काठमाडौँ– घरमा बिरामी आमा, त्यसमाथि आम्दानीको बाटो थिएन। बढ्दो दायित्व र घर व्यवहारले भने थिच्दै गएको थियो। यस्तो अवस्थामा घरव्यवहार चलाउन पनि केही गर्नैपर्ने बाध्यता सुशीला आचार्य (३२) र उनका श्रीमान् दीपेन्द्र भण्डारीलाई थियो।
बिरामी आमा हेर्नुपर्ने कर्तव्यका बीच सुशीला पनि गर्भवती भइन्। त्यतिबेला उनीहरूलाई घरबाहिर गएर काम गर्न अनुकूलता थिएन। दीपेन्द्र पहिले व्यावसायिक रूपमा कुकुर पालेर छाउछाछाउरी बेच्थे। त्यसबाट पनि खासै राम्रो भएन। दुवैमा पहिलेदेखि नै केही नयाँ गर्ने हुटहुटीे भने थियो।
त्यही बीचमा सुशीलाले सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप देखिन् जसमा मेसिनमार्फत दुनाटपरी बनाइरहेको देखिन्थ्यो। त्यसमा घरमै बसेर मासिक ३५ हजार रुपैयाँ कमाउन सकिने देखाइएको सुशीला सम्झन्छिन्। यो देखेपछि उनको मन आशा र सम्भावनाले भरियो।
“घरबाटै गर्न सकिने काम जसले गर्दा आफ्नो जीवनशैली सहज होस्। घर छोडेर कतै जान पनि नपरोस। त्यस्तै कामको खोजीमा थियौँ,” सुशीला भन्छिन्, “अरू सामान उत्पादन गर्ने उद्यममा कच्चा पदार्थको लागि भारतसँग परनिर्भर हुनुपर्ने। त्यै पनि भनेको बेलामा सामान आउँदैन। दुनाटपरी उद्योग त आफ्नै देशको उत्पादनले चल्ने भयो। मर्दापर्दा हरेक काममा अनिवार्य चाहिने। प्रयोगपछि फ्याँक्न मिल्ने र वातावरणमैत्री पनि भयो। त्यसपछि यही पेसा रोज्यौँ।”
आपसी सरसल्लाहपछि उनीहरूले दुनाटपरी व्यापारबारे अध्ययन गरे। २०७७ सालदेखि जोखिम मोलेरै नयाँ व्यापारको थालनी गर्ने निर्णयमा पुगे। त्यतिबेला उनीहरूको छोरा भर्खर वर्षदिन पुगेका थिए। सानो बच्चा, बिरामी आमा र नयाँ व्यापारको तादात्म्यता मिलाउन सुशीलालाई सहज भने थिएन। तर पनि उनले हिम्मत हारिनन्।
“हरेक ठाउँमा नाफा नै हुन्छ, सफल नै भइन्छ भन्ने त होइन। कि आउँछ कि जान्छ भन्ने सोचेर हात हाल्ने निर्णयमा पुग्यौँ,” सुशीलाले सुनाइन्।
नयाँ उद्यमको लागि उनीहरूले १५ लाख रुपैयाँ जुटाए। काठमाडौँको नागार्जुन नगरपालिका–९ स्युचाटारस्थित आफ्नै घरपछाडिको खाली ठाउँमा टहरा बनाए। शुरूमा ऋण तिर्नै नसकिने पो हो कि भन्ने चिन्ता पनि उनीहरूलाई थियो। तर दुवै जनाले कडा परिश्रम गरे।
शुरूआती दिन सम्झिँदै सुशीला भन्छिन्, “दुनाटपरी बनाउन पात चाहिने, शुरूमा रातिको ३/४ बजे नै कालिमाटी पुगेर पनि पात ल्यायौँ। तर एकदम थोरै पात मात्र बजारमा पाइने रहेछ।”
मुख्य कच्चा पदार्थ सालको पात नै काठमाडौमा भनेजति पाउन नसकेपछि उनीहरूले उपत्यका बाहिरबाट ल्याउन थाले। सुशीलाका दिदीहरू तराईवासी थिए। उनीहरूकै सहयोगमा मोरङ, चितवन, मकवानपुर लगायतका जिल्लाहरूबाट सालको पात मगाए। दुनाटपरीको आकार दिने र प्याकेजिङको लागि दुई वटा मेसिन भारतबाट ल्याए।
