Saturday, April 27, 2024

-->

होलीमा विशेष सुरक्षा योजना: उपत्यकामा ड्रोनबाट निगरानी

युवायुवती स्वतःस्फूर्त सडकमा निस्केर एकापसमा रङ र अबिर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतमा जस्तो जबरजस्ती अपरिचित व्यक्तिलाई लोला हान्ने गतिविधि गरेका छैनन्।

होलीमा विशेष सुरक्षा योजना उपत्यकामा ड्रोनबाट निगरानी

काठमाडौँ– नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मंगलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ।  यसका सुरक्षा योजनाअन्तर्गत झन्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आइतबारदेखि तीन दिन देशभर २९ हजार ७३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए। “सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो संख्यामा प्रहरी परिचालन भएका छन्। विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ,” उनले भने। होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ। 

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्युटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ। प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ। 

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायत उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताए। भने, “काठमाडौँ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ–ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ, उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ।” 

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाका र अन्य ९० ठाउँमा बिहान ७ बजे देखिनै जाँचको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् भने ३० वटा मोबाइल भ्यान परिचालन भएका छन्। 

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँले फागुपर्व (होली)लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। होली पर्वलाई सुरक्षित, मर्यादित बनाउन काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

उनले भने, “हामीले सव्य, भव्य तरिकामा फागुपर्व मनाउन सबैमा आग्रह गरेका छौँ, कानूनविपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ।” 

यस वर्षको होली पर्वका लागि उपत्यकामा मात्रै दुई हजार ५०० पोसाकदारी तथा पाँच सय जना सादा पोसाकमा गरी तीन हजारको संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। होली पर्वमा काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लापसे गरी सवारी चलाउने, मापसे गरी हो–हल्ला गर्ने, सर्व साधारणलाई त्रसिद बनाउनेलाई कडा कारबाही गरिने भन्दै प्रहरीले अहिले ठाउँ ठाउँमा माइकिङसमेत गरिरहेको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार दिउँसोसम्म उपत्यकामा होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएका छैनन्। “होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएको खबर आएका छैनन्, घटना हुन नदिन प्रहरी निकै चनाखो छ,” उनले भने। 

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए। “शान्त वातावरणमा होली मनाउन सबैमा आग्रह गरेका छौँ, होलीमा हुने सबैखाले गतिविधिहरू बिहानैदेखि ड्रोनबाट पनि निगरानी बढाइएको छ,” उनले भने। 

काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होलीपर्व मनाइँदै छ। यसवर्ष काठमाडौँमा मर्यादित रूपमा होली मनाइरहेको देखिएको छ। युवायुवती स्वतःस्फूर्त सडकमा आइ रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन्। उनीहरू एकापसमा रङ र अबिर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतका वर्षमा जस्तो जबरजस्ती बटुवा वा अपरिचित व्यक्तिलाई रङ फाल्ने तथा लोला हान्ने गतिविधि गरेका छैनन्।  

होलीपर्वलाई मर्यादित बनाउन प्रहरीले पनि गस्तीहरू बढाउने, माइकिङ गरी आफैँ पर्व मनाउन र कसैलाई जबरजस्ती नगर्न आग्रह गरिरहेको छ। त्यसैगरी चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम पनि बढ्नसक्ने देखिएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरिरहेको छ।


सम्बन्धित सामग्री