आर्थिक संकट देखाउँदै ‘बी’ तथा ‘सी’ डिभिजन लिग र ‘सी’ डिभिजन छनोट नखेलाएको एन्फाले ‘ए’ डिभिजन लिग पनि अर्को वर्षलाई सारेको छ। तर पदाधिकारी भने एन्फाकै खर्चमा धमाधम विदेश भ्रमणमा छन्।
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७९ सालमै गराउनुपर्ने शहीद स्मारक ‘सी’ डिभिजन छनोट, ‘सी’ र ‘बी’ डिभिजन लिग गर्नै सकेन। यो वर्ष हुनुपर्ने ‘ए’ डिभिजन लिग पनि अर्को वर्षको फागुनमा मात्र गर्ने भएको छ। यी सबैको कारण आर्थिक संकट नै भएको एन्फा पदाधिकारी बताउँछन्।
तर तिनै पदाधिकारी एन्फाको खर्चमा लावालस्कर लगाएर विदेश घुमिरहेका छन्। तीन दिनअघि मात्रै एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का अस्ट्रेलिया पुगेका छन्। १३औँ कँडेल कन्सल्टेन्सी कप २०२४ मा सहभागी हुन उनी आफ्नै खर्चमा अस्ट्रेलिया उडेका हुन्। तर फर्केर आएपछि बिल पेस गरेर एन्फाबाटै असुलउपर गर्नेगरी उनी गएको एन्फा स्रोत बताउँछ। खड्कापछि बुधबार एन्फाका पदाधिकारी र कर्मचारीसहित १० जनाको टोली मलेसिया भ्रमणमा निस्किएको छ।
यति धेरै पदाधिकारी र कमर्चारी कुनै कार्यक्रमको औपचारिक निमन्त्रणामा मलेसिया गएका होइनन्। ‘मलेसियामा कुनै कार्यक्रम थियो कि?’ भन्ने उकालोको प्रश्नमा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले भने, “होइन होइन, कुनै कार्यक्रम छैन। फुटबल हेर्न मात्रै जान लागेको हो। त्यहाँ फुटबल हेरेर फर्किने हो, विषेश केही छैन।”
यो पनि: आर्थिक संकटले लिग नै सञ्चालन गर्न नसकेको एन्फा, कार्यसमिति सदस्यलाई लाखौँ भत्ता
नेपाली राष्ट्रिय टोलीले फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटको तयारीस्वरूप शुक्रबार मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। सोही खेल हेर्न सीईओ तुलाधरसहित दीपक खतिवडा, महेन्द्र क्षेत्री, भरतकुमार घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र ज्ञानबहादुर राई मलेसिया उडेका हुन्।
दीपक खतिवडा एन्फाका उपाध्यक्ष र क्षेत्री एन्फा केन्द्रीय सदस्य तथा जावलाखेल युथ क्लबका अध्यक्ष हुन्। गुरुङ एफसी खुमलटारका सचिव, जयकृष्ण थ्रीस्टार क्लबका उपाध्यक्ष र घिमिरे संखुवासभा जिल्ला फुटबल संघका अध्यक्ष हुन्। त्यस्तै, लोप्चन मकवानपुरका सचिव, प्रविण ललितपुरका सचिव र सुविन कास्कीका सदस्य हुन्। राई भने एन्फाका कर्माचारी हुन्।
एन्फाले राईलाई किट म्यानेजरको भूमिका दिएको छ। अन्य भने बिनाभूमिका नै मलेसिया उडेका छन्। तुलाधर भन्छन्, “हाम्रो भूमिका के भन्ने नै हुँदैन नि, हामी अफिसियल हौँ। हाम्रो भूमिका यही हो।”
आर्थिक भार एन्फालाई नै
एन्फा स्रोतका अनुसार मलेसियाले २३ सदस्यीय खेलाडीसहित २९ जनालाई मात्रै बोलाएको थियो। सोहीअनुसार खेलाडीबाहेक मुख्य प्रशिक्षक भिन्सेन्जो अर्ब्लेटो एनिस, प्रशिक्षक प्रवेश कटुवाल, गोलरक्षक प्रशिक्षक विनोद डंगोल, टेक्निकल मनीष तिमिल्सिना, टिम म्यानेजर उत्तमराज भण्डारी र फिजियो लोकेन्द्र कुवँर छन्।
एन्फा कम्प्लेक्समा मंगलबार टोलीमा भएका २९ जनाको बिदाइ भयो। एन्फा प्रवक्ता सुरेश शाहले उनीहरूको नाम पालैपालो घोषणा गरे। सीईओ तुलाधार बिदाइ कार्यक्रममा उपस्थित भए पनि उनीसहित बाँकी १० जनाको नाम मलेसिया जाने टोलीको सदस्यको रूपमा लिइएको थिएन। पछि एन्फाले आफ्नो ‘वेभसाइट’मा मलेसिया जाने अन्य १० जनाको पनि नाम हालेको थियो।
यो पनि: चरम आर्थिक संकटमा एन्फा: अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छैन बजेट, घरेलु पनि अनिश्चित