दुनाटपरीको आकार दिनुअघि लाफा बनाएर उतैबाट ल्याउन सकिनेबारे शुरूमा थाहा नभएको सुशीला सम्झन्छिन्। “यहाँ सालको पात ल्याएर, घाममा सुकाउनुपथ्र्यो। त्यसबाट ठूलो आकारको लाफा बनाउन मान्छे पनि राखेँ। हरियो सालको पात टिप्ने, त्यसलाई सुकाएर लाफा बनाइसकेपछि मात्र मेसिनको सहयोगले टपरीको आकार दिने र प्याकेजिङ गर्नुपर्ने हुन्थ्यो,” उनी भन्छिन्।
मेसिनमा भने बिहानदेखि बेलुकासम्म सुशीला र उनका श्रीमान् दीपेन्द्र नै बस्थे। व्यवसाय थालेको ५/६ महिना त यसरी नै बित्यो। पछि हरियो पात ल्याउने मानिससँगै कुरा गरेपछि लाफा बनेर उतैबाट आउने भयो। त्यसपछि भने काम गर्न अलि सजिलो भयो।
दुनाटपरी तयार गरेर मात्र हुँदैनथ्यो। त्यसलाई बजारसम्म पुर्याउनु अझ ठूलो चुनौती थियो। त्यसका लागि शुरूआती समयमा दीपेन्द्रले पूजा पसलहरूमा कुराकानी गरे। त्यसै क्रममा केही पसलेहरूले पहिले सानो परिमाणमा ल्याउने र बिक्री भएपछि मात्र थप मगाउने आश्वासन दिए। यसलाई उनीहरूले सफलताको खुट्किलो मानेका थिए।
यसरी पसलहरूमा पुर्याइदिने काम पनि सुशीला र दीपेन्द्रले नै गर्थे। स्कुटरमा बोरा राखेर पसलहरूले भनेबमोजिमको परिमाणमा पुर्याउन पाउँदा उनीहरूलाई सन्तुष्टि मिल्थ्यो। मेसिनबाट बनाइएको दुनाटपरीको लक्षित ग्राहकमा चाहिँ बढी संख्या नेवार समुदायको थियो। हाल २५ वटा पसलहरूबाट सामानको अर्डर आउँछ। सानो परिमाणमा भने घरबाटै पनि बिक्छ।
“हामी अहिले पनि डेलिभेरी गर्दिने हो। कोही–कोही घरमा पनि आउनुहुन्छ मुख्य बजार पूजा पसल नै हो, पूजाआजामा थोरै–थोरै हातले बनाएकै प्रयोग गर्ने चलन छ, तर अलि बढी चाहिने र एकदम आवश्यक पर्ने भएकाले मेसिनमा बनेका दुनाटपरी विशेषगरी नेवारी समुदायमा बढी प्रयोग हुन्छ,” सुशीलाले भनिन्।
सुन्दा दुनाटपरी बनाउने भनिए पनि यसमा मेहनत निकै गर्नु परेको दीपेन्द्र सुनाउँछन। अर्कोतर्फ सालको पातबाट बनेको दुनाटपरी प्रयोग गर्दाका फाइदाबारे पनि उनी राम्रोसँगै बुझाउँछन्। “सालको पातको कुनै साइड इफेक्ट नै छैन। स्वास्थ्य र वातावरणलाई पनि यसले कुनै हानि गर्दैन,” उनले भने।
पात टिप्न पनि सम्बन्धित वन कार्यालयहरूमा कर तिर्नुपर्ने हुन्छ। सँगसँगै दुई/तीन तह पार गरेर काठमाडौँ आइपुग्ने हुँदा कच्चा पदार्थ नै महँगो पर्ने उनी सुनाउँछन्। प्लास्टिकबाट बनाइएका प्लेट र ठूलो साइजको टपरीको मूल्यमा भने खासै फरक पर्दैन। अर्कोतर्फ वातावरणमैत्री भएको हुँदा यसको प्रयोग पनि बढ्दै गएको दीपेन्द्र बताउँछन्। कच्चा पदार्थ पर्याप्त भए पनि मेसिन बिग्रिएमा मर्मतका लागि एक/दुई महिना कुनुपर्ने समस्या भने छँदैछ।
