पूर्वी नेपालका जंगलमा एक दशकमा ३५ वटा जंगली हात्ती मरे। त्यो मानव–हात्ती द्वन्द्वको स्वाभाविक परिणाम मात्र थिएन, तीमध्ये कम्तीमा पाँच वटा हात्ती संगठित चोरी–शिकारबाट मारिएका थिए।
झापा– २०८१ वैशाख ४ गते झापाको मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनभित्र मृत भेटिएको भाले हात्तीको दाह्रा काटिएको, पुच्छरका रौँसमेत चुँडिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालयका अधिकारी र सामुदायिक वनका पदाधिकारीले घटनास्थल पुगेर त्यो हात्तीको मरण प्राकृतिक रूपमा नभएको निष्कर्ष निकाले। पोस्टमार्टम रिपोर्टले पनि हात्ती गोली प्रहारबाट मरेको विवरण दिएको छ।
तर, त्यस घटनामा संलग्नहरू अहिलेसम्म पत्ता लागेका छैनन्। पूर्वी नेपालमा हात्तीको संरक्षणमा सक्रिय मेचीनगर–४ का शंकर लुइँटेलले अरू तीन वटा हात्तीका दाह्रा गायब भएको देखिसकेका छन्। लुइँटेल भारतबाट जंगली हात्ती नेपाल प्रवेश गर्ने मुख्य नाका झापा बाहुनडाँगीका बासिन्दा हुन्। उनी विगत दुई दशकदेखि नेपाल–भारत ओहोरदोहोर गर्ने हात्तीको आनीबानीदेखि तिनको अवस्थाबारे जानकारी राख्दै आएका व्यक्ति हुन्।
हात्ती मरेको भेटिएमा पोस्टमार्टम गर्नेदेखि दाहसंस्कार गर्नसमेत खटिने हात्ती संरक्षणका अभियानकर्ता लुइँटेललाई ‘हात्तीका दाह्रा हराउने घटना’ अब त सामान्य लाग्न थालिसकेको छ। उनी भन्छन्, “घना जंगलको बीचमा राति–राति हात्ती मर्ने र दाह्रा, पुच्छरका रौँ, खुर हराउने खेल सामान्य पक्कै होइन।”
पूर्वी नेपालमा बर्सेनि जंगली हात्ती मर्छन्। जंगलबाट हुल बाँधेर बारीमा पस्ने हात्तीलाई रोक्न किसानले विद्युतीय तारबार गरेका हुन्छन्। त्यसैमा छोइँदा करेन्ट लागेर हात्ती मर्ने गरेको ठानिन्छ। त्यसैले मरेका हात्तीको पोस्टमार्टम गरिए पनि उक्त घटनामा सम्भावित आपराधिक संलग्नताको अनुसन्धान हुँदैन।
हाम्रो खोजबिनबाट त्यसरी मरेका हात्तीमध्ये १५ प्रतिशत चोरी–शिकारका कारण मरेको देखिएको छ। पछिल्लो १० वर्षमा मरेका ३५ हात्तीमध्ये पाँच वटा चोरी–शिकारबाट मारिएको पत्ता लागेको हो, जसमा विद्युतीय धरापका अतिरिक्त गोली प्रहारबाट मारिएको विवरण पनि समावेश छ। यद्यपि यी कुनै पनि घटनामा प्रभावकारी अनुसन्धान र अभियोजन भएको छैन।
यसअघि २०७५ साउन २ गते झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र मृत फेला परेको भाले हात्तीका दुवै दाह्रा गायब थिए। जंगलभित्र मृत हात्ती रहेको सूचना पाएपछि पोस्टमार्टम गर्ने प्राविधिक सहित पुगेका वन कर्मचारी र प्राविधिकले त्यो हात्तीको मरण शंकास्पद देखे। जंगल बीचको पोखरी छेउमा भेटिएको हात्तीको दाह्रा र पुच्छर थिएन। सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षभित्र रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले उपलब्ध गराएको पोस्टमार्टम विवरणमा ‘सडे–गलेको अवस्थामा भेटिएको’ उल्लेख छ।
