गढमै नेमकिपाको हार, लहर कि आफ्नै कमजोरी?

'नगरकोटको बाटो १०–१२ वर्षसम्म नबन्दा नेमकिपाले कहिल्यै पनि आवाज उठाएन जबकी विश्वभर भएका घटनाको विरोध र आवाज भने सदनमा उठाएको हुन्थ्यो।'

चुनावअघि घरदैलो गर्दै प्रेम सुवाल।

भक्तपुर– नेपाल मजुदर किसान पार्टी (नेमकिपा)को गढ मानिने भक्तपुर निर्वाचन क्षेत्र–१ बाट यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जित हात पार्यो।

संसदमा 'सदाबहार प्रतिपक्ष' को परिचय बनाएका प्रेम सुवाल रास्वपाका उम्मेदवार रुकेश रञ्जितसँग पराजित भए। उद्योग व्यवसायी रुकेश ‍ उद्योग वाणिज्य संघ भक्तपुरका महासचिवसमेत हुन्।

यस क्षेत्रमा कुल खसेको मत १ लाख ७ हजार ५४ मध्ये रुकेशले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत प्राप्त गरे। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार किरण पौडेलले ४ हजार २८९ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गरे। अघिल्लो प्रतिनिधिसभा चुनावमा सुवालले यही क्षेत्रबाट ४० हजारभन्दा धेरै मत पाएका थिए, जबकी उनका निकटतम् प्रतिद्वन्द्वी मानिएका एमाले उम्मेदवार नवराज गेलाले ११ हजार ८३४ मत मात्रै पाएका थिए।

यस क्षेत्रमा नेमकिपाले ३५ वर्षपछि हार बेहोरेको छ। यहाँ २०४८ देखि खडा भएको नेमकिपाको किल्ला २०८२ मा आएर भत्केको छ। यसअघि यहीँका जनताले नेमकिपाका पार्टी अध्यक्ष नारायणमान बिजुक्छेलाई पाँच पटक र सचिव प्रेम सुवाललाई दुई पटक निर्वाचित गरेर संसदमा पठाएको थियो। त्यसैले त सबैले भन्थे– नेमकिपा सदाबहार प्रतिपक्ष।

यसपटक कसरी फेरियो मत?
पहिलो संविधानसभा निर्वाचन २०६४ मा माओवादीबाहेकका पार्टीलाई अस्तित्व जोगाउन धाैधाै हुँदा समेत नखलबलिएको नेमकिपाको किल्ला जेन-जी विद्रोहपछि विशेष अवस्थामा भएको चुनावमा भत्कियो।

रुकेश

५ हजार १८९ मतले पछि परेको नेमकिपा यसपटक परिवर्तनको लहरका कारण पछि परेको सो क्षेत्रका एक ज्येष्ठ नागरिक बताउँछन्। 

सैद्धान्तिक भोट पाए पनि अहिले चलेको लहरका कारण मत परिणाम विभिन्न आएको उनी मान्छन्। यद्यपि, ठूला भनिएका पार्टीको लज्जास्पद हार भइरहँदा नेमकिपाले ल्याएको मतमा नराम्रो भन्न नमिल्ने उनको धारणा छ। सामाजिक सञ्जालमा चलेको लहरले युवा पुस्ताको भोट विभाजन भएको उनी बताउँछन्। सो कारण अबको लागि सो पार्टीले युवा पुस्ता केन्द्रित हुनुपर्ने उनले बताए।

शिक्षा, स्वास्थ्यमा राम्रो सुविधा भएतापनि सुधारका अन्य पाटोमा ध्यान नदिएको र भक्तपुर केन्द्रित रहँदा पनि चाँगु क्षेत्रको भोट नआएको एक चाँगुबासी बताउँछन्।

नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, “नगरकोटको बाटो १०–१२ वर्षसम्म नबन्दा नेमकिपाले कहिल्यै पनि आवाज उठाएन जबकी नेमकिपाले विश्वभर भएका घटनाको विरोध र आवाज सदनमा उठाएको हुन्थ्यो। भक्तपुर नगर क्षेत्रमा ध्यान केन्द्रित हुँदा यहाँका जनताले यसपटक मन र मत फेरे।”

त्यस्तै, विकासको मोडलमा भक्तपुरमा अन्य क्षेत्रको तुलनामा राम्रै भए पनि स्थानीयमा गुनासो पनि उत्तिकै थिए। जसको पछिल्लो उदाहरण हो, भक्तपुर नगरपालिकाको देको–ईटापाके–भूमि विकास परियोजना।

सो परियोजनाका पीडितले लामो समयदेखि विरोध जनाउँदै आएका थिए। यद्यपि, त्यसको सुनाइ भइरहेको थिएन। यस्तै, सामाजिक सञ्जालमा वडास्तरको कर्मचारीबाट हुने रुखो व्यवहारको पनि आलोचना भइ नै रहेको थियो। यसले रास्वपालाई त्यहाँको मत गएको हुनसक्ने स्थानीयको अनुमान छ।

‘भक्तपुरियन’ नामक फेसबुक पेजमा बासुकला ताराले सो परियोजनाका पीडितले विरोध र असन्तुष्टि जनाउँदा केही वडा प्रतिनिधिहरूका विवादास्पद भिडियोहरू सार्वजनिक भएको र समस्या समाधान खोज्नुको साटो कतिपय अवस्थामा दबाब वा चेतावनी दिने शैली देखिएको उल्लेख गरेकी छन्। यसले पनि नेमकिपाप्रति स्थानीयहरूमा नकारात्मकता बढेको उनको भनाइ छ।