विश्वकै लामो दुरीको यात्रा गर्ने चरामध्येको एक 'हड्सनियन गोडविट'को संख्या जलवायु परिवर्तन र वासस्थान विनाशका कारण विगत ४० वर्षमा ९५ प्रतिशतले घटेपछि यसलाई अन्तर्राष्ट्रिय संरक्षणको सूचीमा राखिएको छ।
पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत तटीय चरा 'हड्सनियन गोडविट' अहिले अस्तित्वको संकटमा पुगेको छ। जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण यसको संख्या चार दशकमा ९५ प्रतिशतले घटेको तथ्यले विश्व संरक्षण प्रयासमाथि गम्भीर प्रश्न खडा गरेको छ।
आर्कटिकदेखि दक्षिण अमेरिकाको पुछार प्याटागोनियासम्मको कठिन यात्रा गर्ने यो चरालाई विश्वकै असाधारण यात्रु प्रजातिमध्ये एक मानिन्छ। तर, बदलिँदो वातावरणीय अवस्थाले यसको बाँच्ने आधार नै कमजोर बन्दै गएको वैज्ञानिकहरू बताउँछन्।
ब्राजिलमा सोमबारदेखि सुरु हुने आप्रवासी प्रजाति संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सीएमएस) को बैठकमा हड्सनियन गोडविटलाई अन्तर्राष्ट्रिय संरक्षण आवश्यक पर्ने ४२ प्रजातिको सूचीमा राखिएको छ। यस सूचीमा 'ह्यारी पोटर' मा देखाइने सेतो लाटोकोसेरो, धारीदार हाइना र ह्यामरहेड शार्कजस्ता जोखिममा रहेका जीवहरू पनि समावेश छन्।
म्यासाचुसेट्स एम्हर्स्ट विश्वविद्यालयका पारिस्थितिकीविद् नाथन सेनरका अनुसार प्रवासी चराहरूले 'नाटकीय गिरावट' को सामना गरिरहेका छन्। उनले विगत २० वर्षदेखि यस प्रजातिको अध्ययन गर्दै आएका छन्। उनका अनुसार गोडविटले एकै पटकमा ११ हजार किलोमिटरसम्म विना रोकटोक उड्न सक्छ, जहाँ उसले खान, पिउन वा आराम गर्नसमेत पाउँदैन।
यस्तो 'महाकाव्य उडान' सफल बनाउन यात्राको हरेक चरणमा पर्याप्त खाद्य स्रोत आवश्यक पर्छ। तर, अहिले यही चक्र बिग्रँदै गएको छ। आर्कटिक क्षेत्रमा वसन्त ऋतुको समय परिवर्तन हुँदा बच्चा हुर्किने समय र कीराहरूको उपलब्धताबीच असन्तुलन देखिएको छ, जसले चराको जीवनचक्रमा प्रत्यक्ष असर पारेको छ।
दक्षिणी चिलीमा माछा र ओइस्टर खेती विस्तार हुँदा तटीय क्षेत्रमा मानवीय गतिविधि बढेको छ, जसले चराका आहारास्थलहरू नष्ट भएका छन्। उता अमेरिकामा खेती प्रणाली परिवर्तन हुँदा सिमसार क्षेत्र घट्दै गएकाले गोडविटलाई आराम र आहाराका लागि उपयुक्त स्थान खोज्न कठिन भएको छ।
ब्राजिलको वातावरणीय निकाय 'इबामा' का प्रमुख रोड्रिगो अगोस्टिन्होले जलवायु परिवर्तनले प्राकृतिक समयचक्रमा निर्भर प्रजातिहरूलाई गम्भीर असर पारिरहेको बताए।
सीएमएस बैठकमा सहभागी देशहरूको जोखिममा रहेका प्रजाति जोगाउने र अन्तरदेशीय सहकार्य बढाउने कानुनी दायित्व हुन्छ। तर, हालैको प्रतिवेदनअनुसार सूचीकृत प्रजातिमध्ये ४९ प्रतिशतको संख्या अझै घटिरहेको छ। सीएमएसकी कार्यकारी सचिव एमी फ्रेन्केलका अनुसार गोडविटजस्ता चरा र झन्डै ९७ प्रतिशत माछा प्रजाति लोप हुने जोखिममा छन्।
केही सकारात्मक संकेत पनि देखिएका छन्। मध्य एसियाको ब्याक्ट्रियन मृगको संख्या बढेकाले यसलाई उच्च जोखिम सूचीबाट हटाउने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
