Thursday, June 01, 2023

-->

चरम आर्थिक संकटमा एन्फा: अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छैन बजेट, घरेलु पनि अनिश्चित

एन्फा चरम आर्थिक संकटमा पुगेपछि एएफसी यू–२३ एशियन कप छनोट नखेल्ने भएको छ। आगामी महिना हुने साफका लागि भने बजेट व्यवस्था गरिएको छ। तर, 'बी' डिभिजनलगायत घरेलु प्रतियोगिता अनिश्चित भएका छन्।

चरम आर्थिक संकटमा एन्फा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छैन बजेट घरेलु पनि अनिश्चित
फाइल तस्वीर

काठमाडौँ– सन् २०२४ को अप्रिलदेखि कतारमा आयोजना हुने एएफसी यू–२३ एशियन कपका छनोट खेल्ने ४३ देशको नाम सार्वजनिक भइसकेको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार समूह विभाजनसमेत गर्दैछ। यो प्रतियोगितामा नेपाल पनि सहभागी हुनुपर्ने हो, तर यो अवसरलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपयोग गर्नै चाहेन। 

एन्फा महासचिव किरण राईका अनुसार एएफसीले छनोट खेल्न आफ्नै खर्चमा टोली पठाउनुपर्ने शर्त राखेपछि सहभागिता नजनाउने भएको हो। “आफ्नै खर्चमा छनोट खेल्न आउनु भनेका छन्। एन्फा आफैँ नै खर्च बेहोरेर जान सक्ने अवस्था छैन,” उनले भने।

आर्थिक स्रोतका निम्ति एन्फा खासगरी फुटबलको सर्वोच्च निकाय फिफा, एएफसी र घरेलु लिगमा निर्भर छ। एन्फाले यसअघि फिफा र एएफसीबाट अनुदानस्वरूप चार वर्षमा करिब ५२ करोड रुपैयाँ प्राप्त गरेको थियो। समयमै अडिट गराउन नसक्दा प्राप्त गर्नुपर्ने करिब १४ करोड पहिलेकै रकम अड्किएको महासचिव राई बताउँछन्। 

फुटबल गतिविधिलगायत प्रशासनिक खर्चसमेत चलाउन नसक्ने अवस्था भएपछि एन्फाले पटकपटक इमेल लेखेर पाउनुपर्ने रकम उपलब्ध गराइदिन फिफा र एएफसीलाई आग्रह गरेको छ। तर, ती इमेलको जवाफसमेत नपाएको एन्फा स्रोतले जनाएको छ। 

फिफा र एएफसीबाट समयमै रकम नआउँदा एन्फाले भोगेको आर्थिक समस्या लिग हुँदै उमेर समूहको राष्ट्रिय टोलीमा समेत देखिन थालेको हो। एन्फाले यसअघि चैत १५ गतेदेखि आयोजना गर्ने भनिएको ‘बी’ डिभिजन लिगको मिति तीनपटक सरिसकेको छ। उक्त लिग अब कहिले आयोजना हुन्छ भन्ने प्रश्नको जवाफ एन्फासँग छैन।

आर्थिक अभावले घरेलु लिग नै रोकियो
फिफाले ‘ए’ डिभिजनको तयारीका लागि १ लाख डलर पठाएको थियो। त्यसपछि दुईपटक मिति सारेर फागुन १९ गतेबाट लिग शुरू भएको थियो। 'डबल राउन्ड रोबिन'मा भइरहेको 'ए' डिभिजनको दोस्रो लेगको तयारीका लागि एन्फाले थप बजेट जोहो गर्न सकेको छैन। त्यसैले लिग कसरी चाँडो सकाउने भन्ने एन्फाको ध्याउन्न छ।

‘बी’ डिभिजन लिग सञ्चालनका लागि एन्फाले फिफासँग करिब ४ करोड रुपैयाँ माग गरेको छ। त्यहाँबाट आउने रकम प्रत्येक क्लबलाई तयारीस्वरूप पहिलो किस्तामा ८ लाख ७० हजार रुपैयाँ निकासा गर्ने योजना रहेको एक पदाधिकारीले बताए। एन्फा र ‘बी’ डिभिजन क्लबबीच भएको सम्झौता अनुसार संघले तयारीबापत प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने शर्त छ।

