धन र सम्पत्तिको सन्दर्भमा पनि ओशो स्पष्ट छन्। धेरै मानिस जति धेरै धन जम्मा गर्छन्, त्यति नै शान्ति पाउने भ्रममा हुन्छन्। तर अत्यधिक पकडले तनाव, डर र असन्तोष ल्याउँछ।
गत ११ डिसेम्बरमा विश्वभर ओशो रजनिशलाई सम्झिइयो। भारतमा जन्मेका ओशो कतिका लागि क्रान्तिकारी हुन्, कतिका लागि यौनगुरू, कतिका लागि जीवनको मार्गदर्शक र कतिका लागि समाज-भँडुवा! कतिपय कोणबाट हेर्दा उनी अराजकतावादी समेत हुन्। अनेकन् विवादलाई थाती राखेर हेर्दा ओशो एक मनमौजी दार्शनिक हुन्, जसले धेरै परम्परागत अन्धविश्वास र परम्परागत धार्मिक सत्ताविरूद्ध समेत निर्मम प्रहार गरे। आफ्नो छोटो जीवनमा धेरै मान्छेलाई प्रभावित पारेर हिँडेका ओशोका अनेकन् पाटा छन्। जीवनको एक पक्षबारे यहाँ चर्चा गरिन्छ।
हामी किन कुनै पनि विषयलाई कसेर समात्छौं? हामीले सानैदेखि सिक्यौं—जति धेरै जोड्यो, जति धेरै समात्यो, त्यति नै सुरक्षित भइन्छ। स्कूलबाटै मार्क्स, डिग्री, जागिर, पैसा, घर, मान्छे, इज्जत, स्टाटस, लाइक र फलोअर जोड्दै–जोड्दै हामीले कहिल्यै सोधेनौं—यति सबै जोडेर कहाँ राख्ने? मुट्ठीमा कि मनमा? जब मुट्ठी र मन दुवै भरिन्छ, सास फेर्न पनि ठाउँ रहँदैन। हामीसँग सबथोक हुन्छ, तर हामीसँग हामी आफैं हुँदैनौं।
मानव जीवन सधैँजसो धेरै विषयको खोजी-यात्रामा रहन्छ—सुरक्षा, प्रेम, शारिरीक र मानसिक आनन्द, सफलता, शान्ति, समृद्धि। हामी प्रायः बाहिरी उपलब्धिहरूमा विश्वास गर्छौं। सम्पत्ति, पद, सम्मान, सम्बन्ध, अनुभव र सामाजिक प्रतिष्ठा जम्मा गरेर त्यही आधारमा आफ्नो र अरूको जीवनलाई मूल्याङ्कन गर्छौं। तर जीवनका कतिपय महानतम् शिक्षकहरूले संकलनमा भन्दा हलुकापन र छोड्न सक्ने क्षमतामा जोड दिन्छन्। ओशो रजनीशको दर्शनको सुक्ष्म व्याख्या हो, “जति छाड्छौं, त्यति पाउँछौं।”
ओशोका अनुसार मानव दु:खको मूल कारण अवरोध, लगाव, तृष्णा र अहंकार हो। मानिसले जीवनभर धेरै कुरामा पकड राख्छ—धन, प्रेम, अहंकार, विगतका चोट, भविष्यको डर, सामाजिक अपेक्षा। यी सबैले मनमा भारीपन ल्याउँछन्, चेतना बन्द हुन्छ र जीवनको वास्तविक प्रवाह रोकिन्छ। त्यसो हुँदा मनलाई हलुको बनाउन आवश्यक छ। त्यसो गर्दा कुनै कुरा छुटिहाल्दा पनि असहज महसुस हुँदैन।
छोड्नु भनेको गुमाउनु मात्र होइन, प्रतिपल उपलब्ध अवसरलाई आत्मसात गर्नु हो। पुरानो भारी छोड्दामात्र नयाँ भारी बोक्ने क्षमता आउँछ। जब हामी पुरानो बोझ, नकारात्मक भावना र अनावश्यक पकड छोड्छौं, तब जीवनमा प्रेम, शान्ति, ज्ञान र समृद्धि बग्न थाल्छ।
धेरै मानिस प्रेमलाई स्वामित्व वा नियन्त्रणको रूपमा समात्छन्। उनीहरूले आफ्नो साथीबाट जस्तो चाहन्छन्, उस्तै व्यवहारको अपेक्षा राख्छन्, वा विश्वास र स्वतन्त्रता दिन सक्दैनन्। यस्तो स्वामित्वको स्वभावमा सच्चा प्रेम पाउनु गाह्रो हुन्छ। धनसम्पत्तिको स्वामित्व अलग कुरा होला, तर मान्छेमै स्वामित्व खोज्दा त्यसले दु:ख निम्त्याउँछ। प्रेम त अपेक्षारहित स्वतन्त्रता हो। स्वार्थले सम्बन्ध दमित र झगडालु बनाउँछ, तर खुला र स्वतन्त्र सम्बन्धले मात्र दीर्घकालीन र स्वस्थ प्रेम जन्माउँछ।
