स्थलगतः झापा–५

ओलीलाई बिरासत जोगाउने चुनौती, ‘इतिहास रच्ने’ दाउमा बालेन

फागुन २१ मा हुने निर्वाचनमा ‘हेभीवेट’ भिडन्तका रूपमा हेरिएको झापा–५ को चुनावी चर्चाको केन्द्रमा छ– साढे तीन दशक लामो बिरासत जोगाउने ओलीको चुनौती र उनलाई पन्छाएर इतिहास रच्ने बालेन–रणनीति।

दमक, झापा– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा थुप्रै क्षेत्र चर्चाको केन्द्रमा छन्। तीमध्ये पनि सर्वाधिक चर्चामा रहेको क्षेत्र झापा–५ हो। यो क्षेत्र सर्वाधिक चर्चामा रहनुको कारण पटक–पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्नु मात्र होइन। अनि ओलीलाई टक्कर दिन काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा गरेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनौती मात्र पनि यसको कारण होइन।

चर्चाको खास कारण यही क्षेत्रबाट भावी प्रधानमन्त्रीका दुई जना उम्मेदवार आमनेसामने हुनु हो। एमालेले औपचारिक रूपमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगरे पनि ओलीको एकछत्र जस्तै रहेको पार्टीमा उनी नै प्रधानमन्त्रीको उम्मेदवार रहेको निश्चित जस्तै छ। रास्वपाले त बालेनलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेर ‘पोस्टर ब्वाइ’ नै बनाइसकेको छ।

ओली र बालेन हदैसम्म तिक्ततापूर्ण सम्बन्धमा रहेका उम्मेदवार हुन्। ओली प्रधानमन्त्री र बालेन काठमाडौँको मेयर हुँदा उनीहरूबीचको तिक्तता एकअर्काको अगाडि नै नपर्नेसम्मको हदमा पुगेको थियो। झापा–५ यिनै दुई उम्मेदवारको भिडन्तले सबैभन्दा चर्चामा छ जहाँ कांग्रेस, नेकपा र पूर्वी क्षेत्रमा प्रभाव बढाइरहेको श्रम संस्कृति पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

बिरासत जोगाउने र इतिहास रच्ने चुनौती 
यो निर्वाचनकै ‘हेभीवेट’ भिडन्तका रूपमा हेरिएको झापा–५ को निर्वाचन रोचक यसकारण पनि छ कि यो क्षेत्रबाट २०४८ यता एमाले अध्यक्ष ओली निरन्तर उम्मेदवार रहँदै आएका छन्। २०६४ को पहिलो संविधानसभाबाहेक यहाँबाट उनले सबै निर्वाचन जितेका छन्। २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को निर्वाचन जितेका ओली २०६४ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देन लिम्बुसँग पराजित भएका थिए। यसपटक उनी आठौँपटक उम्मेदवार छन्।

अहिलेको झापा–५ को धेरै भूभाग २०४८, २०५१ र २०५६ मा झापा क्षेत्र नम्बर ६ मा पर्थ्यो। ओली त्यही क्षेत्रबाट उम्मेदवार बन्दै आएका थिए।

२०६४ को पहिलो संविधानसभा निर्वाचन हुँदा झापामा ७ वटा निर्वाचन क्षेत्र कायम भए। क्षेत्र नम्बर ७ मा त्यसअघिको क्षेत्र नम्बर ६ कै अधिकांश भूभाग समेटिएको थियो। २०६४ को निर्वाचनमा पराजित भएका ओली २०७० मा भने झापा–७ बाटै निर्वाचित भए। संविधानसभाबाट संविधान बनेपछिको संघीय संरचनामा झापामा ५ वटा निर्वाचन क्षेत्र मात्र कायम रहे। त्यसपछिको क्षेत्र नम्बर ५ विगतका क्षेत्र नम्बर ६ र ७ कै वडामा अन्य वडा समेटेर बनाइएको थियो। त्यही क्षेत्रबाट उनले २०७४ र २०७९ मा चुनाव जिते।

सात पटकको प्रतिस्पर्धामा ६ पटक जितेका ओलीका लागि यसपालिको निर्वाचन भने पहिलेभन्दा फरक देखिन्छ। जेन–जी आन्दोलनपछिको माहोल ‘क्यास’ गर्न काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा गरेर रास्वपाको नेता बनेका बालेनको प्रवेशले ओलीलाई चुनौती थपिएको यो क्षेत्रका मतदाताले नै महसुस गर्न थालेका छन्। यहीकारण हुनसक्छ, एमाले यहाँ पहिलेभन्दा केही रक्षात्मक अवस्थामा देखिन्छ।