‘बी’ डिभिजन लिग आयोजना गर्दा ३ करोड त क्लबहरूमाथि नै खर्च हुने एन्फाको अनुमान छ। त्यसमा व्यवस्थापनसमेत गरेर थप ३ करोड जति खर्च हुने ती पदाधिकारीले बताए। यो रकम पनि फिफाले उपलब्ध नगराए ‘ए’ डिभिजनबाट आउने आन्तरिक रकमले ‘बी’ डिभिजन खेलाउने तयारी गरिएको थियो। तर, 'ए' डिभिजन लिगबाट त्यसअनुरूप आम्दानी हुन नसकेको उनको भनाइ छ।

“ए डिभिजनबाट सकेसम्म धेरै आम्दानी गर्ने लक्ष्य थियो। तर, हामी सफल हुन सकेनौँ। टाइटल स्पोन्सरसमेत भेटेनौँ। उता, दर्शकको साथ पनि पाइएन,” ती पदाधिकारी भन्छन्, “एक खेल हेर्न ३०० जना आउँदा पनि 'धन्न आएछन्' भनेर चित्त बुझाउनुपर्ने अवस्था छ। त्यसैले बजेट अभाव हुँदा 'बी' डिभिजनसमेत प्रभावित भइरहेको छ।”

यो पनि: खेलाडीले घोषणा गरिएको पुरस्कार नै पाएका छैनन्, एन्फा पदाधिकारीलाई भने तलब

एन्फाले अघिल्‍लो सिजनको बक्यौता रकम नै नदिएको ‘बी’ डिभिजन क्लबहरूको गुनासो छ। १४ मध्ये १३ क्लब बक्यौता रकम माग गर्दै चैत २९ गते ध्यानाकर्षण पत्र लिएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए। प्रत्येक क्बलले ७ लाखभन्दा धेरै रकम प्राप्त गर्न बाँकी छ।

'बी' डिभिजन क्लबहरूले २०७९/८० मा सहभागिताका लागि पहिलाको बक्यौता र तयारी रकममध्ये पहिलो किस्तामा ८ लाख ७० हजार खातामा आएपछि मात्र एन्फामा दर्ता हुने अडान राखेका छन्। पटकपटकको वार्तापछि अघिल्लो सिजनको बक्यौता दिने र यो सिजन पहिलो किस्ताको रकम पनि निकासा गर्ने क्लब र एन्फाबीच सम्झौता भएको थियो। 

उक्त सम्झौताअनुसार एन्फाले रकम उपलब्ध गराउन नसक्दा ‘बी’ डिभिजन लिग नै अनिश्चित बन्दै गएको एन्फाका पूर्वमानार्थ उपाध्यक्ष तथा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली बताउँछन्।

'बी' डिभिजन लिग आयोजना नभएसम्म 'सी' डिभिजन लिग गर्न मिल्दैन। 'बी' डिभिजन लिग नहुँदा घरेलु लिगको पिरामिड संरचना नै भत्किने जोखिम भएको छ। यसको असर समग्र फुटबलमा देखिने फुटबल जानकारहरूको भनाइ छ।

खर्च कटौती गर्न प्रतियोगिता नै छाड्ने रणनीति!
खर्च कटौती गर्ने योजनामा रहेको एन्फाले एएफसी यू–२३ एशियन कप छनोटमा भाग लिन वार्षिक बजेटमा समेत रकम नछुट्टाइएको महासचिव राई बताउँछन्। “एन्फा अहिले आफैँ समस्यामा छ। त्यसैले एएफसी यू–२३ एशियन कप छनोटको शीर्षकमा रकम छुट्याइएको थिएन,” उनले भने।

