आइकोनिक प्लेयरः मौका पाउनै मुस्किल

नयाँ खेलाडीलाई एनपीएल खेल्ने सपना साकार पार्ने एउटा ढोका ‘ट्यालेन्ट हन्ट’ हो। यसरी छनोट हुन चर्को प्रतिस्पर्धा त हुन्छ नै, छानिएर आइकोनिक खेलाडी भएपछि अन्तिम–११ मा पनि कमैले मौका पाउँछन्।

काठमाडौँ– गत वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) शुरू हुँदा विपिन शर्माको कुनै चर्चा थिएन। उनलाई कर्णाली याक्सले ‘आइकोनिक प्लेयर’ बनाएको थियो।

तर एनपीएल सकिँदा उनी चर्चित क्रिकेटर भइसकेका थिए। गत वर्षको एनपीएलका कान्छा खेलाडी रहेका उनले आठ खेलमा १३ विकेट लिएका थिए। त्यति बेला १६ पुग्दै गरेका उनले एनपीएलकै प्रदर्शनका आधारमा यू–१९ राष्ट्रिय टोलीको ढोका खोले।

अहिले यूएईमा चलिरहेको यू–१९ एशिया कप खेल्ने नेपाली टोलीमा उनी पनि छन्। तर लिग चरणमा तीनै खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ। गत वर्ष एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण कर्णाली याक्सले यो सिजन उनलाई ‘रिटर्न’ गरेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल खेल्ने हरेक टोलीमा ‘ट्यालेन्ट हन्ट’मार्फत प्रतिस्पर्धा गराएर एक स्थानीय खेलाडी राख्नुपर्ने नियम बनाएको छ। यो वर्ष चारजना आइकोनिक खेलाडीले मात्र क्रिजमा मौका पाउँदा विपिनले जस्तै छाप छाड्न कसैले सकेनन्।

चारमध्ये दुई खेलाडीले दुईवटा र बाँकी दुईजनाले एक–एकवटामा मौका पाएका थिए। सुदूरपश्चिम रोयल्सले आइकोनिक खेलाडीका रूपमा छानेका हिक्मत महरालाई दुई खेलमा मौका दिएको थियो। उनले विराटनगर किङ्स र चितवन राइनोजविरुद्ध खेलेका थिए।

२२ वर्षीय महरा तीव्र गतिका दायाँहाते बलर हुन्। चितवनविरुद्ध उनले २ ओभर बलिङ गरेर १४ रन खर्चिंदा १ विकेट हात पारे। विराटनगरविरुद्ध भने १ ओभरमै २० रन दिएपछि फेरि बलिङको मौका पाएनन्। त्यसपछिका खेलमा उनलाई अन्तिम–११ मा राखिएन।

लुम्बिनी लायन्सका आइकोनिक प्लेयर समिर अलीलाई पनि दुई खेलमा अन्तिम–११ मा राखिएको थियो। विकेटकिपर/ब्याटर रहेका उनले क्रिजमा उत्रिने मौका भने एक खेलमा मात्र पाए। कर्णालीविरुद्ध नवौँ स्थानमा आएका उनले २ बलमा १ रन बनाउँदा रनआउट हुन पुगे।

पोखरा एभेन्जर्समा आइकोनिक प्लेयर रोहित चन्दले चितवन राइनोजविरुद्धको एक खेलमा मात्र मौका पाएका थिए। १८ वर्षीय अलराउन्डर चन्दले उक्त खेलमा बलिङको मात्र मौका पाउँदा ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए।

चितवनले पनि आइकोनिक खेलाडी सौगात ढकाललाई एक खेलमा मौका दिएको थियो। दायाँहाते अलराउन्डर सौगात मध्यम गतिमा बलिङ गर्छन्। जनकपुर बोल्ट्सविरुद्ध बलिङ मात्र गर्न पाएका उनले १ ओभरमा १४ रन खर्चिंदा विकेट लिन सकेनन्। काठमाडौँ गोर्खाजका नटराजन साह, जनकपुरका पप्पु यादव, कर्णाली याक्सका मनीष थापा र विराटनगरका आयुष न्यौपानेले मौका नै पाएनन्।

क्यानका प्रवक्ता छुम्बी लामा आइकोनिक प्लेयर हरेक फ्रेन्चाइज टोलीमा राख्नु भनेको भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु भएको बताउँछन्। राष्ट्रिय अन्तराष्ट्रि खेलाडीसँग क्याम्पमा बसेर ‘ड्रेसिङ रुम’ शेयर गर्दा र अभ्यास गर्दा प्रतिभा निखारिँदै जाने लामाको भनाइ छ। “कतिपय टिमले डेभलपमेन्ट स्क्वाड’ नै बनाएर ५ देखि १० जना छनोट गरेका छन्। ती खेलाडी नै अब आउने दिनका स्टार हुन्,” उनी भन्छन्।

आइकोनिक बन्न प्रतिस्पर्धा
फ्रेन्चाइज टोलीहरूले आइकोनिक प्लेयर छनोटका लागि औपचारिक आह्वान र प्रतिस्पर्धा गराउँछन्। यस्तो ट्यालेन्ट हन्टमा प्रतिस्पर्धा बढ्दो छ। काठमाडौँ गोर्खाजले कात्तिक तेस्रो साता गरेको ट्यालेन्ट हन्टमा एक हजार खेलाडी प्रतिस्पर्धामा थिए।

