टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अस्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए।
काठमाडौँ– टोखाबाट यस वर्ष पाँच करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको चाकु बिक्री भएको छ। माघे संक्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ।
टोखाका हाल १८ उद्योगले चाकु, लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी ८ उद्योगले तिलको लड्डु, भुजाको लड्डुलगायतका परिकार बनाउँदै आएका छन्।टोखा नगरपालिका–२ र ३ मा चाकु उत्पादन हुँदै आएको छ। यो टोखाको पुरानो बजारसमेत हो। उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो।
टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत शहरमा पनि बिक्रीका लागि पुर्याउने गरिन्छ। टोखामा उत्पादन हुने चाकुले नेपालको करिब ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ।
टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अस्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए। टोखामा बर्सेनि पाँच लाख किलो चाकु र लड्डु उत्पादन हुँदै आएको छ। नेवारी भाषामा ‘टु’को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती हुने ठाउँका रूपमा चिनिन्छ।
टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन्। टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकु उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोडौँ रुपैयाँ आम्दानी गर्दै आएको बताए। टोखामा कृष्ण चाकु उद्योग, काशीलाल चाकु उद्योग र न्हुछे चाकु एन्ड तिरौला उद्योग ठूला उद्योग हुन्।
कपिलवस्तुको कृष्णनगरस्थित चन्द्रौटामा रहेको यस वन्त गुण उद्योगबाट सख्खर ल्याएर टोखामा चाकु बनाइँदै आएको छ। धेरै पहिले समयमा टोखामा उखु उत्पादन हुने भए पनि बढ्दो सहरीकरणसँगै यहाँको उखुखेती भने मासिएको छ।
यहाँ उत्पादित सादा चाकुको मूल्य प्रतिकिलो १४०, मसला चाकुको मूल्य प्रतिकिलो १५०, सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०, कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए।
“टोखा नगरपालिका–२ गलेमा चाकु स्तम्भका लागि डीपीआर निर्माण भइसकेको छ,” छिट्टै चाकु स्तम्भ निर्माण गर्छौँ,” उनले भने। टोखाले चाकुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बताएको छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ। साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ। चाकु चिसो लागेका बेला पनि खाने चलन छ। चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ। यस्तै माघे संक्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरासमेत खाने प्रचलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
