इनिशाको घटना सुन्दा म एक आमा भएर डराएँ। तर त्यो डर केवल छोरीको सुरक्षासँग जोडिएको थिएन। त्यो डर फरक थियो—यदि कुनै दिन मेरो छोरा नै कसैको डरको कारण भए भने?
इनिशा विकको बलात्कारपछि हत्याको घटनाले केवल स्तब्ध मात्र बनाएन, भित्रसम्म हल्लाइदियो। उक्त घटना पहिलो थिएन। तर त्यो घटना नेपाली समाजको एउटा ऐना थियो, जसले हाम्रो समाजको कुरूप अनुहार, हाम्रो मौनता, हाम्रो डर, हाम्रो असफलता र हाम्रो सोचलाई एकै चोटि देखाइदियो। मैले यसअघि इनिशाको न्यायका विषयमा लेखेँ। त्यसरी लेख्दै गर्दा म एउटा नागरिक थिएँ, एउटा महिला थिएँ, एउटा आवाज थिएँ। पीडितको पक्षमा उभिएको एक थिएँ। न्यायको माग गरिरहेको थिएँ र समाजलाई प्रश्न सोधिरहेको थिएँ।
समाजका यस्ता केही जघन्य घटनासँगै जब म आफ्नो जीवनतिर फर्कन्छु, एउटा गहिरो सत्यले मलाई समात्छ—म पनि दुई छोराकी आमा हुँ। यही पहिचानले मलाई सबैभन्दा धेरै प्रश्न सोध्न थाल्यो। यही पहिचानले मलाई सबैभन्दा धेरै जिम्मेवार बनायो।
पत्रकार बहिनी सबिता आचार्यले म्यासेन्जरमा एउटा अडियो पठाइन्,“दिदी, तपाईँ त दुई छोराकी आमा हुनुहुन्छ, उनीहरूलाई कसरी हुर्काउँदै हुनुहुन्छ? यसबारे पनि लेख्नुस् न...।”
यो सानो अनुरोधले मेरो मनभित्र ठूलो हलचल ल्यायो। मैले आफैँलाई सोध्न थालेँ—के म साँच्चै आफ्ना छोराहरूलाई सही बाटोमा डोर्याइरहेकी छु? के म उनीहरूलाई केवल ठूलो होइन, असल मान्छे बनाउन प्रयास गरिरहेकी छु?
म दुई सन्तानकी आमा हुँ—त्यो पनि जुम्ल्याहा। उनीहरू अहिले ७ वर्षका छन्। उनीहरूको हाँसोमा मेरो संसार बस्छ, उनीहरूको सानोतिनो कुरामा मेरो दिन बित्छ। तर उनीहरूलाई हेर्दा कहिलेकाहीँ म गर्वले भरिन्छु, कहिलेकाहीँ चिन्ताले।
किनकि, आजको समाजले मलाई एउटा कुरा सिकाएको छ—छोरा हुर्काउनु केवल पारिवारिक कर्तव्य होइन, यो सामाजिक जिम्मेवारी पनि हो।
इनिशाको घटना सुन्दा म एक आमा भएर डराएँ। तर त्यो डर केवल छोरीको सुरक्षासँग जोडिएको थिएन। त्यो डर फरक थियो—यदि कुनै दिन मेरो छोरा नै कसैको डरको कारण भए भने? यदि मेरो सिकाइ र संस्कृतिमा कतै कमी भयो भने? यदि मैले उनीहरूलाई सही र गलत छुट्याउन सिकाउन सकिनँ भने?
