ओली अभिव्यक्तिः मधेशद्वेषको निरन्तरता

ओलीले प्रतिस्पर्धी शाहलाई कमजोर तुल्याउन धनुषा र महोत्तरीमा गुइँठा बाल्ने चलनमाथि वितृष्णा पोखे। शाहको पुर्ख्यौली घर महोत्तरी हो। तर ओलीले फरक समुदायप्रति पहिलोपटक नकारात्मक टिप्पणी गरेका होइनन्।

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि कान्तिपुर टेलिभिजनको युट्युब च्यानलबाट प्रसारित अन्तर्वार्तामा झापाको खुबै गुणगान गाए। झापा ‘एड्भान्स’, सफासुग्घर भएको ओलीको दाबी थियो। उनले भनेका थिए, “दमक सफा नगरहरू मध्येमा पर्छ। व्यवस्थित नगरहरू मध्ये पर्छ। यो महोत्तरी, धनुषाजस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एड्भान्स, सफासुग्घर, बेग्लै छ। उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा उहाँले गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, थाहा छैन। यो ठाउँ त धेरै एड्भान्स छ नि!”

चुनाव नजिकिँदै जाँदा प्रचार गर्ने उम्मेदवारका विभिन्न रणनीति हुन्छन्। कतिपयले आफूले गरेका कामको प्रचार गर्छन्, कतिपयले विपक्षीको आलोचना गर्छन्। ओलीले ‘उहाँ त्यो कल्चरबाट आएको मान्छे’ भनेर बालेन शाहलाई लक्षित गरेका थिए। फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ओली र शाह दुवै झापा–५ बाट उम्मेदवार बनेका छन्।

पूर्वप्रधानमन्त्री ओली र काठमाडौँ महानगरका पूर्वप्रमुख शाहमध्ये एकजना प्रतिनिधिसभामा नआउने निश्चित छ। दुवैजना नआउने सम्भावना पनि हुन्छ। दुवैजना ‘भावी प्रधानमन्त्री’का रूपमा प्रचारित छन्। ओलीलाई एमालेले र शाहलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन्। 

ओलीले प्रतिस्पर्धी शाहलाई कमजोर तुल्याउन धनुषा र महोत्तरीमा गुइँठा बाल्ने चलनमाथि वितृष्णा पोखे। किनभने, शाहको पुर्ख्यौली घर महोत्तरी हो। उनले आफू लामो समय बसेको र सात निर्वाचनमध्ये ६ वटामा विजयी बनेको झापालाई ‘सुन्दर क्षेत्र’ देखाउन धनुषा र महोत्तरीलाई ‘पिछडा’ देखाएका छन्। 

मधेशका गाउँमा दाउरा वा गुइँठा बाल्नु सामान्य हो। खाना बनाउन होस् वा पानी तताउन, गुइँठाकै आगो बालिन्छ। ओलीले यही संस्कृतिमाथि कटाक्ष गरेका हुन्।

ओलीको अभिव्यक्ति एउटा खास समुदायलाई होच्याउने किसिमको रहेको भन्दै यतिबेला सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। देशको प्रधानमन्त्री भइसकेका व्यक्ति र एउटा ठूलो दलका अध्यक्षले मधेशमाथि यस्ता अभिव्यक्ति दिनुलाई धेरैले आपत्तिजनक मानेका छन्।

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले एक्समा ओलीको भाषाप्रति कटाक्ष गरेकी छन्। “नेकपा एमालेका अध्यक्ष मधेशी र मधेशीलाई घोचपेच, होच्याउने र घृणापूर्ण अभिव्यक्ति दिन खप्पिस छन्। देशको प्रधानमन्त्री रहिसकेको व्यक्तिको भाषा, कहिले गुइँठा बाल्ने, गुइँठा नबाले के बाल्ने? नागरिकको अधिकार दिन सकेनौ, जनतालाई थाहा छ।”

ओलीले फरक क्षेत्र र समुदायका मानिसमाथि कटाक्ष गरेको यो पहिलोपटक होइन। २०७२ असोज ३ गते संविधान जारी भएपछि मधेश केन्द्रित दलहरूले संशोधनको माग राख्दै आन्दोलन तीव्र पारेको बेला पनि ओलीले फरक समुदायलाई होच्याउने र अपमान गर्ने भाषा पटकपटक प्रयोग गरेका थिए।

संविधानमा समेटिएका विषय र यसको निर्माण प्रक्रियामा मधेश केन्द्रित दलहरूको असन्तुष्टि थियो। सोही दिन पर्सालगायत मधेशका कतिपय ठाउँमा आन्दोलनसमेत भयो। केही मानिसले ज्यान नै गुमाए। त्यसको विरोधमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म हुलाकी राजमार्गमा मानव साङ्लो बनाइयो। तर मधेशी समुदायले गरेको आन्दोलनलाई ओलीले ‘माखे साङ्लो’को ट्याग लगाइदिए।

यस्तै अभिव्यक्तिका कारण त्यतिबेला ओली लामो समयसम्म एमालेको कार्यक्रम लिएर मधेश जान सकेनन्। मधेशका कतिपय ठाउँमा ‘ओली निषेधित क्षेत्र’ भनेर राखिएका ब्यानरको तस्वीर सामाजिक सञ्जालमा देखिन्थे। उनलाई ‘मधेश विरोधी’को आरोप लाग्यो।

संविधान निर्माणअघि पनि एकपटक मधेशी मोर्चासँग बालुवाटारमा भएको छलफलमा ओलीले यस्तै तिक्ततापूर्ण अभिव्यक्ति दिएका थिए। कतिपय मधेश केन्द्रित दलले सिङ्गो मधेशलाई एक प्रदेश बनाउनुपर्ने माग राखिरहेका थिए। त्यसबेला ओलीले ‘समथर भूभाग जति सबै मधेश प्रदेश बनाउने हो भने यूपी, विहार पनि समथर छ, त्यो पनि चाहियो?’ भन्दै कटाक्ष गरेका थिए।

लेखकसमेत रहेका प्रा. बालकृष्ण माबुहाङ राजनीतिक दलका नेताहरूले ‘डिभाइड एन्ड रूल’को दर्शन बोक्न नहुने बताउँछन्। बरु, विविधतापूर्ण र विभाजित समुदायलाई एकीकृत गर्ने सोच राख्नुपर्ने उनको भनाइ छ। ओलीले तीनवटा जिल्लाको तुलना गर्नु नश्लीय सोच भएको उनको विश्लेषण छ। 

“ओलीले झापालाई सुन्दर र सभ्य भने। धनुषा र महोत्तरीलाई खत्तम रूपमा प्रस्तुत गरे। एउटा राजनीतिक नेताले एउटा समुदाय राम्रो र अर्को समुदाय नराम्रो भन्नु हुँदैन,” प्रा. माबुहाङले उकालोसँग भने, “एउटा समुदाय गएगुज्रेको र अर्को समुदाय एकदम आदर्श मान्नुहुँदैन। त्यो रेसिस्ट सोच हो, फासिस्ट सोच हो।”

एक समुदायलाई खसाल्ने र अर्कोलाई देवत्वकरण गर्न नहुने माबुहाङ बताउँछन्। “हामीमा विविधता छ, विसंगति पनि छ। तर राष्ट्रिय राजनीतिमा सम्भावित प्रधानमन्त्रीको उम्मेदवारले बोल्दा कसैलाई खसाल्ने, तुच्छ वचन लगाउने र कसैलाई देवत्वकरण गर्ने गर्नु हुँदैन।”

राजनीतिक विश्लेषक चन्द्रकिशोर उम्मेदवारहरू निर्वाचन क्षेत्रमुखी मात्र भएको बताउँछन्। एउटा क्षेत्रको बचाउ गर्दैगर्दा अर्को क्षेत्रको संवेदशीलता भुल्न नहुने उनको भनाइ छ। “नेताहरू समुदाय केन्द्रित भए। जुन निर्वाचन क्षेत्रमा उम्मेदवार भए, त्यही क्षेत्रमुखी भए,” उनी भन्छन्, “उहाँले (ओलीले) पनि आफ्नो क्षेत्रको बचाउ गर्दा अर्को क्षेत्र वा भूगोलको संवेनदशीलता बिर्सिनुभएन। यो कमजोरी अन्य ठाउँमा पनि देखिन्छ।”

दलका नेताहरूले एकअर्को समुदाय, भूगोल, भाषा र संस्कृतिको संवेदनशीलता जस्ता आधारभूत विषय पनि बुझ्न नसकेको चन्द्रकिशोरको विश्लेषण छ। उनी भन्छन्, “यति लामो लोकतान्त्रिक अभ्यास हुँदा पनि अरूको सामान्य कुरा पनि बुझ्न र बुझाउन सकेनौँ। गणतन्त्रमा देश जोड्ने शक्ति भनेको राजनीतिक दल हुन्। ती दलमा यसबारे बुझाइ नै भएन।”