Saturday, April 20, 2024

-->

साना उद्यमीलाई सास्ती, भाटभटेनी जस्ता ठूलालाई ‘मस्ती’

बर्सेनि २० अर्बको कारोबार गर्ने भाटभटेनी सुपरमार्केटसँग कारोबार जोडेका साना उद्यमीको अनुभव तीतो न तीतो छ, मंगलबार काठमाडौँमा आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यले त्यसलाई उजागरमात्र गरिदिएका हुन्।

साना उद्यमीलाई सास्ती भाटभटेनी जस्ता ठूलालाई  ‘मस्ती’

“भाटभटेनीका मीनबहादुर गुरुङजी, तपाईंलाई ३० प्रतिशत मार्जिन दिनुपर्ने? साना–ठूला उत्पादक/सप्लायर्सले मार्ट भरिदिनुपर्ने उधारोमा? अनि कन्ट्रयाक्टमा १ महिनाभित्र पैसा दिन्छौँ भन्ने, ३ महिनामा पनि पैसा नदिने? मलाई यति झुलायौ कि ३ महिनापछि नाम नमिलाइकन विराटनगर चेक पठायौ, इलामदेखि विराटनगरसम्म एउटा चेक लिन गएँ तर, नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौँ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलामदेखि विराटनगर, काठमाडौँ कुद्दाकुद्दै तिमीलाई दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाटभटेनीलाई सामान दिन छोडे मैले। ...थाहा छ, सामान उत्पादन गर्न कति दुःख छ?”

संघीय संसद् भवन अघिल्तिर आफ्नै शरीरमा आगो झोस्नुअघि प्रेमप्रसाद आचार्यले फेसबुकमा लेखेको अंश हो यो। अन्ततः यो उनको 'सुसाइड नोट' बन्यो।

दिन दुगुणा रात चौगुणा आर्थिक फड्को मारिरहेको भाटभटेनी सुपरमार्केटले साना व्यवसायीलाई दिएको सास्ती पहिलोपटक आचार्यले सार्वजनिक गरिदिएका मात्र हुन्। भाटभटेनीमा सामान आपूर्ति गर्ने साना उद्यमी/व्यवसायी धेरैले प्रेमप्रसादले जस्तै सास्ती ब्यहोर्नुपरेको छ। यस्ता पीडित पीडा पोख्न उत्सुक भए पनि नाम उल्लेख गर्न हच्किए। भाटभटेनीसँग कारोबार गरिरहेकै उद्यमी त हच्किने नै भए, कारोबार छाडिसकेकाले पनि आनाकानी नै गरे। 

काठमाडौँ, मनमैजुमा ‘नेपाली मन उद्योग’ सञ्चालन गरिरहेकी वासुमाया तामाङको सफलताको कथा धेरैचोटि लेखिइसकेका छन्। भाटभटेनीसँग कारोबार गर्दाका दुःखका कथा लेखिन बाँकी छन्। १३ वर्षअघि नाङ्लोमा टिमुरको अचार बेचेर व्यवसाय शुरू गरेकी उनले आफ्नो उत्पादन विदेशमा बस्ने नेपाली उपभोक्तामाझ पनि पुर्‍याइसकेकी छन्। बरू विदेशमा उत्पादन निर्यात गर्न उनले त्यति 'पापड बेल्नु' परेन, जति भाटभटेनीमा आफ्ना उत्पादन राख्न संघर्ष गर्नुपर्‍यो।

उनका उत्पादनले डेढ वर्षयता भाटभटेनीका स्टोरहरूमा स्थान पाए पनि बिक्रीबापतको रकम प्राप्त गर्नेदेखि अन्य विभिन्न प्रक्रियागत झन्झटका अनुभव चाहिँ अचारजस्तै ‘ट्वाक्क’ छैनन्, बरू तिता न तिता छन्। एक खेपमा करिब २२ लाख रुपैयाँको टिमुरको छोप, मासुका विभिन्न परिकार र खुर्सानीको अचार उनले भाटभटेनीलाई बेच्दै आएकी छन्। वासुमायाका अनुसार ३० प्रतिशत नाफा (मार्जिन)को पहिलो शर्त नस्विकारी भाटभटेनीलाई उत्पादन आपूर्ति गर्ने सोच्दैनसोचे हुन्छ। “अब यसरी सामान राख्दिए पनि भुक्तानीका लागि कम्तीमा तीन महिना झुलाइन्छ”, उनले सुनाइन्, “त्यो पनि एकमुष्ठ पैसा पाइने होइन, थोरथोरै गरेर किस्ताबन्दीमा दिन्छन्।”

त्योभन्दा दु:खद, बिक्री नभई फिर्ता आएको सामान सग्लो अवस्थामा पाउन मुस्किल छ। लैजाँदा सग्लै रहेको समान टुटेफुटेको र बिग्रिएको अवस्थामा फिर्ता हुन्छ। “फिर्ता हुने सामान फोहोरको डुंगुरबाट खोज्दै निकाल्नुपर्छ”, उनले भनिन्।

भाटभटेनी स्टोरका आउटलेटमा सामान राख्न आपूर्तिकर्ताले भाटभटेनीको बालुवाटारस्थित गोदाममा सूचीकृत हुनुपर्छ र कुर्नपर्छ। दिएको खेप बिक्री भइसकेर दोस्रो खेपको अर्डर लिएपछि बल्ल भुक्तानी शुरू हुने प्रावधान राखिएको छ। भुक्तानी दिन शुरू हुने मात्र हो, एकमुष्ठ पाइने होइन। तामाङ खेपमा २०/२२ लाख रुपैयाँको सामान त्यहाँ आपूर्ति गर्छिन्।

“एकैचोटी बढीमा ५ लाखसम्म पाएकी छु”, उनले सुनाइन, “नत्र एक दुई लाख गर्दै दिइन्छ।”

गोदाममा सामान पुर्‍याएपछि मूल्य स्टिकर टाँस्नेदेखि प्याकिङ गर्नेसम्मको सबै काम आपूर्तिकर्ताले नै गरिदिनुपर्छ। गोदाममा उत्पादन राख्ने ठाउँधरि आफै खोज्नुपर्छ। सामान गोदामबाट भाटभटेनीका स्टोरहरूमा पुर्‍याउँदाखेरि गाडीमा लोड गर्न पनि आपूर्तिकर्ताकै मान्छे पुग्नुपर्छ।

नुवाकोटको ककनीमा स्ट्रबेरी खेती गर्दै आएका छेसाङ तामाङको पनि भाटभटेनीसँगको व्यापार अनुभव तितो छ। केही समय आफ्नो उत्पादन भाटभटेनीमा आपूर्ति गरेका उनले मन मार्दै भने, “रेट त राम्रो छ, भुक्तानीका लागि ३/४ महिनै झुलाइदिने, अनि फिर्ता आएको सामान तह लगाउन गाह्रो।” भाटभाटेनी जस्ता ठूला साहु–महाजन आफूजस्ता साना उद्यमीकै पैसा खेलाएर झन्-झन् ठूलो हुँदै जाने रहेछन् भन्ने उनको बुझाइ छ।

“म जस्ता हजारौँ साना उद्यमीको  उत्पादन बेचेको करोडौँ रुपैयाँ ३/४ महिना खेलाउन पाएपछि सम्पत्ति थुपार्न अरू के गर्नुपर्‍यो र”, उनी थप्छन्।

व्यवसायबाटै विस्थापित हुनुपर्नेसम्मको अवस्था
नमिता तिवारी (परिवर्तित नाम)ले सन् २००९ मा स्नातक सकेपछि मैनबत्ती उद्योग खोलेर व्यावसायिक यात्रा शुरू गरिन्। लोडसेडिङ बढी हुने भएकाले २२ वर्षीया युवतीले मैनबत्ती उद्यम रोजेकी थिइन्। बुवाको चिनजानले गर्दा भाटभटेनीमार्फत बिक्री गर्न खासै ‘पापड बेल्न’ परेन। 

मैनबत्ती बेचिदिन भाटभटेनी जति चाँडै तयार भएको थियो, बिक्री भएको सामानको भुक्तानी पाउन उत्तिकै विलम्ब भएपछि उत्पादनले बजार पाएको भन्ने हर्ष छिट्टै निराशामा बदलियो। “पैसा पाउन ८-९ महिनासम्म कुर्नपर्‍यो”, उनले सम्झिइन्, “बिक्री नभएको सामान पुनः प्रयोग गर्न नसकिने अवस्थामा फिर्ता आउँथ्यो।”

उनले एक खेपमा करिब २ लाख रुपैयाँको २० कार्टुन सामान पुर्‍याउँथिन्। ८/९ महिनापछि ५०/६० हजार रुपैयाँ पाइन्थ्यो। दुई वर्ष यसरी बितेपछि उनले व्यवसाय नै बन्द गरिन्।

