Thursday, May 02, 2024

-->

लुम्बिनीमा थपिए ७ मन्त्री, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्

मुख्यमन्त्री महराले सात जना बिनाविभागीय मन्त्री थप गरे‍सँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ।

लुम्बिनीमा थपिए ७ मन्त्री ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री महराले सात जना बिनाविभागीय मन्त्री थप गरेका हुन्। अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। 

मुख्यमन्त्री महराले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम बिहीबार दुई चरणमा सात जना थपेर ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट भूमिश्वर ढकाल, अर्जुनकुमार केसी, दिनेश पन्थी र रत्नबहादुर खत्री बिनाविभागीय रहेका छन्। 

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र प्रदेशसभामा स्वतन्त्र सदस्य खड्क बस्नेत पनि बिहीबार नै बिनाविभागीय मन्त्री नियुक्त भएका छन्। 

नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराए।

यसअघि मुख्यमन्त्री नियुक्तिसँगै चैत २५ गते नियुक्त भएका एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिहीबार नै विभागीय जिम्मेवारी तोकेका थिए। 

मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्। 

बिहीबार बिहान ६ जना बिनाविभागीय मन्त्री नियुक्त गरेको केही समयपछि मन्त्रालय थपेर मुख्यमन्त्री महराले प्रदेशसभामा एक जना मात्र सदस्य रहेको एकीकृत समाजवादीलाई बिहीबार नै दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए।

पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेशसभा सदस्यको समर्थनमा गत चैत २३ गते माओवादी प्रदेशसभा दलका नेता महरा मुख्यमन्त्री बनेका हुन्।

शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री महरा, मन्त्रीहरू, प्रदेशसभाका सभामुख तुलबहादुर घर्ती, पूर्वमख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लीला गिरी, मन्त्री, विभिन्न दलका नेताहरू र उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।


सम्बन्धित सामग्री