रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहानै आएको विनाशकारी बाढी वर्षाको कारण नभएको मौसम विभागले जनाएको छ। त्यहाँ बाढी आउनसक्ने पूर्वसूचना पनि थिएन। त्यसो भए एक्कासि कसरी आयो यति ठूलो बाढी?
काठमाडौँ– मंगलबार बिहानै रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा तीनजना प्रहरी, ९ जना सर्वसाधारण र चिनियाँ नागरिक ६ समेत १८ जना बेपत्ता भएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार उनीहरूको खोजी भइरहेको र बाढीमा फसेकाको उद्धार कार्य जारी रहेको छ।
बाढीले रसुवागढी भन्सार कार्यालयमा रहेको विद्युतीय गाडी चर्जिङ स्टेसनमा क्षति पुर्याएको छ। त्यहाँ रहेका ७–८ वटा नयाँ विद्युतीय गाडी (इभी) र केही लोडेड कन्टेनरसमेत बाढीमा बगेका छन्। “बाढी रातिको समयमा आयो, थाहा पाउनसाथै प्रहरीदेखि सम्भव भएका सबै संयन्त्र परिचालन गरेर उद्धारको काम भइरहेको छ। थप क्षति हुन नदिन काम गरिरहेका छौँ,” पौडेलले भने।
बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल नै बगाएको छ। यसले गर्दा नेपाल र चीनबीचको सम्बन्ध विच्छेद हुन पुगेको छ। गोसाईंकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामू सडकखण्डको धुन्चेदेखि टिमुरेसम्मको सडक नै बाढीले भत्काएको छ। त्यो क्षेत्रमा आवागमन विच्छेद भएको छ।
बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा फसेका एक प्रहरी, एक सशस्त्र प्रहरी र सातजना स्थानीयसमेत ९ जनालाई सकुशल उद्धार गरिएको छ। भोटेकोशी मिसिने त्रिशूली नदीको बाढीमा फसेका थप दुई जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्राधिकरणका प्रवक्ता, उपसचिव सुरेश सुनारले भने, “हामीले मौसम विभाग (मौसम पूर्वानुमान महाशाखा) बाट यसबारे केही पूर्वसूचना पाएनौँ। भारी वर्षाको सम्भावना पनि थिएन। अकस्मात् बाढी आयो। अहिले उद्धार कार्य जारी छ।”
मौसम विभाग भन्छ– वर्षाका कारण आएको होइन बाढी
जल तथा मौसम विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान करिब ३ बजे भोटेकोशी नदीमा बाढी आएको थियो। जबकि गत २४ घण्टा (२३ गते बिहान ९ बजे देखि २४ गते बिहान ९ बजेसम्म) मा नेपाल–चीन सीमाबाट नजिक रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र जिल्ला सदरमुकाम धुन्चेमा रहेको मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको महाशाखाले जनाएको छ।
विश्व मौसम संगठनको ‘फ्ल्यास फ्लड गाइडेन्स सिस्टम’को ‘ग्लोबर हाइड्रोइस्टिमेटर स्याटलाइट बेस्ड प्रिसिपिटेसन इस्टिमेट्स’का अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन। यहीकारण महाशाखाले भोटेकोशीमा आएको बाढी वर्षाको कारण उत्पन्न नभएको तर्क गरेको छ। बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले भने, “भोटेकोशी नदी जलाधारअन्तर्गत चिनियाँ क्षेत्र (तिब्बत) मा थुप्रै हिमताल रहेकाले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने हाम्रो अनुमान छ। किनभने भोटेकोशी नदीमा तिब्बती क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको छ। वरपर कतै भारी वर्षा पनि भएको छैन।”
रसुवागढी नाकाबाट केही तल, रसुवाको टिमुरेमा रहेको रसुवागढी जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांक अनुसार बिहान मंगलबार ३ः१० बजे त्यो ठाउँमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको थियो।
रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको जल तथा मौसम विभागको स्याफ्रुबेसी स्वचालित जलमापन केन्द्रमा पनि बिहान ३ः३० बजे एक्कासि पानीको बहाव बढेको थियो। यो केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको मौसम विभागले जनाएको छ।

रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोट स्थित त्रिशूली बेत्रावती स्वचालित जलमापन केन्द्रमा बिहान ५ः०० बजे उक्त बहाव पुगेको देखिन्छ । उक्त केन्द्रमा बिहान ५ः०० बजे १.६० मिटर (बहाव करिब २२० घनमिटर प्रति सेकेन्ड) रहेको जलसतह ५ः१० बजे एक्कासि ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ः५० बजे ४.१८ मिटर (बहाव करिब १६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको थियो।
बाढीको ठूलो प्रभाव भोटेकोशी तथा त्रिशूली नदीको रसुवा जिल्लाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोट जिल्लाको त्रिशूली नदी तटीय क्षेत्रमा परेको छ। यसबाहेक धादिङ जिल्लाको बुढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पनि सामान्य असर पर्ने देखिएकोले तीनवटै जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको भन्दै महाशाखाले विज्ञप्ति नै जारी गरेको छ।
“रसुवा जिल्लास्थित भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ, ” विभागले जारी गरेको सूचनामा उल्लेख छ।
रसुवा प्रशासनको दाबी– सूचना जारी गरेकाले क्षति कम भयो
जिल्ला प्रशासन कार्यालय रसुवाले भने असार १० गते नै चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाएर बग्ने नदीहरूमा चालु सक्रिय मनसुनका कारण नदीको बहाव बढ् सक्ने भन्दै सतर्क रहन आग्रह गरेको दाबी गरेको छ। त्यही सूचनाका कारण धेरै क्षति हुनबाट जोगिएको दाबी प्रमुख जिल्ला अधिकारी पौडेलले गरे। “हामीले चिनियाँ प्रशासनसँग कुरा गरेर १५ दिन अगाडि नै सूचना जारी गरेका थियौँ। नत्र यो भन्दा धेरै क्षति हुने सम्भावना थियो,” उनले भने।
“विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको र चिनियाँ पक्षबाटसमेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाएर बग्ने नदीहरूमा चालु सक्रिय मनसुनका कारण नदीको बहाव बढ्न गई नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्र आसपासमा अवस्थित कार्यालय/संरचनाहरूमा विपद्को जोखिम बढ्न सक्ने सम्भावना छ,” प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र रसुवामा अवस्थित अन्य नदी/खोला आसपासमा बसोबास गर्ने र नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको थियो।
राससमा असार १९ गते प्रकाशित समाचार अनुसार रसुवागढी क्षेत्रमा बाढीको जोखिम भएकाले जाँचपास भएर बसेका गाडी काठमाडौँ लैजान व्यवसायीलाई भन्सार कार्यालयले आग्रह गरेको थियो। तर यस्तो सूचनाका बाबजुद पनि व्यवसायीहरूले त्यहाँबाट गाडी लैजाने पहल गरेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