झेलेको दुःख १० वर्ष पुरानो भए पनि अवस्थामा कुनै सुधार नभएको उनले बताइन्। केही समयअघि उनी भनसुनबिना नै भाटभटेनीमा कपडाका उत्पादन राख्ने प्रस्ताव लिएर गइन्। अहिले सूचीकृत गरे तीन वर्षपछि मात्रै भाटभटेनीमा ठाउँको पालो आउन सक्ने जानकारी दिइएको उनले बताइन्।

“भनसुन/सोर्सफोर्स लगाउँदा चाहिँ तत्कालै काम हुने देखियो”, उनले सुनाइन्।

भाटभटेनीमा एक दशकदेखि उत्पादन आपूर्ति गरिरहेकी एक स्थापित महिला उद्यमीले नाम उल्लेख नगर्ने शर्तमा भाटभटेनीले ३६ प्रतिशतसम्म मार्जिनको शर्त राख्ने गरेको बताइन्। योभन्दा पनि आपत्तिजनक चाहिँ साना उद्यमीको उत्पादन भाटभटेनी आफैँले कपी गरेर बिक्री गर्ने गरेको समेत उनले दाबी गरिन्।

केही समयअघि उनले शुरू गरेको क्वाँटी व्यवसायको कपी भाटभटेनीले गरेको उनको दाबी छ। उनले आकर्षक प्याकिङसहितको क्वाँटी भाटभटेनीमा आपूर्ति गर्न थालेकी थिइन्, बिक्री पनि ठिकठाक थियो। “माग बढ्दै गएपछि उनीहरूले आफैँ उस्तै प्याकेजिङमा आफ्नै ब्रान्डमा क्वाँटी बेच्न थाले, हामीसँग लिन छाडे”, उनले दु:खेसो पोखिन्।

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने सामान भुक्तानीमा कुनै समस्या नभएको दाबी गरे। “हामीकहाँ भुक्तानीको केही पनि समस्या छैन”, पौडेलले भने। आपूर्तिकर्ताले लगाएका थुप्रै आरोपहरुबारे पौडेललाई बुधबार फोन गरेर थप जानकारी माग्दा भने उनले व्यस्तताको कारण देखाउँदै भोलिपल्ट फोन गर्न भने। तर, त्यसयता उनको नम्बरमा सम्पर्क हुन सकेन। अर्कै नम्बरबाट प्रयास गर्दा उनले फोन त उठाए, तर सोध्नसाथ 'व्यस्त छु' भनेर फोन काटे। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नम्बरमा सम्पर्क हुन सकेन।

सरकारबाट प्राप्त सहुलियतपूर्ण कर्जामा गोकर्णमा घरेलु उद्योग खोली मस्यौरा, गुन्द्रुकलगायतको उत्पादन गरिरहेकी सीता भट्टराई पनि सुपर मार्केटहरूबाट हन्डर खाँदाखाँदा आजित छिन्। मेट्रो तरकारी डटकमलाई सामान दिएको ४-५ लाख रुपैयाँ लिन बाँकी छ। “एक बट्टा अचार तयार गर्न २० वटा ठाउँमा ठोक्किएर सामग्री जुटाउन पर्छ”, उनको दु:खेसो छ, “लेवलिङ/प्याकेजिङ सारा आफैँले गरी सामान पुर्‍याइदियो, साहुहरू आकाशबाट खसेको सामान बेच्न ल्याएको जस्तो व्यवहार गर्छन्।”

अनलाइन र ठूला मार्टहरूबाट ठगिएको महसुस गरेकी उनले भाटभटेनीमा चाहिँ उत्पादन पुर्‍याउन पहल नै गरिनन्। “त्यहाँ त झन् चर्को छ भन्ने सुनिन्छ”, उनले भनिन्।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह भाटभटेनीलगायतका सुपर मार्केटले भुक्तानीमा साह्रै झुलाएको गुनासो आइरहेको बताउँछन्। “एक जना उद्यमीले सामान दिएको डेढ वर्षपछि आंशिक भुक्तानी गरी धेरै सामानै फिर्ता गरेको गुनासो गर्नुभएको थियो”, उनले भने।

‘इक्रा नेपाल’का अनुसार मुलुककै ठूलो भाटभटेनी सुपारमार्केट तथा डिपार्टमेन्टल स्टोरले सन् २०२१ मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ कारोबार गरेको छ। 

उसका देशभर २३ वटा आउटलेट छन्। देशका मुख्य शहरी क्षेत्रमा आउटलेट विस्तारका कारण नै कम्पनीले आफ्नो कारोबार बढाउँदै लगेको छ। तर, साना कृषक र उद्यमीको उत्पादन लिएबापत भुक्तानीमा समस्या देखिएको भन्ने गुनासो भने बढ्दो छ।


सम्बन्धित सामग्री