राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिएका छन्।
काठमाडौँ— नेपाल राष्ट्र बैंकका एक उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार र हिंसा भएको घटना छानबिन गरेको राष्ट्रिय महिला आयोगले बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल हिंसामा संलग्न रहेको निष्कर्ष निकालेको धेरै भएको छैन। केही समयअघि यस्तो निष्कर्षसहितको प्रतिवेदन तयार पारेको आयोगले मिश्र र ढकालविरुद्ध कानूनी उपचार खोज्न पीडित महिला कर्मचारीलाई प्रतिवेदनमा सुझावसमेत दिएको थियो।
तिनै मिश्र र ढकालले शुक्रबार दिउँसो महिला आयोगमा आफूहरू महिला सहकर्मीमाथि हिंसामा संलग्न नरहेको ‘क्लिनचिट’ दिन निवेदन दिएका छन्। दुवै जनाको निवेदन लिएर आयोग पुगेका मिश्रले आयोग अध्यक्ष कमला पराजुलीलाई प्रतिवेदनका कारण आफू अन्यायमा परेको भन्दै ध्यानाकर्षण गराउन आएको बताएका थिए। आयोग अध्यक्ष पराजुलीले मिश्रको यस्तो अभिव्यक्तिका कारण आफूसहित आयोगका कर्मचारीमाथिसमेत हिंसा भएको बताइन्।
“हामी कुनै केस छानबिन गर्दा आरोपित व्यक्तिसमेतलाई एक्लै भेट्दैनौँ। महिला हिंसामा संलग्न भएको निष्कर्ष छानबिनबाट निस्किइसकेको अवस्थामा उहाँ (मिश्र) लाई भेट्ने कुरै हुन्न,” पराजुलीले भनिन्, “तर उहाँ अनुमतिबिनै मेरो कार्यकक्षमा पस्नुभयो। आउनसाथ आफूलाई अन्याय भयो भन्दै प्रतिवेदन सच्याउनुपर्छ भनेर थर्काउनुभयो। उहाँको व्यवहारबाट मैले आफूमाथि हिंसा भएको महसुस गरेँ।”
पराजुलीले आयोगको छानबिन टोलीले तथ्यपरक ढंगले प्रतिवेदन तयार पारेको र त्यसलाई सच्याउन वा खण्डन गर्न नमिल्ने जवाफ मिश्रलाई दिएको उल्लेख गर्दै भनिन्, “पीडित महिलामाथि कसले कसरी हिंसा गर्यो भन्नेबारे निष्पक्षरूपमा छानबिन गरी आयोगले प्रतिवेदन तयार पारेको हो। अब कसैलाई जोगाउन प्रतिवेदन सच्याउने वा खण्डन गर्ने काम हुँदैन। बरु अदालत जान तयार छौँ।”
केही दिनअघि आयोगको छानबिनको निष्कर्ष सार्वजनिक भएपछि मिश्र र ढकालको आयोग दौडाहा शुरू भएको देखिन्छ। त्यसक्रममा उनीहरूले आयोगका सचिव र अरू कर्मचारीलाई समेत प्रतिवेदन सच्याउन दबाब दिन थालेको उल्लेख गर्दै पराजुलीले उनीहरूले पटक–पटक भेट्न खोज्दा आफूले भने नभेटेको बताइन्।
हिंसामा जोडिएका मिश्र र ढकाल
करिब एक वर्षअघि, २०८० पुस ७ गते राष्ट्र बैंकले नगरकोटमा कर्मचारीको तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम राखेको थियो। त्यही कार्यक्रमका क्रममा रात्रिभोज शुरू हुँदा बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार र हिंसा भएको थियो। हिंसा भोगेकी ती कर्मचारीले शुरूमा राष्ट्र बैंकमै न्यायका लागि उजुरी गरेकी थिइन्। तर बैंकको आन्तरिक छानबिन चित्तबुझ्दो भएन। त्यहीबीच यो घटना आन्तरिक छानबिनबाट अघि बढ्न नसकेको अवस्था उकालोले उजागर गरेको थियो।
त्यसपछि पनि चित्तबुझ्दो पहल नभएपछि उनले महिला आयोग गुहारेकी थिइन्। महिला आयोग गुहार्दासम्म घटनाको करिब चार महिना बितिसकेको थियो। ती उच्चपदस्थ महिला कर्मचारीले आफूमाथि हिंसा र दुर्व्यवहार गर्न बैंकका तत्कालीन निर्देशक आचार्यलाई उक्साएको भन्दै मिश्र र ढकालविरुद्ध गत वैशाख १६ गते आयोगमा उजुरी दर्ता गरेकी थिइन्।
त्यही उजुरीका आधारमा महिला आयोगले छानबिन गरेको थियो। आयोगले तयार प्रतिवेदनमा आचार्य महिला हिंसामा दोषी रहेको निष्कर्ष निकाल्दै उनलाई बैंकले नै सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको उल्लेख गरेको छ। हिंसामा मिश्र र ढकाल पनि संलग्न रहेको निष्कर्ष निकालेको आयोगले उनीहरूविरुद्ध कानूनी उपचारका लागि अदालत जान पीडितलाई सुझाएको थियो। “आरोपित कार्यकारी निर्देशक देवकुमार ढकाल र बमबहादुर मिश्रको स्वच्छ मनसाय नदेखिएकोले निजहरूको पनि उक्त घटनामा संलग्नता देखिएको छ,” प्रतिवेदनमा उल्लेख छ।
यही प्रतिवेदनको निष्कर्ष बाहिर आएपछि मिश्र र ढकाल बिहीबार पनि पराजुलीलाई भेट्न महिला आयोग पुगेका थिए। तर पराजुली कार्यालयबाहिर भएको खबर पाएपछि उनीहरूले आयोग सदस्य कृष्णकुमारी खतिवडा पौडेललाई खबर गरेका थिए। पौडेलले उनीहरूलाई आफ्नो कार्यकक्षमा पुर्याएर चिया खुवाएकी थिइन्।
खतिवडासँग केहीबेर छलफल गरेपछि मिश्र र ढकालले आयोगकी सचिव पार्वती अर्याललाई भेट्न खोजेको, तर अर्याल आफ्नो आकस्मिक काम परेको भन्दै बाहिरिएपछि पौडेलकै कार्यकक्षमा उनीसहित आयोगकी अर्की सदस्य विद्या सिन्हासँग छलफल गरेका थिए। त्यसक्रममा पौडेलको कार्यकक्षमा आयोगका उपसचिवलाई समेत बोलाउन लगाएर मिश्र र ढकालले आयोगको प्रतिवेदन आफूहरूलाई दिन र प्रतिवेदन सच्याएर सार्वजनिक गर्न दबाब दिएको पराजुलीले बताइन्। “म नभएका बेला आयोगका उपसचिवलाई समेत उहाँहरू (मिश्र र ढकाल) का अघि उभ्याएर प्रतिवेदन सच्याउन, खण्डन गर्न दबाब दिने काम भएछ, यो आपत्तिजनक छ,” पराजुलीले भनिन्।
आयोगकी सदस्य पौडेलले मिश्र र ढकाललाई आफ्नो कार्यकक्षमा राखेर चिया खुवाएको स्वीकार गर्दै भनिन्, “अध्यक्षज्यूको फोन नउठेपछि उहाँहरू (मिश्र र ढकाल)ले मलाई खबर गर्नुभएको थियो। मैले चिया खाएर जानुहोस् भनेर मेरो कार्यकक्षमा बोलाएँ। भीआईपीहरू आउनुभयो, माननीयसँग चिया खाएर जानुभयो।”
उनीहरूसँग केचाहिँ कुरा भयो त? पौडेलले भनिन्, “प्रमाणका आधारमा हामीलाई कारबाही गरे हुन्छ, तर हामीले गल्ती नै गरेका छैनौँ भन्ने उहाँहरूको कुरा रहेछ। हामीले यस घटनाबारे हामीलाई जानकारी छैन भन्यौँ।”
हामीले राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई ‘महिला आयोग पुगेर क्लिनचिट दिन दबाब दिनुभएको हो?’ भनेर सोधेका थियौँ। उनले प्रतिप्रश्न गरे, “म कता गएँ, कता गइनँ भनेर सबै भन्नुपर्छ र?” उनले यस विषयमा आफूले केही कुरा गर्न नचाहेको उल्लेख गर्दै थपे, “आयोगबाट महिला हिंसामा संलग्न भनेर हामीलाई चिठी आएको छैन, हामीलाई सोधपुछ पनि गरेको छैन। यो विषयले हामीलाई अप्ठ्यारो परेकाले हामीले जान्न खोजेको मात्र हो।”
आयोगका अध्यक्षले नै क्लिनचिट चाहियो भनेर तपाईंहरूले कर्मचारीमाथिसमेत दबाब दिनुभयो भन्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, “हामीले कर्मचारीसँग कुरै गरेका छैनौँ। आयोगका तीन जना सदस्यसँग कुरा गरेका छौँ। यस विषयमा कुरा कहाँ गर्यौँ, कसरी गर्यौँ, कतिबेला गर्यौँ भन्न जरुरी भएन।”
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले पनि आफूहरू आयोगका अध्यक्षलाई भेट्न गएको स्वीकारे। उनले भने, “हामी महिला हिंसामा दोषी भन्दै मिडियामा कुरा आए। यसबारे सत्यतथ्य के हो भनेर बुझ्न आयोग गएकै हो। हामीले हिंसा गरेको भनेर आयोगसँग के प्रमाण छ भनेर बुझ्नुपर्ने थियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