जीवन जिउने सन्दर्भमा विगतका चोट र असफलताका अनुभव पनि महत्वपूर्ण हुन्छन्। तर विगतका असफलता, अपमान, धोका र घाउहरू समातेर बस्नु आवश्यक छैन। त्यसरी बस्दा वर्तमानमा पूर्ण रूपमा उपस्थित हुन सकिँदैन। तर जो व्यक्ति विगत छोड्छ र त्यसलाई सिकाइको रूपमा सम्झन्छ, उसको मन हल्का हुन्छ, उसलाई ऊर्जा पुनः प्राप्त हुन्छ र भविष्यका अवसरहरू उपयोग गर्न उ सक्षम हुन्छ। उदाहरणका लागि, टमस एडिसनका १०,००० भन्दा बढी प्रयासहरू असफल भए पनि उनी निराश भएनन्। उनले प्रत्येक असफलतालाई सिकाइको रूपमा स्वीकार गरे र अन्ततः बिजुली बत्तीको आविष्कार गरे।
धन र सम्पत्तिको सन्दर्भमा पनि ओशो स्पष्ट छन्। धेरै मानिस जति धेरै धन जम्मा गर्छन्, त्यति नै शान्ति पाउने भ्रममा हुन्छन्। तर अत्यधिक पकडले तनाव, डर र असन्तोष ल्याउँछ। जब मानिस अनावश्यक लालच, लोभ र आसक्ति छोड्छ, जीवन सरल, सन्तुलित र शान्त हुन्छ। (यो पनि उत्तिकै सत्य हो कि अमेरिकाको रजनिशपुरम टापु नै किनेर त्यहाँ विशाल वैभव ओशो स्वयंले खडा गरेका थिए र त्यसको आज पर्यन्त आलोचना हुने गरेको छ।) अहंकार छोड्दा विनम्रता, प्रेम र शान्ति जन्मिन्छ। डर र असुरक्षा पनि छोड्न आवश्यक छ। डर समातेर बस्दा मानिस नयाँ अवसरको सामना गर्न सक्दैन, तर डर छोड्दा साहस आउँछ। जोखिम लिने क्षमता बढ्छ र जीवनमा नयाँ उपलब्धिहरू हासिल हुन्छ।
ओशोको दृष्टिकोण विश्वका अन्य दार्शनिक र आध्यात्मिक गुरूहरूको दृष्टिकोणसँग मेल खान्छ। बुद्धले तृष्णा, मोह र अहंकार छोड्दा दुःखको अन्त्य हुने बताए। लाओत्सुले जीवनलाई प्रवाहमा बग्न दिनुपर्छ भनेका छन्। स्टोइक दार्शनिक एपिक्टिटसले भनेका छन्, “तिमीले नियन्त्रण गर्न नसक्ने कुरा छोड, त्यसले तिमीलाई स्वतन्त्र बनाउँछ।” सूफी कवि रूमीले लेखेका छन्—पुरानो कथा, चोट र पीडालाई कनेर बसे नयाँ कथा जन्मन सक्दैन। भगवद्गीतामा कृष्णले निष्काम कर्मयोग सिकाउँदै आसक्ति छोड्नुपर्छ भनेका छन्। कबीरले पनि मनको लोभ, अहंकार र आसक्ति छोड्दा मात्र शान्ति, करुणा र प्रेम प्राप्त हुने दोहोर्याएका छन्।
आधुनिक आध्यात्मिक लेखक एक्हार्ट टोल्ले भन्छन्—विगत र भविष्यको बोझ छोडेर वर्तमानमा बस्दा मात्र शान्ति मिल्छ। सेन्ट फ्रान्सिसले सादगी अपनाउने, न्यूनता स्वीकार गर्ने र जीवनलाई प्रवाहमा बग्न दिने माध्यमबाट आन्तरिक समृद्धि पाउन सकिने देखाएका छन्। जाँ–पोल सार्त्र पनि जीवनमा स्वतन्त्र बन्न बहाना र दोषारोपण छोड्नुपर्छ भन्छन्। यी सबै शिक्षाहरूले एउटै सत्य देखाउँछन्—छोड्न सक्ने व्यक्ति नै वास्तविक रूपमा पाउन योग्य हुन सक्छ।
