भदौ २३ को दृश्यले एउटा पुस्ताको आक्रोश देखायो, भोलिपल्टको दृश्यले त्यस आक्रोशको नियति देखायो। यी दुई दिन केबल क्यालेन्डरका पाना होइनन्— फरक चेतनाका दस्ताबेज हुन्।
नहुनु होइन थाहा नहुनु।
जेनजी विद्रोहका अनेक आधार थिए, तर तिनै कारण भदौ २४ को विध्वंसको अनुमान भने थिएन। भदौ २४ का कार्य, कारण र परिणामलाई बहस नै नहुने विषय बनाइँदै छ अहिले। विमर्शलाई योजनाबद्ध रूपमा किनारामा धकेलिँदै छ। राजनीतिक दलहरू, 'नयाँ शक्ति', मिडिया र बौद्धिक जगत् समेत यस विषयमा प्रवेश गर्न चाहँदैनन्। प्रवेश गरे पनि गम्भीर देखिँदैनन्। नेपाली समाज त्यति ठूलो घटनालाई किन यति छिटै बिर्सँदै छ? कतै त्यस घटनाको प्रायोजकहरू नै 'माइन्ड–मेनेजर' बनेर समाजको संवेदनात्मक क्षमता नै अपहरण गरिरहेका त छैनन्? यस्तो घटनाले दीर्घकालीन रूपमा के असर पार्छ भन्ने बहस त अनिवार्य हुनुपर्ने थियो, तर भएको छैन। जहाँ प्रश्न गर्नु असहज मानिन्छ, त्यहाँ भविष्य मौनतामै लेखिन्छ।
सिंहदरबार जल्दै थियो। त्यहाँ केवल इँटा–ढुंगा होइन, इतिहास भस्म हुँदै थियो। ऐतिहासिक दस्ताबेज र पुरातात्त्विक सामग्री खरानी बनिरहेका थिए। तर विडम्बना, हातमा राष्ट्रिय झन्डा बोकेर अपराध गर्नेहरू देखिए। अपराधको लाइसेन्स बनिरहेको थियो राष्ट्रिय झन्डा।
विवश नागरिक टुलुटुलु हेरिरहेका थिए—सुरक्षाकर्मी बबुरो बनेका देखिन्थे। देशैभर त्यो प्रकोप फैलिएको थियो। आक्रमणकारीको निशानामा नेता मात्रै थिएनन्—इतिहासका स्मृतिमा बाँचेका सालिक पनि परे। बीपी, पुष्पलाल, लखन थापा—यहाँसम्म कि साहित्यकार, चिन्तक र शिक्षकका मूर्तिहरू पनि सुरक्षित रहेनन्। तर संसद्को संख्यात्मक अंक गणितको अहंकारमा डुबेको सरकारलाई केही भइरहेको छ भन्ने अत्तोपत्तो नै भएन, सायद उसले देख्नै चाहेन।
२३ का आन्दोलनकारी—भदौ २४ का को?
त्यो विध्वंस थियो कि क्रान्तिको नाममा गरिएको अपराध? अब ती सबै फच्चे भए? के सबै अमलेख भयो—इतिहास, उत्तरदायित्व र नैतिकता समेत? यदि 'मान्छे बचाउनकै लागि' सुरक्षाकर्मी मौन बस्नुपर्ने हो भने विश्व इतिहासमा सेना, प्रहरी र राज्यसत्ताको काम, कर्तव्य र भूमिका कसरी व्याख्या गरिने छ? आज देखिइरहेका परिणामले के नियतिलाई नाङ्गो पारिसकेका छैनन्? प्रतिक्रियाको शक्ति, त्यसको दिशा र त्यसका प्रायोजकको समीक्षा नगरी गरिने राजनीति अन्ततः कहाँ पुग्छ? त्यस्तो राजनीति परिवर्तन होइन—पतनको दस्ताबेज बन्छ।
२४ ले अर्को कुरा पनि प्रस्ट भयो। अहंकारीहरू टुक्रिन सक्छन्, तर झुक्न सक्दैनन्—न आफ्नै पार्टीभित्रको प्रतिपक्षसँग, न समयसँग, न सामाजिक चेतनासँग, न इतिहाससँग। उनीहरू विश्व इतिहास पढ्दैनन्, किनकि तिनलाई लाग्छ–पुराना र धमिराले चपाएका किताब मात्र हुन् इतिहास। तर इतिहास किताबमा होइन, संस्था, सडक र जनस्मृतिमा लेखिन्छ। देशवासीसँग नझुक्नेहरू अन्ततः समयसँग पनि झुक्दैनन् र समयसँग नझुक्नेहरूलाई इतिहासले निर्दयतापूर्वक कुल्चिन्छ। इतिहास सधैँ तिथि मितिमा बोल्दैन—ऊ घटनामा बोल्छ र अझ बढी प्रतिक्रियामा।
