Friday, March 29, 2024

-->

४१ वर्षदेखि चुनाव लड्दै अर्जुननरसिंह : पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर उम्मेदवार

संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।

४१ वर्षदेखि चुनाव लड्दै अर्जुननरसिंह  पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर उम्मेदवार
तस्वीर: अर्जुननरसिंह केसीको फेसबुकबाट

काठमाडौँ– अर्जुननरसिंह केसी संसदीय निर्वाचनमा नुवाकोटबाट उम्मेदवार हुन थालेको ४१ वर्ष पुग्यो। यस अवधिका कुनै पनि निर्वाचन नछुटाएका उनी लगातार नवौँपटक उम्मेदवार भएका छन्। पहिलोपटक २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य जित्दा उनी ३२ वर्षका थिए।

केसी अहिले ७५ वर्षका भए। उनलाई मुटुको समस्या भएपछि गएको असार १४ गते ‘पेसमेकर’ राखिएको छ। उम्मेदवार बनेपछि अहिले चुनावी दौडाहाको धपेडीमा छन्। स्वास्थ्यकै कारण हुनसक्छ, नुवाकोट–२ बाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएपछि उनले यो आफ्नो अन्तिम निर्वाचन भएको बताएका थिए।

असोज २४ गते विदुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए, “फेरि म लड्न सक्दिनँ होला। योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो।” 

अघिल्लो निर्वाचनमा ‘अन्तिमपटक’ भनेर मत मागेको ‘भूलचुक’ उनले मनोनयनपत्र दर्ता गरेकै दिन नै सम्झाएनन् मात्र, सुधार पनि गरे। तर त्योभन्दा आश्चार्य चाहिँ, पत्रकार सम्मेलनमा नै उनले युवा नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउन निर्वाचनमा होमिएको दाबी गरे।

जबकि, ४१ वर्षदेखि उनी नुवाकोटबाट युवा नेतृत्व चुनिने बाटो छेकेर (र छेक्न पनि) उम्मेदवार बनेकाबन्यै छन्। २०३८ सालमा उनी उम्मेदवार बन्दा पहिलोपटक मतदान गरेका विदुर नगरपालिका वडा नं. २ का होमनाथ दवाडी ३० वर्षका थिए। ७१ वर्ष पुगेका उनले अहिले मतदान गर्दा पनि एक जना उम्मेदवार केसी नै छन्। दवाडी मात्र होइन, उनका छोरा राजेन्द्रले पहिलोपटक २०५१ सालको मध्यावधि निर्वाचनमा मतदान गरेयता हरेकपटक केसी वा अन्य उम्मेदवार छान्नुपरेको छ।

नुवाकोट क्षेत्र नं. २ कै मतदाता रहेका प्राध्यापक राम लोहनीले केही समयअघि फेसबुक स्टेटस लेखेका थिए, “कदाचित गणतन्त्र गयो र नयाँ आउने व्यवस्थाले चुनाव गरायो भने पनि नुवाकोटेले भोट हाल्ने अर्जुन दाइलाई नै हो। पुस्ता परिवर्तन भयो, तर नेता परिवर्तन भएन। हजुरबाउले पनि उसैलाई भोट हालेको छ, बाउले पनि उसैलाई भोट हालेको छ। अहिलेको जल्दोबल्दो युवा पनि अर्जुन दाइका लागि गर्धन थापेर हिँडेको छ।”

प्राध्यापक लोहनीले पहिलोपटक २०४८ सालमा अर्जुननरसिंह केसी उम्मेदवार भएको नुवाकोट क्षेत्र नं. ३ मा नै मतदान गरेका थिए। “मेरो बुवाले २०३८ साल र २०४३ सालमा मतदान गर्दा उहाँ नै उम्मेदवार हुनुहुन्थ्यो। पहिलोपटक चुनाव जितेर स्वाथ्य राज्यमन्त्री भएपछि २०३९ सालमा नुवाकोट डाँडामा स्वास्थ्यचौकी उद्घाटन गर्दा हामी केटाकेटीहरू पनि गएका थियौँ। हामीलाई उहाँको पक्षमा नारा लगाउन लगाइएको थियो”, लोहनी भन्छन्।