“काम गर्न सजिलो छ, तर मेसिन बिग्रियो भने मर्मत गर्न इन्डिया नै पठाउनुपर्छ। एक/दुई महिना काम रोकिन्छ। नेपालमा रोल गर्ने प्लास्टिक पनि भनेजस्तो पाइँदैन उतैबाट मगाउनुपर्छ,” दीपेन्द्रले दुखेसो पोखे। त्यसो त उनीहरूले दुनाटपरी बनाउन प्रयोग गरेको मेसिन खासमा किताब, कापी, प्लास्टिकका बोतल लगायतको सामान प्याकेजिङ गर्नका लागि बनाइएको हो। त्यसलाई उनीहरूले फरक कामका लागि उपयोग गर्ने जुक्ति निकालेका हुन्।
शुरूमा उनीहरूले हिटकन मेसिनबाट दुनाटपरीको प्याकेजिङ गर्दै आएका थिए। यसबाट धेरै सयम खर्चिनुपथ्र्यो। ठूलो मेसिन किन्न थप लगानी गर्नुपर्ने थियो। यही बीचमा स्टार्टअप उद्यमका लागि सरकारले आह्वान गरेको सहुलियतपूर्ण कर्जा लिन उनीहरूले आवेदन दिए। यो दम्पतीको ‘स्युचाटार दुनाटपरी हाउस परियोजना’ सहुलियपूर्ण कर्जाका लागि छनोटमा परेपछि भविष्यमा थप अगाडि लैजाने सपना साकार भएको उनीहरू ठान्छन्। सोही कर्जा पाएपछि अहिले दुई वटा मेसिन थपेको दुई साता मात्र भएको छ।
पहिले हिटकन मेसिनले दिनभर लाग्ने काम अहिले दुई/तीन घण्टामै हुन्छ। नयाँ मेसिनले ठूलो परिमाणमा प्याकेजिङ गर्छ। सहुलियतपूर्ण ऋण लिएपछि उनीहरूले विद्युत्को थ्री फेजको लाइन पनि जोडेका छन्। यसले व्यवसायमा थप सहजता ल्याए पनि आफूहरू अझै संघर्षकै क्रममा रहेको सुशीला सुनाउँछिन्।
“अझै पनि बजार विस्तार हुन सकेको छैन। साना पसलहरूमै आश्रित छौँ। थोरै बिक्री हुन्छ, फेरि अर्डर आएपछि दिन्छौँ। त्यसकारण ठूलो परिमाणमा बनाउन सकेका छैनौँ,” उनले भनिन्।
जुनसुकै व्यवसाय गर्दा पनि अप्ठ्यारा र चुनौती भने आई नै रहने अनुभव उनीहरूका लागि नयाँ होइन। “चाडपर्वको सिजनमा सामानको माग उच्च हुन्छ, पात आइदिन्न। जुन बेला समान कम जाने हुन्छ त्यतिबेला पातको लाफा आउँदा सामान कहाँ बेच्ने जस्तो हुन्छ, समय नै नमिलेको जस्तो लाग्छ। अर्कोतर्फ समयमा बजारबाट पैसा नउठ्दा पनि अप्ठ्यारो हुन्छ,” उनीहरू भन्छन्।
यो पाँच वर्षको बीचमा उनीहरूले शुरूमा लिएको ऋण भने तिरिसकेका छन्। अहिले चार जनालाई रोजगारी पनि दिएका छन्। “जति ठूलो परिमाणमा उत्पादन गर्न सक्यो त्यति नै आम्दानी हुने हो। हामी बिस्तारै प्रगतितर्फ लम्किँदै छौँ,” सुशीलाले भनिन्।
आवश्यकता र अभावले नै परिश्रम गर्न सिकाएर यहाँसम्म ल्याएको ठान्ने उनी आशावादी सुनिइन्, “मुख्य कुरा आवश्यकता र अभाव रहेछ। अप्ठ्यारोले बलियो बनाउँदो रहेछ। पहिले कसैको लागि केही गर्नुपर्ने थिएन। एक्लो जीवन थियो। बिहेवारी भएपछि जिम्मेवारी थपियो, खर्च बढ्यो। अभावले तनाव दियो, त्यसैको समाधान खोज्दा दुनाटपरी उद्योग जन्मियो।”