भदौ २३ को दृश्यले एउटा पुस्ताको आक्रोश देखायो, भदौ २४ को दृश्यले त्यस आक्रोशको नियति देखायो। यी दुई दिन केबल क्यालेन्डरका पाना होइनन्—यी दुई फरक चेतनाका दस्ताबेज हुन्।
जेनजी: पुस्तागत आक्रोश र यसको सीमा
जेनजी कुनै संगठित पार्टी होइन, न एउटै विचारधारामा बाँधिएको समूह हो। एउटा उमेर समूह हो यो—जहाँ किशोर, नवयुवा र युवा एकै छातामुनि देखिए पनि उनीहरूको चेतना, जिम्मेवारी र ऐतिहासिक बोध समान हुँदैन।
भदौ २३ को आक्रोश त्यसैको अभिव्यक्ति थियो—त्यहाँ असन्तोष थियो, भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी) प्रतिको वितृष्णा थियो, भविष्य प्रतिको अनिश्चितता थियो। त्यो अपरिपक्व हुन सक्छ, तर स्वाभाविक थियो। तर इतिहासले चेतावनी दिन्छ—आक्रोश आफै क्रान्ति हुँदैन। दिशाहीन आक्रोश अन्ततः कसैको हतियार बन्न सक्छ।
भदौ २४: प्रतिक्रिया कि प्रायोजन?
भदौ २४ मा जे देखियो, त्यो आक्रोशको निरन्तरता थिएन। त्यो प्रतिक्रिया थियो। तर प्रश्न उठ्छ, प्रतिक्रिया कसको? कसका लागि? र, कसको निर्देशनमा? इतिहासमा सबैभन्दा खतरनाक क्षण त्यही हो, जहाँ आक्रोश प्रायोजित हुन्छ र जिम्मेवारी अमूर्त बनाइन्छ।
मञ्चमा देखिएन भदौ २४ को निर्देशक। माइक समाएन, नारा लगाएन। तर भीड कता दौडने हो, केमाथि आक्रमण गर्ने हो, कुन लक्ष्य रोज्ने हो? ती सबै उसले तय गर्थ्यो। ऊ कुनै एक व्यक्ति होइन—ऊ एउटा संरचना हो। ऊ क्रान्तिको नाममा अपराधको व्यवस्थापक हो। ऊ आक्रोश उत्पादन गर्दैन, आक्रोश आपूर्ति गर्छ।
आयोजक त्यो हो, जसले 'स्वतःस्फूर्त' भन्ने कथा तयार गर्छ। प्रायोजक त्यो हो, जसले मौनता किन्छ—कहिलेकाहीँ पैसाले, कहिलेकाहीँ डरले, कहिलेकाहीँ पद र संरक्षणको आश्वासनले। प्रायोजन सधैँ पैसाको हुँदैन। विचार, प्रतिक्रिया र राज्यको कमजोरी पनि प्रायोजनकै रूप हुन्। जब राज्य अलमलिन्छ, प्रायोजकको अवसर बन्न पुग्छ त्यही अलमल।
प्रभावितहरू मौन छन्, किनकि मौनता पनि बाँच्ने एउटा कला हो। जो बोल्छ, ऊ आक्रमणको निसानामा पर्छ। जो मौन बस्छ, ऊ 'परिपक्व' ठहरिन्छ। यस खेलमा सबैभन्दा धेरै लाभ उठाउनेहरू सबैभन्दा कम बोल्छन्।
राज्य, सुरक्षाकर्मी र मौनताको राजनीति
यदि 'मान्छे बचाउनकै लागि' सुरक्षाकर्मी मौन रहने हो भने, राज्यको काम, कर्तव्य र भूमिका कसरी व्याख्या गरिने छ? म्याक्स वेबरले राज्यलाई 'कानुनी रूपमा वैध हिंसाको एकाधिकार” भनेका थिए। यो अधिकार होइन, जिम्मेवारी हो।
तर जब त्यो शक्ति डर, निर्देशन वा प्रायोजनका कारण निष्क्रिय हुन्छ, वैधता आफै कमजोर हुन्छ। जर्मनीमा वाइमर-गणतन्त्र कमजोर भयो—हिट्लर जन्मियो। चिलीमा सेना प्रयोग भयो—अलेन्दे ढले। लोकतन्त्र दशकौँसम्म सैनिक बुटमुनि रह्यो। दुवै अवस्थामा प्रश्न एउटै थियो—राज्य कमजोर हुँदा विवेक कसले धान्छ?