झापा–५ को केन्द्र मानिने दमक बजारका ७३ वर्षीय व्यवसायी माधवप्रसाद काफ्ले ओलीलाई यसपालि आफ्नो बिरासत जोगाइराख्न चुनौती रहेको बताउँछन्। “यसअघि उनलाई चुनौती दिने उम्मेदवार हुँदैनथे, अरु दलले पनि गतिलो उम्मेदवार दिन सकेका थिएनन्। ओलीले जितिहाल्छन् नि भन्ने मतदाताको मनोविज्ञान हुन्थ्यो,” उनले भने, “यो चुनावमा काठमाडौँबाट आएर बालेन लडेका छन्, उनी युवाको रोजाइमा पनि देखिन्छन्। त्यसकारण ओलीलाई केही चुनौती थपिएको छ।”

एमाले झापाका नेता भीम राई भने प्रतिस्पर्धा यसअघिका निर्वाचनमा पनि हुँदै आएको, अहिले मात्र प्रतिस्पर्धा नभएको बताउँछन्। “निर्विरोध त कहिले भयो र, प्रतिस्पर्धा जहिल्यै हुँदै आएको हो,” उनले भने, “यो क्षेत्र एमालेको जनाधार बलियो भएको ठाउँ हो। सामाजिक सञ्जालको प्रचारवाजीले मात्र चुनाव जितिन्न।”

अर्कोतर्फ ओलीका प्रतिस्पर्धी बनेर उभिएका बालेन भने २०७९ मा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘सरप्राइज’ दिँदै निर्वाचित भएका थिए। कांग्रेस र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने धेरैको आकलनबीच उनले काठमाडौँको मेयरमा बाजी मारेका थिए। मेयरको कार्यकाल बाँकी छँदै ‘प्रधानमन्त्री बन्न’ संसदीय राजनीतिमा हाम फालेका उनी समकालीन राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष ओलीलाई उनकै निर्वाचन क्षेत्रमा धक्का दिएर इतिहास रच्ने दाउमा छन्।

ओलीको पकड रहँदै आएको झापा–५ मा जित हासिल गर्नु बालेनका लागि सहज छैन। तर अहिले फरक परिस्थितिमा निर्वाचन हुनलागेको, जेन–जी आन्दोलनपछि आफूलाई वैकल्पिक शक्ति दाबी गरेर रास्वपाबाट निर्वाचन लडिरहेका बालेन खासगरी युवापुस्ताको परिवर्तनको आकांक्षालाई आफूतिर तान्न प्रयासरत छन्।

दमक–८ का विकल्प सुब्बा झापा आएर निर्वाचन जित्नु बालेनका लागि अवसर भन्दा चुनौती धेरै रहेको बताउँछन्। “यो एमालेको बलियो ठाउँ हो। ओली र पुराना पार्टी–नेताप्रति मानिसको असन्तुष्टि भए पनि उनीहरूले यहाँको विकास पनि गरेका छन्,” उनी भन्छन्, “त्यसमाथि मतदाताको मुड अन्तिममा स्थानीय मानिसलाई समर्थन गर्ने खालको हुन्छ। त्यसकारण अहिले देखिएको बालेनको क्रेज यस्तै नरहन सक्छ।”

दमक–५ का सागर सिग्देल भने देशले परिवर्तन खोजिरहेका बेला ओलीविरूद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनका लागि अवसर हुने बताउँछन्। “पुराना नेताले ३६ वर्षसम्म देश चलाएर विकास गर्न सकेनन्। त्यसैले युवालाई अवसर दिनुपर्छ भनेर हामी साथीभाइ पनि छलफल गरिरहेका छौँ,” उनी भन्छन्।

आ–आफ्नै चुनावी रणनीति
गत माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गरेपछि केही दिन भेटघाटलगायत कार्यक्रम गरेर ओली र बालेन दुबै काठमाडौँ फर्किएका छन्। दुबै पार्टीका स्थानीय नेता र कार्यकर्ता भने निर्वाचन क्षेत्रमा आन्तरिक चुनावी रणनीति तय गर्न व्यस्त छन्।

बालेन काठमाडौँ फर्किएपछि उनकी श्रीमती सबिना काफ्ले झापा–५ पुगेर घरदैलो गरिरहेकी छन्। बालेनको टीम र रास्वपाका जिल्लास्तरीय नेताहरू विभिन्न रणनीति बनाइरहेका छन्। “वरिष्ठ नेता (बालेन) को छुट्टै टीमले पनि अगाडिदेखि नै यहाँका मतदाताको मनसाय बुझ्नेलगायत काम गरिरहेको छ। पार्टीगत रूपमा पनि तयारी गरिरहेका छौँ,” रास्वपाका एक नेताले भने, “हाम्रो संगठन तलसम्म फैलिएको छैन। यहीबीचमा हामी मिहिनेत गर्दैछौँ।”

बालेन टीमको मुख्य ध्यान जेन–जी उमेर समूहका र अन्य युवा मतदातामा केन्द्रित छ। साथै ओली र एमालेसँग असन्तुष्ट रहेकालाई पनि तान्ने रणनीतिमा छ। बालेन टीम र रास्वपाका नेताहरूको अर्को रणनीति विदेशमा रहेका छोराछोरीमार्फत् अभिभावकलाई दबाब दिने देखिन्छ जुन रणनीति बालेनले काठमाडौँमा चुनाव जित्दा पनि अबलम्बन गरेका थिए। “झापा–५ का मतदाताको विवरण नै राखेर त्यसका आधारमा उनीहरूलाई भेट्नेदेखि अन्य समन्वयको काम भइरहेको छ,” ती नेताले भने, “देशविदेशबाट छोराछोरी र आफन्तले यहाँ परिवारलाई फोन गरेर कन्भिन्स पनि गरिरहेका छन्।”

