Thursday, January 23, 2025

-->

वायु प्रदूषण: इच्छाशक्ति भए कम गर्न सकिन्छ

प्रदूषणको स्तर उच्च रहने बेला, खासगरी बिहान आठ, साढे आठ बजेसम्म शारीरिक व्यायाम, हिँडाइ, दौड, खेल तथा अन्य बल प्रयोग हुने/ बढी श्वासप्रश्वास गर्नुपर्ने प्रकृतिका कार्य नगर्दा नै राम्रो हुन्छ।

वायु प्रदूषण इच्छाशक्ति भए कम गर्न सकिन्छ

स्वच्छ हावाका लागि समष्टिगत वायुको गुणस्तरको मापकका रूपमा लिइने गरिएको २.५ माइक्रो मिटर वा सोभन्दा कम ब्यास भएका (पीएम २.५) सूक्ष्म–कणको मात्रा २० माइक्रोग्राम प्रतिघनमिटर हावामा सीमित राखिनुपर्ने हो, किनकि विकसित देशले यो र योभन्दा कमलाई नै प्रदूषण नियन्त्रणको मानक मान्छन्। हाम्रो राष्ट्रिय मापदण्डचाहिँ ४० माइक्रो ग्राम प्रतिघनमिटर छ। काठमाडौँलगायत नेपालका शहरी तथा औद्योगिक क्षेत्रमा पीएम २.५ वर्षायाममा बाहेक प्रायः सधैँ १०० को हाराहारीमा र जाडो महिनामा २०० देखि २५० माइक्रो ग्राम प्रतिघनमिटर हावामा रहने गरेको छ भने बारम्बार योभन्दा धेरै उच्च तहमा पुग्ने गरेको छ। यो एकदमै डरलाग्दो अवस्था हो।

प्रदूषण नियन्त्रणमा हामीले सन् १९९९ देखि काम गरेका हौँ। सन् २००१ मै ५२ प्रतिशत काठमाडौँवासी वायु प्रदूषणको स्तर जोखिमपूर्ण भएको क्षेत्रमा बसोबास गरिरहेको देखिएको थियो। विश्व स्वास्थ्य संगठनले सुझाएभन्दा डरलाग्दो प्रदूषणयुक्त हावामा सास फेरिरहेका थिए। बीचमा नेपालमा आवश्यक ज्ञान र जनशक्ति न्यून रहेकाले हाम्रा अध्ययन/अनुसन्धान बढी प्राज्ञिक र भावी वैज्ञानिक जनशक्ति विकासमै केन्द्रित रहे र कार्यान्वयन स्तरका अध्ययन खासै भएनन्।

सन् २०१८ मा नेपाल सरकारको वातावरण विभागले राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरलाई काठमाडौँ उपत्यका र लुम्बिनी क्षेत्रको र पछि सन् २०२१ मा धरान–विराटनगर क्षेत्रको तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पोखरा उपत्यकाको वायु प्रदूषणको अवस्था, प्रदूषणका स्रोत र नियन्त्रण पद्धतिको विकाश गरिदिन अनुरोध गर्‍यो। त्यसमा हामीले ती क्षेत्रका क्षेत्रगत प्रदूषणसम्बन्धी विस्तृत आयामको अध्ययन/अनुसन्धान गर्‍यौँ। ती चारै क्षेत्रमा ७० किमी × ७० किमी क्षेत्रफलभित्र हरेक एक वर्गकिमी चौकिल्लाको सञ्जालमा के–कस्ता प्रकारका वायु प्रदूषण उत्सर्जनका स्रोतहरू रहेका छन्, ती स्रोतबाट के–कति मात्रामा विविध प्रकारका प्रदूषण उत्सर्जन भइरहेका छन् भन्ने विस्तृत नक्सांकन (ग्रिडेड इमिसन इन्भेन्टरी) गरेका थियौँ। 

यस्तो नक्सांकनबाट सम्बन्धित नियमनकारी निकायलाई प्रदूषण उत्सर्जनका स्रोत, उत्सर्जनको मात्रा, बढी उत्सर्जन क्षेत्र र उत्सर्जन नियमन गरिनुपर्ने स्रोत र स्रोत क्षेत्र पहिचान गर्न अत्यन्तै महत्त्वपूर्ण तथ्यगत जानकारी उपलब्ध गराएका थियौँ। ती चारै क्षेत्रमा रहने वायुमण्डलीय अवस्थिति, वायु प्रदूषण प्रसरण र परिवर्तन प्रक्रियाको प्रकृति र प्रभाव क्षेत्रको जटिल गणितीय नमूनाकरण (न्युमेरिकल केमिकल ट्रान्सपोर्ट मोडलिङ) को कार्य गरेका थियौँ। सँगै, ती सबै क्षेत्रको वायु प्रदूषण वहन क्षमता यकिन गरी राष्ट्रिय रूपमा निर्धारित वायुको गुणस्तर कायम गर्न आवश्यक परिणाम त्यसमा उल्लेख थियो। अंकमै सुनिश्चित गरिएका उत्सर्जन नियमन र नियन्त्रण पद्धतिका विकास र उपायहरू सुझाई प्रतिवेदन बुझाएका थियौँ।

ती अनुसन्धानका निष्कर्ष विश्वप्रशिद्ध जर्नलमा समेत प्रकाशित भए, अन्तर्राष्ट्रिय वैज्ञानिक जगत‍्बाट राम्रो प्रतिक्रिया पाइयो, ध्यानपूर्वक र मिहिनेतसाथ गरिएको अनुसन्धानको उपयोग हुनुपर्नेमा सम्बन्धित निकायबाट त्यसको उचित सदुपयोग गरे/गराएझैँ लाग्दैन। 

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड एक छिनलाई बिर्सेर, वायुको गुणस्तर हाम्रै राष्ट्रिय मापदण्डअनुसार कायम राख्ने हो भने पनि हामीले व्यापक रूपमा वायु प्रदूषण उत्सर्जन घटाउनुपर्ने देखिएको छ।

काठमाडौँ उपत्यका क्षेत्रको हकमा पीएम २.५ को मात्रालाई आधार मानेर हेर्दा हाल यातायातको क्षेत्रबाट भइरहेको उत्सर्जनको मात्रामा ७० प्रतिशत, घरायसी क्षेत्रबाट भइरहेको उत्सर्जनको मात्रामा ८० प्रतिशत र औद्योगिक क्षेत्रबाट भइरहेको उत्सर्जनको मात्रामा ६० प्रतिशत बराबर घटाइयो भने बल्ल राष्ट्रिय रूपमा निर्धारित वायुको गुणस्तर कायम हुन सक्छ भन्ने देखिएको छ। झ्वाट्ट हेर्दा यति धेरै उत्सर्जन घटाउन कसरी सम्भव होला जस्तो देखिन्छ, तर असम्भव भने होइन। उदाहरणका लागि, खनिज इन्धनभन्दा विद्युतीय ऊर्जा सकभर सस्तो, नभए बराबर र त्यो पनि गर्न नसक्ने भए मूल्यमा थोरै मात्र भिन्नता गर्ने हो भने तुरुन्तै फरक परिदृश्य देखापर्छ। विद्युत् उत्पादन बढेसँगै घरायसी, यातायात तथा औद्योगिक सबै क्षेत्रलाई विद्युत् ऊर्जा उपयोगमैत्री बनाउन असम्भव छैन।

हाम्रो आन्तरिक वायु प्रदूषण उत्सर्जनको असरका अतिरिक्त हावाको बहावसँगै प्रसरण र विस्तार भई आउने क्षेत्रीय तथा अन्तर्देशीय स्तरमा उत्सर्जित वायु प्रदूषणले समेत नेपालको वायुको गुणस्तरलाई ठूलो असर पार्ने गरेको छ। सामान्यतया गंगा मैदानमा उत्सर्जन वृद्धि भई वायुको गुणस्तर खराब भएको अर्को दिन त्यो फैलिएर नेपाल भित्रन्छ।

यहाँसम्म कि उत्तरी अफ्रिका क्षेत्रमा उत्सर्जित प्रदूषण काठमाडौँ उपत्यकासम्म आउन सक्ने हाम्रो अनुसन्धानको निष्कर्ष केही वर्ष पहिल्यै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक गरेका थियौँ। यस्तो प्रदूषणको प्रकोप खासगरी जाडो र सुख्खा याममा केही दिनदेखि केही हप्तासम्म रहने गरेको छ। क्षेत्रीय तथा अन्तर्देशीय स्तरमा हुने प्रदूषण उत्सर्जन नियन्त्रण हाम्रो वशमा नभएकाले, क्षेत्रीय प्रदूषण बढेको समय कम्तीमा हाम्रो आन्तरिक प्रदूषण उत्सर्जन आवश्यकताअनुसार नियमन र नियन्त्रण गर्न सक्यौँ मात्रै भने पनि हाम्रो हावाको गुणस्तर सन्तुलनमा राख्न, जोखिमपूर्ण बन्न नदिन र वायु प्रदूषण विपत्तिको अवस्था टार्न सकिने अवस्था रहन्छ। 

वायु प्रदूषणकै विषयमा एक वर्षअघि काठमाडौँ महानगरपालिकाले चासो देखायो। त्यतिखेर महानगरसमक्ष नारेल प्रयोगशालामा विकसित एवं गहन रूपमा गुणस्तर प्रमाणीकरण गरिएको गणितीय वायु प्रदूषण पूर्वानुमान प्रविधि र पद्धति उपयोग गरी ७२–घण्टा अघि नै बृहत् काठमाडौँ उपत्यका क्षेत्रको हरेक एक वर्गकिलोमिटरको प्रदूषण स्तर पूर्वानुमान गरी नागरिकलाई अग्रिम सूचना दिई असर न्यूनीकरण विधि–पद्धति विकास गरौँ भनेर संस्थागत रूपमा प्रस्ताव राखेका थियौँ। 

उपत्यकाको वायु प्रदूषण पूर्वानुमानको कार्य हुन सके भोलि र पर्सि कुन ठाउँमा कति बजे हावाको गुणस्तर के कस्तो रहनेछ भनेर महानगर तथा उपत्यकावासीले पहिल्यै थाहा पाउन सक्थे। त्यसअनुसार सुरक्षा पूर्वतयारी र सक्रिय नियमन र नियन्त्रणका उपाय सुझाइ प्रभावकारी कार्यान्वयन गर्न सम्भव हुन सक्थ्यो। प्रस्ताव प्रस्तुतीकरणका बखत महानगरपालिकाको सम्बन्धित विभाग तथा सल्लाहकार नारेलसँगको सहकार्यका लागि बढी नै उत्साहित देखिन्थे। हामी अहिले महानगरको संस्थागत निर्णय पर्खिरहेका छौँ।

सम्भवतः मैले जापानबाट गणितीय जलवायु तथा वायु प्रदूषण नमूनाकरण तथा पूर्वानुमान पद्धति र प्रविधिको उपयोग गरी काठमाडौँ उपत्यकाको जलवायु तथा वायु प्रदूषण प्रसरण प्रक्रिया, प्रभाव क्षेत्रको विकास र मानव स्वास्थ्यमा पारेको असर विषयक विद्यावारिधि स्तरको अनुसन्धान गरेर स्वदेश फर्किएसँगै यो अनुसन्धान विधि, पद्धति र प्रविधि सबै नेपालमा सर्वप्रथम भित्रिएको हो, यद्यपि अन्य सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन। 

“काठमाडौँमा बिहान हिँडडुल गर्न खतरापूर्ण छ”, “उपत्यका कचौराझैँ भएकाले बढी वायु प्रदूषण भएको हो”, “काठमाडौँको प्रदूषण उडेर भक्तपुर हुँदै बनेपा पस्छ”, “तराईको प्रदूषण बागमतीको किनारै किनार काठमाडौँ भित्रिन्छ” आदि इत्यादि जनबोली मेरो विद्यावारिधि अनुसन्धानका निष्कर्षका केही अपभ्रंशयुक्त भनाइ भएको अनुभूत हुन्छ।

नारेल प्रयोगशाला वायुमण्डलीय तथा वातावरणीय भौतिक शास्त्रका विद्यार्थीहरूलाई प्राज्ञिक सोधकार्य गर्ने गराउने उद्देश्यले आफ्नै पहलमा शून्यबाट शुरू गरेको प्रयोगशाला हो। वायुमण्डलीय भौतिकशास्त्र विषयको पठनपाठन शुरू गरियो तर मेरो विधामा अनुसन्धानात्मक संरचना केही थिएन। शुरूका वर्षमा अकल्पनीय अवरोध, अपजस र झन्झट बेहोर्नुपर्‍यो। २०८२ सालमा आएर मात्र बल्ल प्रयोगशाला बन्दैछ। साह्रै ठूलो मिहिनेतपश्चात् अहिले आएर केही सन्तोष लिने ठाउँ मिलेको छ। नारेल प्रयोगशालाले आज नेपाल सरकारका सम्बन्धित विभाग (वातावरण, जल तथा मौसम, शहरी विकास, नेपाली सेना आदि) तथा प्रतिष्ठित विश्वविद्यालयसँग अनुसन्धानात्मक सहकार्य गरिरहेको छ र अध्ययन अनुसन्धानलाई राष्ट्र विकास प्रक्रियासँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गरिरहेको छ। 

मेरो नेतृत्वमा अहिले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा अमेरिकी, जापानी, फ्रान्सेली, जर्मनी र ब्राजिलेली चर्चित प्राध्यापकको सहकार्यमा नेपालमा लाग्ने कुहिरो र वायु प्रदूषणको अन्तरसम्बन्धबारे नारेलबाट अनुसन्धान आयोजना सञ्चालन भइरहेको छ। वायुमण्डलीय तथा वातावरण भौतिकशास्त्रका प्राध्यापक, अनुसन्धानार्थी एवं विद्यावारिधि तथा स्नातकोत्तर तहका सोधार्थी गरी झन्डै दुई दर्जनभन्दा बढीले नारेलमा अध्ययन/अनुसन्धान गरिरहेका छन्।  

प्राध्यापकबाट विकसित एवं प्राध्यापकबाटै सञ्चालित नारेल प्रयोगशाला त्रिभुवन विश्वविद्यालयको पहिलो स्वायत्त प्रयोगशाला सम्बन्धित विषयको आकर्षणको केन्द्रको रूपमा विकसित भइरहेको छ। अहिले नेपाल सरकारको सहयोगमा बल्खु डाँडामा अनुसन्धानकर्मीलाई आवासको व्यवस्थासहित चौबिसै घण्टा सञ्चालनमा रहने एक व्यवस्थित र अनवरत प्रयोगशाला भवन निर्माण भइरहेको छ। अबको केही महिनापश्चात् नयाँ प्रयोगशाला भवन सञ्चालनमा आएपछि नारेलका अध्ययन/अनुसन्धान तथा राष्ट्रिय एवं स्थानीय सरकारलाई दिने सेवा थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनेछन्।

काठमाडौँ उपत्यकामा आजभोलिको वायु प्रदूषणको अवस्थाबारे कुरा गर्दा प्रथम दृष्टिमा केही सुधार भएको देखिन्छ। खागसरि ब्रुमरले सडकको धुलो र फोहोर सोहोर्न र सडक तथा खुल्ला स्थानमा फोहोर बाल्न रोकिएबाट हावामा आँखाले देख्न सकिने आकार र नापका धुलो–धुवाँका कणको मात्रा धेरै नै कम भएको छ। केही वर्ष अघिसम्म मूल सडकमै झन्डै हरेक पचास मिटरको दूरीमा फोहोर थुपार्ने र आगो लगाउने गरेको देखिन्थ्यो। ध्यान दिनुपर्ने के छ भने, मानव स्वास्थ्यका लागि सबैभन्दा खराब मसिना नापका प्रदूषणका कण हुन्, त्यसको मात्रामा उल्लेख्य सुधार भने आएको छैन। बरु झनै खराब बनेको सहज अनुमान गर्न सकिन्छ। 

वाञ्छित स्तरको मापक उपकरण, आवश्यक मापन विधि–पद्धति नअपनाई उचित मर्मत सम्भार नगरिएका अक्सर बिग्रेको देखिने उपकरणहरूबाट उपलब्ध तथ्यांकका आधारमा उपत्यकाको वायु प्रदूषणको स्तर ठ्याक्कै यस्तो छ भन्न सकिएन। विकल्पविहीन विपन्न परिवारले जाडोको समयमा जे मिल्छ, त्यही बाल्छन्। प्लास्टिक, कागज या टायर अझ भन्ने हो भने बल्न सक्ने जति सबै चिज बाल्दछन्, खाना पकाउन होस् या आगो ताप्न। त्यसबाट उनीहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ। 

त्यसो हुँदा विपन्न वर्गलाई प्रदूषणबाट बचाउने हो भने कमसेकम प्लास्टिक, टायर आदि घातक पदार्थ बाल्न र आगो ताप्नबाटै समेत जोगाउनु आवश्यक छ। तिनलाई न्यानो लुगाको जोहो गर्न गराउन सक्ने बनाउनुपर्‍यो। प्रदूषणबाट बच्न सक्नेले मास्क लगाएर हिँड्न सक्छन्, तर मास्कको पनि कस्तो गुणस्तरका भन्ने कुरा हुन्छ। प्रयोग गर्दा कतै न कतैबाट हावा छिरिहाल्छ। सबैले सचेत र सही तरिकाले मास्क नलगाउने गरेको पनि देखिन्छ। 

प्रदूषणको स्तर उच्च रहने बेला, खासगरी बिहान आठ साढे आठ बजेसम्म शारीरिक व्यायाम, हिँडाइ, दौड, खेल तथा अन्य बल प्रयोग हुने/ बढी श्वासप्रश्वास गर्नुपर्ने प्रकृतिका कार्य नगर्दा नै राम्रो हुन्छ। किनभने काठमाडौँ उपत्यका र वरिपरिको क्षेत्रीय भू–बनोटको प्रकृति निर्देशित वायुमण्डलीय अवस्थिति र वायु प्रवाह शून्यता तत् समयपश्चात् मात्रै चलायमान हुन्छ। 

उपत्यकाको सतहमा रातभरमा थुप्रिएको प्रदूषण बिस्तारै आकाशतिर फिँजिने र सतहमा प्रदूषण घट्ने प्रक्रिया शुरू हुने गर्छ। अपराह्नदेखि पश्चिमी खोँच र बागमतीको किनार हुँदै उपत्यका छिर्ने उत्तरपश्चिमी र दक्षिणपश्चिमी हावाको बहावसँगै साँझ सूर्यास्तको समयसम्म उपत्यकाको प्रदूषण पूर्वतिर सर्दै साँगा र नालाको खोँचबाट बनेपा उपत्यकामा फ्याँकिने गर्छ।

यो समयावधिमा आकाशतिर फिँजिने प्रक्रिया भने अवरुद्ध हुन्छ। अपराह्नको हावाको गति प्रायः मन्द नत्र सामान्य नै रहने भएकाले उपत्यकाको प्रदूषण बगेर जाने प्रक्रियासमेत त्यति धेरै प्रभावकारी देखिँदैन। समग्रमा भन्नु पर्दा काठमाडौँ उपत्यकाको वायु प्रदूषण वहन क्षमता (अन्तरघुलन र प्रसरण प्रक्रिया) अत्यन्तै न्यून छ। उपत्यकामा वायुको गुणस्तर कायम राख्न उपलब्ध वहन क्षमताभन्दा बढी वायु प्रदूषण उत्सर्जन हुन नदिनु नै एक मात्र विकल्प देखिन्छ।

वायु प्रदूषणको दैनिकी चक्र थाहा भइसकेकाले आम जनसमुदायले सोहीअनुसारका जीवन पद्धति र सतर्कताका साथै प्रदूषण उत्सर्जन नियमन र नियन्त्रण गर्न वाञ्छनीय देखिन्छ। यसमा नियमनकारी निकाय बढी सक्रिय रहन आवश्यक छ। यस अर्थमा गणितीय वायु प्रदूषण पूर्वानुमानका अभ्यासको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ।

रेग्मी राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल), त्रिवि कीर्तिपुरका प्रमुख वैज्ञानिक हुन्।

 

 


सम्बन्धित सामग्री