त्यसको दुई वर्षपछि २०७७ कात्तिक १४ गते पनि पाँचपोखरी सामुदायिक वनमै उस्तै प्रकृतिको घटना दोहोरियो। जंगलमा मृत फेला परेको भाले हात्तीको पनि दाह्रा फेदैसम्म काटिएको थियो। कोषले तयार पारेको पोस्टमार्टम रिपोर्टमा त्यो हात्ती घाउ संक्रमणका कारण मरेको उल्लेख छ। इलाका वन कार्यालय धाइजनका वन रक्षक कर्ण विकका अनुसार जंगल बीचको पोखरीमा डुबेको, सड्न लागेको र दाह्रा काटिएको अवस्थामा हात्ती फेला परेको थियो। “यही जंगलमा यसअघि भेटिएको मरेको हात्ती र यो हात्तीको दाह्रा ठ्याक्कै उस्तै गरी काटिएको थियो”, उनले भने।
२०७४ असोज ६ मा उदयपुरको बेलका नगरपालिका–८ स्थित विच्केश्वरी सामुदायिक वनभित्र मृत फेला परेको भाले हात्तीको दाह्रा फेदैमा काटेर गायब पारिएको थियो। मृत हात्तीको पुच्छरका रौँदेखि खुर पनि नभेटिएको प्राविधिक टोलीले गरेको सर्जमिन मुचुल्कामा उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले यस घटनालाई ‘चोरी–शिकार’ भएको बताएको छ।
त्यस्तै, २०८० पुस १६ मा मोरङको सुन्दरहरैचा–१० स्थित जनजागरण सामुदायिक वनभित्र चोरी–शिकारीको समूहले हात्ती मारेको सूचना पाउनासाथ प्रहरी घटनास्थल पुग्दा गोली हान्ने व्यक्ति हात्तीको पुच्छर लिएर फरार भइसकेको थियो। जसको पहिचान हालसम्म पनि हुन सकेको छैन। घटनालगत्तै प्रहरी सक्रिय भएकाले सो भाले हात्तीको दाह्रा भने तस्कर समूहले लैजान पाएन।
यी घटनामा मृत भेटिएका हात्तीका दाह्रा, खुर वा पुच्छरको रौँ गायब पारिएको छ। त्यसले पूर्वी नेपालमा हात्तीका अङ्गप्रत्यङ्गको चोरी–तस्करी मौलाएको पुष्टि गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र सुनसरीका प्रमुख वीरेन्द्र गौतम बताउँछन्।
२०७२ सालयता मात्र पूर्वी नेपालका विभिन्न जिल्लामा ३५ वटा हात्ती मरिसकेका छन्। मृतमध्ये चार वटाको दाह्रा, रौँ र खुट्टाका नङसमेत गायब थिए। एउटाको पुच्छर मात्र हराएको अवस्थामा फेला परेको थियो।
विगत १० वर्षमा मृत भेटिएकामध्ये सबैभन्दा धेरै ८ वटा हात्ती गत आर्थिक वर्ष (आव) २०८०/८१ मा मरे। यो तथ्यांक १० वर्षमा मारिएका सबै हात्तीको करीब एक चौथाइ हो। आव २०८१/८२ मा पाँच वटा हात्ती मरेकोमा चालु आवको शुरूका ८ महिनामा झापामा मात्र चार वटा हात्ती मरिसकेका छन्।
पोस्टमार्टम रिपोर्टहरूले विषको प्रयोग गरेर, करेन्ट लगाएर तथा गोली हानेर हात्ती मारिएको देखाएको छ। कतिपय हात्ती एकआपसमा जुधेर गम्भीर चोटका कारण संक्रमण भएर मरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार पछिल्लो १० वर्षमा मृत भेटिएकामध्ये २१ वटाको करेन्ट लागेर मृत्यु भएको थियो भने ३ वटाको गोली लागेर, ५ वटाको चोटको संक्रमणले (चोटको कारण भने नखुलेको), दुइटाको प्राकृतिक कारणले मृत्यु भएको थियो। तीन वटा सडेगलेको अवस्थामा भेटिएकाले मृत्युको कारण थाहा पाउन नसकिएको प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।
एक महिनाअघि, गत माघ २९ गते झापाको केचनकवलस्थित सामुदायिक वनभित्र थप एउटा हात्ती मर्यो। घाइते अवस्थाको उक्त हात्ती उपचारका लागि डार्ट गर्ने क्रममा मरेको थियो।
