वित्तीय जानकारी इकाईको प्रतिवेदन: शंकास्पद कारोबारमा ३० प्रतिशतले वृद्धि

वित्तीय जानकारी इकाईले वर्षभरि ८ हजार ५६५ वटा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।

काठमाडौँ– नेपालमा शंकास्पद वित्तीय कारोबारमा ३० प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औँल्याएको छ। राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार गत वर्ष शंकास्पद कारोबारसम्बन्धी विवरण दिने संस्थाहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।

प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंकारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सिएफटी) का सम्बन्धमा इकाईले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण उल्लेख गरेको छ। इकाईमा प्राप्त हुने शंकास्पद कारोबारको प्रतिवेदन र तिनको विश्लेषण एवं प्रेषित तथ्यांक, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी विवरणसँगै आगामी रणनीतिक प्राथमिकतालाई पनि प्रतिवेदनमा समेटिएको छ।

इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरिएको जनाएको छ। त्यस्तै, ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जारी तथा अद्यावधिक गर्ने, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। साथै, इकाईले वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको जनाइएको छ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा गो–एएमएल प्रणालीमार्फत वित्तीय सूचना संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गो–एएमएलमा आबद्ध सूचक संस्थाहरूको संख्या एक हजार ६३८ रहेकामा गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ४८७ पुगेको छ। सोही अवधिमा इकाईले आठ हजार ५६५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ। यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।

त्यस्तै, गत आर्थिक वर्षमा इकाईमा प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत करिब ४० प्रतिशतले वृद्धि भएको छ। विश्लेषणपश्चात् इकाईले ८४५ वटा शंकास्पद कारोबार तथा गतिविधिमा आधारित वित्तीय जानकारी नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा सम्प्रेषण गरेको जनाइएको छ। यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास गरिएको छ।

गत आर्थिक वर्षमा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ। यसबाट सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तर्देशीय अपराध सञ्जाल, साइबर ठगी र नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा हुने सहकार्यलाई थप मजबुत र विस्तार भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, एशिया प्यासिफिक ग्रुपले सन् २०२३ मा गरेको नेपालको पारस्परिक मूल्यांकन (म्युचुअल इभ्यालुएसन)पश्चात् नेपाल ग्रे–लिस्ट सूचीमा परेपछि इकाईमार्फत भएका समन्वयात्मक कार्यलाई समेत प्रतिवेदनमा समेटिएको छ।

वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तर्निकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका सुधारका प्रयासलाई इकाईको आगामी प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरेको छ। इकाईको आगामी कार्यदिशा वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ।