्ग आवाज र कम्पनसँगै सुरुङमा धुलो, धुवाँ र आगोको मुस्लो फैलियो”, कर्णबहादुर सम्झन्छन्, “त्यसपछि के भयो, थाहा भएन। होस खुल्दा अस्पतालमा रहेछु। मेरै छेउको बेडमा रहेका दुई घाइते होसै नखुली बिते।”

null

दुर्घटनापछि खानी सञ्चालकहरूले पुरिएका मानिस निकाल्नुको साटो साटो सुरुङ पुरेर घटना लुकाउन खोजेका थिए। बाहिर रहेका नेपाली मजदुर र गाउँलेहरूले त्यसको विरोध र उद्धार गरेर आफूहरूलाई बचाएको उनले बताए। दुर्घटनापछि सरदार र खानी मालिक गायब भएकाले बाँकी पैसा नपाएको, नेपाली मजदूरहरूले आफूलाई अस्पताल लगेको र नेपालीहरूले नै जुटाएको रकमबाट उपचार गरेको उनले बताए। “दुर्घटना हुँदा खानीभित्र नेपाली, भारतीय र बंगलादेशी गरी ४५–५० जना थियौँ, ३० जना जतिको ज्यान गयो होला”, कर्णबहादुरले भने, “नेपालीमा खोटाङ, भोजपुर र उदयपुरका थियौँ।”

अहिले कर्णबहादुर राति घाउ चिलाएर सुत्न नसक्ने, बोल्दाबोल्दै स्वर हराउने, प्रसंग बिर्सने जस्ता समस्या भोगिरहेका छन्। त्यो बिहान चार बजे खानीभित्र पसेका अर्का घाइते बमबहादुर मगरले तीन दिनमा होस खुलेको बताए। उद्धार गरेर अस्पताल पुर्‍याउने साथीभाइकै सहयोगमा शुरूका १६–१७ दिन उपचार भएको, अहिले चाहिँ ऋणपान गरेर औषधि किन्नुपरेको उनले बताए। उनी पनि कर्णबहादुरकै जस्तो शारीरिक र मानसिक समस्यासँग जुधिरहेका छन्। 

गाउँका अरूजस्तै बमबहादुर पनि हरेक हिउँदमा २–३ महिना केही हजार जोहो गर्न मेघालय पुग्थे। योपटक उनीसँगै गएका पाँचमध्ये तीन जनाको ज्यान गयो। उनी बाँचे, तर काम गर्ने शक्ति र मन स्थिर छैन। घाउ अझै निको भएको छैन। पैसाको अभावले राम्रोसँग उपचार हुनसकेको छैन। घरमा बृद्ध आमा र तीन सन्तान छन्। यस्तो ज्यानै जाने र परिवारै तनहनहस हुने जोखिमका बावजुद युवाहरू गाउँ नै रित्तो पारेर र्‍याटहोलमा किन गइरहेका छन्? युवाहरू आखिर किन आफ्नै ज्यान हत्केलामा राखेर मेघालयका मृत्यु–सुरुङहरूमा पसिरहेका छन्? यसका पछाडि बहुआयामिक कारणहरू छन्। 

ज्यानमारा र्‍याटहोल जानैपर्ने ‘बाध्यता’ 
नेपाली युवा कोइलाखानीको कहर झेल्न किन जान्छन् त? यसबारे बुझ्न पूर्वी पहाडको एक जिल्ला खोटाङका सामाजिक र आर्थिक सूचकहरू हेरौँ। राष्ट्रिय जनगणना २०६८ मा खोटाङको जनसङ्ख्या २ लाख ६ हजार ३१२ थियो। त्यसको दश वर्षपछि त्यहाँको जनसंख्या १५ प्रतिशतले घट्यो। २०७८ को जनगणना अनुसार खोटाङको जनसंख्या १ लाख ७५ हजार ३४० छ। जबकि नेपालको जनसंख्या बृद्धिदर ०.९३ प्रतिशत छ। 

