‘ऊ गर्नै लागेथेँ, सरकार ढालिहाले’

अधिकाश नेताहरू पछिल्ला ३० वर्षयताका परीक्षामा लगातार फेल भएर पनि कक्षा चढाइएका विद्यार्थी मात्रै हुन्। ओली, देउवा वा दाहालहरू कक्षा टपर होइनन्, कक्षा चढुवा मात्रै हुन्।

काठमाडौँ– 
तिम्रो तारा–जून रोजेँछु हिजो,
आज माफी दिनु झुक्किएँ हिजो
मेरो दुःखी मन सपना नखोज 
बिउँझेर बाँच्नु मुस्किल छ, मुस्किल।

कवि वैरागी काइँलाको उपरोक्त शब्द–भावलाई समातेर संगीत/गायनमा अम्बर गुरुङ र शान्ति ठटालले उधुमकै सिर्जना पस्किएका छन्— मेरो दुःखी मन।

आसन्न निर्वाचनको मुखैमा प्रेममयी अम्बर गीतको सम्झना हुन्छ जब हाम्रा नेताहरू गाउँघरमा बढो निरीह र उदासीन चेहरा लिएर फेरि पनि चर्को सपनाको बात गर्दै–गराउँदै हिँडिरहेका छन्। कार्यकर्ता वा धुपौरेको ससानो जत्थादेखि ५/७ गाडीको लस्करसम्म लिएर गाउँ पसिरहेका यी नेतागण उस्तै ‘कर्मकाण्डी’ बनेका छन्— म बाटो बनाउँछु, म अस्पताल र दबाइखाना बनाउँछु। म भत्ता बढाउँछु, म यही बस्तीमा घर बनाएर बस्छु वा सबै छोराछोरीलाई निःशुल्क शिक्षा दिन्छु अथवा यस्तै केही। 

म अबको पालोमा धनीपुर्जा दिन्छु, हातहातमा लालपुर्जा दिन्छु। हुलाकी सडकको टुक्राटुक्री खण्ड र पुल बनाउँछु। एशियन हाइवे मैले ल्याएको हो, चतरा–भोजपुर पानीजहाज चलाएकै छु, जनकपुरमा रेल ल्याएकै हुँ। हो, घरघरमा ग्याँस आउँछ नै! कथम् मैले जितेमा र मेरो सरकार बनेमा ६ महिनामा घरको भान्सामा ग्याँस खिटिक्क! उनै कर्मकाण्डी नेतागणका अघिपछि सनातनी कार्यकर्ताहरू छँदै छन्, केही सञ्चारकर्मीसहित— उस्तै भावभंगिमामा गर्दैछन्– जसोजसो बाहुन बाजे, उसैउसै स्वाहा!

नेतागणझैँ सञ्चारकर्मी पनि कोही डिपुचोकमा उभिएर भक्का खाँदैछन्। कोही टुकुरे सुकुमवासी बस्ती त कोही औद्योगिक पार्कबाट लखेटिएकाको बस्ती लभडाँडामा छिरेर कर्मकाण्ड गर्दै हिँडिरहेका छन्। आकस्मिक रूपमा आइगएको चुनावमा पहिलो पटक गाउँघर छिरेरै जन साधारणका घर–आँगन चहार्दै हिँडिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कतै सुकुमवासी बस्तीको प्रश्न खेप्दै छन्— खोइ त पुर्जा ? (जवाफ यस्तो छ— पुर्जा दिनै लागेका थियौँ, सरकार ढालिहालियो।)

कतै मिर्गौला फेर्न नसकिरहेको बिरामीका सामु गएर ओली भनिरहेछन्, “किड्नी फेरिहाल्नुस्, तत्कालै मजस्तै हट्टाकट्टा भइहाल्नुहुन्छ।” (किड्नी दाता, उपाय र आर्थिक जोहोको कुरा अहिले छाडिदिऊँ!)