एएफसीले पूर्व तथा पश्चिम क्षेत्रका फुटबल टोलीको स्तर उकास्न सन् २०१३ देखि एएफसी यू–२३ एशियन कप प्रतियोगिता आयोजना गर्दै आएको छ। एशियाको पूर्वका १९ र पश्चिमका २३ टोली समावेश गरी एएफसीले ११ समूह बनाएको छ। सन् २०१३ देखि शुरू भएको प्रतियोगितामा नेपालले हालसम्म पहिलो चरणको छनोट पार गर्न सकेको छैन।

पछिल्लो चार संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोट चरणबाटै घर फर्केको थियो। चारै संस्करणमा नेपालले गोल गर्न पनि सकेन। उज्वेकिस्तानमा भएको अन्तिम संस्करणमा नेपाल इरानसँग ४–०, ताजिकिस्तानसँग ६–० र लेबनानसँग ४–० गोलअन्तरले पराजित भएको थियो।

यस्तै, कतारमा सन् २०२० मा आयोजना भएको छनोटमा ओमानसँग १–०, अफगानिस्तानसँग २–० र कतारसँग ५–० गोलअन्तरले पराजित भयो। गोल र जितविहीन यात्रा सन् २०१८ मा पनि रोकिएन। काजिकिस्तानमा भएको छनोटमा यूएईसँग ५–०, उज्वेकिस्तानसँग २–० र लेबनानसँग २–० गोलअन्तरले पराजित भएको थियो। सन् २०१६ मा इरानमा भएको प्रतियोगितामा अफगानिस्तानसँग ४–०, इरानसँग ५–० र साउदी अरबसँग ६–० गोलले पराजित भएर पहिलो चरणबाटै बाहिरिएको थियो।

नेपालको उच्च प्रदर्शन भने सन् २०१३ मा भएको छनोटमा गरेको थियो। पहिलो चरणमा बंगलादेशलाई ४–१ गोलले पराजित गरेको थियो। उक्त खेलमा भरत खवास, जगजित श्रेष्ठ र सुजल श्रेष्ठले गोल गरेका थिए।

तर, नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेका यमन, उज्वेकिस्तान र जोर्डनलाई भने पराजित गर्न सकेन। समूह चरणको दोस्रो खेलमा यमनसँग १–०, तेस्रो खेलमा उज्वेकिस्तानसँग ४–२ र अन्तिम खेलमा जोर्डनसँग ३–० गोलअन्तरले पराजित हुँदै बाहिरियो। 

छनोटमा आफूभन्दा बलिया टोली पनि सहभागी हुने भएपछि नेपालजस्ता देशलाई यो अनुभव बटुल्ने प्रतियोगिता हुने गरेको छ। तर, अहिले यो प्रतियोगिताका लागि आफूहरूले गृहकार्य गर्न नभ्याएको एन्फा प्रवक्ता शाह बताउँछन्।

“पहिला सहभागिता जनाउँदै आएका थियौँ। त्यतिखेर हामीसँग यू–२३ टोली पनि थियो। अहिले यू–२३ टोली नै छैन। यसका लागि गृहकार्य गर्नुपर्छ। अन्य कुरामा पनि फोकस गर्नुपर्ने भएको कारण अहिलेको अवस्थामा टोली बनाउने समय छैन,” उनी भन्छन्।

एन्फाले यही प्रतियोगिताको लागि भन्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसलाई सुपरिवेक्षक बनाएको थियो। उनले नै यू–२३ टोली बनाएर दिने र त्यही टोलीले छनोट खेल खेल्ने एन्फाले जनाएको थियो। तर, आर्थिक भार थेग्न नसक्ने स्थिति उत्पन्न भएपछि प्रतियोगिताबाट बाहिरन परेको प्रवक्ता शाह बताउँछन्।

“अहिलेको स्थितिअनुसार छनोटको पहिलो चरणमा सहभागिता जनाउन नै करिब १ करोड बजेट लाग्ने रहेछ,” उनी भन्छन्, "पहिलो चरणको छनोट पार भयो भने अर्को चरणमा पुग्छौँ। अहिले त पहिलो चरणमा भाग लिऔँला तर पछिको चरणमा योभन्दा धेरै खर्च बढ्न जान्छ। अहिलेको स्थितिमा यो सम्भव देखिँदैन।”

