सुतीको फरियाको सन्देश

आफ्नो स्वतन्त्रता, स्वच्छन्द उडान, कर्म र मिहिनेतबाट देशको प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री भएर इतिहास रचेकी महिलाको सरल पहिरनले लोकलाई पक्कै ठूलो सन्देश दिइरहेको छ।

सेलिब्रिटी, सामाजिक व्यक्तित्व र उच्च पदमा रहेको व्यक्तिहरूको रहनसहन, खानपान र जीवनशैलीले आम जनमानसमा धेरै नै प्रभाव पार्छ। तिनको व्यवहार, लवाइखवाई र पहिरनलाई कतिपयले अपनाइरहेका हुन्छन्। आफूलाई आदर्श लागेका, मन परेका या असल लागेका मान्छेको अनुसरण गर्ने स्वभाव नै हो मान्छेको। फुटबलर क्रिस्टियानो रोनाल्डोलाई मन पराउनेहरू उनकोझैँ कपाल ठड्याउँछन्, उनकै जर्सी लगाउँछन्, गान्धीलाई मन पराउनेहरू सादा पहिरनसँगै सरल जीवन जिउने प्रयत्न गर्छन्, चे ग्वेभारा र भगत सिंहलाई मन पराउनेहरू प्रस्ट वक्ता र क्रान्तिकारी बन्न या देखिन खोज्छन्। तिनको भेसभुसाको अनुकरण गर्छन्।

भर्खरै जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त हुनुभएकी नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले लगाएको फरियाबारे यतिखेर चर्चा भइरहेको छ। अहिले मात्र होइन, सौन्दर्य प्रसाधनको भद्दा प्रयोग र झकिझकाउ पोसाकमा यस पूर्व पनि जन साधारणले कार्कीलाई कहिल्यै देखेका थिएनन्। उनीबारे आम मिडिया न्यारेटिभ पनि इमानदार र सादा नै हो। (मेकअप गर्ने बित्तिकै व्यक्ति इमानदार हुँदैनन् चाहिँ भन्न खोजिएको होइन है।) यद्यपि, हामीले भुल्नुहुन्न–सबैका गुण र अवगुण हुन्छन्। महिमा मण्डन गरिएका इतिहासका नायक र महानायकका तथ्य खोतल्दा त्यही देखिन्छ। यो लेखमा कार्कीको फरियालाई आधार मानेर उनको देवत्वकरण गर्न खोजिएको पनि होइन। (देवत्वकरण हाम्रो समयको प्रकोप हो, यसबाट जनमानस बचे नै देशको कल्याण हुनेछ।) महिलालाई केबल सुन्दरता, पहिरन, गहनामा मात्र मूल्यांकन गर्ने परम्परागत मान्यताको खण्डन गर्न खोजिएको हो यहाँ। 

२०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा छनोट हुनुभयो। नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नाममा इतिहासमा उहाँको नाम लेखियो। प्रधानमन्त्रीको शपथ लिएको भोलिपल्ट जेनजी आन्दोलनको क्रममा घाइते भएका घाइतेहरूलाई भेट्न अस्पताल जाने क्रममा कार्कीले लगाएको सादा पोसाकतर्फ कतिपयको ध्यान खिचियो। उहाँले लगाएको सुतीको धोतीको चर्चा सामाजिक सञ्जालहरूमा भयो। सुतीको धोतीलाई जन साधारणले फरिया पनि भन्छन्।

धेरै मेहनतबिना सामान्य तरिकाले शरीरमा बेरिएको औसत मूल्यको धोती, आम श्रमजीवी महिलाकोझैँ धेरै कोरिबाटी नगरिएको कपाल, सामान्य चप्पल र कुनै कृत्रिम शृंगार बिनाकी प्रथम नेपाली महिला प्रधानमन्त्री! हामी बेलाबेला 'सादा जीवन, उच्च विचार'का बखान सुन्ने गर्छौं। कार्कीको हकमा त्यस्तै देखियो। प्रधानमन्त्रीको रूपमा उनको सार्वजनिक उपस्थितिले महिलाको सुन्दरताको परिभाषालाई पुनः परिभाषित गर्न खोजे झैँ लाग्यो। भारत-पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी पनि आफ्नो सादापनको लागि कहलिएकी छन्।

विश्वमा खर्बौं डलरको सौन्दर्य प्रसाधनको बजार छ, नेपालमा पनि वार्षिक पाँच/छ अर्बको सौन्दर्य प्रसाधन भित्रिन्छन्। तीमध्ये अधिकांश महिलाकै लागि लक्षित हुन्छन्। महिला सुन्दर र आकर्षक देखिनुपर्छ भन्ने मनोविज्ञान पुरुष सत्ताको दबाब र माग दुवै हो। यस्तो सौन्दर्य जालो (ब्युटी ट्रयाप) भित्र विश्वका सबै समाजले महिलालाई राखेका छन्। तर सुशीला कार्कीको सार्वजनिक परिचयले त्यसलाई पहिल्यै चिरेको थियो र आशा गरौँ– इतिहासले उनलाई दिएको गम्भीर जिम्मेवार पूरा गरेर त्यसलाई झनै चिर्नेछिन्।

इतिहास खोतल्दा विश्वभर महिलामाथि सुन्दरी हुनुपर्ने दबाब यति धेरै थियो/छ कि कतिपय ठाउँमा त तिनले घाँटी लामो पार्न फलामका गह्रुंगा औजार लगाउँथे। कतै ओठ ठूलो पार्नुपर्ने, कतै कम्मर सानो पार्नुपर्ने तिनलाई दबाब र कष्ट थियो। कतै पाइताला छोटो बनाउन फलामका जुत्ता लगाउनुको यातना तिनले झेले। त्यही ऐतिहासिक दबाबकै निरन्तरताका कारण होला, अहिले पनि नितम्ब, वक्ष र ओठ र आँखाको आकार ठूलो बनाउन विश्वभर अनेक शल्यक्रियामा सामेल हुन्छन् महिला। कति दुखद!

इतिहास र वर्तमानका यी दबाब हेर्दा पनि सुशीलाको सुतीको फरियाले महिलाको सौन्दर्यको पुरानो मापदण्ड नमानेझैँ लाग्छ। आफ्नो स्वतन्त्रता, स्वच्छन्द उडान, कर्म र मिहिनेतबाट देशको प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री  भएर इतिहास रचेकी महिलाको सरल पहिरनले लोकलाई पक्कै ठूलो सन्देश दिइरहेको छ। 

संगीन घडीमा नेपालको संविधान र व्यवस्था रहँदा कार्की प्रधानमन्त्री हुन पुगेकी छन् र उनको आगामी दिन धेरै चुनौतीपूर्ण छन्। तर उनको निकट विगत पनि कमसेकम मिडिया र न्याय क्षेत्रका व्यक्तिलाई राम्रोसँग थाहा छ। त्यस कारण पनि उनको सामान्य लवाइले कतिपयको ध्यान खिचेको हो। यसअघि, २०६८ साल भदौ १२ गते डा. बाबुराम भट्टराई प्रधानमन्त्री नियुक्ति भएसँगै उनले चढेको नेपालमै बनेको मुस्ताङ गाडी चढेर आफूलाई सादगी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै स्वदेशी सामान खरिद गर्न मान्छेलाई प्रेरित गरेका थिए। उतिखेर त्यो विषयले धेरै चर्चा पाएको थियो। त्यो फरक परिस्थितिको कुरा पनि थियो।

प्रधानमन्त्रीले लगाउनुभएको सुतीको धोतीले निम्न मध्यमवर्गीय परिवारकी महिलाको (विशेषगरी आमा पुस्ताको) पहिरनको झलक दिइरहेको थियो। केही युवा भन्दै पनि थिए ‘‘उहाँ त हाम्रै आमा (हजुरआमा) ले जस्तो साडी पो लगाउनुहुँदो रहेछ।’’ अहिलेका धेरै युवा हजुरआमालाई आमा भन्छन्, आमालाई ममी।  

जेनजीलगायत नवपुस्ता फरिया या सारी खास अवसरमा बाहेक लाउँदैनन्। अति अभ्यस्त भए मात्रै, सधैँ फरिया/सारी लगाएर दैनिक जीवन सञ्चालन सहज पनि छैन। फरिया लगाएर दौडन र शारीरिक कर्म जति असहज छ, त्यो भन्दा धेरै कठिन छ महिला सार्वजनिक रूपमा स्वीकृत हुन नेपाली/भारतीय समाजमा। राजनीतिक दलहरूभित्रै हेरौँ न, केही महिला राजनीतिमा हस्तक्षेप गर्न सक्ने ल्याकतका र अध्ययनशील छन्। तर पार्टी नेतृत्वलाई प्रश्न गर्दा उल्टै पार्टीको कारबाहीमा पर्ने गरेका छन्।