नेवि संघ हुँदै पञ्चायत प्रवेश, त्यसपछि लाभैलाभ
कांग्रेसमा केसीको राजनीतिक इतिहास लामो छ। २०३२ देखि २०४८ सालसम्म भने उनी कांग्रेस थिएनन्। त्यो १६ वर्ष पञ्चायत प्रवेश गरेर उनी मन्त्रीसम्म भए। अहिले कुनै पनि सभा–समारोहमा उनी आफ्नो पञ्चायतकालको जीवनबारे खास बोल्न र कुराकानी गर्न नचाहने नुवाकोट कांग्रेसका एक नेता बताउँछन्।

नुवाकोटबाट लगातार उम्मेदवार बनिरहेका केसीसँग कतिपय कांग्रेसकै नेता पनि असन्तुष्ट छन्। अर्जुननरसिंहका भाइ तथा नुवाकोट कांग्रेसका नेता डा. केदारनरसिंह केसी भन्छन्, “दाइ उम्मेदवार बन्ने भएपछि मलाई पनि ‘किन फेरि उहाँ?’ भनेर प्रश्न आएको थियो। उहाँ विश्वकै लामो समयसम्म उम्मेदवार बनिरहने कीर्तिमान कायम गर्न लाग्नुभएको छ भनिदिएको थिएँ। वास्तवमा उहाँ ६१ वर्षदेखि चुनाव लडिरहेको मान्छे हो। त्यसैले जनताको लागि राजनीति गर्नेले टिकट पाउनु आश्चर्यको कुरै होइन।”

भाइ डा. केदारनरसिंहका अनुसार अर्जुननरसिंहले पहिलोपटक २०१८ सालमा विद्यालयको निर्वाचन लडेका थिए। त्यतिबेला शान्ति विद्यागृहको सचिवमा उनले आफ्नै मामा गणेश पण्डितलाई पराजित गरेका थिए। पण्डित पछि वामपन्थी राजनीतिमा लागेर २०४८ सालमा नेकपा एमालेबाट नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

अर्जुननरसिंह २०२० सालमा पश्चिम १ नं. छात्र संघको सभापतिमा निर्वाचित भएका थिए। यो नुवाकोट, धादिङ र रसुवाका विद्यार्थीको संगठन थियो। त्यसपछि, २०२२ सालमा शंकरदेव क्याम्पस (तत्कालीन नेसनल कलेज)को विद्यार्थी सभापतिमा निर्वाचित भए। २०२६ सालमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको महामन्त्री भए। देवेन्द्र नेपाली संयोजक रहेको त्यही संस्थाले सम्मेलन आह्वान गरेपछि नेवि संघ स्थापना भएको वरिष्ठ पत्रकार हरिहर विरही बताउँछन्। नेवि संघका संस्थापक अध्यक्ष विपीन कोइराला थिए भने महामन्त्री अर्जुननरसिंह भए। त्यसबेला उनी सूर्यप्रसाद उपाध्यायसँग निकट थिए।

विद्यार्थी जीवनपछि अर्जुननरसिंहले केही समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत सरस्वती क्याम्पसमा राजनीतिशास्त्र पढाए। तर, विद्यार्थी आन्दोलनलाई सहयोग गरेको आरोपमा २०३२ सालमा उनीलगायत २२ जनालाई तत्कालीन सरकारले बर्खास्त ग¥यो। बर्खास्त हुनेमा वासुदेवचन्द्र मल्ल, हिरण्यलाल श्रेष्ठ, भीमसेन थापा, राजेश्वर आचार्य, सहाना प्रधानलगायत थिए।

बर्खास्तीलगत्तै केही महिना उनी जेल परे। जेलबाट छुटेपछि २०३३ सालमा नै उनी जिल्ला पञ्चायत सदस्य भएको नुवाकोट कांग्रेसका एक नेता बताउँछन्।

२०३८ सालमा गणेशमान सिंह परिवारसँग सल्लाह गरेर अर्जुननरसिंह राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवार बनेको भाइ डा.केदारनरसिंहको दाबी छ। “दाइ शुरूदेखि नै गणेशमान सिंहको परिवारसँग नजिक हुनुहुन्थ्यो”, उनी भन्छन्, “त्यसबेला पञ्चायत प्रवेश गर्नेमा सूर्यबाबु (सूर्यप्रसाद उपाध्याय) पनि हुनुहुन्थ्यो। गणेशमान सिंहलगायत नेतासँग सल्लाह गरेर नै पञ्चायत प्रवेश गरेर जनसेवा गर्न र बहुदललाई आवश्यक सहयोग गर्न उम्मेदवार बन्नु भएको थियो।”

निर्वाचन जितेलगत्तै सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्‍मा उनी स्वास्थ्य राज्यमन्त्री भए। २०४० सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नभएसम्म उनी मन्त्री पदमा कायम रहे।

२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यमा भने उनी पराजित भए। तर, उनको पञ्चायत यात्रा रोकिएन। त्यही वर्ष चैतमा भएको स्थानीय निर्वाचनमा होमिए। २०४४ जेठमा उनी नुवाकोटको जिल्ला पञ्चायत सभापति निर्वाचित भए।

राप्रपा (थापा)को प्रवक्ता छाडेर फेरि कांग्रेस
२०४६ सालको जनआन्दोलन सफल भएपछि पूर्वपञ्चहरू तितरवितर भएका थिए। नयाँ संविधान बनाउन कार्यदलले काम गरिरहेको थियो। तर, लामो सयम राजनीतिमा होमिएका पञ्चहरू अलमलमा थिए। कतिपय पञ्च भने नयाँ पार्टी खोल्नुपर्ने विचारमा थिए। नयाँ पार्टी खोल्ने विषयलाई जोडतोडले उठाउनेमध्ये अर्जुननरसिंह पनि थिए।

सूर्यबहादुर थापाको पुस्तक ‘मेरा नौ दशक’मा उनले उल्लेख गरेअनुसार त्यतिबेला पञ्चहरू तितरवितर भएर कोही कांग्रेस र कोही एमालेमा प्रवेश गर्न थालेका थिए। पञ्चहरूको पार्टी गठनका लागि सूर्यबहादुरको नेतृत्व स्वीकार्ने शुरूमा सहमति गरे पनि पछि ‘हार्डलाइनर’ले आफूलाई प्रयोग गर्न खोजेको आशंकामा उनी पछि हटे। (पृष्ठ ३३४)

दुई समूहका पञ्चहरूको द्वन्द्वबारे केशवकुमार बुढाथोकीले आत्मकथा ‘आफ्नो–आफ्नो सगरमाथा’मा पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, “डरलाग्दो अन्योलमा परिरहेका बेला केशरबहादुर विष्ट, मुकुन्दबहादुर बस्नेत, अर्जुननरसिंह केसी र शरतसिंह भण्डारीसँग मेरो भेट भयो। उनीहरू कसैको पनि तत्कालै कतै जाने ठाउँ थिएन। उतातिर पञ्चहरूको पनि पार्टी खोल्ने कुरा चल्न थालेको थियो। लावतीहरू (पद्मसुन्दर लावती)ले खोल्ने भनिएको पार्टीमा जाने कुरा आएन। सूर्यबहादुर थापा आमा मरेर शोकमा बसेका थिए। ...त्यसपछि हामी सबैजना सूर्यबहादुरकामा गयौँ। उनकामा जानुको कारण थियो– पञ्चायतमा हुँदा पनि हामी उनकै समूहमा थियौँ।” (पृष्ठ २८)

२०४७ जेठ १५ गते पञ्चका दुई समूहले एकै दिन पार्टी घोषणा गरे। राप्रपा (थापा) को अध्यक्ष सूर्यबहादुर थापा भए भने राप्रपा (चन्द) को अध्यक्ष लोकेन्द्रबहादुर चन्द थिए। अर्जुननरसिंह राप्रपा (थापा)को प्रवक्ता भए। तर, केही समयपछि नै उनी नेपाली कांग्रेस प्रवेश गरे।

बुढाथोकीले अर्जुननरसिंहले कांग्रेस प्रवेश गर्दाको रमाइलो प्रसंग पनि पुस्तकमा उल्लेख गरेका छन्। एक दिन अर्जुननरसिंहकै घरमा रक्सी खाने कार्यक्रम रहेछ। त्यसअघि अर्जुननरसिंहले बुढाथोकीलाई ‘नयाँ पार्टी बनाउनुपर्छ, अहिले कतै नलाग्नू। म दिल्ली पुगेर आएपछि सल्लाह गरौँला’ भनेका रहेछन्।

बुढाथोकीले लेखेका छन्, “नेवि संघबाटै राजनीति शुरू गरेको भए पनि पञ्चायतमा पसेपछि उनी कडा मण्डलेसरह बनेका थिए। २०४६ सालमा गणशमाननजिकमा भएको कांग्रेसको भेलामा सहभागी हुन भारतबाट आएका चन्द्रशेखर बसेको होटलमै उनका विरोधमा कालो झन्डा देखाउन केही पञ्च र मण्डलेहरूको नेतृत्व गर्दै उनीसमेत पुगेका थिए। मलाई लाग्यो उनी पक्कै कांग्रेसमा जाँदैनन्। एउटा राम्रै टिम भएर राप्रपा बनाइए ठिकै होला भनेर म पनि उनलाई पर्खेर बस्दो भएँ। उनी त अस्ति कहिले दिल्लीबाट आएर मलाई खबरै नगरी कांग्रेसमा पसेछन्। ...उनलाई देख्नेबित्तिकै मेरो पारो चढिहाल्यो। भनाभन हुँदाहुँदै मैले हात छोडिहालेँ। साथीहरूलाई छुट्याउन पनि निकै साह्रो पर्‍यो। केको पार्टी न सार्टी। सन्केकै सुरमा म तल झरेँ र आफ्नो गाडी लिएर हिँडेँ।” (पृष्ठ २९५)

भाइ डा.केदारनरसिंह भने अर्जुननरसिंह बहुदलवादी र कांग्रेस समर्थक नै रहेको कारण पार्टी प्रवेश गरेर २०४८ सालमा उम्मेदवार भएको बताउँछन्। “२०४६ सालको आन्दोलनताका हामी काठमाडौँबाट दाइकै गाडीमा पम्प्लेटहरू नुवाकोट लैजान्थ्यौँ। उहाँको योगदानबारे गणेशमान सिंह र उहाँको परिवार जानकार थियो। गणेशमान सिंहकै पहलमा उहाँ फेरि कांग्रेस भएर उम्मेदवार पनि हुनुभएको हो”, उनी भन्छन्।

तर, २०४६ सालमा नुवाकोटमा बनेको पञ्चहरूको आन्दोलन प्रतिकार समूहको संयोजक उनै अर्जुननरसिंह रहेको नुवाकोट कांग्रेसका एक नेता बताउँछन्। ती नेताले पनि अर्जुननरसिंह गणेशमान सिंहकै कारण कांग्रेसमा फर्किन संभव भएको बताए। “उनी अवसरवादी नै हुन्। उनी गणेशमान परिवारसँग निकट भएकै कारण कांग्रेस फर्किन सम्भव भएको हो”, ती नेताले भने। उनलाई कांग्रेसमा फर्काउन त्यतिबेला नेवि संघमा सक्रिय भाइ जगदीश्वरनरसिंह केसीले भूमिका खेलेको उनी बताउँछन्।

कांग्रेस फर्किएपछि उनले अवसरै अवसर पाए। त्यसयताका हरेक चुनावमा उम्मेदवार भए। यसबीचमा उनी तीनपटक मन्त्री पनि भए। पहिलोपटक २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री तथा दोस्रोपटक २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा, आवास र भौतिक योजना मन्त्री भए। अन्तिमपटक २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहरी विकासमन्त्री भएका थिए।

आठ चुनावः चार जित, चार हार
अर्जुननरसिंहले दुईपटक पञ्चायतको चुनावमा भाग लिए भने यसपालि (आउँदो मंसीर ४ को प्रतिनिधि सभा निर्वाचन) समेत जोडेर ६ पटक बहुदलीय प्रतिस्पर्धामा उम्मेदवार भए। पञ्चायतमा एकपटक र त्यसपछिका चुनावमा तीनपटक विजयी  भए। 

२०३८ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्यका लागि उनी उम्मेदवार बन्दा धेरै जनसंख्या भएका जिल्लाबाट दुई जना निर्वाचित हुने व्यवस्था थियो। त्यो चुनावमा अर्जुननरसिंह र डा. प्रकाशचन्द्र लोहनी विजयी भएका थिए। हलो चिह्न पाएका अर्जुननरसिंहले २० हजार २१९ मत ल्याएका थिए भने लालीगुराँस चिह्न पाएका डा.लोहनीको मत १२ हजार १७७ थियो। २२ जना उम्मेदवार रहेको नुवाकोटमा तेस्रो भएका जितसिंह खड्काले ११ हजार ७४५ मत पाएका थिए। 

त्यसपछि २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको अर्को निर्वाचनमा पनि उनी उम्मेदवार भए। तर, सो निर्वाचनमा उनी पराजित भए। डा. लोहनी र खड्का विजयी भएका थिए। खड्का पञ्चायतमा चन्द समूहको नेता थिए।