फेरि अलिक अगाडी बढेर ओलीको बोली सुनिन्छ, “गुइँठा भनेको गुइँठै हो। अब गुइँठा छाड्नुपर्छ, खरको छानोबाट निस्कनुपर्छ।”

अनि गुइँठा संस्कृति (बाध्यता) लाई खेदो गर्दै दैलेखको ग्यासबारे प्रवचन शुरू हुन्छ। व्याख्याले मात्रै पुग्दैन, माघ २२ अपराह्नमा स्वयं ओलीकै आधिकारिक फेसबुक पेजमा देखिन्छ, ‘दैलेखमा ग्यास उत्खनन गर्‍यौँ, अब घरघरमा पुर्‍याउँछौँ। सरकारमा हुँदा हामीले दैलेखमा ग्यासको सम्भाव्यता अध्ययन गर्‍यौँ र, उत्खनन गर्ने काम अघि बढायौँ। हामी सरकारमा हुँदा नै गत वर्ष १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको पुष्टि भयो। त्यसको नमूना परीक्षण सफल भएपछि हामीले गत मंसिरमै व्यावसायिक उत्पादनको योजनासहित काम अघि बढाएका थियौँ। तर, भदौमा नै हामी सरकारबाट बाहिरिएपछि त्यसको काम अघि बढ्न सकेन।”

यो पनि: आफ्नै सपनाले दपेट्दै छ ओलीलाई

पूर्वप्रम ओलीको हकदाबी निस्किएको २४ घन्टालगत्तै टेकपानाले तथ्य पहिचान गरेर भन्यो, “दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको केपी ओलीको दाबी भ्रामक।” खासमा ग्याँस प्राप्तिको अनुमान ८० अर्ब ७० करोड घनमिटर मात्रै रहेछ। यसरी हाकाहाकी ३२ अर्ब घनमिटर बराबरको तथ्य–तथ्यांक उलटपुट पारेर बोलिरहेको बेला यो प्रारम्भको हिसाबकिताबमा अब ‘६ महिनाभित्रमा भान्सा–भान्सामा खिटिक्क ग्यास’को थेगो पनि दोहोरिएकै छ। आसपासमा रहेका कर्मकाण्डी कार्यकर्तामा कोही कसैको आँट छैन, ‘लौ न। यो तथ्य गलत हो’ भन्नका निम्ति। ताली मात्रै चर्कोचर्को सुनिएको छ। ठ्याक्कै— निरो बाँसुरी बजाइरहेछन् झल्को आइहाल्छ। 

देशभरकै चुनावको मैदान र क्षेत्र झापा–५ मात्रै हो कि झैँ गरेर कुदाकुद चलिरहेका बेला दमक औद्योगिक क्षेत्रको सरोकार पनि सामुमा आइहाल्छ जहाँ एक हजार २०० बिघाभन्दा बढी जग्गा ओगटेर राखिएको छ— ‘चीन–नेपालमैत्री औद्योगिक पार्क’को नाममा। २०७७ सालमै उद्घाटन भैसकेको ६५ अर्ब रुपैयाँको योजनामा धेरैढिला गरी थाहा भयो— न यो बृहत् योजनामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वअध्यन गर्नै पाएको थियो, न सहमति नै आएको थियो। तर, ओलीको एकल निर्णय र हठमा औद्योगिक पार्क शिलान्यास भएरै छाड्यो।

त्यसपछिका कामकारबाही र भूराजनीति तथा रणनीतिका छिर्काहरू अहिलेसम्म दमक–गौरादह–कमल नगर/गाउँ आसपासमा देखिएकै छ राम्रैसँग। चिनिया लगानी भएका विद्युत् परियोजनाबाट बनेको बिजुलीसमेत नकिन्ने भारतले गौरादह–गौरीगन्ज सीमावर्ती (आफ्नो दशगजा पर्तिर) बन्न लागेको चिनिया लगानीको औद्योगिक क्षेत्रमा कस्तो ‘राजनीति’ (रणनीति) दर्साइरहेको होला, स्वयं यसका जन्मदाता नेता ओलीलाई बढी थाहा होला, हुनुपर्छ।

