एसिड आक्रमणपीडित रास्वपा नेता विन्दवासिनी: जेन–जी आन्दोलनमा जेलबाट भागेका आक्रमणकारी फेरि धम्क्याउँदै
जेलबाट भागेर भारत पुगेका आक्रमणकारीले ‘मनोज मण्डल’ नामको फेसबुक खाता प्रयोग गरी विन्दवासिनीलाई धम्कीपूर्ण सन्देश पठाउने गरेका छन्। यस विषयमा उनले असोजमै उजुरी दिए पनि ठोस कारबाही हुन सकेको छैन।
काठमाडौँ– गत मंसिर १७ गते लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालयमा एक जना महिलाको अनुहारमा देखिएको चिन्ताले धेरै कुरा बोलिरहेको थियो। उनी थिइन्– एसिड आक्रमणबाट बाँच्न सफल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य एवं पूर्वसांसद विन्दवासिनी कंसाकार।
कोठाभित्र सीआईबीका उच्च अधिकारी र भारतस्थित नेपाली दूतावासमा खटिएका नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लबीच छलफल चलिरहेको थियो। छलफल जेन–जी आन्दोलनको मौका पारेर जेलबाट भागेर भारत पुगेका एसिड आक्रमणकारी दिलीपराज केसरीको विषयमा थियो। जसले फेरि पीडितलाई नै तारो बनाइरहेका थिए।
जेलबाट कसरी भागे केसरी?
विन्दवासिनीमाथि २०७० वैशाख ९ गते हेटौँडामा भारतीय नागरिक दिलीपराज केसरीले एसिड प्रहार गरेका थिए। वर्षौंको शारीरिक पीडा र लामो कानूनी संघर्षपछि २०७६ सालमा मकवानपुर जिल्ला अदालतले केसरीलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सुनायो। २०८१ चैत २६ गते केसरीलाई काठमाडौँस्थित केन्द्रीय कारागार सुन्धारामा सरुवा गरिएको थियो। कारागारमा रहँदा पनि केसरीले अर्को कुनै व्यक्तिको माध्यमबाट विन्दवासिनीलाई धम्की दिने गरेका थिए, तर उनी जेलभित्रै भएकाले विन्दवासिनीले केही सुरक्षित महसुस गरेकी थिइन्।
तर, न्यायको त्यो भरोसा धेरै समय टिकेन। गत भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने माग राख्दै जेन–जी युवा सडकमा उत्रिए। भदौ २४ गते आन्दोलनले उग्र रूप लिँदा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगजनी भए। सोही दिन भएको अराजकताको फाइदा उठाउँदै दिलीपराज केसरी फरार हुन सफल भए।
सीआईबीका प्रवक्ता शिवराज श्रेष्ठले यो तथ्यलाई पुष्टि गर्दै भनेका छन्, “उहाँ (कंसाकार) लाई एसिड आक्रमण गर्ने व्यक्ति जेन–जी आन्दोलनका बेला जेलबाट भागेका रहेछन्। अहिले भारत पुगेर अनलाइन दुर्व्यवहार गरिरहेको गुनासो प्राप्त भएको छ। साइबर ब्युरो र इन्टरपोलमा उजुरी दर्ता गरिसकेको अवस्था छ, सीआईबीले यसमा आवश्यक समन्वय गरिरहेको छ।”
डिजिटल मुकुन्डो र सीमापारिको धम्की
जेलबाट भागेर भारत पुगेका केसरीले त्यहाँबाट अपराधको अर्को शृंखला शुरू गरेका छन्। उनले ‘मनोज मण्डल’ नामको फेसबुक खाता प्रयोग गरी विन्दवासिनीलाई निरन्तर अश्लील, अपमानजनक र ज्यान लिने धम्कीपूर्ण सन्देश पठाइरहेका छन्। केसरीले १२ वर्षअघि पसलमा बसिरहेकी विन्दवासिनीमाथि भौतिक रूपमा एसिड खन्याएका थिए। अहिले उनले प्रविधिको प्रयोग गरी ‘डिजिटल एसिड’ खन्याइरहेका छन्।
पीडित विन्दवासिनीले गत असोज १३ गते साइबर ब्युरोमा दिएको उजुरीमा आफू अहिले आफ्नै पसलमा बस्न र परिवारको सुरक्षालाई लिएर त्रसित रहेको उल्लेख गरेकी छन्। उनले उक्त खाताको ‘डिजिटल ट्रेसिङ’ गरी अपराधीलाई कानूनी कठघरामा ल्याउन माग गरेकी छन्। तर, उजुरी दिएको महिनौँ बित्दा पनि ठोस कारबाही हुन सकेको छैन।
साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले यसमा अन्तर्देशीय कानूनी जटिलता रहेको संकेत गरे। उनी भन्छन्, “नेपालबाट भागेर भारतबाट यस्तो गतिविधि भइरहेको हो भने प्राविधिक र कूटनीतिक प्रक्रिया निकै लामो र जटिल छ। इन्टरपोल प्रक्रिया अघि बढे पनि अपराधीलाई समातेर ल्याउन प्रशासनिक कसरत निकै चाहिन्छ।”
परराष्ट्रको ढोका र पूर्वसांसदको पुकार
प्रहरीका विभिन्न निकाय धाउँदा पनि न्याय नपाएपछि अहिले विन्दवासिनी परराष्ट्र मन्त्रालयको ढोका ढकढक्याउन पुगेकी छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, उनले शुक्रबार निवेदन दर्ता गराएकी छन्। जसमा उनले लेखेकी छन्, “यो निरन्तरको उत्पीडनले उक्त व्यक्ति अझै पनि खुला रहेको र मेरा लागि मात्र नभई, उसको विगतको चरम हिंसात्मक गतिविधिलाई हेर्दा भारतका महिला तथा बालिकाहरूको सुरक्षाका लागिसमेत खतरा रहेको छ।”
केसरीलाई पत्ता लगाउन, पक्राउ गर्न र दुवै देशका महिलाको सुरक्षा सुनिश्चित गर्न भारत सरकारसँग समन्वय गरिदिन परराष्ट्र मन्त्रालयसँग उनले अनुरोध गरेकी छन्। विन्दवासिनी निकट रास्वपाका एक केन्द्रीय सदस्य यस विषयलाई गम्भीरतासाथ उठाएको बताउँछन्। उनी भन्छन्, “एउटी महिलाले एकपटक एसिडको जलन सहिन्, अर्को पटक वर्षौं लामो कानूनी लडाइँ लडिन्। तर, आज जब राज्यको नीति निर्माण गर्ने तहसम्म पुगिन् र एउटा स्थापित पार्टीको केन्द्रीय जिम्मेवारीमा छिन्, त्यहाँ पनि एउटा फरार अपराधीको छायाबाट मुक्ति पाउन सकेकी छैनन्।”
परराष्ट्र मन्त्रालयका ती अधिकारीका अनुसार जेलबाट अपराधी भाग्नु सुरक्षा संयन्त्रको विफलता हो। “त्यही अपराधीले सीमापारिबाट पुनः पीडितलाई धम्काउनु र राज्यले तत्काल केही गर्न नसक्नुले विन्दवासिनी मात्र होइन, न्यायको आशा गर्ने हरेक नागरिकको आत्मबल कमजोर बनाउन सक्छ,” उनले थपे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