जिल्लामा कुल अनुपस्थित जनसंख्या २०६८ मा १७ हजार ६६२ रहेकोमा २०७८ मा २१ हजार ६२ पुग्यो। अनुपस्थितमध्ये ८० प्रतिशतभन्दा बढी पुरुष छन्। यो जिल्लाको साक्षरता दर ६८.८५ प्रतिशत भए पनि  शैक्षिक उपलब्धि प्रभावकारी देखिँदैन। कक्षा १–५ उत्तीर्ण ५५ हजार ४६१ मध्ये कक्षा १० उत्तीर्ण गरेका विद्यार्थी जम्मा १५ हजार ११५ थिए। यसले विद्यालय तहको शिक्षा पुरा नगर्दै श्रम बजारमा होमिनेहरूको संख्या सानो नरहेको देखाउँछ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको आन्तरिक बसाइँसराइ प्रतिवेदन अनुसार पूर्वी पहाडी जिल्लाहरूमध्ये खोटाङ सबैभन्दा बढी जनसङ्ख्या गुमाउने जिल्लामा पर्छ। यो जिल्लामा भित्रिनेको तुलनामा बाहिरिनेको संख्या धेरै छ। बसाइँसराइ र श्रम बजारका लागि बाहिरिनुको एउटा कारण जलवायु परिवर्तनले निम्तिएको कृषि प्रणालीको संकट हो। ओखलढुङ्गा र खोटाङका दुईवटा वर्षा मापन केन्द्रको विगत तीन दशकको (सन् १९९७ देखि २०२५ सम्मको) जल–मौसम विज्ञान विभागको तथ्याङ्क केलाउँदा पूर्वी पहाडमा कि अधिक वर्षा कि खडेरी हुने गरेको देखिन्छ। 

null

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ र उदयपुर जिल्लाको कटारी–१४ को सिमानामा पर्ने कुरुलेघाटमा ९१२ मिलिमिटर र ओखलढुंगाको मानेभञ्ज्याङमा १ हजार ४९ मिलिमिटर वार्षिक औसत वर्षा हुने गरेको छ। बिडम्बना, पछिल्ला वर्षहरूमा यो औसत कहिल्यै स्थिर रहेन। कुरुलेघाटमा सन् २००३ मा इतिहासकै धेरै १ हजार ५५८.३ मिलिमिटर वर्षा भयो भने सन् २०१४ मा जम्मा ४८५.७ मिलिमिटर मात्र वर्षा भयो जसले गम्भीर खडेरी निम्त्यायो। 

यस्तै, मानेभञ्ज्याङमा सन् २०२४ मा १ हजार ५५०.२९ मिलिमिटर अत्यधिक वर्षा हुँदा सन् २००८ मा जम्मा ५९६.४ मिलिमिटर मात्र पानी पर्यो‍। सन् २००८ देखि २०१८ को दशकमा पूर्वी पहाडका जिल्लाहरू वर्षाकै कारणले कृषिका लागि उपयुक्त हुन छाडे। जस्तो, कुरुलेघाटमा २००२, २००८, २००९, २०१२, २०१३, २०१४, २०१५, २०१७ र २०१८ मा औसत भन्दा निकै कम वर्षा भयो। सन् २०१४ र २०१७ को खडेरीले हिउँदे बाली र धान बाली पूर्ण रूपमा नष्ट गरिदियो। पानीका मुहानहरू सुके।

राष्ट्रिय तथ्यांक कार्यालयको अन्तर्राष्ट्रिय बसाइँसराइसम्बन्धी आँकडाले खोटाङ जिल्लाबाट वैदेशिक रोजगारी र बसाइँसराइको प्रवृत्ति तीव्र रूपमा बढिरहेको देखाएको छ। उपन्यासकार श्याम सिंघकले आफ्नो पुस्तक ‘कोइलाखाद’मा लेखेझैँ नेपाली युवाहरू मेघालयको अँध्यारो खाडलमा कोइला खन्न विवश हुनु केवल उनीहरूको ‘भाग्यको खेल’ वा गरिबी मात्र होइन।

यो वास्तवमा नेपाली राज्य व्यवस्था, रोजगारी सिर्जनामा यसको लाचारी र नागरिकप्रतिको संवेदनहीनताको सबैभन्दा कुरुप ऐना हो। ज्यानको बाजी थापेर कोइला निकाल्न र्‍याटहोलभित्र पस्नु भनेको खोटाङका बराहपोखरी–४ का प्रेममणि राईले भने जस्तो ‘गरिबको भाग्य’भन्दा बढी राज्यको दुर्भाग्य हो।  

(यो रिपोर्ट राईले खोज पत्रकारिता केन्द्रका लागि तयार पारेका हुन्।)