व्यावहारिक जीवनमा यस सिद्धान्तको महत्व ठूलो छ। शिक्षा र करियरमा विगतका असफलता र आलोचना छोड्दा मानिस नवीनतम योजना, सिर्जनात्मकता र अवसरमा ध्यान केन्द्रित गर्न सक्छ। स्वास्थ्यको दृष्टिले नकारात्मक भाव, तनाव र क्रोध छोड्दा मात्र व्यक्ति शान्त, सकारात्मक र जीवन्त रहन्छ। सामाजिक जीवनमा पुराना झगडा, ईर्ष्या, अविश्वास छोड्दा सम्बन्धहरू मजबुत, समन्वयपूर्ण र शान्तिपूर्ण हुन्छन्। आध्यात्मिक दृष्टिले अहंकार, लोभ र मोह छोड्दा चेतना खुल्छ, ध्यान, प्रेम र आध्यात्मिक अनुभव प्राप्त हुन्छ।
हाम्रो दैनिक अनुभवले पनि यसलाई प्रमाणित गर्छ। कुनै कर्मचारी विगतका असफलताले दबिएको छ भने, पुराना आलोचना र डर छोड्न सकेन भने उसले नयाँ अवसर र रचनात्मक विचार जन्माउन सक्दैन। तर पुराना असफलता छोड्दा उसमा नयाँ आत्मविश्वास, उत्साह र ऊर्जा जन्मिन्छ। तनाव, रिस, डाह र पीडा छोड्दा मानसिक स्वास्थ्य बलियो हुन्छ, जीवन सहज र सुखी बन्छ।
सामाजिक र राजनीतिक जीवनमा पनि छोड्ने क्षमता महत्वपूर्ण छ। व्यक्तिगत स्वार्थ, ईर्ष्या, गुनासो र दोषारोपण छोड्दा समुदाय, राष्ट्र र समाजमा शान्ति, सहयोग र प्रगति बढ्छ। विगतका झगडा र द्वन्द्व छोडेर सहकार्य र संवादमा जोड दिँदा दीर्घकालीन समृद्धि र शान्ति सम्भव हुन्छ। परिवारमा पुराना दुर्व्यवहार र झगडा छोड्दा सम्बन्धहरू मजबुत हुन्छन्। प्रेम, समझदारी तथा सहयोगको वातावरण निर्माण हुन्छ।
छोड्न सक्ने क्षमताले जीवनलाई गहिरो अर्थ दिन्छ। अहंकार, लोभ, मोह र तृष्णा मान्छेका गुण हुन्, तर यिनलाई कम गर्न सक्दा वास्तविक चेतना खुल्छ। चेतना खुल्दा व्यक्ति आफैं मात्र होइन, अरूको पीडा, खुशी र जीवनप्रति संवेदनशील हुन्छ। यसरी प्रेम, करुणा र सहानुभूति जन्मन्छ।
आजको आधुनिक जीवनमा यो सिद्धान्त अझ प्रासंगिक छ। तनाव, दबाब, सामाजिक अपेक्षा र प्रतिस्पर्धाले मानिसलाई दबाएको छ। अनावश्यक कब्जा/पकड र आशक्तिले जीवन जटिल बनाएको छ। त्यसो हुँदा हामी आज जेजे कुरासँग धेरै आशक्त छौँ, टाँसिएका छौँ, त्यसबाट सहज निवृत्ती या छुटकारा आवश्यक छ।
छोड्न सक्ने कला सामान्य लाग्छ, तर यसको प्रभाव ठूलो छ। यसले जीवनलाई हल्का बनाउँछ, चेतना खुलाउँछ र हृदयमा प्रेम र करुणा ल्याउँछ। छोड्नु गुमाउनु मात्र होइन; यो नयाँ ऊर्जा, अवसर र सम्भावनाको द्वार खोल्छ। माथि नै पनि यसबारे संकेत गरियो– एउटा ढोका बन्द भए अन्य धेरै ढोकाहरु खुल्छन्।
कुनै अवसर वा योजना असफल भए वा सम्बन्ध टुटे, प्रारम्भमा हामी निराश हुन्छौँ, तर हाम्रो जीवन नै समाप्त भएको त पक्कै होइन। पुरानो अवसर/सम्बन्धलाई बलियोसँग समातेर बस्दा नयाँ अवसर स्वीकार गर्न सकिँदैन। छोड्दा स्वतः नयाँ मार्ग, अनुभव र साथीहरूको खोजी सुरु हुन्छ। रोजगारी गुमाएपछि हार नमान्नु, नयाँ सीप सिक्नु वा नयाँ क्षेत्रमा अवसर खोज्नुले अझ राम्रो विकल्प सिर्जना गर्छ। सम्बन्ध टुटेपछि अर्को सम्बन्ध, आत्म-समझदारी वा जीवनको नयाँ अध्याय सुरु हुन सक्छ। प्रत्येक असफलता वा गुमाइले नयाँ सम्भावनाको दिशामा उन्मुख गर्छ र जीवन अझ समृद्ध र अर्थपूर्ण बनाउँछ।
अन्ततः—“जति छाड्छौ, त्यति पाउँछौ” भन्ने वाक्य जति सरल र सहज लाग्छ, त्यति नै गहिरो र क्रान्तिकारी छ।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