त्यो प्रश्नले मलाई भित्रैदेखि हल्लायो। हामी सधैँ भन्छौँ—छोरीलाई जोगाउनुपर्छ। तर जब मैले गहिरोसँग बुझेँ—छोरालाई सही बनाउन सकिएन भने छोरी कहिल्यै सुरक्षित हुँदैनन्। यहीँबाट मेरो वास्तविक मातृत्वको संघर्ष सुरु भयो।
मेरो सात वर्षका छोराहरूसँगको दिनचर्या र अभ्यासहरूले मलाई बारम्बार सिकाउँछन्—सिर्फ उनीहरूलाई हुर्काउने मात्र होइन, समाजलाई पनि जिम्मेवार बनाउनु पर्छ।
पहिलो कुरा व्यक्तिको सम्मान हो। अरूको विचार, अधिकार र भावनालाई मूल्य दिनु हो। म बाबुहरूलाई सधैँ भन्छु—खेलौना लिनुअघि साथीलाई सोध्नु पर्छ, कसैलाई बोलाउँदा नमस्ते गर्नुपर्छ, अरूको कुरा काट्नु हुँदैन।
उदाहरणका लागि, कसैले अर्को साथीको खेलौना लिन खोज्छ र साथीले “मलाई दिन मन छैन” भन्छ भने त्यसको सम्मान गर्नु पर्छ। यसले उनीहरूलाई व्यवहारिक रूपमा सम्मान सिकाउँछ र भविष्यमा अरूको अधिकारको मूल्य बुझ्ने क्षमता दिन्छ।
त्यस्तै, सहमति सिकाउनु पनि महत्त्वपूर्ण छ। सहमति भन्नाले अरूको इच्छालाई बुझ्नु हो। सानो उमेरमै बच्चाले खेलमा साथी सामेल हुन चाह्यो कि चाहेन भनी सोध्नु, वा व्यक्तिगत कुरा गर्दा बिना अनुमति नछुने कुरा सिक्नु पर्छ। उदाहरणको रूपमा, बाबुहरू झगडा गर्दा म भन्छु, “के तिमीले सोध्यौ कि उसलाई मन पर्यो कि परेन?” यसले उनीहरूलाई सानो उमेरमै “हुँदैन” को सम्मान सिकाउँछ।
अर्को महत्त्वपूर्ण कुरा भावनात्मक बुद्धिमत्ता हो। मेरा छोरा केवल बलिया मात्र बनुन् भन्ने होइन, उनीहरूले आफ्नो भावना व्यक्त गर्न सकुन् भन्ने म सधैँ चाहन्छु। रोए पनि, रिसाए पनि भाव व्यक्त गर्न सिक्नुपर्छ। झगडा हुँदा म भन्छु, “ठिक छ, रिसाउनु सामान्य हो, तर कसरी समाधान गर्ने भनेर सोच्नु पर्छ।” यसले उनीहरूमा सहानुभूति र संवेदनशीलताको विकास गर्छ, जसले भविष्यमा उनीहरूलाई अरूको पीडा बुझ्न सक्षम बनाउँछ।
समानता पनि हाम्रो घरको अभ्यास हो। म बाबुहरूलाई घरका सानाठूला काममा बराबरी भाग लिन सिकाउँछु—सानासाना भाँडा माझ्ने, कोठा मिलाउने, आफ्ना कपडा राख्ने र मिलाउने। सकेसम्म मिलेर काम गर्ने। उदाहरणका रूपमा, उनीहरू सँगै कोठा मिलाउँछन् र साना भाँडा माझ्छन्। यसले उनीहरूलाई सिकाउँछ—समानतामा भाग लिनु मात्र व्यक्तिगत जिम्मेवारी होइन, सामाजिक जिम्मेवारी पनि हो।
म मेरा बच्चाहरूको हुर्काइमा जति जिम्मेवार छु, त्यति नै जिम्मेवार मेरो श्रीमान् पनि हुनुहुन्छ। उहाँले घरका कामलाई कहिल्यै पुरुषको वा महिलाको भनेर छुट्याउनु हुन्न भन्ने अभ्यास गर्नुहुन्छ। घरको हरेक गतिविधिमा हामी दुवै बराबरी सहभागिता जनाउँछौँ। यही वातावरणले हाम्रा बच्चालाई पनि सिकाइरहेको छ—काम सानो वा ठूलो हुँदैन, र जिम्मेवारी पनि लिङ्गअनुसार विभाजन हुँदैन। त्यसैले उनीहरू हरेक कुरा मिलेर, सहयोग गर्दै र समान रूपमा गर्न सिक्दै छन्।
जिम्मेवारी पनि सिकाउनु आवश्यक छ। गल्ती भएमा म 'सानो बच्चा हो' भनेर छोड्दिनँ। गल्ती स्वीकार गरेर सुधार गर्नु, आफ्नो कामको परिणाम बुझ्न सिकाउँछु। उदाहरणको रूपमा, बाबुहरूले खाना खाइसकेपछि भाँडा राखेनन् भने म सम्झाउँछु, “तिमीले जिम्मेवारी पूरा गर्नुपर्छ।” म जान्दछु कि ७ वर्षको उमेरमा उनीहरूलाई पूर्ण जिम्मेवारी सिकाउनु सम्भव छैन, तर साना अभ्यासहरू दिँदा उनीहरूमा जिम्मेवार सोच विकास हुन्छ। यही कारणले, छोरालाई जिम्मेवार बनाउने काम केवल आमा–बुबाको मात्र होइन, समाजका सबैले मिलेर सहयोग गर्नु आवश्यक छ।
