Friday, May 03, 2024

-->

यसरी बन्दैछ सिद्धबाबा सुरुङ (तस्वीरहरू)

अप्ठ्यारो र जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण भइरहेको छ।

यसरी बन्दैछ सिद्धबाबा सुरुङ तस्वीरहरू
तस्वीर: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

पाल्पा– मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण हुँदै छ।

तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग ठेक्का सम्झौता भएको दुई वर्ष नाघेको छ। तर हालसम्म निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ। पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता भएको थियो। 

पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो। अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण भइरहेको हो।

सुरुङ मार्गको मुख्य डिजाइन स्वीकृतिमा भएको ढिलाइले कामले गति लिन नसकेको आयोजना पक्षले जनाएको छ। मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४५ मिटर सुरुङ खनिएको छ। उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान गर्ने काम भइरहेको छ। दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ। १५.६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ।

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक ३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। 

सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२.४७ प्रतिशत आर्थिक प्रगति भएको छ। निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब तीन अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ मा एक अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ। 

जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सनलगायत प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ। तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुनेछ।


सम्बन्धित सामग्री