गत असारको बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल चीन सरकारले निर्माण सकिसकेको छ, तर क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मत नसकिँदा पूर्णरूपमा सञ्चालन भएका छैनन्।
काठमाडौँ– सुप्राग्लेसियल तालको बाँध फुटेर गत असार २४ गते आएको बाढीले रसुवास्थित नेपाल र चीनको सीमानामा रहेको मितेरी पुल मात्रै बगाएन, १८ जनाको ज्यानै लियो। भन्सार, चार्जिङ स्टेसन, दूरसञ्चार कार्यालय, गाउँपालिका भवन, सडक संरचनामा क्षति पुग्यो। सबैभन्दा ठूलो भौतिक क्षति चाहिँ जलविद्युत् आयोजनाहरूमा भयो।
बाढीले करिब आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुर्यायो। ती आयोजना अहिलेसम्म पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। बाढीले रसुवागढी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयको प्रतिवेदनअनुसार, रसुवागढीसहित चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’, त्रिशूली ३ ‘बी’ हब स्टेशन र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि क्षति पुग्यो।
रसुवागढी आयोजनामा मात्रै समग्रमा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्यायो। आयोजना बन्द हुँदा दैनिक १ करोड रुपैयाँ बराबरको बिजुली उत्पादन रोकिएको छ। लाङटाङ भोटेकोशी जलविद्युत् आयोजना १ करोड रुपैयाँभन्दा बढी बराबरको क्षति भयो। चिलिमे जलविद्युत् कम्पनीको पनि ८९ लाख रूपैयाँ बराबरको क्षति भयो।
माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–१ आयोजनमा करिब २० करोड रुपैयाँ बराबरको क्षति पुग्यो। यस्तै, त्रिुशली–३ ‘बी’ हब स्टेशनमा ३२ करोड रूपैयाँभन्दा बढीको क्षति पुग्यो। विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्रकै संरचनामा पनि क्षति पुग्यो।
के हुँदैछ रसुवागढीको पुनर्निर्माण?
विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, रसुवागढी जलविद्युत आयोजना मर्मत गरेर आंशिक सञ्चालनमा ल्याइएको छ। १११ मेगावाट क्षमताको यो आयोजनाका तीन टर्वाइनमध्ये हालसम्म दुईवटा मर्मत गरेर चलाइएको छ।
यसको मुहानको ड्याम, नहरलगायत संरचना मर्मत गरेसँगै उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। प्रवक्ता ढकाल भन्छन्, “मुख्य क्षति भएको रसुवागढीको जलविद्युत् आयोजना हो, यसलाई सञ्चालन गरिसक्यौँ। तर बर्खामा कसरी सञ्चालन गर्ने भन्ने छ। स्थायी संरचना बनाउनका लागि तयारी हुँदैछ।”
यस आयोजनाबाट मंसिरबाट ३७ मेगावाट र पुसबाट ३१ मेगावाट उत्पादन गरिएको हो। यसको सफाइ एवम् मर्मत भने अहिलेसम्म सकिएको छैन। आगामी वर्षमा भने पूर्ण क्षमताअनुसार उत्पादन हुने ढकालले जानकारी दिए। बाढीको क्षति सँगै हिउँदमा पानीको प्रहाव कम हुँदा पनि विद्युत् उत्पादन कम भएको उनले बताए।

बाढीले क्षति भएको आयोजनाको भौतिक संरचना पुनर्निर्माण कहिलेसम्ममा भइसक्छ भन्ने यकिन छैन। “रसुवागढीको बाहिरी भौतिक संरचनामा मात्रै झन्डै डेढ अर्ब जतिको क्षति भएको छ। यसको पुनर्निर्माण हुन समय लाग्छ। अहिले डिजाइनहरू बनाउने काम भइरहेको छ,” उनले भने।
सफाइपछि सञ्चालनमा आए अन्य
चिलिमे जलविद्युत् आयोजना सफाइ र मर्मतपछि सञ्चालनमा आएको छ। ढकाल भन्छन्, “चिलिमेको खासै केही समस्या थिएन। त्यसमा लेदोसहितको बाढीले क्षति पु¥याएको थियो। लेदो सफाइ गरेर सञ्चालनमा ल्याइसकियो।”
चिलिमे जलविद्युत् आयोजनामा नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी छ। सर्वसाधरणको समेत लगानी रहेको यो आयोजनाबाट अघिल्लो वर्षको पुसदेखि विद्युत् उत्पादन शुरू भएको थियो।
प्रवक्ता ढकालका अनुसार, त्रिशूली–३ ‘ए’ पनि सञ्चालनमा आइसकेको छ। यस आयोजनाको दुईवटा गेट बगाएको थियो र भित्री संरचनामा क्षति पुगेको थियो। गेट बनाउने प्रक्रियामा रहेको र सरसफाइ गरेर सञ्चालन थालिएको ढकाल बताउँछन्।
त्रिशूली–३ ‘बी’ हब स्टेशन, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना पनि सरसफाइ गरेर सञ्चालनमा ल्याइएको छ। यसबाहेक अन्य संरचनामा धेरै क्षति नपुगेको ढकालको भनाइ छ। हिउँदमा पानीको प्रभाव कम हुँदा सबै आयोजनाबाट विद्युत् उत्पादन कम भइरहेको उनी बताउँछन्।
हाललाई जलविद्युत् आयोजनाहरूको सफाइ गरेर सञ्चालन गरिए पनि भौतिक संरचना मर्मत पनि भइरहेको छ। “मुख्य नाका बन्द हुँदा हामीलाई समस्या भएको थियो। सडक पनि राम्रोसँग सञ्चालन भएको थिएन। निर्माणलगायत सामग्री त्यहीँबाट ल्याउनु पर्ने थियो,” ढकाल भन्छन्, “बल्ल खुल्यो, अब काममा सजिलो होला।”

बाढीकै कारण पाँच महिनादेखि बन्द भएको रसुवा नाका पुस १७ गतेबाट अस्थायी बेलीब्रिज निर्माण भएसँगै सञ्चालनमा आएको छ। बाढीले स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको सडककोे सडक खण्डका विभिन्न १३ स्थानमा कटान गरेको थियो। बाढीले कटान गरेको ठाउँमा दुईतर्फी यातायात सञ्चालन हुन नसक्दा पनि निर्माण सामग्री ल्याउन अप्ठ्यारो भएको थियो।
गल्छी—मैलुङ—स्याफ्रुबेसी—रसुवागढी सडक सुधार आयोजनाका इन्जिनियर कुमारविक्रम पराजुलीका अनुसार, बाढीले मुख्यतः १३ ठाउँमा बाटो भत्किएको थियो। त्यस्ता ठाउँमा भित्तातिर अलिअलि काटेर भए पनि सडक चल्ने बनाइएको छ।
सडकको स्तरोन्नतिको काम चिनियाँ सरकारले नै गरिदिने सम्झौता भएको छ। तर अहिले सडक आउजाउ गर्नलाई सहज भइसकेको पराजुली बताउँछन्। उनले भने, “सडक आवतजावतमा कुनै समस्या छैन। हामीले भत्किएको ठाउँमा मर्मत गरेर सञ्चालनमा तत्कालै ल्याएका हौँ। साघुँरो सडक भएकाले केही ठाउँमा समस्या हुने हो, नत्र ठिकै छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