एन्फा केन्द्रीय सदस्य महेन्द्र क्षेत्रीका अनुसार सबै खर्च एन्फाले नै बेहोर्नेगरी उनीसहित १० जना मलेसिया उडेका हुन्। “हामी डेलिगेस्ट (प्रतिनिधि) भएर नै जान लागेको हो। हामी एन्फाकै गेमको लागि जान लागेको कारण आफैँले टिकटदेखि सम्पूर्ण खर्च बेहोर्नुपर्छ भन्ने हुँदैन। यो एन्फाकै लागि भएको कारण एन्फाले नै खर्च गर्ने हो,” उनले भने।
मलेसियासँगको मैत्रीपूर्ण खेल सकिएसँगै नेपाली राष्ट्रिय टोली बहराइन जाने छ। नेपालले बहराइनमा फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत मार्च २१ र २६ मा दुई खेल खेल्ने छ। सोही खेल हेर्न एन्फाका पदाधिकारी र कर्मचारीसहित थप १२ जना बहराइन जान लागेको एन्फाका एक पदाधिकारी बताउँछन्। त्यसपछि बेलायत भ्रमणमा पनि त्योभन्दा बढी संख्यामा पदाधिकारी र कर्मचारीसहितका व्यक्ति जान लागेको ती पदाधिकारी बताउँछन्।
“बहराइनमा १२ जना जाने भन्ने पक्का भइसकेको छ। त्यसपछि मे ६ तारिखमा अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा नेपालले ‘इंग्ल्यान्ड सी’सँग खेल्दै छ। त्यसमा पनि पदाधिकारी र कर्मचारीसहित केही व्यक्ति जाने छन्। त्यसको पनि खर्च एन्फाले बेहोर्ने छ,” ती पदाधिकारीले भने।
मलेसिया जान लागेको ३/४ जनाको नाम मात्रै थाहा भएको र बहराइन तथा बेलायत कोको जाने भन्ने आफूलाई कुनै जानकारी नभएको क्षेत्री बताउँछन्। आफू भने मलेसियासँगको मैत्रीपूर्ण खेल सकिएपछि नेपाल फर्किने, बहराइन नजाने उनको भनाइ छ।
यो पनि: अन्धकारतर्फ फुटबलः अनिश्चित बन्यो ‘बी’ डिभिजन, पिरामिड संरचना भत्कने जोखिम
मलेसिया जाँदा र आउँदा एकतर्फी प्रतिव्यक्ति न्यूनतम ४५ हजारका दरले टिकटमा नै ९ लाख खर्च हुन्छ। त्यसमाथि होटल, खाजालगायत अन्य खर्च जोड्ने हो भने बिनाभूमिकामा पुगेका १० जना तीन दिन मलेसिया बस्दा एन्फालाई १५ लाखभन्दा बढी आर्थिक भार पर्छ।
“हामीले उपस्थिति जनाउनै पर्ने ठाउँमा जानु अन्यथा होइन। तर एन्फामा विदेश मोह यति धेरै छ कि टिकट र बजेट मागेरै बारम्बार घुमफिरमा निस्किन्छन्,” अर्का एक पदाधिकारी भन्छन्, “एन्फाले क्लबहरूलाई दिनुपर्ने रकम बाँकी नै छ। १०/१२ जना घुमाउनुभन्दा त्यो रकम फुटबलमा खर्चेनुपर्थ्यो कि पर्दैन थियो? तर यहाँ फुटबल गतिविधि नै शून्य पारेर विदेश घुमाउँदै हिजो लगाएको गुन तिर्नु छ।”
गत वर्ष असारमा पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति आएको थियो। त्यसयता ‘बी’ तथा ‘सी’ डिभिजन लिग र ‘सी’ डिभिजन छनोट हुन सकेका छैनन्। आर्थिक समस्याकै कारण महिला लिग पनि गर्न सकेको छैन।
महासचिव भन्छन्- संख्या अझ कम भयो
एन्फाका महासचिव किरण राई भने १० जनालाई ‘म्याच एनालाइसिस’ (खेल विश्लेषण) गर्न पठाएको जिकिर गर्छन्। अन्य टोलीको योभन्दा बढी संख्यामा प्रतिनिधि आउने दाबी गर्दै आफूहरूले अझ कम संख्यामा प्रतिनिधि पठाएको उनी बताउँछन्।
“हामीले कुनै काम नै नदिई मलेसिया पठाएका हैनौँ। अहिले जाने १० जनाले म्याच एनालाइसिस गर्ने हुन्। अन्य टोलीको पनि हेर्नु न ८०/९० जनाभन्दा बढी आउँछन् त! उनीहरूको ‘यति जना पठाइस्’ भनेर मिडियाले विरोध गरेर लेखेको हुँदैन, प्रश्न गरेको हुँदैन त!” उनी भन्छन्।
कम्तीमा १०० जनालाई संसारभरिको फुटबल विकास हेराउन सके नेपाल आएर लागू गर्न सजिलो हुने महासचिव राईको भनाइ छ। यद्यपि अहिले पठाउनु पर्नेभन्दा कम संख्यामै टोली पठाएको उनी दाबी गर्छन्।
“हामीले त फुल इक्युपमेन्ट भएको टोली पठाउनुपर्ने हो। तर हामीले कम संख्यामा पठाउँदै आइरहेका छौँ। डाक्टर, फिजियो, फिट्नेस हेडलगायत पठाउन सकेका छैनौँ। सिक्ने, बुझ्ने र नेपाल आएपछि लागू गर्ने योग्य व्यक्ति पनि भ्रमणमा छुटिरहनु भएको छ। यो सबै पठाउने हो भने हाम्रो संख्या योभन्दा ठूलो हुन्छ। तर अहिले जान लागेको संख्या धेरै होइन,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