प्रजातन्त्र पुनःस्थापनापछि २०४८ सालको आमनिर्वाचनभन्दा केही समयअघि मात्र कांग्रेस प्रवेश गरेका उनी नुवाकोट क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने अवसर पाए। उनी ११ हजार ८६ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका महेन्द्रबहादुर पाण्डेले १० हजार १४० मत पाएका थिए। राप्रपा चन्दका कमानसिंह लामाले नौ हजार ८९५ मत पाएका थिए।

२०५१ सालको निर्वाचनमा उनी १५ हजार ९५१ मतसहति विजयी हुँदा यसपटक निकटतम् प्रतिस्पर्धी भएका राप्रपाका प्रकाशचन्द्र लोहनीले १० हजार ३८७ मत पाए। एमालेका पाण्डेले भने नौ हजार ४४० मत मात्र पाए।

२०५६ सालको निर्वाचनमा एमालेका पाण्डे १३ हजार १७७ मतसहित विजयी भए। निकटतम् प्रतिद्वन्द्वी भएका अर्जुननरसिंहले १२ हजार ८०८ मत पाए। कांग्रेसबाट बागी उम्मेदवारी दिएर तेस्रो भएका महेन्द्र थिङ तामाङले पाँच हजार ८५३ मत पाए। 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि उनी पराजित भए। देशभरि माओवादीको लहर आएको उक्त निर्वाचनमा माओवादीका विमला सुवेदीले २० हजार ५८१ मत पाउँदा उनले १२ हजार ९८४ मत मात्र पाए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी १७ हजार ३४६ मतसहित विजयी भए। माओवादीकी सुुवेदीले नौ हजार १४५ मत पाइन्।

२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा उनी फेरि पराजित भए। एमालेका नारायणप्रसाद खतिवडाले ३६ हजार ८९२ मत पाउँदा उनले २६ हजार ३३५ मत मात्र पाएका थिए।

यसपटक चुनौतीः आन्तरिक किचलो
यसपटकको निर्वाचनमा अर्जुननरसिंह नुवाकोट–२ बाट भाइ जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाउन चाहन्थे। तर, क्षेत्रीय समितिले न अर्जुननरसिंह न त जगदीश्वरलाई नै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको थियो।

क्षेत्रीय समिति सभापति बहादुरसिंह लामा छन्। नुवाकोटमा परम्परागत रूपमा महत (डा.रामशरण तथा डा.प्रकाशशरण) परिवारबीच द्वन्द्व छ। लामा महत समूहका हुन्। क्षेत्रीय समितिले लामालाई प्रतिनिधि सभातर्फ प्रत्यक्षमा र अर्जुननरसिंहलाई समानुपातिकमा सिफारिस गरेको थियो।

“आफैँ उठ्दा मात्र लामालाई पन्छाउन सकिने भएपछि आफ्नो परिवारको वर्चस्व जमाइराख्न अस्वस्थताको बावजूद अर्जुन दाइ नै उठ्नुपर्ने बाध्यता भएको हो”, उनी निकट नुवाकोटका एक कांग्रेस नेताले भने। तर, माओवादीको साथ पाउँदा पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अर्जुननरसिंहका लागि चुनौतीपूर्ण हुने ती नेताले बताए।

गएको जिल्ला अधिवेशनमा नुवाकोट कांग्रेसको नेतृत्व केसी परिवारबाट महत परिवारमा सरेको छ। यसअघि जगदीश्वरनरसिंह केसी दुई कार्यकाल सभापति भएका थिए। पछिल्लोपटक उनले डा.रामशरणका भतिजा रमेश महतलाई पराजित गरेका थिए। यसपटक रमेश महतले जगदीश्वरका दाई केदारनरसिंहलाई पराजित गरे।

जगदीश्वरको दुई कार्यकाल पूरा भएको कारण केसी परिवारबाट जिल्लाको नेतृत्वमा नियन्त्रण राखिराख्न अर्जुननरसिंहले नै केदारनरसिंहलाई उम्मेदवार बनाएका थिए। तर, नेतृत्व केसी परिवारबाट महत परिवारमा सरेको तथा पूर्वसभासद् पनि रहेका क्षेत्रीय सभापति लामा समूह पनि असन्तुष्ट भएको कारण अर्जुननरसिंहलाई पार्टीभित्रै मिलाएर चुनावमा आफ्नो पक्षमा माहोल बनाउन चुनौती भएको नुवाकोट कांग्रेसका नेताहरू बताउँछन्।


सम्बन्धित सामग्री