त्यो हात्तीका अङ्गप्रत्यङ्ग गायब हुनुले तस्करको समूह सक्रिय भएको देखाउने वन्यजन्तु संरक्षणमा सक्रिय गैरसरकारी संस्था, उज्यालो नेपालका रमेश थापा बताउँछन्।

अनुसन्धान न अभियोजन
मृत हात्तीका अङ्गप्रत्यङ्ग गायब भएका घटनाबारे हालसम्म फौजदारी अनुसन्धान भने भएको छैन। वन्यजन्तुका अङ्गप्रत्यङ्ग (आखेटोपहार) को चोरी–तस्करीसम्बन्धी अनुसन्धान गर्ने पहिलो निकाय डिभिजन वन कार्यालयका अधिकारीहरू हात्तीका अङ्गप्रत्यङ्ग तस्करी गर्ने गिरोह नै सक्रिय रहेको स्विकार्छन्। तर, चोरी–शिकारमा संलग्नबारे उजुरी नपर्दा कसैलाई पनि पक्राउ गर्न नसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहिवार यादव बताउँछन्।
‘कसैले उजुरी नै नदिई अनुसन्धान शुरू गर्न नसकिने’ यादवको भनाइ छ। भन्छन्, “हात्ती मरेको घटनामा कसैसँग सोधपुछ गर्दासमेत मान्छे मर्दा खोजीनिती नगर्ने, हात्ती मर्दा चासो लिने? भन्दै स्थानीय बासिन्दा आक्रोश पोख्छन्।” यद्यपि जंगली हात्ती लगायत कुनै पनि संरक्षित वन्यजन्तु मारिएको पाइएमा त्यसको अनुसन्धान गर्न उजुरीको अनिवार्यता भने कानूनले गरेको छैन।
यस्ता घटनामा हदम्यादको सीमा नहुने भएकाले जुनसुकै बेला उजुरी गर्न सकिने र त्यसपछि अनुसन्धान शुरू हुने यादव बताउँछन्। डिभिजन वन कार्यालयका कर्मचारीहरू हात्ती मरेपछि अनुसन्धान अधिकृत तोकेर मरणको प्रकृति, स्थानीयको बयान जस्ता कुरा समेटेर प्रतिवेदन भने तयार पारिराखेको बताउँछन्।
तर, यसै बीचमा अर्जुनधारा–७ जरुवाटोलका तिखबहादुर विश्वकर्मा (४७) लाई प्रहरीले हात्तीको दाह्रा सहित घरबाटै पक्राउ गर्यो। उनीसँगै चेकबहादुर लिम्बू (४८) पनि पक्राउ परे। लिम्बूले त्यो दाह्रा बालुवा चाल्ने क्रममा नजिकैको विरिङ बगरमा फेला पारेको बयान दिए। विश्वकर्माले भने आफू घरमा नभएका बेला लिम्बूले तौल गर्न भनी ल्याएर छाडेको र त्यही क्रममा पक्राउ परेको बताए।
उनीहरूबाट बरामद दाह्रा यस बीचमा मारिएको भनी यकिन भएका पाँचमध्ये कुनै हात्तीको हो वा त्यसभन्दा अघि–पछि मारिएका हात्तीको हो वा भारतबाट पो ल्याइएको हो कि भन्ने जस्ता विषय अझै खुलेको छैन। उनीहरूको साथबाट दाह्रा बरामद भएको समय आसपास झापामा हात्ती मरेको कुनै रेकर्डमा देखिँदैन। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ वैज्ञानिक नीराजन थापाले प्रयोगशाला परीक्षणबाट उक्त दाह्रा हात्तीको हो वा होइन भन्ने मात्र पत्ता लाग्ने अरू विवरण पत्ता लगाउन नसकिने बताए।

२०८० कात्तिक १६ मा बरामद भएको उक्त दाह्रालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विधि विज्ञान प्रयोगशालामा फरेन्सिक जाँच गराएको थियो। हात्तीको पुष्टि भएको उक्त दाह्रालाई त्यसपछि चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ।
उक्त दाह्राको स्रोत के हो, कहिलेको हो, चोरी–शिकारबाट संकलन गरिएको हो वा अन्य कारणले मरेको हात्तीको दाह्रा काटिएको हो, कसले काटेको हो भन्ने जस्ता प्रश्न अनुत्तरित नै रहे पनि विश्वकर्मा र लिम्बू दुवैलाई झापा जिल्ला अदालतले २०८० फागुन ११ गते पाँच वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश ईश्वरीमणि ओझाको इजलासले लिम्बू र विश्वकर्मा दुवैलाई संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद–बिक्री तथा ओसारपसार गरेको अभियोगमा जेल चलान गर्ने निर्णय सुनाएको हो।