अलिक वर्तिरको झन्डै २ अर्ब रुपैयाँ खर्चेर बनाइएको दमक भ्यु–टावरका फेदमा उभिएर आज एमाले घरफिर्तीका कार्यकर्ता रामकुमारी झाँक्री र अब्दुस मियाँले ‘बखान’ सुनाउनुपरेको छ, अवस्था यो छ। “भदौ २४ मा किन ढुंगामुढा भयो भ्यु टावरमाथि?” भन्दै बलबुताले भ्याएसम्मको चर्को आवाजमा प्रश्न गर्न झाँक्री आज दापागाछी पुगेकी छन्। 

पर्तिर टुकुरे सुकुमवासी बस्तीमा उभिएका ओलीलाई सर्वसाधारणले प्रश्न गरिरहेकै छन्– भ्यु टावर किन बनाइएको थियो? यसले कतिलाई रोजगारी दियो? यसको सञ्चालनको कार्यविधि कहाँ छ? के, किन कसरी? 

कस्तो अचम्म छ भने हिजोसम्म आफ्ना ‘वारेस’ राखेर चुनावमा गए पनि सजिलै बहुमत ल्याउने उनै ओली बल्ल जनता जनार्दनका घरघरमा पुग्न थालेका छन्। दयनीय अवस्था के भने जनसाधारणले दनादन प्रश्न गर्न थालेका छन्— हिजो सपना मात्रै किन देखायौ? खोइ पुर्जा? खोइ ग्याँस? खोइ चुच्चे रेल? खोइ पानीजहाज? भोलीको कुरा नगर, हिजोको मात्रै हिसाब मिलाऊ।  

भोली होइन, हिजोको प्रश्न
चुनाव मुखेन्जी र ठूला राजनीतिक घटनाक्रमका अघिपछि चर्का राष्ट्रवादको नारा ल्याउने राजनीतिक दलको कित्तामा सबैभन्दा बढी कम्युनिस्ट पार्टीहरू थिए, छन् पनि। विशेषतः छिमेकीको खेल र बाहिरी शक्तिको हातलाई बाधा–बाधक देखाउने अझै पनि छँदै छन्। घरभित्रै देखिएको अहम् र घमन्डको पारोमा यो राष्ट्रवाद पनि अब हलुका भैसकेको छ। नेपालको राजनीतिक र भौगोलिक नक्सालाई बिस्तार गरेको ठूलो जस ओलीलाई जाने गरेको छ, यो हो पनि। तर, राजनीतिक विश्लेषक केशव दाहालले भनेझैँ ‘त्यो चुच्चे नक्साभित्रका जनताको हरिहालत आज के होला? के तिनले भोट खसाल्न पाउँछन्?’ भन्ने विवेकसम्म पनि कहीँकतै पलाएको देखिन्न। जस्तो, यही असमन्जस र पीडाका माझ दार्चुलाको नौगाड गाउँका बासिन्दाले योपाला ‘नो भोट’मा जाने निधो गरिसकेका छन्।

आफ्ना हिजोका अनेक सस्ता सपना र कर्तुतका बृतान्त भुलेर आज फेरि पुरानै सत्ता शक्तिको आवाज बौरिन थालेको हो कि झैँ लाग्न थालेको छ। यहाँ केहीकोही बिहारको चुनावी नतिजा सम्झेर खुशी भइरहेका छन् भने ‘बांग्लादेशमा उल्टिएको सत्ता–शक्ति र जनमत देखिहाल्नुभो होला’ भन्दै आफैमा मदमस्त बनिरहेका छन्। यथार्थ के हो भने झापा–५ कै उदाहरण दिँदा एउटा ओली, अर्को बालेन्द्र शाह वा मन्धरा चिमोरिया बीचको लडाइँ यो हुँदै होइन। बरु अलपत्र सपनाहरूको हिसाब किताबसँगै नचाहिँदो घमन्ड–भ्रमको तुसारापात जनजनले पर्खिरहेको भान हुन्छ— झापा माइवारी वा पारी टहल्दा मात्रै पनि। अझ माइपारी त बिर्तामोड टेक्नासाथै गिरीबन्धुको ५१ बिघा क्षेत्रलाई ‘रेडजोन’ बनाएर बसिरहेका छन्, स्थानीय। पर्तिर ३४४ बिघा गिरीबन्धु चिया बगानमा रचिएको खेलकुद त इतिहासकै भयावह ‘नीतिगत अपचलन’ भनेर चिनिएकै छ।  

