गफले होइन, कामले प्रकृतिपूजक बनौँ

केही वर्ष अघिसम्म हामी प्रदूषित खोला या नदीको उदाहरण दिनुपरे बागमतीको नाम लिन्थ्यौँ। अब देशका सबैजसो शहर र शहरोन्मुख बजार क्षेत्रमा सयौँ हजारौँ बागमती छन्।

नेपालको सन्दर्भमा कतिपय जनजाति समुदाय र सनातनी हिन्दू आफूलाई ‘प्रकृतिपूजक’ दाबी गर्छन्। २०७८ सालको जनगणनामा धर्मको महलमा प्रकृतिपूजक थपिएपछि ठूलै हंगामा भएको थियो। विश्व हिन्दू परिषद्, नेपालले आफू सच्चा प्रकृतिपूजक भएको र षडयन्त्रपूर्वक र नियोजित ढंगले हिन्दूको संख्या कम देखाउन जनगणनामा प्रकृतिपूजकको महल थपिएको भन्दै आपत्ति जनायो।

जनजातिमध्ये मगर समुदायले त संगठित रूपमै ‘प्रकृतिपूजक मगर समाज’ गठन गरेरै जनगणनामा प्रकृतिपूजक धर्मको महल राख्न वकालत गरे। जे होस्, २०७८ को जनगणनाअनुसार पहिलो पटक व्यवस्था गरिएको प्रकृतिपूजक धर्म मान्नेको संख्या एक लाख दुई हजार ४८ पुगेको छ।

हिन्दू परम्परामा प्रकृतिलाई सम्बोधन गर्ने पञ्चतत्त्व; जल, वायु, अग्नि, भूमि र आकाश (अन्तरिक्ष)को महिमा उच्च स्थानमा छ। पानी, हावा, अग्निरूपी ताप र आकाश समुच्चयमा देवता हुन्। वरपीपल, तुलसी, कुश, शालीग्राम, गाईगोरु आदिलाई त अनेक पर्व र अवसरमा सनातनीले पुजेकै छन्। देवताका वाहनका रूपमा कतिपय प्राणीको चर्चा पनि गरिन्छ। यी सबै प्रकृतिका अंश हुन्। अतः हिन्दूहरू प्रकृतिपूजक हुन्। 

यो पनि पढौँ: वायु प्रदूषण: इच्छाशक्ति भए कम गर्न सकिन्छ

यो भयो शास्त्रीय व्यवस्था। तर प्रकृतिपूजकको हाम्रो रटान अहिले आत्ममुग्धताको तहमा पुगिसकेको छ। आत्ममुग्धताले सर्वत्र आफ्नो श्रेष्ठता मात्र देख्छ, समय सापेक्ष अद्यावधिक हुन, आफ्ना समस्या या कमजोरी पहिचान गर्न दिँदैन। समस्याको पहिचान गर्न प्रयास नगरेपछि सुधारका पहल हुने पनि भएनन् नै।

आत्ममुग्धताको पर्दा एक पटक खोली प्रकृतिप्रति हाम्रो बुझाइ, प्रकृतिसँग हामीले गरिरहेको व्यवहार र पर्यावरणको विद्यमान अवस्थाबारे थोरै मात्र चिन्तन गर्ने हो भने पनि आत्मबोध हुनसक्छ कि हामी साँचो अर्थमा प्रकृतिपूजक हौँ कि हैनौँ। आफूलाई प्रकृतिपूजक भनेर भट्याउने हामीहरू आजका दिनमा केबल पूर्णतः पाखण्ड त होइनौँ?

संयुक्त राष्ट्रसंघले पहिचान गरेका धर्तीका तीन ठूला चुनौती जलवायु परिवर्तनसँगै प्रदूषण र जैविक विविधताको ह्रास हुन्। यी तीन महासंकटबाट पार लाग्ने अभ्यासमा हामी आम नेपालीले दुई किसिमले अगुवाइ गर्न सक्छौँ।

जलवायु परिवर्तनको विषय धेरै हदसम्म आम नेपालीको नियन्त्रणबाहिर छ, किनकि वैश्विक कार्बन उत्सर्जनमा हाम्रो योगदान अत्यन्तै नगण्य छ। कार्बन उत्सर्जनमा व्यापक कटौती गरी जलवायु परिवर्तनमा लगाम लगाउन विश्व महाशक्ति राष्ट्रहरूबीच आम सहमति नभई सम्भव छैन। तर यसको लागि दबाब आन्दोलन र बहस पैरवी भने हामीले पनि गर्नैपर्छ।

दोस्रो हो – वातावरणीय स्वच्छता र संरक्षणको स्थानीय अभ्यास। यस अभ्यासमार्फत धर्तीका थप दुई महासंकट (भयावह प्रदूषण र जैविक विविधताको ह्रास)बाट धेरै हदसम्म पार पाउन सकिन्छ। धेरै हदसम्म यो विषय हाम्रो नियन्त्रणभित्र पनि छ। आफूलाई प्रकृतिपूजक दाबी गर्नेले गर्नै पर्ने काम पनि यही हो। पर्यावरणीय संकटको यो समयमा पर्यावरण संरक्षणतर्फ सम्भव हुने सबै काम गर्नै पर्ने छ। 

यति लेख्दै गर्दा म विश्वव्यापी रूपमा हावाको गुणस्तर मापन गर्ने मोबाइल एप ‘एक्यूआई एअर’मा गएर हावाको गुणस्तर हेर्दै छु। काठमाडौँलगायत देशका विभिन्न शहरको हावाको गुणस्तर रातो रङमा छ, प्रायः सबैजसोको अंक १५० माथि छ। हावाको गुणस्तर (एक्यूआई) ५० भन्दा कमलाई राम्रो मानिन्छ।

काठमाडौँ बेलाबेला विश्वकै प्रदूषित हावा भएको सहरको कीर्तिमान पनि राख्छ। सन् २०२३ मा विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएका प्रमुख ५० शहरमध्ये ४२ वटा त बहुसंख्यक सनातनी प्रकृतिपूजक हिन्दू समुदायको बाहुल्य रहेको भारतीय शहर थिए। ८१ प्रतिशतभन्दा बढी प्रकृतिपूजक हिन्दू सनातनी बसोबास गर्ने भारतको राजधानी नयाँ दिल्ली यस वर्ष ‘नो गुड एअर डे’को रूपमा सकिँदै छ।

इनर्जी पोलिसि इन्स्टिच्युटका अनुसार नयाँ दिल्लीको जस्तो हावामा सास फेर्दा मानिसको आयु औसतमा ११ वर्षसम्म छोटिन्छ। सन् २०२१ मा विश्वभर ८१ लाख बढी अपरिपक्व मानिसको मृत्युको प्राथमिक कारण वायु प्रदूषण रह्यो। आफ्ना वायु देवता यसरी थिलथिलो भएको देख्दा हरेक प्रकृतिपूजकको ‘आस्थामा ठेस’ लागिहाल्नुपर्ने हो। तर आस्थामा ठेस लागेर त्यसविरुद्ध आवाज उठाएको कतै सुनिँदैन।

पञ्चतत्त्वकै अर्को अंग जलदेवतालाई हामी कति सम्मान गर्छौं भन्ने कुरो बुझ्न हाम्रा खोलानाला र तालतलैया हेरे पुग्छ। केही वर्ष अघिसम्म हामी प्रदूषित खोला या नदिको उदाहरण दिनुपरे बागमतीको नाम लिन्थ्यौँ। अब देशका शहर सबैजसो शहर र शहरोन्मुख बजार क्षेत्रमा सयौँ हजारौँ बागमती छन्। सतहको पानी, भूमिगत पानीलगायत सर्वत्र पानीको प्राकृतिक गुण क्षयीकरण हुने गति तीव्र छ।

प्लास्टिक प्रदूषण, माटो प्रदूषण, शहरी क्षेत्रमा ध्वनि प्रदूषणको अवस्था उत्तिकै भयावह छ। यो सबैका पछाडि पर्यावरणप्रतिको हाम्रो निम्छरो ‘सिभिक सेन्स’ (नागरिक चेतना/बुझाइ) जिम्मेवार छ। सिभिक सेन्स निरन्तरको व्यवहारिक अभ्यासमार्फत निखारिने चिज हो। सिभिक सेन्सले उच्चस्तरको चेतनामार्फत सही/गलत वा नैतिक/अनैतिक व्यवहारको निर्क्योल गर्छ। विद्यालयमा प्रदूषण र स्वच्छताबारे राम्रैसँग पढाइन्छ। तर स्कुल परिसरमै प्लास्टिक प्रदूषणकै थुप्रो थुप्रिरहन्छ भने त्यहाँ सिकाइ त भयो, तर सिभिक सेन्सको राम्रो अभ्यास भएन। 

शहरी हरियाली, सार्वजनिकस्थल, स्वच्छ हावा, प्राकृतिक बहावयुक्त सफा खोलानाला यी सबै स्थानीय प्रयासमा सम्भव हुने कुरा हुन्। प्रदूषणरहित वातावरण हुँदा हाम्रै दैनिकी सहज हुने हो।

धेरै आर्थिक-सामाजिक सूचकमा हामीभन्दा तल नै रहेको अफ्रिकी राष्ट्र रुवान्डाले पर्यावरणको क्षेत्रमा देखाएको उच्चस्तरको सिभिक सेन्सको प्रशंसा विश्वभर छ। रुवान्डालाई अफ्रिकाको सिंगापुर पनि भनिन्छ। यो नजिरका आधारमा गरिब र दरिद्र भएकैले हामीले पर्यावरणका क्षेत्रमा काम गर्न नसकेको भन्ने छुट पनि हामीलाई छैन।

प्रकृतिपूजकको रटान लगाइरहने, प्रकृतिलाई हामी कति सम्मान गर्छौं भन्दै शास्त्रको ‘रिफरेन्स’ दिइरहने तर त्यसको व्यवहारिक अभ्यास गर्दै नगर्ने, बिग्रेको पर्यावरणबारे अद्यावधिक हुनै नचाहने! कस्तो नमिल्दो र विरोधाभासपूर्ण चरित्र हाम्रो।

हाम्रा रिवाज सहज र छिटोछरितो (स्मार्ट) बनाऔँ– आस्थामा ठेस लागिहाल्छ। मन्दिर र शक्तिपीठमा पशुबली सही होइन भनेर कसैले आवाज उठाए आस्थामा ठेस लागिहाल्छ। हाम्रा कर्मकाण्ड वा यज्ञ विधिभित्र भएका अन्धविश्वासका केही ऐजेरु काँटछाँट गरौँ न! हाम्रो भावनामाथि प्रहार भयो भनेर हामीमा बेचैनी हुन्छ। तर जहाँ बेचैनी हुनुपर्ने हो, त्यहाँ फिटिक्कै हुन्न। 

म बस्ने ठाउँ (घोराही दाङ)कै उदाहरण लिऊँ। घोराही उपमहानगरपालिकाको केन्द्र भागमा एक भव्य सार्वजनिक स्कुल छ। त्यसनजिकै कटुवा खोलाको एक सहायक खोला पर्छ। ‘चमै सोतो’ नाम भएको यो जलाधार अब खोलाभन्दा बढी नालीझैँ लाग्छ। यो खोला पार गरेर पल्लोपट्टि पुग्दा ‘भीआईपी’ टोल पुगिन्छ। बासिन्दा सबै प्रकृतिपूजक नै हुन्। शासक/प्रशासकसँग ती भीआईपीको पहुँच छ, सार्वजनिक स्वीकार्य छ, फुर्सद पनि छ, आर्थिक सामर्थ्य पनि गतिलो छ। यिनै प्रकृतिपूजक भीआईपीमध्ये कुनै एक जना निस्केर व्यापक स्थानीय जनसहभागितासहित पर्यावरणीय सिभिक सेन्स प्रवर्द्धनको अगुवाइ गरे त्यसले गतिलो नजिर बस्न सक्थ्यो।

अनि उनीहरूले भन्न सक्थे, ‘हामी आफूलाई साँचो अर्थमा प्रकृतिपूजक दाबी गर्छौं भने हाम्रा देवता जल देवता, वायु देवता र देवता यसरी थिलथिलो पर्दा हाम्रो आस्थामाथि प्रहार भएको बुझौँ। त्यो प्रहार हामीले नै गरेको बुझौँ। आउनुस्, आफ्नो भुल सुधारका लागि प्रदूषणको स्रोतमै लगाम लगाऔँ। जुटौँ।’

आफूलाई प्रकृतिपूजक समुदाय दाबी गर्ने प्रिय सज्जनहरू, नालीझैँ बगिरहेका खोला, डम्पिङ साइटझैँ बनिरहेका शहरबजारका नजिकका खोल्सा र वनजंगलको अवस्था सुधार्न किन केही गर्दैनौँ? किन ‘नेताले देश बिगार्‍यो’ भन्दै मात्रै एकोहोरो कराइरहन्छौँ? यही धर्तीमा यहीँको पानी पिएर र यहीँको रूखले दिने अक्सिजनमा यही आकाशमुनि हामी बाँच्नुपर्ने होइन? कर्मले प्रकृतिपूजक नहुनेले आफूलाई प्रकृतिपूजक दाबी नै किन गर्नु?

(दाङमा रहेर उद्यम गर्ने आचार्य वातावरण र जलवायुबारे लेख्छन्।)