हाल झापा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका लिम्बू र विश्वकर्मा दुवै निम्न आर्थिक अवस्था भएका व्यक्ति हुन्। पाँचथरबाट बसाइँ सरी अर्जुनधारा आएका लिम्बू केही वर्ष विदेशमा रोजगारी गरेर फर्किएका र गाउँमै मजदुरी गरेर परिवार पाल्दै आएका थिए।
लिम्बूका जेठा छोरा मनोज, बुबाले त्यो हात्तीको दाह्रा कहाँ फेला पारे भन्ने थाहै नपाएको बताउँछन्। उनी आफ्नो बुबा यस्तो कारोबार गर्ने व्यक्ति नभएको जिकिर गर्दै भन्छन्, “त्यस्तो दुई नम्बरी काम गर्ने मानिस भए अहिलेसम्म यस्तो छाप्रोमा बस्नुपर्थ्यो होला र?”
विश्वकर्माको पारिवारिक अवस्था पनि उस्तै छ। केही वर्षअघि सिक्किमबाट बसाइँ सरेर आएकाले उनलाई गाउँलेहरू ‘सिक्किमे साहिँलो’ भनेर चिन्छन्। बिर्तामोडस्थित एक निजी विद्यालयको गाडी चलाउने विश्वकर्माको गाउँमा सानो पसल पनि थियो। लिम्बूले सोही पसलमा रहेको तराजुमा जोख्न भनेर दाह्रा ल्याएर छाडेको विश्वकर्माका दाजु धनबहादुर बताउँछन्।
यो घटनाबाहेक पछिल्लो १० वर्षमा झापा जिल्ला अदालतमा हात्ती मारेको वा अङ्गप्रत्यङ्ग तस्करीमा संलग्न भएको अभियोगमा कुनै मुद्दा दर्ता नभएको झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले बताए।
अन्तर्देशीय व्यापार
मृत हात्तीका दाह्रा, पुच्छर, रौँजस्ता अङ्गप्रत्यङ्ग योजनाबद्ध रूपमा गायब पारिएका घटनाले यसमा संगठित अपराधको सञ्जाल संलग्न रहेको हुनसक्ने मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीको आशंका छ।
हुन पनि यो तस्करीको जालो नेपाल हुँदै भारत र भुटानसम्म फैलिएको हात्तीको दाह्रासहित भारतमा पक्राउ परेका व्यक्तिहरूको विवरणबाट देखिन्छ। सन् २०२४ अप्रिल ३ का दिन भारतको लाटागुरी रेञ्जका कर्मचारीले हात्तीका दुइटा दाह्रासहित एक भारतीय र एक भुटानी नागरिकलाई पक्राउ गरेका थिए। त्यस दिन भारतको अलिपुरद्वारका यास्का डुक्पा र भुटानी नागरिक वाङ्दीलाई पक्राउ गरिएको थियो।
त्यस्तै, भारतकै दक्षिण क्षेत्रीय टास्क–फोर्स र वन अधिकारीहरूले हात्तीको दाह्रा बेच्न खोज्ने नेपाली मूलका दीपक थापालाई हैदरावादमा पक्राउ गरे। थापा मोहम्मद रेहानका नामले गोरुको मासु पसल सञ्चालन गरेर बसेका व्यक्ति भएको सिलिगुढी टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ।
थापाले आफू मुम्बईका मिर्जा साकिव वेगसँग सम्पर्कमा आएको र उनैबाट हात्तीको दाह्रा किनेको बयान दिएका छन्। समाचारमा जनाइएअनुसार उनी सो दाह्रा १५ लाख भारतीय रुपैयाँमा बिक्री गर्न लाग्दैगर्दा प्रहरीको फन्दामा परेका थिए।

