रूपन्देहीको मर्चवार क्षेत्रका बासिन्दा वर्षौंदेखि दानव नदीमा पक्की पुल नहुँदा बाँसको अस्थायी पुल र डुंगाको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
रुपन्देही– रुपन्देहीको मर्चवार क्षेत्रस्थित सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन्। दानव नदीमा पक्की पुल नबन्दा स्थानीयले काठको अस्थायी डुंगा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको एकातर्फ भटौलिया र अर्कोतर्फ भभइ पर्छ। अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन्।
“उनले निकै दुःख गरेर पुल बनाएका छन्। यसले उनको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउजाउ गर्न सजिलो भएको छ,” कोइलले भने, “तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ। पुल टुट्ने डरले मानिस घाइते हुन सक्छन् र सवारी साधनमा पनि क्षति पुग्न सक्छ।”
उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोड्ने महत्त्वपूर्ण मार्ग हो। मर्चवारबाट सिधै कक्रहवा, लुम्बिनी हुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ।
भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताए। अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने उनको भनाइ छ।
“अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,” उनले भने, “यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रूपमा आवतजावत गर्न सकिन्थ्यो। पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बोर्डर हुँदै घुमेर जानुपर्छ।”
स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ। “यस पारिका मानिसको खेत उता छ भने उता बस्नेको खेत यता छ,” उनले भने, “बाढी आउँदा त कोही पनि आउन–जान सक्दैनन्। त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ।”
स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ। पुल निर्माणका लागि उनीहरूले झन्डै एक महिनाअघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन्। तयार भएको पुल कुर्न बासमती मल्लाह दिनभर घाटमै बस्छिन्।
परिवारका तीन जना मिलेर पुल बनाएको सुनाउँदै बासमतीले दैनिक कहिले १०० देखि २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन्। बाटो हिँड्नेले गच्छे अनुसार ५, १० वा २० रुपैयाँसम्म “मल्लाही” तिर्ने गर्छन्। “यही घाटको आम्दानीबाट नुन–तेल र घरखर्च चल्छ,” बासमतीले भनिन्, “हामीसँग आफ्नै खेतीपाती छैन, यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो।”
बाहिरका व्यक्तिले नगद दिए पनि स्थानीयको हकमा भने धान, चामल र गहुँ जस्ता जिन्सी (जिउका) लिने गरेको उनले बताइन्। जिउका बापत प्रतिघर ४ देखि १० पाथीसम्म अन्न पाउने गरेको उनको भनाइ छ।
वरपरका १०–१२ गाउँका करिब एक हजार घरधुरीले यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौंदेखि सरकारसँग माग गर्दै आएका छन्। बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