आजको डिजिटल युगमा डिजिटल सचेतना पनि आवश्यक छ। बच्चा मोबाइल, ट्याब्लेट र इन्टरनेटसँग छिट्टै परिचित हुन्छन्। म बाबुहरूलाई खेल वा भिडियो हेर्न अनुमति दिन्छु। अनजान व्यक्तिसँग कुरा नगर्न सिकाउँछु। यसले उनीहरूलाई समय व्यवस्थापन, सुरक्षा र स्व–नियन्त्रण सिकाउँछ।
अर्को कुरा भनेको महिलाप्रतिको दृष्टिकोण पनि हाम्रो अभ्यासमा केन्द्रित छ। म चाहन्छु मेरा छोराहरूले महिलालाई स्वतन्त्र, सम्माननीय र बराबरीको व्यक्तिको रूपमा बुझुन्। घर, स्कुल र समाजमा उनीहरूले महिलाप्रतिको व्यवहार अभ्यास गर्नुपर्छ। उदाहरणका रूपमा, उनीहरूलाई भन्छु, “यदि तिमीले आफ्नो दिदी, आमा, बहिनी वा साथीलाई सम्मान दिन्छौ भने अरूले पनि सिक्छ।” यसले उनीहरूमा व्यवहारिक रूपमा सम्मान, समानता र संवेदनशीलता विकास गर्छ।
यी सबै अभ्यासहरू सानो उमेरदेखि सुरु गर्दा, बच्चाहरूमा जिम्मेवारी, समानता, सम्मान र संवेदनशीलता विकास हुन्छ। उनीहरू केवल व्यक्तिगत गुण मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने आधार हुन्। तर कत्ति कुरा अझै गर्नै सकेको छैन मैले—कहिले समय दिन नसकेर त कहिले कसरी गर्ने भनेर अलमल भएर। तर पनि प्रयास गर्न छोडेकी छैन र छोड्ने पनि छैन।
अन्तर्राष्ट्रिय र नेपाली समाजका विचारक, नेतृ र प्रेरकहरूले पनि यही कुरा बारम्बार भनेका छन्—छोरालाई जिम्मेवार बनाउनु केवल कानुनको कुरा मात्र होइन, घर र दैनिक अभ्यासबाट सुरु गर्नु पर्छ। इम्मा वाट्सन भन्छिन्, “महिला र पुरुष दुवै संवेदनशील हुन स्वतन्त्र हुनुपर्छ र महिला र पुरुष दुवै बलियो हुन पनि स्वतन्त्र हुनुपर्छ।” यसको मतलब—छोराहरूलाई भावनात्मक रूपमा संवेदनशील बन्न दिनु कमजोरी होइन, बरु यो शक्ति हो।
चिमामान्डा न्गोजी अदिचीले भनेकी छन्, “हामी केटाहरूलाई कमजोरीसँग डराउन सिकाउँछौँ, तर नसिहायपन/कमजोरी त मानवीय गुण हो।" यो भनाइले सिकाउँछ कि हामीले छोराहरूलाई कमजोर देखिन नदिने दबाब दिन्छौँ, तर संवेदनशीलता मानवता हो।
मिशेल ओबामाले भनेकी छिन्, “हामीले हाम्रा छोराहरूलाई महिलाहरूको सम्मान गर्न सिकाउँदै हुर्काउन आवश्यक छ।” यसले घर र समाज दुवैमा छोराहरूले महिलाप्रतिको सम्मान सिक्नुपर्ने आवश्यकता स्पष्ट पार्छ।
मलाला युसुफजई भन्छिन्, “जबसम्म हाम्रो आधा जनसंख्या (महिलाहरू) लाई पछि पारिन्छ, तबसम्म हामी सबै सफल हुन सक्दैनौँ।” यसको अर्थ, यदि महिलाहरू असुरक्षित छन् वा उनीहरूको अधिकार हनन भएको छ भने समाजले पूर्ण रूपमा प्रगति गर्न सक्दैन।
नेपाली सन्दर्भमा, अनुराधा कोइरालाले स्पष्ट बताएकी छिन्,“छोरीलाई जोगाउनेभन्दा, समाजको सोच बदल्नु जरुरी छ।” केवल छोरीलाई सतर्क गराउनु पर्याप्त छैन; छोराहरूलाई जिम्मेवार, संवेदनशील र समानताप्रतिको शिक्षा दिनु नै दीर्घकालीन समाधान हो।
यी सबै विचारहरूले मलाई गहिरोसँग सिकाएका छन्—कानुन मात्र पर्याप्त छैन। छोरालाई सही मूल्य, सम्मान, समानता र जिम्मेवारी सिकाउन घरदेखि नै दैनिक अभ्यास गर्नुपर्छ, र यही अभ्यासले मात्र समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ।