सन् २०२५ डिसेम्बर २१ मा अर्को एक घटनामा भारतको कुर्सियाङ वन डिभिजनका वनकर्मीहरूले बागडोगरास्थित एशियन हाइवे–२ को फ्लाइओभरमा नेपाली नम्बर प्लेटको सवारीसाधनमा हात्तीको दाह्रा बरामद गरे। त्यो घटनामा नेपालका २१ वर्षीय गणेश शाह र सिलिगुढी खालपाडाका ५१ वर्षीय कमल अग्रवाललाई पक्राउ गरिएको थियो।
यी घटनामा रिपोर्टिङ गरेका भारतको बागडोगराका पत्रकार प्रशान्त आचार्य यी प्रतिनिधि घटनाले नेपालबाट हात्तीका दाह्रा लगायत अङ्गप्रत्यङ्गको चोरी तस्करी भारततर्फ भइरहेको देखिएको बताउँछन्। “तस्करहरूको ध्यान नेपालतिर गएको देखिन्छ”, उनी भन्छन्।
झापा बाहुनडाँगीस्थित मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका सचिव मञ्जिल देवान पनि हात्तीका दाह्रा, पुच्छरका रौँजस्ता अङ्गप्रत्यङ्ग खोज्दै भारतीय नागरिक सीमावर्ती गाउँबस्तीमा आउने गरेको बताउँछन्। सीमावर्ती क्षेत्रमा बसेर गाईगोरु ओसारपसारमा संलग्न एक व्यापारीले केही महिनाअघि हात्तीका दाह्रा भए किन्ने मानिस आफ्नो सम्पर्कमा भएको सुनाएको देवानले बताए। उनका अनुसार ती व्यापारी आफूसँग भुटानी व्यापारी सम्पर्कमा भएको भन्दै अङ्गप्रत्यङ्गका मोलसमेत तोकेर हिँडेका थिए।
हात्तीका दाह्रा, पुच्छरका रौँ, हड्डीलगायत अङ्गप्रत्यङ्ग अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको यसको अनुसन्धानमा संलग्न वातावरण कानून समाज, नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता पदम श्रेष्ठ बताउँछन्। समाजका सदस्यहरूले केही महिनाअघि पूर्वी नेपालबाट भइरहेको आखेटोपहारको तस्करीबारे ६ महिना लगाएर अनुसन्धान गरेका थिए। अनुसन्धान प्रतिवेदन प्रकाशनको तयारीमा छ।
अनुसन्धानले नेपालमा विद्यमान कानूनमा प्रशस्त छिद्रहरू भएको र ती कानूनबारे सर्वसाधारण जानकार नहुँदा हात्तीका अङ्गप्रत्यङ्गको तस्करी भइरहेको देखाएको श्रेष्ठले बताए। अर्कोतिर नेपाल–भारत खुला सीमाका कारण यहाँबाट सजिलै भारततर्फ हात्तीका अङ्गप्रत्यङ्ग पुग्ने र भारत, भुटान र बांग्लादेशबाट पनि नेपाल हुँदै चीनतर्फ तस्करी भइरहेको अनुसन्धानले देखाएको श्रेष्ठले बताए।
कानूनमा के छ?
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले एशियाली हात्तीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यसको चोरी–शिकार वा अङ्गप्रत्यङ्ग व्यापारमा संलग्नलाई पाँच वर्षदेखि १५ वर्षको जेल सजाय हुने व्यवस्था छ। अर्कोतिर, नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी महासन्धि (साईटीस)को पक्ष राष्ट्र हो। उक्त महासन्धिले हात्तीलाई अनुसूची–१ मा राखेको छ, जसको अर्थ यसका अङ्गप्रत्यङ्गको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध हो।
यसबाहेक यी घटनामा मुलुकी अपराध संहिता–२०१७ अन्तर्गत संगठित अपराध, अवैध ओसारपसार र सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाहरू आकर्षित हुन सक्छन्। तर, हात्तीका अङ्गप्रत्यङ्ग तस्करीमा ‘संगठित अपराध’को रूपमा मुद्दा चलाइएको उदाहरण भने छैन।
(यो रिपोर्ट दाहालले खोज पत्रकारिता केन्द्र, नेपालका लागि तयार पारेकी हुन्।– सम्पादक)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