अहिले जारी ‘ए’ डिभिजन लिग उत्तरार्धमा छ। प्रतियोगितमा लगातार खेल हुँदा साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा पर्ने सम्भावना बोकेका कतिपय खेलाडी घाइते छन्। खेलाडीहरू घाइते भएकै कारण यू–२३ टोली बनाउन पनि नपुग्ने अवस्था रहेको प्रवक्त शाह बताउँछन्। “अरू समस्या र टेक्निकल कुरा त छँदै छ। तर, अहिलेको स्थिति भनेको यस्तै (खेलाडी घाइते भएको अवस्था) छ। त्यसैले सहभागिता नजनाउने निर्णय गरेका हौँ,” उनले भने।

राष्ट्रिय टोलीबाट नियमित खेलिरहेकासहित ४० जनाभन्दा बढी खेलाडी अस्ट्रेलिया, यूएई र न्यूजिल्यान्ड पलायन भएका छन्। त्यसैले अहिले युवा र कम अनुभवी खेलाडीले राष्ट्रिय टोलीमा स्थान लिइरहेका छन्। 

नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठ यस्तो अवस्थामा राष्ट्रिय र यू-२३ टोली बनाउँदा प्रदर्शन गतिलो हुन नसक्ने बताउँछन्। “राष्ट्रिय टोलीमा सिनियर खेलाडी छैनन्। त्यसैले साफ खेल्न युवा खेलाडीकै भर पर्नुपर्ने अवस्था छ। यस्तोमा दुई टोली विभाजन गरेर खेल्न कठिन हुन्छ,” उनी भन्छन्।

साफमा भाग लिन कसरी जुट्यो बजेट? 
नेपाली राष्ट्रिय फुटबल टोली भारतमा हुने साफ च्याम्पियनसिपमा भाग लिँदैछ। उक्त प्रतियोगिता आउन अब एक महिना मात्र बाँकी छ। साफ बाहिरका कुवेत र लेबनानसहित भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र पाकिस्तानले आन्तरिक तयारी गरिरहेका छन्।

भारतले साफलाई लक्षित गर्दै कलिंगा स्टेडियम भुवनेश्वरमा ९ जुनदेखि लेबनान, भानुआटु र मंगोलियासँग ‘इन्टरकन्टिनेन्टल कप’ खेल्दैछ। पाकिस्तानले १० जुनदेखि अफ्रिकी राष्ट्र मरिसस, केन्या र जिबुतीलाई बोलाएर ‘फोर नेसन्स् कप’ खेल्दै छ। तर, नेपाल भने फिलिपिन्समा एक मैत्रीपूर्ण खेल खेल्दै बैंग्लुरू पुग्ने तयारीमा छ।

साफ खेल्नका लागि एन्फाले ५० लाख रुपैयाँ छुट्याएको छ। यो रकम एन्फा स्रोतबाट व्यवस्था गरिएको प्रवक्ता शाहले जानकारी दिए। साफले तयारीका लागि मात्र छुट्टै रकम दिँदैन।

'ए' डिभिजन लिगको कारण साफ तयारीमा असर परिरहेको प्रवक्ता शाह बताउँछन्। तर, टोलीलाई कसरी बलियो बनाउने भन्नेमा लक्षित रहेको उनको दाबी छ। त्यसैले, अहिले एन्फाले साफबाहेक अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने योजना नबनाएको उनको भनाइ छ।

“अघिल्लो संस्करणमा उपविजेता भएका थियौँ। यसपटक त्यस स्थानलाई सुधार गर्नुपर्ने चुनौती छ। त्यसैले हामी अन्य कुरालाई छाडेर साफ लक्षित भएका छौँ,” शाह भन्छन्, “साफबाहिरका दुई टिम पनि सहभागी हुने भएपछि रणनीति बनाउन जुटिरहेका छौँ।”


सम्बन्धित सामग्री