रास्वपाका नेताहरूले ओली सरकारमा रहँदा भएका भ्रष्टाचार काण्डबारे पनि प्रचार गरिरहेका छन्। रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक अब उम्मेदवार नै घरदैलोमा निस्कने उल्लेख गर्दै भन्छन्, “२९ वटै वडामा गएर मतदातासँग घरदैलो हुन्छ। मुलुकमा भएको राजनीतिक परिवर्तनले जुन हिसाबमा कोर्स अगाडि बढेको छ त्यसलाई नागरिकले स्वीकारेका छन्। मतदाता त्यो भन्दा बाहिर जान्छन् भन्ने लाग्दैन।”

ओली पनि आफ्नो निर्वाचन क्षेत्रका २९ वटै वडामा पुगेर घरदैलो गर्ने तयारीमा छन्। यसअघिका निर्वाचनमा देशभर हुने चुनावी सभालाई सम्बोधन गर्दै हिँडेका ओलीले यसपालि धेरै समय आफ्नै निर्वाचन क्षेत्रमा दिने झापाका एक एमाले नेता बताउँछन्। “पार्टीभित्र केही असन्तुष्टि पनि छ। केही महिनाअघि भएको महाधिवेशनका क्रममा पनि कतिपय नेता असन्तुष्ट छन्,” उनले भने, “अध्यक्षले ती सबै असन्तुष्टसँग भेटेर छलफल गर्नेगरी काम गर्नुहुन्छ।”

गत शुक्रबार गौरादह नगरपालिकामा भएको एक कार्यक्रममा ओलीले दोब्बर मतान्तरमा जित्नेगरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए। “हामीसँग आत्मविश्वास र दृढता छ। योजनाबद्ध हिसाबले चुनाव लड्छौँ। देश बनाउने हाम्रो अभियान अहिले रोकिएको छ, त्यसलाई निरन्तरता दिनुपर्ने छ,” ओलीले भनेका थिए, “विपक्षीले भ्रम सिर्जना गर्ने काम गरिरहेका छन्। हामीले कम्तिमा पनि डबल भोटले त जित्नुपर्यो नि।”

२०७९ को निर्वाचनमा एमालेले राप्रपासँग झापा–५ र ३ मा चुनावी तालमेल गरेको थियो। यसपटक औपचारिक तालमेल नभए पनि ओलीले राप्रपा दमकका नेता एवम् दमक नगरपालिकाका मेयर राम थापासँग भेटेर सहयोगको आग्रह गरेको एमालेका एक नेता बताउँछन्। “मेयरसाबलाई अध्यक्षले आग्रह गर्नुभएको हो, अब थप छलफल पनि होला,” उनले भने। 
ओली मनोनयन दर्ता गर्नुअघि जेन–जी आन्दोलनका क्रममा दमकमा जलाइएको मेयर थापाको घर अवलोकन गर्न पुगेका थिए। झापा–५ मा थापाको बलियो प्रभाव छ।

एमाले झापाका सचिव तुलसी कार्की अहिले निर्वाचन तयारीका क्रममा आन्तरिक बैठक र छलफलहरू चलिरहेको बताउँछन्। “पार्टीका विभिन्न कमिटीका बैठक, भेलालगायत कार्यक्रम गरिरहेका छौँ। घरदैलो केही समयपछि शुरू हुन्छ,” उनले भने, “यहाँ हाम्रो कोही प्रतिस्पर्धी छैन। सहजै चुनाव जित्छौँ। त्यसै हिसाबले तयारी गरिरहेका छौँ।”

निर्वाचन आयोगका अनुसार एक लाख ६३ हजार ३७९ मतदाता रहेको यो क्षेत्रमा ६१ मतदानस्थलमा १८५ मतदान केन्द्र तोकिएका छन्। यो निर्वाचन क्षेत्र अन्तर्गत् दमक नगरपालिकाका १० वटै वडा, कमल गाउँपालिकाका ७ वटै वडा, गौरीगञ्जका १,२,३ र ४ तथा गौरादह नगरपालिकाको ९ नम्बर वडाबाहेकका बाँकी ८ वडा पर्छन्। झापा–५ मा दलका १५ र स्वतन्त्र ९ समेत २४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओली निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी अर्थात्  ५२ हजार ३१९ मतसहित निर्वाचित हुँदा समानुपातिकतर्फ एमालेले ३५ हजार ८७२ मत प्राप्त गरेको थियो। समानुपातिकमा दोस्रो धेरै मत १८ हजार २०५ रास्वपाले प्राप्त गरेको थियो।