यो पनि: यथार्थमा गिरीबन्धु ‘हात्ती’ हो, ललितानिवास ‘छावा’ : पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा

यसबेला बालेन, हर्क साम्पाङ (सुनसरी–१), कुलमान घिसिङ (काठमाडौँ–३) वा निशा अधिकारी (काठमाडौँ–५), नरेश लावती (झापा–१) वा आशिष शर्मा (कपिलवस्तु–१)का नयाँ नाम तत्कालै (अहिल्यै) शतप्रतिशत पूर्णांकका नाम होइनन्। तर, यसअघि रहे भएकाहरू अधिकांश प्रत्याशी ‘पत्रु’ निस्किएकाले र ‘सधैँसधैँ बिपना होइन, सपनाकै मात्रै कुरा गर्ने’ भएकाले ‘बाध्यकारी विकल्प’ खोज्नुपर्ने भएको हो। यत्ति हो— यसअघिका नेतागण पछिल्ला ३० वर्षयताका परीक्षामा लगातार फेल भएर पनि कक्षा चढाइएका विद्यार्थी मात्रै हुन्। ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालहरू ‘कक्षा टपर’ होइनन्, ‘कक्षा चढुवा’ मात्रै हुन्। 

कहिले वर्षौंवर्ष जेल बसेको अनुभव साटेर अथवा कहिले त्यागी, गान्धीवादी र कञ्चन छायाछविका हिमायती भनाएरै ‘विशिष्ट र वरिष्ठ’ मानिएका नेताले सधैँसधैँ साँवाब्याज असुल्ने काम मात्रै गरिरहे। आज समयक्रम कति बदलिसक्यो, तर विकास र प्रगतिको रफ्तारका सामु सधैँ सुकुमवासी र गरिबी निवारणका नाममा परिचयपत्र बाँडेरै राजनीति गरिरहनेहरू यसकारण आज पुराना देखिएका हुन्। पुराना नेतागणले गोठमा ल्याएर मुर्रा राँगो र सानन बाख्रा (स्वीस जात) त बाँधिदिएका छन् तर, न पराल–कुन्यु छ, न दानापानी। यी राँगो वा बाख्राको बिउ फैलाउने कुरा त छाडिदिऊँ, मुर्रा—साननले दाम्लोमै प्राण त्यागेको कथा पनि हामीसामु छँदै छ। 

यसकारण ओली–दाहाल–देउवा (प्रवृत्ति)ले अब हिजोको कुरामा स्पष्टीकरण मात्रै दिए हुन्छ। भोलीको कुरा नगर्दा नै बेस हुन्छ। जति जे गरे पनि भदौ २३ गते नआईकन २४ गते आएको थिएन। आज झाँक्री वा मियाँलाई दमक भ्यु–टावरको फेदीमा उभ्याएर ‘यो टावरमा कि ढुंगा हान्यौ?’ भनेर श्रव्यदृष्य देखाइरहनुभन्दा के, कुन ध्याउन्न र योजनामा भ्यु–टावर ठडिएको थियो भन्ने प्रस्टोक्ति दिन सक्नु सबैभन्दा गतिलो आधार बन्न सक्नेछ। ख्याल राखौँ, राष्ट्रवाद र सपनाको तिख्खर ‘एक्सप्रेसो स्वाद’ अब खल्लो भइसकेको छ। अहिले जुन अधिक चर्चामा छ, शब्दावली— अल्गोदरिजम। सपनाको अति भार र तिर्सना पनि प्रकारान्तरले अल्गोदरिजम हो किझैँ भान पर्न थालेको छ।  

मौका परीक्षा पनि दिइएको हो, बारम्बार। अब भने बाध्यता र परिबन्दमाझ पुराना पुस्ताका नेताहरूलाई भन्नैपर्ने भयो, ‘तिम्रो सपना तिमीसँगै राख।’ कम्तीमा अब भने पुराना र पाका, जेलनेल परेका र पटकपटक मन्त्री–प्रधानमन्त्री बनिसकेका नेतागणले भन्न छाडिदिउन्— ऊ गर्नै लागेथेँ, सरकार ढाली त हाले!