२४ गते देशभर सुरक्षाकर्मी त्यहाँ थिए, तर काममा थिएनन्। किनकि आदेश अस्पष्ट थिएन—सायद धेरै स्पष्ट थियो। 'नदेखेजस्तो गर्नू।' यो आदेश इतिहासमा नयाँ होइन। यसले राज्यलाई होइन, निर्देशकलाई बचाउँछ। आज उनीहरू मौन छन्, भोलि उनीहरू नै इतिहासको कठघरामा उभ्याइनेछन्।
अमलेख हुँदैन इतिहास
के सबै फच्चे भए? के सबै कुरा अमलेख भयो?
इतिहासमा केही पनि अमलेख हुँदैन—न आक्रोश, न मौनता, न प्रायोजित न्याय। ढिलोचाँडो सबै कर्मले आफ्नो भाषा पाउँछ—कहिले अदालतमा, कहिले सडकमा, कहिले स्मृतिमा। आज देखिइरहेका परिणामहरू भोलिको नियतिका संकेत हुन्। प्रतिक्रियाको शक्ति र प्रायोजकको समीक्षा नगरी गरिने राजनीति परिवर्तन होइन, पतनको अभ्यास हो।
भदौ २४ को निर्देशक आफै अदालतमा उभिँदैन। ऊ भीडलाई अगाडि सार्छ, आक्रोशलाई ढाल बनाउँछ, मौनतालाई सुरक्षा कवच। तर इतिहासको अदालतमा ढिलो भए पनि निर्देशकहरू नै दोषी ठहरिन्छन्। किनकि आक्रोश क्षणिक हुन्छ, निर्देशनको हिसाब भने बाँकी रहन्छ।
जेनजीको नाममा उठेको प्रश्न अन्ततः समाजले आफैंलाई सोध्नुपर्ने प्रश्न हो—हामी चेतना निर्माण गर्दैछौं कि आक्रोश व्यवस्थापन मात्र? क्रान्ति सडकमा मात्र हुँदैन—चेतनामा हुन्छ। र, इतिहाससँग संवाद नगरी चेतना जन्मिँदैन। इतिहासले चेतावनी दिइसकेको छ—जब आक्रोशले दर्शनलाई जित्छ, राज्य मात्र होइन, भविष्य पनि जल्छ। भदौ २३ र २४ अब मिति मात्र होइनन्, यी चेतावनी पनि हुन्। यदि बुझ्यौँ भने पाठ, नबुझ्यौं भने नियति।
निर्देशकहरू सधैँ सुरक्षित हुन्छन्। भीड थाक्छ, आक्रोश सेलाउँछ, केस फाइल बन्द हुन्छ। तर इतिहास बन्द हुँदैन। ढिलो भए पनि ऊ सोध्छ—ढुंगा कसले हान्यो होइन, ढुंगा उठाउन सिकाउने को थियो?
इतिहास मौन बस्दैन
भदौ २४ कुनै आकस्मिक घटना थिएन। त्यो दीर्घकालीन लापरबाही, योजनाबद्ध मौनता र प्रायोजित प्रतिक्रियाको परिणाम थियो। आज बहस नगर्नेहरूले भोलि परिणामको जिम्मेवारी लिन सक्ने छैनन्। राज्यले आँखा चिम्लिँदा राष्ट्रिय झन्डा अपराधको ढाल बन्यो। सुरक्षाकर्मी मौन रहँदा इतिहास खरानी बन्यो। र, जब समाज चुप लाग्यो, निर्देशकहरू सुरक्षित भए। तर इतिहास यति सजिलै चुप लाग्दैन।
इतिहास भीडलाई होइन, निर्देशनलाई दोषी ठहर गर्छ। ऊ ढुंगा हान्ने हात होइन, ढुंगा उठाउन सिकाउने चेतनालाई कठघरामा उभ्याउँछ। आज मौनता 'परिपक्वता'जस्तो देखिन सक्छ। तर इतिहासमा मौनता सधैँ अपराधको सहयात्री बनेको छ। जहाँ प्रश्न गर्नु अपराध ठहरिन्छ, त्यहाँ भविष्य स्वतः अपराध स्थल बन्छ। यदि हामीले आज नबोलेर सजिलो बाटो रोज्यौँ भने भोलि इतिहासले हामीलाई बोल्ने मौका नै नदेला। इतिहास बन्द हुँदैन। ऊ ढिलो आउँछ, तर खाली हात आउँदैन।
(उकालोको विचार खण्डमा प्रकाशित विचार लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