नेपालको सन्दर्भमा महिला र बालिकामाथि हुने यौन हिंसाका घटनाहरू धेरै गम्भीर छन्। सन् २०२५ अनुसार नेपालमा प्रत्येक वर्ष औसत ३–५ सय बालिका बलात्कारका घटना सार्वजनिक हुन्छन्। दलित समुदायका बालिका भने यस्ता घटनाबाट अझ बढी प्रभावित छन्। तथ्यांक अनुसार, दलित बालिकामा यौन हिंसाको जोखिम सामान्य बालिकाभन्दा दुई–तीन गुणा बढी हुन्छ। यो केवल व्यक्तिगत दुर्भाग्य वा आकस्मिक घटना होइन, यो समाजभित्रका असमानता, विभेद र संरचनागत हिंसाको परिणाम हो।
युनिसेफको अध्ययनले पनि देखाएको छ कि बालिका र बालक दुवैलाई सानै उमेरदेखि सहमति, समानता र भावनात्मक शिक्षा दिइएको अवस्थामा भविष्यमा हिंसात्मक व्यवहार ४०–५०% ले कम हुन्छ। यसको मतलब, केवल कानुन बनाउनु पर्याप्त छैन। सामाजिक सोच, घरमा शिक्षा र बच्चामा जिम्मेवारीको अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण छ।
जब छोराहरू जिम्मेवार, संवेदनशील र समानताप्रतिको आदर्श सिक्छन्, तब मात्र छोरीहरूको सुरक्षा सुनिश्चित गर्न सकिन्छ। यी तथ्यहरूले स्पष्ट देखाउँछन्—समस्या केवल कानुनको कमजोरी होइन, सामाजिक सोच, घरको शिक्षा र व्यक्तिगत जिम्मेवारीको अभाव हाम्रो समाजमा यौन हिंसाका घटनाहरू दोहोरिनुको मुख्य कारण हो।
यही कारणले आमा–बुबा, शिक्षक, साथी र समुदायले मिलेर बच्चामा संवेदनशीलता, समानता र जिम्मेवारीको संस्कार विकास गराउन जरुरी छ। घर र समाजमा बच्चालाई जिम्मेवार र संवेदनशील बनाउनका लागि केही अभ्यासहरू अत्यन्तै महत्त्वपूर्ण छन्। सबैभन्दा पहिले, छोरी र छोरालाई बराबरीको मूल्य सिकाउनु जरुरी छ। बच्चालाई जब घरमा बराबरी अभ्यास गराइन्छ, तब उनीहरू भविष्यमा पनि समाजमा समान व्यवहार गर्न सिक्छन्।
अन्ततः सामाजिक चेतना फैलाउनु आवश्यक छ। बच्चाको शिक्षा केवल घरमा सीमित नराखी, साथी, स्कुल र समुदायमा पनि फैलाउनुपर्छ। जब बच्चा आफ्ना साथी र समुदायसँग व्यवहारमा समानता, सहानुभूति र जिम्मेवारी अभ्यास गर्छ, तब उनीहरूमा जिम्मेवारी र संवेदनशीलता प्राकृतिक रूपमा विकसित हुन्छ।
यी अभ्यासहरू सात वर्षका बच्चाले पनि सुरु गर्न सक्छन्। निरन्तर अभ्यासले उनीहरूमा जिम्मेवारी, सम्मान, संवेदनशीलता र सामाजिक जागरूकता विकास हुन्छ। यिनै साना प्रयासहरूले भविष्यमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ, र हजारौँ इनिशाहरूको भविष्य सुरक्षित हुन सक्छ।
इनिशा विक अब जीवित छैनन्। तर उनको नाम चेतावनी बनेर हाम्रो अगाडि उभिएको छ। म चाहन्नँ कि हाम्रा छोराहरू कहिल्यै कसैको डर बनुन्। म चाहन्छु—उनीहरू बरु कसैको सुरक्षा बनुन्। म चाहन्छु—उनीहरू भावनात्मक, जिम्मेवार, संवेदनशील र समानतापूर्ण समाजका नागरिक बनुन्।
यदि हामीले छोरालाई सही बाटोमा डोहोर्यायौँ भने भोलिको समाजमा छोरीहरू डर होइन, स्वतन्त्रता लिएर बाँच्नेछन्।
अतः समाज बदल्ने जिम्मेवारी केवल छोरीलाई होइन—छोरालाई पनि बराबर रूपमा दिनुपर्छ। यो अभ्यास निरन्तर हुनु पर्छ र हामी सबैले जिम्मेवारी लिनुपर्छ।
यदि हरेक परिवारले आफ्ना बच्चालाई यही मूल्य मान्यता सिकाए, लैंगिक हिंसा र हिंसात्मक व्यवहार न्यून गर्न सकिन्छ। यही अभ्यासले, साना–साना कदमहरूले, हजारौँ इनिशाहरूको भविष्य सुरक्षित गर्न सक्नेछ।
(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