अर्को, कुरा कुनै पुरुषलाई मानमर्दन गर्नुपर्दा या उसको अक्षमतालाई इंगित गर्नुपर्दा 'आइमाइजस्तै' भनिने या चित्रण गरिने अभ्यास छ व्यापक छ। सामाजिक सञ्जालमा असक्षम नेताहरूलाई फरिया लगाएको रूपमा देखाइने अभ्यास त्यही घटिया मनोविज्ञानको प्रकटीकरण हो। उनीहरूले भन्न खोजेका हुन्–महिला कमजोर हुन्। महिला केही गर्न नसक्ने हुन्। यो मनोविज्ञान स्वयं महिलामा समेत घुसाउन सफल छ हजारौँ वर्ष पुरानो पुरुषसत्ता।

हुनलाई सुशीला कार्कीले लगाउनुभएको फरिया फगत कपडा हो। हाम्रो समाजले महिलाको लागि बनाइदिएको एउटा पोसाक मात्र हो, तर उनको सुन्दरताको पुराना मान्यता भत्काउने बिम्ब पनि हो उनको फरिया।

कार्की प्रधानमन्त्री नियुक्ति भएसँगै सामाजिक सञ्जालमा 'बाहरू त अरू कसैका थिए, तर आमाचाहिँ हाम्री हुनेछिन्, लथालिंग भएको घर सम्हाल्नेछिन्' भन्ने भावका स्ट्याटस देखिए । 'पशुपति प्रसाद' चलचित्रको एउटा क्लिप पनि कतिपयले सञ्जालमा पोस्ट गरे, जसमा चलचित्रको पात्र पशुपतिको वृद्धाश्रमकी बुढी आमासँग आमाछोराको जस्तै सम्बन्धमा रहन्छ। आमाको साइनो विस्तार हुँदै गएपछि आफूले सानोतिनो व्यापार गरेर जम्मा पारेको केही पैसा उनै आमालाई राख्न दिन्छ पशुपतिप्रसाद। आमाले "मलाई किन राख्न दिएको?" भन्ने प्रश्नको उत्तरमा पशुपति भन्छ, "अरूले त खाइदिन्छन् नि।" आमा भन्छिन्,  "मैले पनि खाइदिए भने नि?" अनि पशुपतिप्रसाद उत्तर फर्काउँछ, "आमाले पनि कहिल्यै खाइदिन्छन् त? आमाले त थपेर पो दिन्छन् त।" 

अहिले देशलाई संकट परेको बेला प्रधानमन्त्री बनेकी कार्कीले पनि आम नेपालीले अपेक्षा गरेभन्दा थपेरै दिउन् भन्ने हो। 'पत्रुसत्ता' झेलेर फरियाको गरिमा अझै उचाइमा पुर्‍याउन् भन्ने हो। यसो भन्दै गर्दा निर्वाचन सम्पन्न गराउने ६ महिनाको मुख्य म्यान्डेट बोकेको सरकारको प्रधानमन्त्रीसँग धेरै अपेक्षा भने हामी नराखौँ। 

अमेरिकी लेखक तथा पत्रकार नाओमी वोल्फले आफ्नो किताब 'द ब्युटी मिथ'मा उल्लेख गरेझैँ आजकालका कतिपय महिला तथा किशोरी समाजले व्याख्या गरेको शारीरिक सुन्दरताको परिभाषा (ब्युटी ट्रयाप) भित्र नफस्न प्रेरित हुँदैछन्। कार्कीजस्ता हक्की महिलाको उदयले आगामी दिनमा पद र सत्तामा पुग्ने महिलाले महँगा साडी, आकर्षक शृंगार र विलासी जीवन नअपनाउँदा पनि हुँदो रहेछ भन्ने सन्देश दिइरहेकै छ। उनको फरियाले सबैमा सादगी र सरल जीवनको प्रेरणा दिन सफल रहोस्।

उत्कृष्ठ लेख

दिपक सुवेदी

9 months, 3 weeks ago