रबिको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली, भन्छन्– पैसा कमाउन युरोप–अमेरिका धाउनु पर्दैन

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान रबि नेपालले विगत १३ वर्षदेखि एउटै जमिनमा चिया, रबर, नरिवलसहित २७ प्रजातिका नगदेबाली उत्पादन गर्दै आएका छन्।

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आधुनिक मिश्रित खेतीका लागि उदाहरण बनेका छन्। विगत १३ वर्षदेखि व्यावसायिक कृषिमा होमिएका उनले १२ बिघा जमिनको हरेक कुनालाई उत्पादनसँग जोडेर मिश्रित नमूना खेती गरेका हुन्।

चियाखेतीबाट कृषियात्रा शुरू गरेका नेपालले अहिले एउटै जमिनमा चिया, रबर, अगरउड, अमला, कटहर, तेजपत्तालगायत दर्जनौँ नगदेबालीलाई एकसाथ हुर्काइरहेका छन्। उनले पहिलो चरणमा चिया रोपेको र चिया बगानभित्र मिश्रित नगदेबाली हुर्काएको बताए।

चियाले तीन वर्ष, अमलाले पाँच वर्ष, कटहरले चार वर्ष, रबरले पाँचौँ वर्ष र तेजपत्ताले तेस्रो वर्षदेखि उत्पादन दिइरहेको नेपालले जानकारी दिए। “सुरुमा लगानी र मेहनत बढी हुन्छ, खनजोतदेखि गोडमेल र बिरुवा हुर्काउन समय लाग्छ,” उनी भन्छन्, “तीन वर्षपछि प्रतिफल दिन सुरु हुन्छ र सात वर्ष पुग्दा सबै बालीले आय दिन थाल्छन्।” उनका अनुसार अहिले बगानमा २७ प्रजातिका नगदेबाली छन्।

औषधीय गुण भएका अर्जुन, मोरिङ्गा, रुद्राक्षदेखि दैनिक भान्सामा चाहिने दालचिनी र कागतीसम्मले उत्पादन दिइरहेको नेपालले जानकारी दिए। उनको खेती गर्ने शैली नौलो र लोभलाग्दो छ। ठूलो सुपारी बगानभित्र मरिचको लहलह खेती छ। मरिचका लहरा सुपारीकै बोटमा आश्रित भएर फलेका छन्।

पछिल्लो समय उनले चिया बगानभित्र एउटा नयाँ प्रयोगका रूपमा नरिवल खेती सुरु गरेका छन्। कृषि विज्ञहरूको सल्लाहमा उनले चिया बगानभित्र दुई–दुई बुट्टा हटाएर नरिवलका बिरुवा रोप्न थालेको बताए। “चिया बगानभित्र घुसुवा बालीका रूपमा नरिवल खेतीको यो पहला प्रयोग हो। यसले झापाको कृषि पर्यटन र उत्पादनमा नयाँ आयाम थप्ने विश्वास छ,” उनले भने।

बाहुनडाँगी क्षेत्रका किसान हात्ती, चितुवा, बाँदरलगायत जङ्गली वन्यजन्तुका कारण प्रभावित छन्। चिया र नरिवलजस्ता बालीलाई हात्ती र बाँदरले खासै क्षति नपुर्‍याउने भएकाले यसलाई वैकल्पिक खेतीका रूपमा किसानले उपयोग गर्दै आएको नेपालको भनाइ छ।

माटो परीक्षणले पनि पूर्व–पश्चिम राजमार्गको बाहुनडाँगी, शनिश्चरे, बुधबारेलगायत क्षेत्रमा नरिवल खेती उपयुक्त देखिएको नेपालले जानकारी दिए। एउटै नरिवलको बोटबाट वार्षिक १७ देखि १८ हजार रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ।

उनले गत वर्षदेखि सुपारी बगानभित्र नरिवल रोप्न सुरु गरेका हुन्। “एक हजार बोट रोप्ने योजना छ, गत वर्ष ३०० बिरुवा रोपेँ,” नेपालले भने, “यस वर्ष ७०० बिरुवा रोप्छु।” नरिवलको पानीका लागि फल काँचैमा बिक्री हुने भएकाले बजार अभाव नहुने उनको बुझाइ छ। बजारमा नरिवलभित्रको पानीको माग बढ्दै गएको उनले बताए।

उनको १३ वर्षको मिश्रित खेतीको अनुभवमा नगदेबालीको उत्पादनमा बजारको कुनै समस्या छैन। सुपारी र तेजपत्ता बोटबाटै बिक्री हुन्छन् भने झापामा चिया र रबर प्रशोधनका प्रशस्त उद्योग खुलिसकेका छन्। “बजार खोज्नु र पहिल्याउन चासो दिनुपर्छ, बारीमा उत्पादन गरेर घरमा उपरखुट्टी लगाएर बसेर मात्र हुँदैन,” नेपालले भने, “एक बिघा जमिनमा व्यवस्थित मिश्रित खेती गर्ने हो भने वार्षिक आठदेखि नौ लाख रुपैयाँ सहजै कमाउन सकिन्छ।”

आफ्नै माटोमा पसिना बगाउने हो भने पैसा कमाउन युरोप वा अमेरिका धाउनु नपर्ने उदाहरण उनको सफल कृषि कर्म बनेको छ। उनले युवापुस्तालाई मिश्रित खेतीप्रति आकर्षित गर्न राज्यले प्रोत्साहनको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए।

“तीन महिनामा कमाउनेलाई तरकारी, छ महिनामा चाहनेलाई अन्न र एक वर्ष कुर्नेलाई जडीबुटी ठीक छ,” खेतीबाट हुने आम्दानीका बारेमा जानकारी दिँदै उनले भने, “तर, तीन–चार वर्ष धैर्य गरेर मिश्रित खेती गर्ने हो भने यसले ५० वर्षसम्म निरन्तर आम्दानी दिइरहन्छ।”