मूलपानस्थित वान डे क्रिकेट एकेडेमीमा भएको छनोटमा देब्रेहाते मध्यम गतिका बलर नटराजन आइकोनिक प्लेयर बन्न सफल भएका थिए। काठमाडौँले पाँच खेलाडी अथर्व पौडेल, शार्दूल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डिभेलपमन्ट टोलीमा राखेको थियो। डिभेलपमन्ट टोलीलाई फ्रेन्चाइज टोलीसँगै अभ्यास गराइन्छ।

सुदूरपश्चिम रोयल्सले यस सिजनका लागि कात्तिक २३ र २४ गते धनगढी क्रिकेट एकेडेमीमा गरेको ‘ट्यालेन्ट हन्ट’मा पनि ३०० जना सहभागी भएका थिए। उक्त छनोटमा आइकोनिक खेलाडी बन्न सफल बलर हिक्मत महराले १३१ किमी प्रतिघन्टाको गतिमा बल फ्यालेका थिए।

सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाको टोलीले अन्य पाँच खेलाडीलाई पनि डिभेलपमन्ट टोलीमा राखेको थियो। डिभेलपमन्ट टोलीमा पर्ने खेलाडीमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला थिए।

लुम्बिनी लाइन्सले भने आइकोनिक प्लेयरबाहेक दुई जनालाई ‘हिरो प्लेयर’को रूपमा राखेको थियो। भैरहवामा गरेको ट्यालेन्ट हन्टमा समिर खान आइकोनिक बन्दा आशुतोष पाण्डे र दिनेश बोहरा हिरो प्लेयर भएका थिए। लुम्बिनीको ट्यालेन्ट हटमा १०० खेलाडी सहभागी थिए।

चितवन राइनोजले हेटौँडा, रत्ननगर र भरतपुरमा प्रारम्भिक खेलाडी छनोट गरेर अन्तिम छनोट गौतमबुद्ध रंगशालामा गरेको थियो। चितवनले सौगात ढकाललाई छनोट गर्दा डेभलेपमेन्ट स्क्वाडमा सक्रिय कार्की र नरेश प्रधानलाई राखेको थियो। विराटनगर, जनकपुर र पोखराको ट्यालेन्ट हन्टमा पनि धेरै खेलाडी प्रतिस्पर्धामा थिए।

पहिलो सिजनका आइकोनिक
गत सिजन काठमाडौँ गोर्खाजका आइकोनिक प्लेयर कृष कार्की थिए। तर उनले मैदान उत्रिनै पाएनन्। काठमाडौँले लिगमा सात वटा खेल खेल्दा चार जित र तीन हारको नतिजा ल्याएको थियो।

कृषजस्तै, आठमध्ये पाँच टिमका आइकोनिक प्लेयर गत वर्ष मैदान उत्रिन पाएनन्। मैदान उत्रिन नपाएकाहरूमा कृषबाहेक जनकपुर बोल्ट्सका विशाल सुसलिङ, विराटनगर किंग्सका कमल खत्री, चितवन राइनोजका सल्लाहुद्दिन खान र लुम्बिनी लाइन्सका आरिफ खान थिए।

पहिलो सिजनमा मौका पाएका कर्णाली याक्सका विपिन शर्माले भने राम्रो चर्चा पाए। लिग चरणमा चितवनविरुद्ध तीन विकेट लिएर उनी ‘प्लेयर अफ दि म्याच’ बनेपछि हरेक खेलमा अन्तिम–११ मा पर्न सफल भए।

पोखरा एभेन्जर्सका आइकोनिक प्लेयर सुदीप अर्याल र सुदूरपश्चिम रोयल्सका वसन्त खत्रीले पनि मौका पाएका थिए। तर प्रदर्शन राम्रो गर्न सकेनन्।

क्यानको ‘गाइडलाइन’ अन्तर्गत हरेक फ्रेन्चाइज टिमले एक जना स्थानीय (सम्बन्धित प्रदेश वा ठाउँका) खेलाडी छनोट गरेर टिममा राख्नु पर्छ। यस्तो खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्नु पर्ने व्यवस्था छ। त्यसबाहेक, अन्य केही खेलाडीलाई पनि छनोट गरेर नेट र मैदानको अभ्यासमा सहभागी गराउन सक्छन्।

पहिलो सिजन विराटनगर किंग्सले कमल खत्रीलाई आइकोनिक बनाउँदा फिर्दाेस अन्सारी र सुजन तिमिल्सिनालाई पनि टिममा राखेको थियो। सुजन नेपालको ‘ए’ टोलीबाट खेलिसकेका खेलाडी हुन्। गत वर्ष नेपाल ‘ए’ले मूलपानीमा क्यानडा ‘ए’ विरुद्ध खेल्दा उनी पनि टोलीमा थिए। त्यस्तै, सुदूरपश्चिमले वसन्त खत्रीलाई आइकोनिक बनाउँदा अरू ६ खेलाडीलाई समेत प्रशिक्षण गराएको थियो।